डियर जाडो......................बट आई हेट यु ...........................
तिमीसँग प्रेम गरेर बिहे गर्नुभन्दा म आजीवन ब्रह्मचारी बस्न तयार छु । तिमीविरुद्ध युद्ध गर्न तयार छु । चाइनिज हिटर एक थान । बि्रकेट ३ थान । थर्मस १ थान । खोकीको औषधिको झोल १ सिसी । खुकुरी रमको झोल २ सिसी, इलेक्टि्रक केटल, हट ब्याग के के हुन् के के । कोठाभरि लड्नका लागि आधुनिक हातहतियार तयार पारेको थिएँ ।
विडम्बना यस बेला तिम्रो गुड टाइम चलेको छ, मेरो ब्याड टाइम । मोरो हिटर, बिजुली आएपछि मात्र चल्छ । बिजुली म सुतेपछि मात्र आउँछ । उठ्नुअघि नै जान्छ । १२ घन्टे दैनिक लोडसेडिङ नभएको भए लाग्छ म बसेको टोलै तात्ने गरी हिटर बाल्थें । वल्लो घर पल्लो घरकालाई हिटर ताप्न बोलाउँथें । ककटेल खुवाउँथें र पैसा चुहाउँथें । तर 'यी त सब भन्ने कुरा न हुन्' मात्र भएको छ ।
ठीकै छ, बत्ती नभएको बेलामा बि्रकेट बाल्छु भन्यो, सास फेर्न गाह्रो हुँदो रैछ । झ्याल खोलेर बि्रकेट बाल्नुको अर्थ छैन, झ्याल ढोका लगाएर बाल्यो निसासिएपछि आफू नै अर्थ न बर्थको बनिने डर भो । खोकीको औषधिको चुस्की लियो निद्रा मात्र लाग्छ । थर्मसको तातो पानीले एकछिन ज्यान तताउँछ, सेलाइहाल्छ । खुकुरी रमले धेरै बेर तताउँथ्यो होला, खायो कि भोमिट भैहाल्छ । सारा हतियार खिया लागेझैं भाछ । खुब मज्जा आयो होला है मेरो बेहाल सुन्दा तिमीलाई ? थाहा छ, तिम्रो आगमनले मेरो नाकबाट अविरल धारा बग्न थालेको छ । तर, यो नसोच्नु कि तिम्रो मायामा म पग्लिरहेको छु । म त तिम्रो चिसोपनमा साँच्चि, जम्न थालेको छु । मायामा न्यानोपन हुन्छ, तिम्रो चिसोपनसँग मलाई कुनै प्रेम गर्नु छैन । डियर जाडो, आई हेट यु ।
पच्छ्याउनुको पनि सीमा हुन्छ । हदभन्दा बढी छौ तिमी । तिमीले पच्छ्याउन थालेपछि घामले पच्छ्याउन छाडेको छ । बिनाबिजुली चल्ने पि|mजजस्तो यो काठमाडौंका सडक अनि गल्ली गल्लीमा बिहानैदेखि हुस्सुका हुलहरूले परेड खेल्न थालेका छन् । हिमालका मान्छे मात्र हैन भेडीगोठ अनि भेडाच्याङ्ग्रा पनि तल बेसी र्झन थाले रे । तराईतिर लहरै चलेको शीतलहरले बूढाबूढी र केटाकेटी ठहरै पार्यो भन्ने सुनेको छु । के मलाई पनि ठहरै पार्ने रहर छ तिम्रो ? के यही हो तिम्रो प्रेम ? लाग्छ, यदि तिमीबाट सधैंका लागि छुट्कारा मिल्थ्यो भने म मेरो घरै जलाएर आगो ताप्थें ।
मेरो ताप छिन्ने तिमीलाई पाप लाग्न सक्छ, डियर जाडो । एकाबिहानै कलेज पढ्न अनि पढाउन जानेहरूले तिमीलाई यति धेरै सरापेका छन् कि ती सबै पाप घाम तापेर निक्लेको पसिनाले मात्र तिमी पखाल्न सक्छौ । के हिम्मत छ तिम्रो ? तिम्रो आगमनले गर्दा कपडै कपडाले बेरिएको यो ज्यान बन्दा, प्याजजस्तै पत्रैपत्र बनेको छ । लुगा लगाउन आधा घन्टा । फेर्न आधा घन्टा । के मेरो जिन्दगी लुगा लगाउँदै फेर्दै बिताइदिने विचारमा छौ तिमी ?
हेर म कति बोलक्कड भाको छु । चिसो बढ्दै जाँदा दिमागले पनि अनेक कुरा सोच्न थालेको छ । कहिलेकाहीं त ज्यानमै चार्जेबल हिटर फिट गर्न मिले हुन्थ्यो भन्ने सोच्छु । यस्तो होस् कि, मोबाइल सेटमा बडी टेम्प्रेचर कन्ट्रोल गर्ने रिमोट होस् । चस्मामा ज्यानको बेट्री लेभल
हेर्न मिलोस् । इन्भटरमै भए पनि हरेक दिन बेट्री चार्ज गर्न मिलोस् । जाडोमा शरीर यति धेरै तातो होस् कि यसो बाटोमा हिँड्दा भेटिनेहरू अँगालिन आउन् । अनि छुट्टनि नमानुन् । यस्तै सोच्न थालेको
छु आजकल ।
सोचाइ र वास्तविकतामा फरक छ । हो मैले पनि बुझेको छु, तिम्रो आगमनले धेरैको लुगाधुने, नुहाउने समय कटौतीमा परेको छ । तिमी आएपछि हरेक वर्ष साउन र फागुनमा मात्र नुहाउने मान्छे बढेका छन् । लुगामा खाटा नबसिन्जेल र ज्यानमा मयलका टाटा नबसिन्जेल थोरै माइकलाल मात्र जांगे लगाएर जग र बाल्टी बोकेर बाथरुम पस्छन् । सोलार नभएपछि, मैले पनि बाल्टीको पानीमा रड हालेर, बिजुली आउँला र पानी तताउँला भन्दै धेरै दिन काटेको छु । बाथरुममा पानी नआउने र बाल्टीमा पानी ओसारेर नुहाउनेले त ग्यास गिजर ल्याएर गिजा देखाउँदै नुहाउँछु भन्ने पनि सपनै रैछ । हेर हाँसेकी । हाँस, जति हाँस्नु छ यही पुसमा हाँस । माघ लागेपछि र आकाश बिस्तारै घमाएपछि मेरो पनि हाँस्ने दिन आउला ।