आमन्त्रण
कुरा ति दिनहरुका हुन जति बेला म १० कक्षाको बिट मार्दै थिएँ।
दिउँसो तिर ट्वाक आयो घरमा। छुट्टीको दिन थ्यो भात गोदेर ओछ्यानमा एक राउन्ड सुत्दीम कि भन्दै ढल्कीरा थेँ उ आईपुग्यो।
"दीप्, ल हिन" भन्यो आउना साथ। हातमा एक चाङ्ग निम्ता देखेर थाहै जस्तो थ्यो तैपनि "काँ?" भन्या त्यै चाङ्ग बोकेको उस्को दाइने हात अलिकति उठाउँदै भन्यो "निम्ता बाँडन"।
ट्वाकको दिदीको ब्या आउँदै थ्यो। त्यो निम्ता बाँडने काम झर्को चै झर्को लाग्दै हो तर त्यति निरस पनि थिएन। निरस र सरस गन्तब्यले टुङ्गो लाउथ्यो। त्यसैले एउटा आश नजानिदो किसिमले धडकन सँगै मिसिएर प्रतिपल चम्किन्थ्यो।
म हिँने उ सँग। धेरै तिर बरालिइयो--निम्ता बाँडियो-- धेरै निम्ता बाँड्नुथ्यो एउटा घर बाट अर्को घर पुग्दा समय निकै खर्च हुने। त्यसो समय खर्च गरेर पुग्यो ट्वाकको त काम हुने मेरो नहुने। पुग्या घराँ तरुनीहरु नभए पछि मेरो के काम भो? अघि धडकन सँगै चम्किने भन्या आशले धेरै निरासाको चडकन् भेट्यो त्यो दिउँसो।
ट्वाकलाई "तेरो जुन जुन नातेदारहरु कहाँ छन सुन्दरताको सिहासनमा बिराजमान केटीहरु उतै उतै हिन न -- रक्सी नभाको भट्टीमा कति जानु? दिक्कै लाग्ने" भन्न पनि भएन तर मन मनमा त भनी रहेँ। के को आस गरेर हिन्या के आइलाग्यो भन्दै घर घर ट्वाक सँग सँगै नमस्ते गर्दै धेरै हिनियो। पछि त थकाई पनि लाग्यो, भोक जस्तो पनि अनि तरुनीको आश प्यास नै भए पछी मैले ट्वाकलाई भनें "ल अब डाईट ख्वा त --"
हामी जय बागेस्वरीबाट लामपोखरी हुँदै चाबेल तिर आउँदै थिम। उस्ले "ल हुन्छ म ख्वाउँछु भन्यो"। राम्रै लाग्यो।
"अब कति ठाम बाँकि छ तेरो?" भन्या "छन त छ अझै तर अब आज यै एउटा फुपुका जानी अनि पुग्यो" भन्यो।
"तेरो फुपुको नी घर ह्याँ हो र? तेरो फुपुहरु त उता थापाथली-कुरियागाउँ तिर र डिल्लिबजारमा हैन र?" मैले सोधें। म गाको छु उस्का ती फुपुहरु कहाँ।
"ह्याँ चै मेरो बाउको फुपु के -- बाउले फुपु भन्या हाम्ले पनि फुपु अब" भन्यो।
डाईट खाएर जाने होला फुपुकाँ भन्या त गणेशथान आउनु अघि नै देब्रे पट्टीको एउटा घराँ लाग्यो ट्वाक।
"ए, डाईट भन्या खै त?" मैले फेरी भास भुस पार्ला भनेर सम्झाएँ।
"ख्वाउँछु भन्या अहिले -- पैले हिन्न ह्याँ काम सक्काउँ --" भन्छ ट्वाक चै।
"बोरै भै सक्यो लरखरिदा लर्खरिदा" मैले मेरो दिक्क सुनाएँ।
"ह्याँ बोर हुन्न तँलाई-- ल हिन" भन्यो।
"यो लास्ट स्ट्प हो?" मैले सोधें उस्ले "हो हो" भन्यो।
गैयो भित्र। ठोकियो नमस्ते। बसियो बैठक कोठामा। थकित ज्यानलाई केही राहत भो।
"खै त फुपु?" ट्वाकले सोध्यो त्याँ हामी सँगै बैठकमा बस्या आन्टीलाई--फुपुकी बुहारी हुन क्यारे।
"उता नरेन्द्रदाई काँ -- आउने बेला पनि भयो होला अब त" सुनाईन आन्टीले। अंकल भनाउँदा पनि आए। ट्वाक सँग भलाकुसारी भो। ब्याको कुरा गर्न थाले। आफुलाई चै भोक लागी रा बेलाँ झर्को लाग्न थाल्यो।
ट्वाकको दिदीको ब्याको कुरा त नातेदाराहरुलाई था नभाको हैन--निम्ता त एउटा औपचारीकता मात्रै थ्यो।
"ए, महेन्द्रदाई" घर बाहीर बाट कुन चै ले बोलायो यसो झ्याल तिर बाट बाहीर हेर्दै अंकल चै "एकै छिन है म आईहाल्छु" भनेर हिने।
मैले ट्वाकलाई "ल हिन, अब" भन्ने संकेत स्वरुप कुहिनाले ठ्याक्क हानें।
उस्ले तत्काल आन्टी तिर हेरेर भन्यो "आन्टी, भोक लाग्यो -- खाजा खाम न"।
