हैन कि हो?----खै के हो के हो
"ए! उठ्छस कि लात्तले दिम?" घाम झुल्किन भ्याको थिएन बाङ्गे मेरो कोठामा झुल्क्याथ्यो ब्यान ब्यानै त्यस्ता शब्द हुर्याउँदै।
"आज एउटा घाघ ज्योतिषी नखोजी छोडदिन" मैले पनि मुरमुरीँदै कोल्टे फेरेर सिरकले मुख छोप्नु अघि भनें।
"यस्तो तरुनी खोज्ने उमेराँ नी ज्योतिषी खोज्ने हो के त? के गर्न चाहियो नी तँलाई ज्योतिषी?" ओछ्यानमा बस्दै अलिकति सिरक तानेर सोध्यो उस्ले।
"कैले घिच्याउने रे छ तँलाई कालले भनेर नी?" उस्ले मज्जाले सुन्ने गरी भनें मैले, टाउको बाटो सिरक हटाईकन।
"तँलाई भन्दा पैले मलाई घिच्यायो भने त बाबु तँलाई तर्साएर नी म खान बस्न दिन्न--यस्तो तर्साउँछु तँलाई म--यस्तो तर्साउँछु --- बरु म मर्न पा भए नी हुन्थ्यो जस्तो पार्छु म तँलाई" उस्को घुँडा सिरक भित्र घुसाउँदै, ओछ्यानको भित्तामा अढेस लागेर भन्यो उस्ले अनि थप्यो, "जा न माथि गएर चिया लिएर आईज, स्वास्नी नभा यस्तो खडेरी ओछ्यान छोडन पनि कस्तो गार्हो हो?"
"आधारातमै हिनीस कि के हो ए मसान? कति बज्यो अहिले?" मैले झर्किंदै सोधें।
"बज्यो होला नी दश जति" उस्ले सजिलै भन्यो।
"बज्छ दश तँलाई भनेर, घाम त झुल्क्या छैन होला" मैले भित्तामा झुण्ड्याको घडी तिर हेर्दै भनें। साढे ६ हुँदै रे छ। "ल हेर, भरखर छ लाई साढेले हान्दै रे छ--अझै दुई घण्टा बाँकि छ बिहान हुन लाई त--" थपें।
"यता नबजे नी कतै न कतै त बज्यो होला नी दश, तैंले यहाँ कति बज्यो भनेर सोध्या थिएन केही थिएन -- ल ल अब उठ लामो कुरा गर्ने होईन। चिया लिएर आईज जा -- पेटै उमठन लाई सक्यो अब त।" म तिर बाट सिरक तानेर उस्को माथि मिलाउँदै भन्यो उस्ले।
अब नउठी धरै थिएन। उठें अनि निस्किएँ कोठा बाट।
म चिया लिएर आउँदा बाङ्गे कोठामा थिएन। "सित्तैमा मेरो निन्द्रा बिगारेर मर्यो" दुई कप चिया ओछ्यान छेउको टेबलमा राख्दै म झर्किएँ आफै सँग, अरु त को थियो र त्यहाँ झर्किन? अनि छिरेँ फेरी ओछ्यानमा।
चियाको कप आधा पनि सकिएको थिएन, बाङ्गे छिर्यो कोठामा "क्या चिसो यार" भन्दै।
मैले केही नभनी उस्लाई हेर्या देखेर होला चियाको कप समात्दै उस्ले भन्यो "तलतल लागेर उता हलुवाबेदको बोट मुनी दुई चार सर्को तानेर आ--के गर्ने अब बानी लागि हाल्यो--आदत त राम्रो होईन नी--एउटी राम्री तरुनीले माया गरेर चुरोट छोड भने देखि छोडदीन्छु।" ओछ्यानमा त्यति फलाकिसकेर काखमा सिरक राख्दै पलेटी मारेर बसे पछी उस्ले सोध्यो "म किन ब्यान ब्यानै आ भन्न तँ कहाँ?"
सोध्न त मन थिएन जिन सुकै आ भए नी -- नसोधे नी भनी हाल्थो भन्न त -- "किन कृपा गरीस त ब्यान ब्यानै?" तै पनि सोधें।
"आज सुरेश अंकलले बोला छ के" उस्ले दंग परेर भन्यो।
"ह्या तरुनीले बोलाको भए नी लौ भन्नु, सुरेश अंकलले बोलाउँदैमा के खान मेरो निन्द्रा बिगार्न आ त?" मैले खासै चासो नलिई भनें। फेरी को सुरेश अंकल को?
