आन्द्राको सेल्फी र यमराजसंग च्याट
========================
कथाको सुरु गत साल डिसेम्बर महिनाको तेस्रो हफ्ता देखि हुन्छ | प्रि क्रिसमस भन्दै छिमेकीहरुसंग साँझलाई रमझम बनाउंदै थियौं | धेरै पिउने भन्दा पनि धेरै जिउने चाह थियो | तै पनि कोटा अनुसार झुम्मिएँ | भोलिपल्ट पेट फुलेको फुलेको , दुखेको दुखेको जस्तो भयो | सितन र बियरको मात्रा, मात्रा भन्दा बढी भयो कि भन्ने लाग्यो | यो क्रम जारि रह्यो केही दिन | मेरो पेट भरि हेलियम ग्याँस भरेको र बेलुन झैँ उड्न खोजेको तर खुट्टाले यो धरतीमा जबर्जस्ती बन्धक बनाइ राख्या जस्तो | १ हफ्ता सम्म यो क्रम जारि रह्यो | खास दुखेको पनि हैन तर केही असजिलो महसुश हुन्थ्यो |
अब भएन भनेर डाक्टर सहिबालाई को-पे ३० डलर “पुइं हाय” नगरी भएन भनेर प्राइमरी फिजिसियन संग समय लिइयो | ( नेवार समुदायमा सामन्य अस्वस्थातामा अक्षताम फलफूल र कपासको माला बिशेष बनाई ढलको निकास मा पूजा गर्ने चलन लाई पुइं हायगु भनिन्छ| बिभिन्न कारणले अरुलाई पैसा बुझाउनेको पर्याय “पुइं” हाय “ हुन गएको छ)
डाक्टर साहिबाले मेरो कुरा नबुझेकी हो कि मैले बुझाउन नसकेको थाहा भएन | मलाई त आउँ लागेको ओखती दियो बाइ | अनि एन्टी बायोटिक| अनि एब्डोमिनल सिटी स्क्यान गर्नु भनेर पर्ची लेखेर दिई | डाक्टरी डिग्री भएका संग बहस गर्नु हुन्न भन्ने लाग्यो | ओखातिले त झन् खान मन नलाग्ने र बिरामी नै महशुश भयो | सिटी स्क्यानिंग गर्न गइयो | ६ घण्टा अघि देखि केही खान नहुने , बेरिलियमको smoothie २ लिटर पिउने पर्ने अर्को टेन्सन, लास्तई गन्हाउने |
सिटि स्क्यान गरियो | स्क्यानिंगको रिपोर्ट प्रतिकूल भयो भने खबर गर्छु हैन भने केही गर्नु पर्दैन भन्यो | २-३ दिनसम्म कुनै फोन आएन | मेरो पेटमा खराबी छैन भन्ने कुरा ढुक्क भैयो | क्रिसमस आयो | नेपालीको महान चाड, खैरे गैरे क्रिस्चियन भन्दा नि २ कदम आगे छौं प्रभु यशुको जन्म दिन मनाउन | एकजना डाक्टर मित्रको सल्लाहमा त्यो ओखती सोखाती खान छोडेर मर्स्याको पसलमा हाजमोला किनेर खाए देखि पेट को दर्द गयाब भयो |
साला २ डलरको एक बट्टा हजोमोलाले काम निको हुने कुरामा डाक्टर साहिबाले अनेक यातना दिई भन्ने लाग्यो |
++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++
गत फेब्रुअरी महिनामा वाशिंगटन मेट्रो एरियामा चिर परिचित ट्राभेल एजेन्टको ब्यबसाय गर्ने मेरो भाइ ( काकाको छोरो ) राकेशको पत्नीको कोलोंन क्यान्सरले ग्रसित थिईन् | अन्तिम अवस्थामा रहेकोले भेट्न भनी जाँदा जाँदै बाटोमा दुखद निधन भएको शोक थियो ( यसबारे अन्तै लेखि सकेको छु )| जिउँदोलाई भेट्न सकिन लाश माथि ह्याप्पी बर्थ डे र गेट वेल सून को कार्ड र बुके चढाएर फर्किने अभागी मै थिएँ | फेरी भ्यालेन्टाइन डे को दिन अन्तिम यात्रामा सहभागी भै पुन आफ्नो वासस्थाममा फरेको थिएँ | आज उनै बुहारीको ४५ दिनको पुण्य तिथी, भारि मनले पुन: एकपल्ट श्रद्धान्जली |
