Source :- Naya Patrika.
ओखलढुंगाको घोराखरी र दोलखाको सिँगटीमा दुई फरक क्याम्पसको उद्घाटन कार्यक्रम एकै दिन थियो । दुवै कार्यक्रममा पुग्न अर्थमन्त्री डा. बाबुराम भट्टराईलाई हेलिकोप्टरको व्यवस्था थियो । कार्यक्रममा जाने मौका मलाई पनि अनायासै जुर्यो । बिहानै जानु थियो, त्यसैले मन्त्रालय पुगेँ । गाढा खैरो कलरको शिखर जुत्ता, चेकपेन्ट र चेकसर्टमा डा. भट्टराई कार्यकक्षबाट बाहिरिए । यी मन्त्री कम बोल्छन् भन्ने थाहा थियो, अप्ठ्यारो मानिरहेको वेला उनैले सोधे, 'तपाइर्ं पनि जाने होइन त ?' म हाँसेँ, टाउको हल्लाउँदै लागेँ पछि ।
ओखलढुंगाका सभासद् बालकृष्ण ढुंगेल, जनदिशा दैनिकका अर्जुन थपलिया र म कार्यक्रममा जाँदै थियौँ । निजीसचिव विश्वदीप पाण्डे ठाउँ अभावले जान पाएनन् । उनले मन्त्रीलाई काजु निकालेर दिँदै भने, 'कोटको गोजीमा राख्नूस्, खाँदै गर्नुहोला ।' 'अलि थोरै दिनूस्,' मन्त्रीले गोजीमा काजु राखे ।
गाडीमा बस्दा मेरो आँखा मन्त्रीको कोटमा लागेको रातो रंगमा पर्यो । 'होली खेल्नुभएको हो ?' सोध्न मन लाग्यो । सोधिनँ । एयरपोर्टमा हेलिकोप्टर तयार थियो । हामी छिर्यौँ । मलाई उड्ने माइक्रोबस चढेजस्तो लाग्यो !
हामी ओखलढुंगाको घोराखरी पुग्यौँ । स्कुलमाथिको ठूलो चौरमा हेलिप्याड बनाइएको थियो । बाँदर लड्ने भीरबाट मोडिएर ल्यान्ड हुँदा चौरमा मानिस कमिलासरी देखिए । त्यस ठाउँलाई पूर्वको कणर्ाली भनिन्छ । उत्रनेबित्तिकै पन्चेबाजाको टोली अघि लाग्यो । मानिसहरूले हातभरि गुराँस लिएका थिए, उनीहरूमध्ये केहीले मन्त्रीलाई माला लगाइदिए । त्यहाँबाट कार्यक्रमस्थल करिब एक किलोमिटर पर थियो । ओरालो बाटोमा मन्त्रीसँगै ढुंगेल र थपलिया अघि-अघि थिए, म पछाडि छाडिएँ । फाटेको चोलो, मैलो घ्यू रंगको फरियामा नांगोखुट्टा भीडसँगै कुदेकी आमालाई सोधेँ, 'के भेट्न कुद्नुभा'को हो, यसरी ?' 'मन्त्री आ'को छ, देखेनौ बाबु ?' उनले मतिर हेर्दै भनिन्, 'तिमी उतैबाट आ'को होइन ?' म भीडमै हराउन चाहन्थेँ, तिनका फाटेका र मैला लुगाका अगाडि अलग्गिएँ । उनले मलाई पक्रिन् । म हाँसे र सँगसँगै कुदेँ । पानी नपरेको वेलाको हिउँदे धुलो बुङबुङ उडिरहेको थियो, त्यहाँ । स्कुल पुगिन्जेल सबैको अनुहार धुलोले पहेँलो भइसकेको थियो । ती आमै मसँगै थिइन् । 'खै, मन्त्री त देख्न पाइएन !' उनी चिन्तित देखिइन् । मैले केही अग्लो ढिस्को देखाएर भनेँ, 'त्यहाँ जानूस् देखिन्छ ।'