"खै कुरा बुझेको तैले? सुरेश अंकल को भन्न?" उस्को खुसीमा कुनै कमी थिएन।
"को?" मैले सोधें जो सुकै होस भन्ने लागे पनि।
"हुने वाला ससुरो हो बाबु, हुने वाल ससुरो" गदगद भएर भन्यो बाङ्गेले।
त्यस्ता हुनेवाला ससुराहरु दिनमा एक दर्जन जति हुन्थे, अनि धेरै जसो त दिन दिनै फेरीन्थे पनि, मलाई त केही वास्ता नी लागेन।
"हिंजै भन्न आउनला थिएँ तलाई, बाउले राती राती बाहीर जाने होईन भनेर उर्दी लाए अनि कति बेला ब्यान होला भनेर क्या छटपटी आफुलाई।" उस्ले भन्यो। उ अझै दंग थ्यो।
"को सुरेश अंकल यो?" मैले रित्तो कपलाई झ्यालमा राख्दै सोधें।
"त्यो आशिषेको घरको उता पट्टी के त -- चाईनीज ईट्टाको घर छ नी हो त्यै"
"को आशिषे? ज्ञानेश्वरको?" मैले फेरी सोधें।
"अँ" बाङ्गे अझै दंग थ्यो।
"त्यस्को घर छेउ त दुईटा छन त चाईनिज ईँट्टाका घर--दुईटै घच्चीका छन तर" मैले भनें।
"तरुनी पनि दुईटै घच्चीका छन त्यहाँ--" बाङ्गेले अरु खुसी भएर भन्यो।
दुईटा भनेर बाङ्गेले सम्झाए पछी झिनो आश पलायो मलाई पनि।
"दुईटै त तेरा होईन होलान नी?" मैले अहिले चै मुसुक्क हाँसेर सोधें।
"एउटी त तेरी हो नी --नभए नी बनाउनु पर्छ अब-- त्यै भएर त आको यहाँ-- ल ल अब तयार हो--जानु पर्छ" बाङ्गेले जोस्सीदै भन्यो।
मलाई नी एक राउण्ड हलुवाबेदको बोट मुनी जान मन लाग्यो अहिले चैं। घर देखी तलको बारीमा कुना तिर थ्यो त्यो बोट, धुप हाल्न त्यति खतरा थिएन तै पनि चनाखो चै हुनु पर्थ्यो।
"धुप छ बाँकी?" मैले ओछ्यान बाट उठ्दै उस्लाई सोधें।
"किन हुँदैन थ्यो?" उ पनि उठेर हाँस्दै बाटो लाग्यो।
"हलुवाबेद फल्नु पर्ने हो यस्पाली त टन्नै" भन्दै म पनि पछी लागें।
धुप ध्वाँर गरेर आए पछि, चिटीक्क परीयो। ससुराली जस्तो ठाउँ जानु पर्ने, त्यै अनुसारको तयारी गर्नै पर्यो।
"बाटो लागे पछी मैले सोधें, सधै तरुनीको तर्फबाट बाउ चिनिन्थ्यो, यस पाली बाउको तर्फबाट तरुनी चिनीने भैयो त?"
"तैंले चैं , हाम्रो त पुरानो चिनजान हो" बाङ्गेले सुनायो।
"पुरानो भन्या?" मैले सोधें।
"बाउको साथी सुरेश अंकल, त्याँ तरुनी देख्या दुई बर्ष जति भो, अनि पुरानो भएन?" उस्ले भन्यो। अनि थप्यो, "घराँ नी आछन ती सुरेश अंकल हाम्रो।"
"छोरी लिएर?" मैले सोधें।
"काँ छोरी लिएर? छोरी लिएर आ भए त भै हाल्थ्यो नी--एक्लै आउने भएर त यो बिघ्न टाईम लाग्यो नी" उस्ले भन्यो।
"मलाई तरुनी न भा घर जान मन लाग्दैन, तरुनी भा घरबाट आउन मन लाग्दैन, तँलाई थाहै छ। कसरी सुरेश अंकल अहिले सम्म बचेछन, म आफै छक्क पर्दैछु" बाङ्गे अलि चिन्तित भए झै भयो।
"ज्योतिषी एउटा त खोज्नै पर्ने भो" मैले भनें।
बाङ्गेले पुलुक्क म तिर हेर्यो।
"तेरो काल सोध्न होईन" मैले हाँसेर भनें। उस्ले पनि हाँसेरै सोध्यो, "के लाई त? कैले पर्ने रे छ लभ, को सँग पर्ने रे छ, कता तिर की सँग पर्ने रे छ त्यै सोध्न?"
"त्यस्तो थाह पाउला र ज्योतिषीले?" मैले सोधें।
"जान्नेले त थाह पाउला नी" उस्ले भन्यो अनि फेरी चुरोट सल्कायो। मैले पनि तानें। जाडोमा चुरोट तान्दाको मजै बेग्लै। गहना पोखरीबाट अघि लागेर दाईने तिर टंगाल स्कुल छोडेर अलिकति अघि लागे पछी बालमन्दीरको उत्तरपूर्बी ढोका आउनु अगाडीको गल्लीबाट दाईने लागि सक्या थिएम हामी।
"कसरी थाह पाउनु कुन् चैं जान्ने हो? कुरा भोलीको सोध्नु पर्ने, भोली नभै मिल्या नमिल्या थाह हुन्न? आजै कसरी जान्नु मिल्छ कि मिल्दैन?" मैले आफुलाई लाग्या कुरा भनें।
"त्यो त अब हिंजोको कुरा सोध्नु पर्छ नी त, जान्ने रे छ भने मिलाउँछ" उस्ले भन्यो।
"अब हिंजोको कुरा त के खान सोध्नु पर्यो ज्योतिषीलाई, त्यो त हामी आफैलाई थाह छदै छ नी, भोलीको कुरा जान्ने पो जान्ने त" मैले भनें।
म अघि अघि थिए उ पछी। गल्ली सानो थ्यो दुबै जना संग संगै हिन्न। उस्ले बालमन्दीरको पश्चिम अर्थात मुख्य ढोका नेर पुगे पछी सोध्यो, "हैन हामी ज्ञानेस्वर जाने मान्छे किन यता बाट आएको? उता मालीगाउँ हुँदै जानु पर्थेन? सानोगौचर अगाडीको बाटो बाट छिर्नु पर्ने---"
त्यै त हो त नी -- भगवती वहाल तिर लाग्दै मैले भने "चारधाम गर्ने बानी लागेर हो <SPAN style="FONT