विष्णु गौतम
संसारकै अथाह श्रोत विश्व प्रशिद्ध विशिष्ट सम्पदाहरुको भण्डार नेपाल साँच्चिकै आफैंमा एउटा अदभुत संग्राहलय हो । भौगोलिक रुपमा यो सानो छ तर धेरै सुन्दर छ । यहाँ संसारका सबै ठाउँको नमूना हिमाल, पहाड र तराई समाहित छ, जैविक विविधताको भण्डार छ, मन्दिरै मन्दिरको सहर छ र छ धार्मिक सहिष्णुता पनि । नेपाल विभिन्न जातजातिहरुको सुन्दर फुलबारी हो जहाँ भाषा र संस्कृतिमा पनि उत्तिकै विविधता छ । विश्वका १४ वटा उच्च शिखरहरुमध्ये ९ वटा नेपालमा नै छन् । यही भूमीमा धार्मिक शास्त्रका प्रशिद्ध पात्र जनक र सीता लगायत शान्तिका अग्रदुत भगवान गौतम बुद्ध समेत जन्र्मिएका थिए । पौराणिक ग्रन्थ अनुसार विभिन्न देवीदेवताहरुको तपोभूमी, भगवान शंकरको क्रिडास्थल पशुपतिनाथको मन्दिर यहीं अवस्थित छ ।
पूर्व र पश्चिमतर्फ भारत वेष्ठित नेपालको उत्तरतर्फ चीन छ । ८०० किलोमिटर लम्बाई र १५०–२५० किलोमिटर चौडाई रहेको नेपालको क्षेत्रफल १४७१८१ वर्गकिलोमिटर छ । परापूर्व कालमा यसको राजधानीको नाम एउटा मात्रै रुखबाट बनेको मण्डपको नामबाट काष्ठमण्डप राखिएको थियो तर समयसँगै अपभ्रंश हुँदै जाँदा पछि गएर काठमाण्डौ बनेको हो । चाँदी झै चम्चमाउँदा हिम शिखरहरु पग्लँदै निरगंगाको रुप धारण गर्दै नागबेली नाच्दै परदेशको महासागरमा समाहित हुने गर्छन् । चराचुरुङ्गि दृष्यावलोकनको लागि नेपाल भूस्वर्ग नै हो । यहँ युरोपको साइवेरियादेखि चराहरु आउने गर्छन् ।
नेपालमा शताव्दियौंदेखी जंगली परम्परागत रुपमा बाँच्दै आएका ओढारमा बस्ने कुसुण्डा जातीदेखी बनपाखामा बस्ने बनकरियाहरुको बासस्थान अझै विराजमान छँदैछ । ईतिहास खोज्नेहरुका लागि रजौटाहरुको राज्य हुँदै राजा, राणा, राजा, प्रजातन्त्र, राजतन्त्र, पुनः प्रजातन्त्र हुँदै अहिले गणतान्त्रिक व्यवस्था विद्यमान छ । हिजोको दिनमा सतीप्रथा समेत रहेको नेपालमा महिलाहरुले परपुरुषको अनुहार हेर्न नहुने चलनदेखी बहुपति प्रथा समेतको ईतिहास छ । जन्म संस्कारमा विविधता नभए पनि यहाँको विवाह संस्कारमा विविधता छ । एउटा थरभित्र प्रायले विवाह गर्दैनन् तर कतै–कतै दाजु भाइका छोराछोरी विच पनि विवाहवारी हुन्छ (केही मुस्लिम) भने कतै–कतै मामाचेला फुपूचेला विच विवाह हुनेगर्छ । कतै दाजुको मृत्यु भएमा भाइले भाउजूसँग विवाह गर्ने चलन रहेको पाईन्छ । तर हाल आएर चेतना बृद्धि भएका कारण यस्ता विवाह वर्जित हुँदै गएका छन् । नेपालीहरुको मृत्यु संस्कार पनि रोचक छ । कतै–कतै लाशलाई जमिनमा गाडिन्छ भने धेरै समुदायमा लाशलाई जलाईन्छ । नेपालभित्र अर्को अनौठो चलन पनि छ हिमाली क्षेत्रतिर (विशेष गरी डोल्पातिर) जहाँ लाशलाई काटेर गिद्धलाई खुवाईन्छ ।
धार्मिक धरोहरका लागि पनि नेपाल धेरै सम्पन्न छ । मन्दिरै मन्दिरको देश भनिने नेपालमा प्रसस्त गुम्बाहरु, चैत्यहरु, मस्जिदहरु र प्रसस्त चर्चहरु पनि छन् । नेपालमा विविध जातजाती तथा धर्मावलम्वीहरुको बसोवास भएर पनि धार्मिक होस् वा जातीय युद्ध कहिल्यै भएका छैनन् । त्यसैले नेपाललाई सधैं सबैको साझा फुलबारी भनिने गरिन्छ ।
