संघर्ष गर्ने राप्रपाको चेतावनी
काठमाडौं, (नेस)
अन्तरिम संविधान निर्माणप्रक्रियामा आफनो पार्टीलाई समावेश नगराइएकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीसमक्ष आपत्ति जनाएको छ।
राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले बुधबार बिहान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेटी संसदीय निर्वाचनमा १३ प्रतिशत मत प्राप्त गरेको पार्टीलाई अन्तरिम संविधान निर्माणप्रक्रिया र स्थानीय निकाय मनोनयनमा नराख्ने कार्य गरेर लोकतान्त्रिक पार्टीहरुले अलोकतान्त्रिक निर्णय गरेको बताउनुभएको थियो।
'संविधानले दलित, जनजाति, मधेसी, महिला, पिछडिएका समुदायलाई स्वास्थ्य, शिक्षा, रोजगार र आरक्षणलगायत सुविधामा सम्बोधन गरेको छैन' -प्रधानमन्त्री कोइरालासँग भेटेपछि आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष राणाले भन्नुभयो।
अध्यक्ष राणाले अन्तरिम संविधानप्रति आफनो पार्टीको असहमति यथावत् रहिरहने बताउनुभयो। प्रधानमन्त्री कोइरालाले आगामी दिनमा आफनो पार्टीलाई पनि सहभागी गराउने बताए पनि आफू विश्वस्त हुन नसकेको जानकारी दिँदै राणाले आठ पार्टीको रवैयाविरुद्ध संघर्ष गर्ने बताउनुभयो।