***
६ गाविसका विद्यार्थीले पढ्ने क्याम्पस । डोरी बेरेर बनाएको स्कुलमाथि तारेभीर खसिहाल्लाजस्तो पैरोको निसान बोकेका पहाड । तीनका बीचमा थियो- ज्ञानकुन्ज सामुदायिक मावि, उच्चमावि र क्याम्पस । अंग्रेजीमा 'थ्री इन वन' । उद्घोषकले मन्त्री क्याम्पस प्रांगणमा छिर्नेबित्तिकै सुरु गरे, 'आदरणीय जनसमुदाय ! पावन भूमिमा पावन पाइलाको प्रवेश भइसकेको छ ।' कवि सिद्धिचरणको भूमि भएर होला, सबै कवि । म भने गाउँलेको बीचमा बसेँ । एउटा सातवषर्ीय बालकले ५० वर्षजतिका आफ्ना नेत्रहीन बाबुलाई बाँसको लठ्ठी टेकाउँदै ल्याए । 'म मन्त्रीज्यूसँग भेट्न चाहन्छु । ममाथि अन्याय भयो,' उनी प्रहरीछेउ पुगे । प्रहरीले तानेर भुइँमा बसायो । धुलोले टालिएको, च्यातिएको ट्रयाकसुट, नाकमा सुकेको सिँगान र आँखामा कचेरा लिएर त्यो बालक बाबुसँगै भुइँमा थचक्क बस्यो । लौरी बिसायो । मैले सोधँे, 'के नाम बाबु तिम्रो ?' उसले मुख चुम्म पार्दै भन्यो- मेरो नाम 'खम्बे' । उनको घरमा ममी, भाइबहिनी रहेछन् । स्कुलको नाम भने स्याना बोगटी । कक्षा एक पढ्दै छ । अब पास भएर दुईमा जाने रे !
'कसलाई भेट्न आएको ?' मैले सोधेँ ।
'मन्त्रीलाई ।'
'को मन्त्री ?'
'हेलिकोप्टर मन्त्री !' ड्यासमा बसेका मन्त्री भट्टराईतिर हेर्दै भन्यो । मेरो विषयमा थाहा पाए उसले के भन्थ्यो ? हेलिकोप्टर पत्रकार । अझ सायद हेलिकोप्टर महिला पत्रकार !
घरमा को-को छन् ? म नजिक हुन खोजेँ । खम्बे बोलेन । सायद मन लागेन । मैले ब्यागबाट चक्लेट निकालँे । बोल्यौ भने दिन्छु । ऊ हाँस्यो र टाउको हल्लायो । दसवटाजति दिएँ । उसले बाउको कानैमा भन्यो 'बा चकलेट !'
खम्बेको बाबुको नाम मानबहादुर बोगटी, दुवै आँखा देख्दैनन् । रानीवन गाविसमा घर छ । नांगोखुट्टा ढुंगाले काटेपछि खोच्याउँदै कार्यक्रममा आएका । चार रोपनी पाखो जग्गा थियो, आधी पैरोले लगेको । उनी काम गर्न सक्दैनन्, श्रीमतीले कमाएकाले खोले खान पनि पुग्दैन । उनको भत्ता मात्रै हो । 'सरकारले तीन सयबाट बढाएर हजार पुर्याएको सुनेको । मैले तीन सय मात्रै पाएँ । मन्त्रीज्यूलाई बिन्ती चढाउ“m भनेर आ'को नानी !' उनले आकशतिर टाउको घुमाए । मसँग आश्वासन पनि थिएन । भने, 'फेरि भन्नूस्, भेट्टाइदेलान् नि !'
***
स्कुलप्रांगणको डिलमा चिउँडोमा हात लगाएकी बूढीआमालाई सोधेँ, 'फोटो खिच्ने ?' 'हुँदैन नखिच,' ठाडो जवाफ पाइयो । किन त्यसो भनेकी होलिन् ? नजिकै पुगेर सोधेँ । 'आँखा देख्दिनँ, हेर्न नपाउनु, के खिच्नु ?' मैले लिइसकेको फोटो क्यामरामै देखाएँ, 'कस्तो छ आमा ?'
'ए यहीँ देखिँदो रै'छ,' उनले अचम्म मानिन् । 'आँखा जचाउन किन नजानुभएको ?' 'ओखलढुंगा जानुपर्छ, हिँड्न सक्दिनँ, कसरी जानु ?'
'घरमा कोही छैनन् ?'
'छन् । दुई छोरा, दुई बुहारी । तर, म छुट्टएिको । उनले मलाई के हेर्नु ?' यति भनेर उनी हाँसिन् ।
'अनि तपाइर्ंको नाम के नि ?' मैले बीचमा सोधेँ ।
'नामै छैन बा ! पुजारीले पानीमती राखेका थिए । यता सबैकी बजु भ'की छु । उहिले बूढाले बाहुनी भन्थे ।' पानीमतीको घर जलकिनीमा रहेछ । दुईवटा खेत थियो, एउटा डोजरले खन्यो । अर्कोमा पानी नआएकाले बाँझै छ । अघिल्ला वर्षमा मकैले डाँडो नै हरियो देखिन्थ्यो रे !