+++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++
फेब्रुअरी महिनाको अन्त्य तिर नियमित सेवन गर्नु पर्ने उच्च रक्त चापको ओखतीको लागि डाक्टर साहिबाकोमा गएको थिएँ , पर्ची माग्न | पर्ची दिनुको साटो हप्काउँछे बाइ .......| तिम्रो सिटि स्क्यानको रिपोर्ट राम्रो छैन सम्पर्क गर्नु भनेर फोन गरेको किन नआएको पो भन्छे | ए बाबा फोन भने पछी यमराज को त उठाउने मान्छे म . न उठाउने कुरै छैन भने | रेकर्ड देखायो फलानो मितिको फलानी ट्याममा फोन गरेको भनेर | फोन पनि आएको थिएन , मेसेज नि छोडेको थिएन | यो कुरामा बहस गर्नुको कुनै तुक छैन भनेर मैले आफै सरि भनें | ग्यास्त्रो स्पेश्लिस्टकोमा जानु मैले पर्ची लेख्दिन्छु भनी |
आफु पनि अलि अलि पढे लेखेको मान्छे, कुनै जमानामा बायोलोजी पढेर डाक्टर बन्ने सपना चकनाचूर भएको इतिहास भएको मान्छे , अलि अलि त शारीरिक संरचनाको ज्ञान थियो भन्ने दम्भले “ त्यो रिपोर्टमा कहाँ गडबड भएको जस्तो देखिन्छ ?” भन्ने प्रश्न गरि हालें|
डाक्टर न ठहरियो, यस्ता औंठा छापले के सोध्या होला भनी ठानी कि कसो, बम्किदै कोलोंनमा प्याचेज छ, त्यो जे पनि हुन सक्छ, जी आई स्पेश्लिस्टलाई देखाउनु पर्छ |
अघि सम्म जिन्दगी नर्मल थियो, सपनाहरु रंगिन थिए | एकै छिनमा खर्ल्यांगखुर्लुम्म भए | केही दिन अघि मात्र आफ्नै बुहारीको लाशलाई अग्नि समाधीमा राखेको हेरेर आएको आँखाले आफैलाई त्यही कफिन भित्र देखें | कोलोंन मा प्याचेज , याने कि कोलोंन क्यान्सरको बलियो सम्भावना | एक मन लाग्थ्यो भैहाले पनि प्रारम्भिक चरणको भए त निको हुन्छ नि , साहस बटुलें|
डाक्टरको क्लिनिकबाट निस्किने बित्तिकै कार मै बसी ग्यास्त्रोवाला लाई फोन हानें | १५ दिन पछी मात्र समय छ भने | यत्रो दिन त बाँचियो र बच्यो भने फेरी अर्को १५ दिन सही भन्दै समय लिएँ | टेन्सन खाँदै , टेन्सन पिउंदै जिउंदै भएँ|
भनेको समयमा दिनमा, अस्पतालमा गइयो | जी आइ स्पेश्लिस्ट डाक्टरी साहिबाले छामछुम गरी पेटमा, रिपोर्ट सिपोर्ट हेरी |
लामो सुस्केरा तान्दै “ खासै ठुलो समस्या जस्तो त देखिदैन “ भनी , यति के भनेकी थिई म मा जीवन संचार भैहाल्यो | आन्द्राको पिक्चर देखाएर – “ यहाँ निर सानो प्याचेज छ, मेरो बिचारमा कुनै ठुलो प्रोब्लेम हैन , तै पनि के हो भनेर इन्डोस्कोपी गरेर हेर्नु पर्छ, त्यो गर्दा शंका लागेमा बायोप्सी पनि गर्न सकिन्छ , त्यसैले टेन्सन लिनु पर्दैन “ भनी |
डाक्टरले यहाँ निर भनेर देखाएको भाग कोलोन थिएन | त्यसैले कन्फर्म गर्न मैले सोधें – यो भाग त कोलोंन हैन नि , कहाँ निर प्याचेज हो ?
