“पृथ्वी बचाउँ” अभियानमा तपाईलाई स्वागत छ
एक्काईशौं शताब्दिसम्म आईपुग्दा मानिसले ज्ञान र विज्ञानका क्षेत्रमा लामै फड्को मारिसकेको छ । विकास प्रक्रियामा अघि बढ्दै जाँदा कृत्रिम सुखसुविधा थपिँदै गएतापनि प्राकृतिक सम्पदा र बनपैदावर जोगाउन नसक्दा मानव जीवन झन् जोखिमपूर्ण हुँदैछ । विश्व क्षयिकरण उन्मुख छ र समयमै ठोस कदम नचालेमा पृथ्वीबाट जीवको अस्तित्व नै समाप्त हुने खतरा छ । आज जुन सुन्दरता हामीसँग छ, त्यो कालक्रममा असुन्दर अस्तिपञ्जर बन्न सक्छ ।
नेपालको सन्दर्भमा कुरा गर्दा हामीसँग आज प्रशस्त प्राकृतिक वैभव छ । गगनचुम्बी सेता हिमाल, तिनकै हिउँ पग्लेर जमेका हिमताल, बगेका हिमनदीहरु बर्षेनी लाखौं पर्यटकलाई आकर्षित गरिरहेछन् । सिंचाईको भण्डार, जलश्रोतको आधार ती नदीनालाहरुमा साहसिक जलयात्रा समेत गर्न सकिन्छ । प्रदुषण र प्राकृतिक विनासको यही अवस्था कायम रहेमा केही दशकमै ती सुन्दर सेता हिमाल नाङ्गा डाँडामा रुपान्तरित हुनेछन् । कञ्चन पानी बग्ने नदीमा कमिला हिंड्नेछन् । सिमसारमा खेल्ने जीवहरुको पनि अस्तित्व हराउनेछ । तब जैबिक विविधताको भण्डार ईतिहासका पानामा सिमित हुनेछ । वातावरणीय असन्तुलन बढ्ने छ । कयौं जीवहरु लोप हुनेछन् भने भूक्षय बढ्नेछ साथै पानीका मूल सुक्नेछन् । यसको प्रभाव सारा विश्वलाई नै पर्नेछ ।
प्राकृतिक सम्पदा नाश हुँदै जाँदा पृथ्वीमा प्रकोपहरुका साथै जलबायु परिवर्तनका नकारात्मक असरहरु बढ्दै गएका छन् । एक शताब्दिको अवधिमा कार्बन डाईअक्साईडको मात्रा वातावरणमा २५ देखी ३९ प्रतिशतसम्मले बृद्धि भएको छ । भूमण्डलमा अन्य प्रदुषक तत्वहरुको उपस्थिति पनि बढ्दो छ । एकातिर मानिस खान नपाएर मर्दैछन्, अर्कातिर रोटी नहुनेका हातमा विनाशकारी र घातक हतियार थमाईन्छन् । मानिसको चेतनास्तर समयानुकुल उकासिन सकेको छैन भने अर्को ग्रहमा गएर भए पनि बाँच्न सकिन्छ भन्ने अतिवादीहरु समेतका कारण पृथ्वी कुरुप बन्दै गएको छ । पृथ्वीको सुन्दरता र वैभव जोगाउन सबै प्रतिबद्ध भै लाग्नु जरुरि भैसकेको छ ।
वातावरण सन्तुलन कायम राखी पृथ्वीलाई दरपुस्तासम्मका लागि बस्न योग्य बनाउने धेरै कुराहरुमध्ये बृक्षारोपण सजिलो र प्रभावकारी माध्यम हो । यसका लागि कसैको मुख नताकी स्थानियस्तरमा उपलब्ध श्रोत, साधन र जनशक्ति प्रयोग गर्न सकिन्छ । विज्ञानको देनलाई अनुशरण गर्दै त्यसका नकारात्मक प्रभावलाई न्युन गर्ने तरिका पनि हो यो । रुख सुन्दर हुन्छन् र फरक रुखका फरक विशेषता हुन्छन् । एउटै रुखमा पनि मौषम अनुसारको परिवर्तन देख्न सकिन्छ । रुखलाई हेरेर हामी आनन्द अनुभुत गर्न सक्छौं ।
