गजल
धीरेन्द्र प्रेमर्षि
गल्ली-गल्ली आन्दोलनको हुरी चल्दैछ
बन्दुकसँगै निरोको बाँसुरी चल्दैछ
क्रान्तिगीत जता-ततै घन्किएको बेला
श्रीपेचको आड्मा कुरी-कुरी चल्दैछ
पापको त्यो घैँटो अब भरिसक्यो राजा
कराई-कराई दरबारको धुरी चल्दैछ
एक-दुई कुकुर हड्डी च्यापी भुक्छन् राजतन्त्र
त्यसकै भरमा उनको चुरी-फुरी चल्दैछ
भुसुना र झिङ्गा ठानी जनता अल्झाउन
फेरि नया जाल बुन्न माकुरी चल्दैछ
मुकुट मुनि मोज गर्ने उनको सेना-मेना
शिरसँग बढाउँदै जान दूरी चल्दैछ
राष्ट्रमाथि पुस्तौँदेखि बलात्कार गर्ने
शरीर त गल्यो, तर 'तुरी' चल्दैछ
कति उड्ला बाज, जब सारा जनताकै
मनमा शान्ति, हातमा खुकुरी चल्दैछ
२०६३/०१/०७
कृपया तपाईँ पनि आफ्ना रचना थप्नुहोस्।