“ यो त डुडेनम हो , कसले भन्यो कोलोंन ? “ डाक्टर साहिबाले प्रष्ट्याइ | हैन मैले न जानेर , कोलोंन मा हो कि भनेर |
कोलोनमा हैन , त्यसैले चिन्ता लिनु पर्दैन, मेरो प्रारम्भिक अनुमानमा यो कुनै अप्ठेरो चिज हैन, इन्डोस्कोपी गराउ सब कन्फर्म हुन्छ | अहिले कुनै ओखती पनि खानु पर्दैन “ भनी |
गर्ने पर्छ भने पछी गर्नु पर्यो नि , मखुला ?? इन्डोस्कोपीको समय एक हफ्ता पछी रहेछ | लिइयो |
इन्डोस्कोपी अर्थात् आन्द्राको सेल्फी | त्यो प्रोसिजर गर्न भन्दा १२ घण्टा अघि देखि केही खान नहुने , पानी समेत पिउन नहुने कडा निर्देशन पाइयो | बुधबार मध्यान् १२ बजे अस्पताल आउने फोन आयो , राती १२ बजे देखि पानी समेत पिउन नहुने भन्दै | फेरी फोन आयो हैन हैन , साढे १० मा गर्ने भएकोले १० बजे आउनु भनेर |
मा जस्तो खन्चुवालाई केही राहत मिल्यो |
भने जस्तो पानी समेत न पिई गइयो , आन्द्राको सेल्फी लिन |
अनेक १० थरिको पेजहरुमा सहि गरायो , यता सहि उता सही, के लेख्या छ पत्तो छैन | पुरै बेहोस बनाउनु पर्ने भएकोले साथमा कोइ हुनु पर्छ भनेकोले जीवन भरि साथ् दिने गृह लक्ष्मी साथमा थिई | भित्र लगियो सर्जिकल युनिटमा | लुगा फेरिवरी खाटमा सुताई स्लाइन पानी चढाई हाल्यो |
एकजना बुढा डाक्टर हाइ भन्दै आयो | म आजको यस प्रोसिजरको एनिस्थेसीयन डाक्टर फलानो भन्दै | छाती को विभिन्न भागमा र हातको औम्लाहरुमा जडेका तारहरुले अगाडिको मोनिटरमा ब्लड प्रेसर देखि लिएर धड्कनको पदचाप समेत देखाइरहेको थियो | त्यो हेर्दै स्वास्थ सम्बन्धी प्रश्न गर्दै गर्यो |
“यो भन्दा पहिले कहिलेइ अनेस्थेसिया लिएको छ ?” डाक्टरले सोधे | छैन मैले भनें | ओहो अहिले सम्म कुनै सर्जरी वार्जारी गरेको छैन ? मैले छैन , दांत निकालेको बाहेक |
दांत निकाल्दा एनेस्थेसिया दियो होला नि ?? अहँ लोकल मात्र लिएको | यह मान्छे त बहादुर रहेछ रे |
के थाह त्यो डाक्टर लाई , म नेपाली हुँ अनि आफ्नो नाममा मिडिल नेम बहादुर पनि छ भनेर |
नाक मा अक्सिजन को पाइप नि घुसायो | एक छिन हामी बेहोस बनाउन्छौ , १० मिनेट जति प्रोसिजरमा लाग्छ , आधा घन्टामा होस् आउँछ | कुनै चिन्ता लिनु पर्दैन , म साथ् हुन्छु- डाक्टरले आफ्नो तर्फबाट आस्वस्त पारे |
एकै छिनमा डाक्टर क्यास्पर आइपुगी, ग्यास्त्रो बिशेषज्ञ | छड्के पारेर सुत्न भनी | मुख आँ गर भनी | आँ गर्ने बित्तिकै मुखमा एक डल्ला घुसाई | अनि त्यो बत्ती भएको क्यामेरा भएको पाइप सेल्फी खिच्न घुसाई |