रुखको व्यक्तिगत महत्व
संसारमा करिब २३ हजार किसिमका रुखहरु छन् । प्रत्येक व्यक्तिले हरेक बर्ष १८ ईन्चको सय फुट रुख बराबरको काठ र कागजका सामाग्री प्रयोग गर्छन् । रुखबाट ५००० भन्दा बढि सामाग्री बन्न सक्छ ।सबैभन्दा ठूलो कुरा त रुखले हावामा भएको कार्बनडाईअक्साईड लिएर हामीलाई बाँच्नका लागि अक्सिजन दिन्छ । एउटै ठूलो रुखले एक दिनमा चार जना मान्छेलाई पर्याप्त मात्रामा अक्सिजन पु¥याउन सक्छ । अमेरिकी कृषि विभागका अनुसार एक एकड जमिनमा फैलिएको जंगलले ६ टन कार्बनडाईअक्साईड लिएर चार टन अक्सिजन फाल्न सक्छ । यो भनेको १८ जना मानिसको बार्षिक आवश्यकता हो ।
वातावरणीय तथा पर्यावरणीय भूमिका
घाम, पानी र हावाको असरलाई समायोजन गरी रुखले वातावरणीय संतुलन कायम राख्न मद्दत गर्दछ । गर्मी मौषममा पातहरुले सूर्यका किरणलाई सोसेर र फिल्टर गरेर चिसो राख्न सहयोग पु¥याउँछन् । हुरीबतासका बेलामा हावालाई रोकेर रुखले तापमान जोगाउँछ भने असिना पानीलाई सिधै जमिनमा पर्न दिँदैन । जराले माटोलाई समातेर राख्ने हुँदा भूक्षय र पहिरो जानबाट जोगिन्छ । बर्षातको पानीलाई सोसेर यसले जमिनको पानीलाई रिचार्ज गरिरहन्छ भने अर्कातर्फ बाढिलाई पनि रोक्दछ । झरेका पातपतिंगरले माटोलाई उर्बर बनाउन मलको काम गर्दछन् । रुखले कयौं जीवको खानाको पूर्ति गर्छ भने कयौं जंगली जीवलाई बासस्थान दिन्छ ।
रुखबिरुवा, बुट्यानले हावालाई फिल्टर गरेर त्यसबाट धुलाका कण तथा कार्बन मोनोअक्साईड, सल्फर डाईअक्साईड, नाईट्रोजन डाईअक्साईड जस्ता प्रदुषक तत्वहरुलाई हटाउँछ । रुखले ध्वनीलाई पनि फिल्टर गरेर नचाहिने होहल्ला कम गर्दछ । एउटा ठूलो रुखले एक दिनमा एक सय ग्यालेन पानी जमिनबाट उठाएर हावामा फैलाउँदछ । कार्बनडाईअक्साईडलाई सोसेर रुखले हरितगृह ग्याँसका कारण बढ्ने तापक्रमलाई नियन्त्रण गर्दछ । फोटोसेन्थेसिसका क्रममा रुखले वातावरणमा भएको कार्बनडाईअक्साईड सोसेर लिन्छ र हामीले श्वास फेर्ने अक्सिजन दिन्छ ।
कार्बन र रुख सम्बन्धि तथ्यहरु