विश्वकै आकर्षण बन्दै गएका साहसिक यात्राहरुको लागि उदगम भूमी नेपालमा रक क्लाईम्बिङ्ग, माउन्टेनियरिङ्ग, करेन्ट वाटर ¥याफ्टिङ्ग, तुइन तराई, बन्जी जम्पिङ्ग, आदिको प्रसस्त व्यवस्था छ । थप मनोरञ्जनका लागि ट्रेकिङ्ग, हाइकिङ्ग, हर्स राइडिङ्ग, हात्ती सफारी, साइक्लिङ्ग, बोटिङ्ग लगायत माउन्टेन फ्लाईटको सुविधा समेत छ । यातायातको लागि अझै पनि ठाउँ विशेषमा भैंसी गाडा, वयल गाडा, घोडा गाडा देखि वातानुकूलित कार, बस, हवाई जहाज, हेलिकप्टर र केवलकार आदिको व्यवस्था समेत छ । बास बस्नका लागि साधारण गाउँका छाप्राहरुदेखी विश्वस्तरका पाँचतारे होटलहरुको सुविधा पनि यहाँ छ । विश्व प्रशिद्ध लेखकहरुको लागि नेपालको वातावरणले आकर्षण गर्छ भने साना–ठूला चलचित्रकर्मीहरुको लागि सारा विश्व नेपालभित्रै क्याप्चर गर्नै सकिन्छ । आज विश्व नै सहरिकरण उन्मुख हुँदै औद्योगिकिकरणतर्फ समेत उन्मुख भैरहेको अवस्थामा कोलाहाल रहित नेपाल साँच्चिकै अव विश्वको आराम गर्ने स्थल बन्नुपर्छ । यहाँ उपलब्ध प्राकृतिक उपलब्धीको स्वाद चाख्न पर्छ । शास्त्रअनुसार नेपाल देवभुमी उल्लेख गरिएको हुनाले धार्मिक पर्यटनका लागि पनि र विशेष गरी हिन्दुहरुको आराध्यदेव शिव भगवानको प्रिय क्रिडास्थल मृगस्थली र बासस्थान श्री पशुपतिनाथको मन्दिर रहेकोले यसलाई विशिष्ट मानिन्छ । ज्ञानीजनका अनुसार विश्वप्रशिद्ध मनोकामना माता, मुक्तिनाथ धाम, हिन्दुहरुले जीवनमा पुग्नैपर्ने ठाउँ हो भनेर बुझिएको छ, ध्यान मार्ग समातेका ध्यानीहरुको लागि पनि देवभूमी नेपालको हिमाली क्षेत्र विशेष क्षेत्र हो । नेपाल नै सिद्धार्थ गौतमले जन्म लिएको भूमी हो जसले ७ बर्ष ध्यान गरेर वोदिसत्व प्राप्त गरी विश्वमा नै शान्तिको उद्घोष गरेका थिए । त्यसैले विश्वका बौद्ध धर्मावलम्विहरुको लागी लुम्बिनी नै संसारको सबैभन्दा ठूलो तिर्थस्थल मानिएको छ र जीवनमा कमसेकम एक पटक भए पनि त्यहाँ पुग्ने सबैको इच्छा हुने गर्छ । अन्य धर्मावलम्वीहरुको लागि पनि नेपाल उत्तिकै महत्वपूर्ण छ । यहाँ विद्यमान चर्च, गुरुद्वारा तथा मस्जिदहरुले सबैलाई विना भेदभाव निमन्त्रण दिइरहेका छन् ।
विश्व जनसंख्याको हिसाबले पनि विश्वकै एकतिहाइ जनसंख्या भएको नेपालका दुई विशाल छिमेकी चीन र भारतको विचमा रहनु पर्यटन व्यवसायको हिसाबले विशिष्ट उपलब्धि मान्नुपर्छ । छिमेकी राष्ट्रहरुबाट मात्र केही प्रतिशत पर्यटकहरु नेपाल भित्राउन सक्यो भने देशको आर्थिक बृद्धिदर ह्वात्त बढ्न जान्छ र देशले समुन्नतिको शिखर चुम्नेछ । अतः यतिखेर गरिविको रटान रटेर हिनताबोधमा बाँची देशभित्र रहेको अथाह श्रोत तथा संपदाको अवमूल्यन नगरी र गुटबन्दि छोडी राष्ट्रिय स्वार्थको लागि पर्यटन व्यवसायमा होमिन विलम्ब गर्नुहुन्न ।