आमा मरें नि , मा चिच्याएँ | होसमा रहेछु क्यामेरा घुसाउँदा | हत्तनपत्त क्यामेरा झिकी | त्यति मात्र याद छ मलाई | त्यस पछी त अर्कै संसारमा................................ |
म त यमराज संग च्याटमा पो ब्यस्त भएँ | यमराज बोरो त लास्तई स्लो मोशनको औलाद रहेछ | अनलाइन भ्वाइस च्याट | भकभके पनि रहेछ बोरो त | परिचय आदान प्रदान गर्दैमा च्याटको टाइम सकियो | इन्टरनेट कनेक्सन प्रोब्लेम |
अर्कै कोठामा आँखा खोलेछु | संगै एक जना नर्स थिई | कस्तो छ अहिले ? तिनले नरम स्वरमै सोधी |
ठिक छ म्यादम भन्न खोजेको ज्यान जाला बोलि फुट्दैन | हातको इशाराले ओके भने | एनेस्थेसियाको प्रभाव हटेको थिएन , झुम्म थियो | छाती भारि थियो | बोलि बन्द |
केही समय पछि फेरी आइ त्यो नर्स , जुस पिउने हो भन्दै | हो भन्न पनि सकिन , इशारामा हो भनें | मुलाहरुले क्यामेरा घुसाउँदा भोकल कर्ड सोकल कर्ड नै खत्तम पारे छ जस्तो लाग्यो | जुस पिएँ | अमृत सरि भयो | एक छिन पछी एनेस्थिसिया को डाक्टर आयो , कस्तो छ हाल भन्दै | भन्न सके पो | बल गरी एकदुई शब्द निस्कियो . आइ आम ओके |
भोकल कर्ड चाहि जिम्दै रहेछ , धन्न भगवान | नत्र पटरपटर बोली रहनु पर्नेको भोकल गए पछी त नून खाएको लोकल भैहाल्यो नि , कुरो......... |
डाक्टरलाई कुन्नि के लग्यो , यो मान्छेले इन्ग्लिश बुझ्दैन भनेर बाहिर कुर्दै बसेकी गृहलक्ष्मी लाई बोलाएर ल्याई | डाक्टर संग किन नाबोलेको भनि सोधी | के बोल्नु अघि एक शब्द त निस्केको थिएन | भोकल कर्ड चेट |
बल्ल, ग्यास्त्रो स्पेश्लिस्ट डाक्टर साहिबा आइन्| इन्डोस्कोपीको रिपोर्ट एकदम झक्कास छ | त्यो प्याचेज केही हैन , केही गर्नु पर्दैन . एक छिनमा घर गए हुन्छ |
थ्यान्कु डाक्टर , थ्यान्कु भगवान | अघि यमराज संग च्याट मात्र भएको थियो | झन्डै प्रत्यक्ष यमराज नै आएको थियो | ढुक्क भएँ| छाती दुखेको , बोली न निस्केको कुरा अब ठुलो इस्स्यु भएन |
छाती दुखेको बोल्न गाह्रो भएको गुनासो गर्दा , यो नर्मल हो , २४ घन्टामा ठिक हुन्छ भनी |
त्यसपछि घर आएँ | प्यारीले बडा मीठो जाउलो पकाईवरी खुवाई | एक छिन सुत्न भनी | त्यसै त झुम्म परेको , सुती हालें | दिउसो सुत्नुको मज्जा नै बेग्लै |
सुतिरहंदा एक्कासी जाडो भयो | कम्बलले ओढी सुतियो | जरो आएको हेक्का भएन | श्रीमतीजीले सुत्न पुग्यो उठ, चिया खानेकी भन्दा झल्याँस ब्युन्झें | हनहंती ज्वरो आएको रहेछ | १०३ देखाउछ त्यो चाइनिज थर्मामिटरले | हैन होला भनेर फेरी थर्मामिटर राखियो, १०३.१ . हो रहेछ जिउ नि पुरै इलाहाबादको गर्मी जस्तो|