'मन्त्रीलाई नभेट्ने त ?' मैले फेरि सोधेँ ।
'भेट्न पाए त हुने हो, कसरी भेट्नु ? भीडमा लडाइहाल्छन् ।'
'तेरो बा कहिले आउने ए !' हाम्रो कुराकानी सुनिरहेकी एउटी बालिकालाई हेर्दै भनिन् । 'दसैँमा ।' रेडिमेड उत्तर आयो । उनका बा हैदरावाद रहेछन् । पैसा कमाउन गएका रे ! घरमा जमिन छ, तर केही राख्दैन बाँदरले । गहँु, मकै सबै सखाप ! मञ्चमा 'गणतन्त्र आएको छ, अधिकार समान भएको छ' भन्ने भावको गीत गाउँदै थिए, विद्यार्थी कलाकार । मेरोपछाडि छोरीसहित उभिएकी अधवैंशेले सोधिन्, 'फोटो खिच्नुहुन्छ हो ?' मैले टाउको हल्लाउँदै क्यामेरा तेस्र्याएँ । तिनले छेउको बालक तानिन् र पोजमा उभिइन् । उनको नाम रहेछ- गंगा, ३४ वर्षकी । श्रीमान् हैदरावादतिर गएका वाचमेनको काम गर्न । खान बारीबाट आएको अन्नले धान्छ अरू श्रीमान्को कमाइले । उनी अरूभन्दा अलि हुनेखाने देखिन्थिन् । उनको घर स्कुलनजिकै भएकाले दौडँदै आएकी । को मन्त्री हुन् भन्नेचाहिँ थाहै रहेनछ ।
***
धूलोको एलर्जी त्यसमाथि चर्केको घाम । चिटचिटाहट भएको थियो । कुनो खोजेर म टुक्रुक्क बसेँ, शीतल ताप्न । पछाडि कुममा कसैले छोयो, 'बहिनी !' एक अधवैंशे थिए । हेर्दा स्कुलका मास्टरजस्तो लाग्यो ।
'हजुर भन्नूस् ।'
'यी दिदीको लिइदिनुपर्यो । अपांग हुन्, केही हुन्छ कि !'
दिदी चन्द्रकुमारी खड्का रहिछन् । घर त्यहीँ चिहानडाँडामा । बच्चामा अगेनाभित्र दुवै हात हालिछन् र सबै औँला गएका । अलिअलि ठेट्ना मात्रै देखिन्थ्यो । विवाह त भयो, लोग्ने केही नगर्ने । खाना पकाउँछिन् । घरमा एउटा गाई छ । त्यसको हेरचाह गर्छिन् । वर्षौटे ६ वटा छोराछोरी छन् सानै । भत्ता पाइन्छ कि भनेर मन्त्री भेट्न आएकी । मैले लेख्न मात्रै सक्थेँ, दिदीका लागि अरू के पो गर्न सक्थेँ र ! मैले विवरण टिपेर उनलाई त्यसै भनेँ । 'हुन्छ', उनको अनुहारमा अनौठो आशा भने देखियो ।
पानीको प्यास लाग्यो । प्यास मेट्न चकलेट खाएँ । नजिकै बगिरहेको पानी बोतलमा भरेर पिउन खोजेकी थिएँ, कुद्दै एउटी महिला आइन् । 'ए नानी मेरो छोरा-बुहारीको पनि लेखिदेऊ न, छोरा लाटो, बुहारी अन्धी छ, भत्ता पाइन्छ कि !' तिनको आशा देखेर अचम्म लाग्यो । हुन्न भन्न सक्ने कुरै थिएन । 'भन्नूस्' भनेँ । तिनको कुरा सकिएको के थियो, गुलाबी रंगको लुगा लगाएकी केटीले बोलाइन् । 'दिदी सुकुम्बासीको पनि लेख्नुहुन्छ ?' म अक्क न बक्क भएँ । उनले एक महिला ल्याइन् । 'उहाँको केही छैन, लेख्दिनूस् है !' मैले खुरुखुरु टिपेँ । सक्दिनँ भन्ने ठाउँ नै थिएन । अब मलाई मानिसको आकांक्षा देखेर विस्तारै डर लाग्यो । म कार्यक्रमस्थलमा पुगेँ । कार्यक्रमप्रस्तोता भन्दै थिए, 'माननीय अर्थमन्त्रीज्यूलाई हार्दिकतापूर्वक, विनम्रपूर्वक, गौरवतापूर्वक शिर निहुर्याएर दुई शब्दका लागि बोलाउँछु ।' मलाई तिनलेेे सम्बोधनमा उच्चारण भएका शब्दावली सुनेर अचम्म लाग्यो ।
