ana
न्युयोर्क, गत जुलाई ४, ५ र ६ मा न्युयोर्कमा सम्पन्न भएको अमेरिकामा रहेका नेपालीहरुको संस्था एएनएको ३१ औं सम्मलेनको आम्दानी तथा खर्च बिवरण सार्वजनीक गरिएको छ । बुधबार न्युयोर्कमा एक पत्रकार सम्मेलनको आयोजना गरि ३१ औं एएनए सम्मेलन आयोजक समितीका संयोजक समिर मर्हजनले सम्मेलनको आम्दानी तथा खर्च बिवरण सार्वजनीक गर्नुभएको हो । पत्रकार सम्मेलनमा मर्हजनले ३१ औं एएनए सम्मेलन सहभागीका हिसावले निकै ऐतिहासीक सफल भएको बताउदै सम्मेलनको सफलताको लागि सहयोग गर्ने सबैमा धन्यबाद ज्ञापन गर्नुभएको थियो । मर्हजनका अनुसार सहभागीता निकै राम्रो भए पनि सम्मेलनबाट जम्मा एक हजार आठ सय अमेरिकी डलर मात्र नाफा गर्न सकिएको जानकारी गराउनुभएको थियो । बिगत ३१ बर्ष देखी जुलाई ४ मा आयोजना हुंदै आएको सम्मेलनका पछिल्ला तीन वटा सम्मेलन मात्र नाफामा सम्पन्न भएको एएनएका अध्यक्ष छेवागं शेर्पाले जानकारी दिनुभयो । शेर्पाका अनुसार वासिङटन डिसीको २९ औं सम्मेलनमा १२ हजार डलर नाफा भएको थियो भने टेक्सासमा भएको ३० औं सम्मेलनमा झण्डै ३० हजार डलर आम्दानी भएको थियो । अध्यक्ष शेर्पाका अनुसार तीन बर्ष भन्दा पहिलाका सबै सम्मेलनहरुको हिसाब किताब नै राखीएको छैन । ३१ औं सम्मेलन भब्य भए पनि केहि कमजोरी र धोकाका कारण सोचे जस्तो नाफा नभएको ३१ औं सम्मेलन संयोजक समीर मर्हजनले पत्रकार सम्मेलनमा बताए । संयोजक मर्हजनका अनुसार सम्मेलन आयोजक समितीलाई सबैभन्दा ठुलो धोका नेपाल उद्योग वाणिज्य महासंघ, नेपालका अध्यक्ष सुरज बैद्यले दिएका छन् । आफु नेपालमा गएको समयमा बैद्यले सम्मेलनमा ठुलो टोलीका साथ सहभागी हुने वाचा गरेपनि अन्त्यमा सम्मेलनमा उहाँहरु नआइदिदाँ २०, ३० स्टल खाली भए, महर्जनले भन्नुभयो । उद्योग बाणिज्य महसंघको टोली नआउंदा र सम्मेलनमा सुरक्षा कमजोरी हुदां २०, ३० हजार डलर घाटा परेको मर्हजनको भनाई छ । सम्मेलनमा मुख्यत सांस्कृतीक कार्यक्रम, स्मारिका विज्ञापन, व्यवसायीहरुको प्रायोजन, सहभागी दर्ता, खेलकुद प्रतियोगिता उल्लेखीय रकम संकलन गरेपनि कलाकार खर्च, आयोजना एवं खेल स्थलमा धेरै रकम खर्च भएको जनाइएको छ । एएनएका अध्यक्ष शेर्पाले सम्मेलनलाई ऐतिहासिक सफल भएको बताउदै यो सम्मेलनले आर्थिक भन्दा पनि सामाजीक रुपमा एएनएको छबीलाई उच्च बनाएको बताउनुभयो ।