विश्व मानचित्रको एउटा सानो देश नेपाल, त्यही देशको विकसित मानिने चितवन जिल्लामा कान्दा भन्ने ठाउँ छ । त्यहाँका जनताहरुमध्ये कमैलाई मात्र नेपाल आफ्नो देश हो, त्यहाँ सरकार हुन्छ र त्यो सरकारले नागरिकका हक अधिकार सुनिश्चित गराउँछ भन्ने थाहा छ । चुनाब केका लागि हुन्छ, तिनलाई थाहा छैन तर हरेक पल्ट उनीहरु भोट हाल्न चाँही जान्छन् । केही दिन अगाडि नै उनीहरुलाई आएर भनिन्छ “यति गते फलाना ठाउँमा भोट हाल्न जानुपर्छ । अनि पेटभरि भात खान पाईन्छ ।” उनीहरु निर्धारित मितिमा छिमेकका माडसापहरुलाई अगाडि लगाउँदै भने बमोजिम भोट हालिदिन्छन् किनभने त्यहाँ सबैको टन्न पेट भात खाने ठूलो इच्छा हुने गरेको छ । संभवतः सधैं भरपेट खान पाएकाहरु त्यहाँ कोही हुन्नन् ।
मैले यो पंक्ति लेखेको देख्दा सधैं टन्न पेट खानेहरुलाई अचम्मित तुल्याउने छ र एकादेशको कथा बाहेक अरु केही लाग्दैन । तर यो चितवन जिल्लाको कान्दा भन्ने ठाउँका चेपाङ्ग वस्तीको दारुणिक कथा हो । यो भन्दा धेरै पीडादायी कथा तपाईहरु सामु प्रस्तुत गर्दैछु ।
कुरा करिब दुई बर्ष अगाडिको हो । मेरा एक जना मित्र एकल सिलवालको कानमा एकै घरका ८ जनाको विषालु च्याउ खाएका कारणले ज्यान गएको खबर प¥यो । खबर सुन्नासाथ एउटा जिम्मेवार पत्रकारको रुपमा उनी घटनास्थलमा पुगे । त्यहाँ पुग्दा उनले थाहा पाए कि त्यो गरिबिले सिर्जना गरेको एउटा भयावह दुर्घटना थियो, राज्यले नदेखेको पीडा थियो । संसारले पत्याउनै नसक्ने एकादेशको कथा थियो । चरौंदी देखी १२ घण्टाको पैदलबाटो कस्सिँदै गएका मित्र सिलवाल जब चेपाङ्ग गाउँ नजिकै पुगे, उनले त्यहाँ देखेको दृष्यले मनमा असामञ्जस्य पैदा भयो ।
घटना यसप्रकारको थियो –
एउटा करिब १६÷१७ बर्षको ठिटो कहिले घरको पालीतिर हेर्दै त कहिले बाटोतिर हेर्दै मुस्कुराई रहेको थियो । अचानक मेरा मित्रलाई देखेर ऊ अत्तालियो किनकि ऊ सर्वाङ्ग नाङ्गै थियो । तर फेरि आफुलाई सम्हालेर पालीतिर देखाउँदै भन्यो– ऊ त्यहाँ मेरा लुगा सुकाएको छ । उनलाई बुझ्न गाह्रो भएन कि त्यो विचरा किशोरसँग एक जोर मात्र कपडा रहेछ । कहिले त्यो सुक्ला र लाउँला भन्दै ऊ पालीतिर हेरिरहेको थियो । उसलाई गर्व थियो कि निकै दिन बाटो खन्न गएर पाएको सबै पारिश्रमिक खर्चेर उसले एक जोर सर्ट पाईन्ट किन्न सकेको थियो र त्यसैले ऊ मुस्कुराईरहन्थ्यो । यो दृष्यलाई पछि पार्दै उनी गन्तव्यतिर लम्किरहे तर लोकतान्त्रिक नेपालको यो चित्रले सिलवालजीको मनमा घोच्यो । उनीहरुलाई केही गर्नैपर्ने सोच पैदा भयो ।
बस्तिको विचोविच पुगेपछि पानी पर्न थाल्यो, दिन पनि ढल्न लाग्यो । उनले रात कटाउन सुरक्षित बासको व्यवस्था गर्नुथियो तर बास बस्ने बसेरा काँही थिएन । कतै मानिसहरु ओढारमा बार लागेर बसेका देखिन्थे त कतै बारबेर गरेर स्याउलाले छोपेका छाप्रा देखिन्थे भने कतै खरले छाएका बारबिहीन टहरा देखिन्थे । पानीले निथ्रुक्क भिजेका सिलवाल एउटा नाममात्रको घरको छेउमा ओतिन पुगे तर त्यहाँ पनि उनलाई भित्र जान दिईएन । कारण त्यो घरमा कपडा लगाउने व्यक्ति मित्र सिलवाल मात्र थिए । भित्र लहरै बाइस दिनको बच्चादेखी सत्र बर्षका नानीहरु समेत नाङ्गै सुतेका थिए । हुर्केबढेकाले गुप्ताङ्ग छोप्न टालो सम्म लगाएका थिए ।
घर मालिक भनौं वा त्यस परिवारकी नेतृत्वकर्ता २२ दिनकी सुत्केरी ढोकामा उभिईन् । दैलोमा उभिएर उनी बाटो भन्दा पनि लाज छेक्दै थिईन् । सिलवालजीको अनुरोध पश्चात् उनले वास दिने निर्णय गरिन् । हुन्छ भने लगत्तै उनका सामु अर्को प्रश्न तेर्सियो – पाहुनालाई राख्ने चाँही कहाँ ? नौ जना जन्मिएकोमा १ जनाको मृत्यु भएपनि ८ बच्चा लहरै सुतेका थिए । क्रमस ....
Last edited: 07-May-13 10:47 PM