अर्थमन्त्रीले भलिबल खेलाडीलाई पुरस्कार वितरण गरेछि कार्यक्रम सकियो । छेउको कोठामा खाना तयार थियो । 'नदेखाई ले है ! कसैले भन्यो । हामी चारजना र कार्यक्रममा सहभागी हुन आएका वक्तालाई भित्र बोलाएर ढोका लगाइयो । काठका पोलिस नगरेका टेबुल र त्यसको सँगै बेन्च राखिएको थियो । हामी लहरै बस्यौँ । रायोको साग, मासको नझानेको दाल र खसीको आधा भुटिएको मासु प्लेटमा थियो । म साकाहारी भएकाले मासु अर्जुन दाइतिर सारेँ । मन्त्रीज्यू, ढुंगेल सर र मलाई दही पनि आयो । 'अरुलाई पुगेन,' भान्छे ङच्िच हाँसे । खाना सकिएपछि मन्त्रीले दालको कचौरामा दही खन्याए र पिए ।
***
हामी उठ्यौँ । दोलखा जान ढिला भइसकेको थियो । प्रांगणमा खम्बेका पिता मानबहादुर मन्त्री कुरेर बसेका थिए । डा. भट्टराई र्झनेबित्तिकै छोरासँगै कुदे 'प्रभु मलाई न्याय गर्नुपर्यो, जम्मा तीन सय दियो ।' मन्त्रीले हात समाते, 'हुन्छ, तपाईंले पाउनुहुन्छ, हजार नै पाउनुहुन्छ ।' सुरक्षाकर्मीले बाटो बनाए, भीड मिलाएर । मानबहादुर पछि लागे, 'प्रभु घर जाने खर्च,' स्थानीय एक नेताले भने, 'छाडिदिनूस् हामी गछौर्ं, मन्त्री अडिए र कोटको गोजीबाट पाँच सय निकालेर दिए । मानबहादुरले शिर झुकाए । हेलिकोप्टर पर डाँडामाथि थियो । भर्खर खाना खाएकाले कुद्दा श्वास फुलेर मरिन्छ कि जस्तो भयो । बाटोमा छोरीसँगै कुद्दै गरेकी दिदीले सोधिन, 'गाह्रो भयो ?' मैले टाउको हल्लाएँ ।
केही पर पुगेपछि उनले फेरि सोधिन्, 'आज मन्त्रीले पैसा बाड्दै छन् है !'
'हो र ?' मैले आश्चर्य व्यक्त गरेँ ।
'हामी दलित हो, के पोहोर मन्त्रीले दे'का थे ?'
'खै ?' मैले अनभिज्ञता प्रकट गरेँ ।
हामी छिर्यौँ । त्यसै त गर्मी, झन् भर्खर खाएको पेटमा कुदेका थियौँ, हामी । 'खानेबित्तिकै कुदाए,' भट्टराईले भने । मलाई पनि मन लागेको थियो, भन्न । अलिकति राहत भयो । चौर पूरै आँखाभरि सपना लिएका मानिसले भरिएको थियो । सायद केटाकेटीको ध्यान चकलेट, मानिसको पैसामा थियो । मलाई भने त्यो खम्बेको याद आइरहेको थियो । भनिहालेँ, 'तपाईंलाई त हेलिकोप्टरमन्त्री भने नि !' मुखमा लाँदै गरेको कफी हातमा लिएर उनी हाँसे । ३० सेकेन्डजतिको मौनतापछि भने, 'म सरकारी पैसामा चढेको होइन, चढ्दिन पनि । यो त बालकृष्णजीले मिलाएर आएको ।' मलाई लाग्यो- सायद मन्त्रालयमा दूधको प्याकेटमा समेत कटौती गर्ने यी मन्त्रीलाई लाखौँ रुपैयाँ पर्ने हेलिकोप्टर चढ्दा चित्त दुखेको थियो |