अस्पतालबाट डिस्चार्ज गर्ने बेलाँ देको पर्चिमा १०१ भन्दा बढी ज्वरो आएमा सिधै इमर्जेन्सीमा जानू भनेर लेखेको रहेछ | तै पनि ज्वरो घट्ला कि भनेर पानी पत्ती हालेर बसियो | भगिरथ प्रयास पछी १०२ मा झर्यो | १०२ बाट झर्ने नाम लिएन | डाक्टरलाई फोन गरें | डाक्टर हिडीडाक्यो | इमर्जेन्सी जानू भन्ने आदेश आउछ उताबाट | १०२ बाट नझरे पछी झारफुक गर्न इमर्जेन्सी जानै पर्यो | के भा हो के ? ताइनोनोल् एड्भिल खाउँ भन्ने सोच आको हो, फेरी डाक्टरलाई न सोधी किन खाइस भन्ने पो हुन् कि भन्ने लाग्यो |
इमर्जेन्सीमा सामान्य बिबरण लिए पछी बस्न भनियो | कुर्दा कुर्दा .......... मुर्दा हुन मात्र बाँकी | सात न बज्दै अस्पताल पुगेको १० बज्यो , जांच पड्ताल भाको हैन | बल्ल १० बजेर १० मिनेटमा भित आउन बोलायो | एउटा कोठामा सुत्न भनियो | एक जना नर्स आए , बेड मिलाए , सामान्य जानकारी लिए , रिमोट कन्ट्रोल हातमा दिएर टिभी हेर्नु भनेर गइ | धन्न टिभी हेर्न पाइयो , भोक ले रन्थनिए पनि | एनबिए को ग्याम हेर्दै बस्यौं |
बल्ल डाक्टर आयो ४५ मिनेट पछि | जानकारी लिए | ज्वरो घटेर ९९.९ मा | छाती को घ्यारघ्यार नापे | छातीमा समस्या छ , एक्स रे गर्नु पर्छ , म ब्यबस्था गर्छु , त्यतिन्जेल एउटा ज्वरो घट्ने औषधी पठाई दिन्छु भन्दै गयो |
१० मिनेट पछी एक जना आए एक्स रे गर्न लैजाने रे भनेर | हिडेर जान्छु भन्दा मानेन , बेड समेत गुडाएर लगे | एक ठाम मा पुगे पछी अर्कै ले गुडाए | एक्स रे रूम अघिल्तिर छोडेर गए | एक्स रे वालीले फेरी भित्र लगी| एक्स रे लिई | गुडाएर बाहिर सम्म छोडी . अर्को आएक फेरी गुडाएर अघि कै रुममा हुल्दिए |
एक छिन पछी अर्कै नर्स आई | पेट दुखेको ओखती लिएर | मलाई पेट दुखेको छैन भन्दा नि डाक्टरले खाउ भनेको छ भन्यो | साथमा टैनोनोल २ ट्याब समेत | दुवै खाइयो |
१२ बज्यो रातको अझै इमर्जेन्सीको इमर्जेन्सी को काम सकेको हैन | भोकले मर्ने लागिसक्यो | एक छिन पछी डाक्टर आयो | एक्स रे रिपोर्टमा सानो छातीमा प्याच छ , इन्फेक्सन को , एन्टिबायोटिक खानु पर्छ भने | “ हजुर त वरिष्ठ , हस त नमस्ते “ बरु छिट्टै डिस्चार्ज गरि देउ भनें |
१० मिनेट जति लाग्छ , म डिस्चार्ज स्लिप बनाउछु, भन्दै हिडे |
बल्ल रात जी १ बजे तिर घर आइयो | भोकले रन्थनिएर |
त्यसपछि नियमित एन्टिबायोटिक खाँदै छु | आज अन्तिम दिन | एन्टी बायोटिक र त्यो सेल्फीको चोटले पूर्ण स्वस्थ भैसकेको नहुँदा आज प्यारी बुहारी इश्वरीको ४५ दिनको पुण्य तिथिमा पर्साद ग्रहण गर्न जान असमर्थ छु | त्यही खबर सम्प्रेषण यसै मार्फत गर्दैछु |
अस्तु !!!