.....यता राजधानीमा देश चलाउनेहरु कुर्सिको खेलमा रुमलिएका छन् र यसरी नै हजारौं ज्यान खाइरहेका छन् । मलाई विश्वास बढेको छ कि यिनीहरुलाई ती गरिबको मत मार्फत् प्राप्त शक्तिको दुरुपयोग गरेकोमा महापातक लाग्नेछ ।
हुन त म सामान्य मानिस हुँ । धेरै के नै गर्न सक्छु र ? तर पनि मैले त सधैं टन्न पेट खान पाएको छु । कर्म गर्ने राजधानीको थलो छ । दुःखी पनि धेरै छु किनकि विलक्षण प्रतिभाका धनी २ जना जवान छोराहरुलाई फरक फरक सडक दुर्घटनामा गुमाई सकेको छु । तर यो पीडा त्यहाँ हरेक सेकेण्ड मरिमरि बाँचिरहेका ती चेपाङ्गहरुकोे भन्दा कम मान्नुपर्छ । मेरै मझेरिमा नाङ्गै भोकै तड्पिरहेका मेरा सन्तानको दुःख मेरो मुटुमा दुखेको छ । र, आफ्नु वर्कतले भ्याएसम्म तिनको जीवन सहज बनाउन कोशिस गर्ने प्रतिवद्धता मनमा छ ।
केही दिन अगाडि मात्र मित्र सिलवालको सल्लाह र साथले एक जना प्राविधिकलाई उनीहरुलाई अल्पकालिन र दिर्घकालिन सहयोग पु¥याउन सकिने उपायका सम्बन्धमा अध्ययन गर्न पठाएको थिएँ । उनले तत्कालका लागि त्यहाँ चिसो ठाउँमा हुने सिमी र दिर्घकालका लागि स्याउ लगाउन सुझाब दिए । आगामी केही हप्तामा नै हामी लक्ष्मी प्रतिष्ठान र मितेरी फाउण्डेसन मिलेर आफ्नै खर्चमा सिमि र स्याउ रोपण कार्य शुरु गर्दैछौं । यसबाट हामी उनीहरुको जीवनमा परिवर्तन ल्याउन चाहन्छौं । उनीहरुलाई “सधैं पेटभरि खान पाएका छौं” भन्न सक्ने क्षमता बनाउन उद्यत छौं ।
आशा छ – अब कान्दा एकादेशको कथा भैरहने छैन । बरु केही बर्षमा नै समुन्नत चितवन हुनेछ । त्यही दिन मेरो विक्षिप्त आत्माले पनि सयौं चेपाङ्ग छोराछोरीको आँखामा आफुले गुमाएका कुमार बलरामको विम्ब देख्न पाउने छ ।