एउटा रुखले एक बर्षमा ४८ पाउण्ड सम्म कार्बन डाईअक्साईड सोसेर लिन सक्छ । एक एकड जमिन ओगटेको जंगलले एक बर्षमा एउटा कारले २६ हजार माईल गुड्दा जति कार्बनडाईअक्साईड उत्सर्जन गर्न सक्छ, त्यो बराबरको कार्बनडाईअक्साईड सोसेर लिन सक्छ । घर आँगनमा रोपिएको एउटा ठूलो रुख कोठामा राखिने र २० घण्टा चल्ने १० वटा एयर कन्डिसन बराबर हुन्छ । क्यानडाको बोरल जंगलको माटोमा कुल कार्बनको ८० प्रतिशत हिस्सा जैबिक तत्वका रुपमा संचित भएको पाईन्छ । अफ्रिका, एशिया र दक्षिण अमेरिकाका ट्रपिकल जंगलहरुमा युनिभर्सिटि अफ लिड्स्ले ४० बर्ष लगाएर गरेको अध्ययनले के देखाउँछ भने यस्ता जंगलहरुले १८ प्रतिशतसम्म कार्बन डाईअक्साइड सोसेर लिन सक्छ । केडलरको जंगलमा गरिएको एक सर्भेक्षण अनुसार जंगलका एक करोड पचास लाख रुखहरुले बार्षिक ८२ हजार टन कार्बन संचित गर्दछन् ।
अर्थतन्त्रमा रुखको योगदान
एउटा स्वस्थ रुखले हाम्रो संपत्तिको मूल्य २७ प्रतिशतसम्मले बढाउन सक्छ । प्राङ्गणमा पाँचवटा ठूला रुख भएको घरजग्गाको मूल्य साना रुख वा रुखै नभएको जग्गाभन्दा ४ प्रतिशतसम्म बढि हुन सक्छ । एक अध्ययनले देखाए अनुसार शहरी क्षेत्रमा रुखबिरुवा भएका ठाउँमा अफिस र अपार्टमेन्टहरु छिटो भाडामा लाग्छन् र तिनको भाडादर ७ प्रतिशतसम्म उच्च हुन सक्छ ।
खेती प्रणालीमा रुखबिरुवा व्यवस्थित तरिकाले रोपण गर्न सकियो भने त्यसले पोषण तथा आर्थिक उन्नति दुबै कुरामा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । यसले प्रत्येक्ष रुपमा खाद्य पदार्थ दिन्छ, अथवा खेती गरिने अन्य खाद्यपदार्थको उत्पादनमा सहयोग गर्छ । खाना पकाउनका लागि ईन्धन पनि दिन्छ र कतिपय उत्पादनहरु बिक्रि पनि गर्न सकिन्छ । कतिपय जमिन यस्ता हुन्छन् जहाँ अन्य खाद्यान्नको उत्पादन राम्रो हुँदैन, त्यस्तो ठाउँमा रुख रोप्न सकिन्छ । त्यसैगरि रुख भएका ठाउँमा अन्य बालि पनि लगाउन सकिन्छ । समयक्रमसँगै जग्गामाथिको स्वामित्व घट्दोक्रममा छ । यस्तो अवस्थामा धेरै मानिसहरु आयआर्जनका लागि कृषिभन्दा बैकल्पिक पेशातिर आकर्षित हुँदै जाँदा कम लगानी र कम मेहनतमा राम्रो आम्दानी दिनेखालका फलफूलजन्य रुखविरुवा रोपण उपयुक्त विकल्प हुन सक्छ ।
व्यवस्थित बृक्षारोपणसँगै ग्रामिण र कृषि पर्यटन समेत प्रबर्धन गर्न सकिन्छ । विदेशी मुद«ा आर्जनको त्यो राम्रो तरिका हुन सक्छ । जर्जियाको म्याकोनमा हरेक बर्ष ६ लाख मानिसहरु दुई लाख चालिस हजार चेरिका रुखहरु फुलेको हेर्नकै लागि पुग्दछन् । यसबाट हरेक बर्ष करिब पैंसठ्ठि लाख डलर बराबरको राजश्व संकलन हुने गर्दछ ।
बढि भन्दा बढि विरुवा रोपौं