अघोरी ट्वाकले त्याँ पो ख्वाउने भो डाईट। झन हुटेलाँ म:म: तिर डल्याम्ला भन्या त -- म:म: सम्झिने बित्तिकै मुखमा पानी आयो --त्यै म:म: पानी निलेर बस्नु पर्यो। ट्वाक मेरो वाकयुद्ध्मा पर्ने निश्चित थ्यो त्याँ बाट निस्के पछी।
"लछ्मी --लछ्मी" भन्दै आन्टी कराईन। एकै छिनमा घुर्मैलो धोती लाकि एउटी अँधबैसे आईमाई फुङग उड्या अनुहार लिएर ढोका नेर आईन।
"जाउ त खाजा बनाएर ल्याउ" आन्टीको आदेश गुन्जियो। लछ्मी तर चटपटाईनन्।
यत्तिकैमा एउटी सुन्दरताको पन्चाङ्ग अग्नीमा जाज्वल्य हुँदी एउटी तरुनी मन्द मुस्कान साथ कोठा भित्र छीरी।
ट्वाकलाई मुलत: शब्दले, अनि मलाई आँखाले अभिबादन गरे जस्तो लाग्यो। ट्वाकले अघि ह्याँ बोर हुन्न भन्या झट्ट सम्झें हो रे छ भन्ने लाग्यो। ट्वाक प्रतिको द्वेस हरायो। बरु आभारी भएँ। म:म को तल तल पनि हरायो।
उ ट्वाक सँग भलाकुसारी गर्दै थिई -- लछ्मी चटनपटाको देखेर आन्टी आफैं उठीन र बाहीरीइन, लछ्मी पछी लागिन। उनीहरु जानु के थियो मैले मेरा आँखाहरुलाई ट्वाक सँग कुरा गर्दी त्यो ठीटीका अमृतरसले भरीएका झै लाग्ने र रस टप्केलान कि झै देखीने अधरहरुमा डुबुल्की मार्न निर्बाध छोडी दिएँ।
उस्ले म तिर हरेक पल्ट हेर्दा मेरा नयनले उस्कालाई अभिनन्दन गरेकै हुन्थें। ति आँखाहरुमा कौतुहलता म पढ्न सक्थें।
ट्वाकले न त मलाई उ चिनायो न नै उस्लाई म। तर त्यै आन्टीकी छोरी भाको मैले बुझिसकेको थिएँ।
एकै छिनमा चाउचाउ, चिया, र पानी आयो किस्तीमा। लछ्मीले बोकेर ल्याईन -- आन्टी पनि पछी लागेर छिरिन कोठामा। बाताबरण फेरीयो। लछ्मीले हामी अघिको टेबलमा खानेकुरा राखेर फर्किन। "ए कत्ति छेउमा राखेको" त भन्दै थिईन आन्टी लछ्मी सुरु सुरु निस्किन कोठाबाट। लछ्मी रीसाकि हुन कि कान नसुन्ने मैले बुझिन।
नवतरुनी चै ले किस्ती मिलाउने भै। तातो चाउचाउको कचौरामा के गरेर हात लाई कुन्नी उस्ले, तातोले चिलेछ उस्को त्यो कोमल हात। चिल्नु के थ्यो उस्को हात बिच्की हाल्यो-- बिच्केको हातले चियामा दनक दिएछ अनि पानीको गीलासमा पनि -- घोप्टी हाले कप र गिलास --पानी र तातो च्या ज्यानमा आईलाग्यो -- पानीको त केई भएन च्याले त डामी हाल्यो। जर्याक जुरुक उठियो। आत्था आत्था भन्दै कराउन पनि भएन पोल्न छोडेको पनि छैन।
"ए, पोल्यो कि के हो?" भन्छीन आन्टी चै। नपोलेर अन्त के भयो त?
"के गरेर, घोप्ट्याई यस्ले -- एउटा काम ठिक सँग गर्नु छैन" आन्टी छोरी तिर लागिन।
केटी पनि एक छिन त स्त्बध भाकि थिई पछि त उल्टो हाँस्न थालि। आन्टी कराउँदै थिईन। मेरै जत्तिको बिजोग थिएन ट्वाकको -- उस्लाई पानीले धेर च्याले कम भेटेछ।
लछ्मी लछ्मी तिन चार चोटी भने पछी लछ्मी आईन। सबै घोप्ट्या देखेर हिनीन। एक छिन पछी रुमाल बोकेर फर्केको देखें।
केटी चैं म तिर मुस्कान साथ हेरेर "सरी ---म फेरी ल्याउछु च्या र चाउचाउ" भन्छे बा।
मैले कोठामा को को छन बिचारै नगरी भनें तर नरिसाईकन "फेरी ल्याउँछु रे? किन? फेरी घोप्टयाउन? भैगो पुग्यो आजलाई।"
आन्टी हाँसीन, उ हाँसी, ट्वाकको अनुहारमा पनि हलुका हाँसो थ्यो। लछ्मी ढलेका भाँडा उठाई होरी रुमालले पोखीएको सोस्तै, उठाउँदै थिइन। उनलाई हाँसोले छोएको थिएन।
पछी हिन्ने बेलामा ठीटी बाहीर सम्म पुर्याउन आई -- फेरी "सरी" भनी अनि निस्किदा निस्किदै ट्वाक भएको मतलबै नगरी म तिर उही घातक नजरमा "उफ"को सकस, अनि उही मादक अधरमा मुस्कानको बकस सार्दै भनी "पर्सी मङ्गलबार गणेशथान आउने त होला नी?" ----