विश्वका लगभग ७ अर्व मानिसले बर्षमा १० वटा रुख रोपेमा ७० अर्व, आधा मात्र हुर्काउन सकेमा ३५ अर्व बिरुवा हुर्कन्छ । विश्वका गरिब देशहरुले फलफुलजन्य बिरुवा ५० प्रतिशत मात्र लगाएमा पनि प्रति बोट बराबर औसत २५ अमेरिकी डलरसम्म आय गर्न सक्नेछन् । हाम्रो देशको सन्दर्भमा पनि १ जना बराबर १० बोट फलफुल रोपन गरेमा बार्षिक ६० अर्ब रुपैयाँ आर्जन गर्न सकिन्छ । कार्बन के्रडिटमार्फत् पनि ठूलो धनराशी आर्जन गर्न सकिनेछ । कार्बन संचिति रुखको उमेरमा पनि भर पर्दछ । हुर्कँदा बिरुवाले जति संचित गर्दछन्, बुढो हुँदै जाँदा त्यो मात्रा घट्दै जान्छ । पुराना रुखहरुले संचित गर्ने कार्बन उनीहरुले श्वासप्रश्वासका क्रममा छोड्ने र कुहिएर उत्सर्जन हुने कार्बनको बराबर जस्तै हुन्छ । यसकारण पनि केही दशकको अन्तरालमा नयाँ बृक्षहरु रोपिरहनुपर्ने हुन्छ । यसरी पुनः बृक्षरोपण गर्दा काटिने पुराना रुखको काठ वापत पनि राम्रै आम्दानी गर्न सकिन्छ । नेपाललाई त्यत्तिकै भरमा विश्वको उन्नत देश बनाउन सकिन्छ र विश्व वातावरण शुद्धता र पृथ्वीको रक्षार्थ यहींबाट शंखघोष गर्न सकिन्छ ।
यस अन्तर्गत बार्षिक आय आर्जनका लागि स्थानविशेष अनुकुल उच्च आय हुने र बजारमा अत्याधिक माग रहेका फलफुलका साथै रुद«ाक्ष जस्ता विरुवाहरु र काठकै रुपमा प्रयोग हुने चन्दन, पाउलिनिया, सिसौ जस्ता विरुवाहरुको पनि रोपण गरिनेछ । वातावरण पनि जोगिने र आय आर्जन पनि गर्न सकिने यो अभियानमा बलियो जनसहभागिता हुने गरी कार्यक्रम संचालन गरिनेछ । जनपरिचालन गरी उनीहरुकै जग्गामा रुख रोपण गर्ने र रोपिएका विरुवाको जर्गेना गरी त्यसबाट आय आर्जन गर्ने कार्यमा उनीहरुकै सहभागिता हनेछ । रुख रोपण कार्यदेखी त्यसबाट आम्दानी शुरु नहुन्जेलसम्म उनीहरुको उत्साह र धैर्य बनाई राख्नका लागि बृक्षारोपण भएकै ठाउँमा नगदे बाली (तरकारी, औषधी, मसला आदि) समेत खेती गर्न उत्प्रेरित गरिनेछ । यसका लागि आवश्यक तालिमहरु पनि दिलाईनेछ । स्थानिय जनता परिचालन मार्फत् प्राप्त हुने श्रमदान बाहेक अन्य आर्थिक पाटो पनि महत्वपूर्ण हुने हुँदा आफ्नो तर्फबाट सबैले प्रतिष्ठानलाई सहयोग गर्नुहुन अनुरोध गर्दछौं । तपाईको यो लगानीले तपाईकै सन्ततिको भविष्य सुनिश्चित र सुरक्षित बनाउन मद्दत गर्नेछ । तसर्थ आउनुहोस् हात मिलाउँ ।“पृथ्वी बचाउँ” अभियानमा तपाईलाई स्वागत छ ।
Last edited: 07-May-13 10:14 AM