'बादल' लै ढाकेको हो र ? ( साभार : नागरिक पत्रिका)
प्रचण्डसंग सिधा सम्पर्क राख्ने हैसियतका भएका हुनाले पछिल्ला समयमा जिल्ला स्तरीय झिना मसिना माओवादी ठेट्नाहरूलाई टेरपुच्छर नलगाउने गर्दै रहेछन् । माओवादी शीर्ष पुरूष कामरेड प्रचण्ड र अर्का शीर्ष ५ मध्येका बादल भनिने राम बहादुर थापा को गृह जिल्लाका रूपमा रहेको चितवन , माओवादीले प्रस्ताव गरेको कथित नया नेपालको राजधानी पनि हो । माओवादी राजधानीबाट त्यहाँका महाराजा प्रचण्डलाई मात्र टेर्ने र बादललाई नजर अन्दाज गर्ने धृष्टता गरेको हुनाले , डाक्टर भक्तमानको अपहरण उनलाई नसिहत दिनका लागि बादल समूहको निर्देशनमा नै भएको कुरालाई समाचार बनाएर , नागरिक दैनिकले केही दिन अगाडि समाचार प्रकाशित गरे पछि बाँकि नेपालले यो समाचारको अर्को पाटो थाहा पायो । तर, चितवन क्षेत्रमा माओवादीको राजनीति र व्यवहार देखेभोगेको स्वतन्त्र जनताले भने , भक्तमान अपहरण प्रकरण कुनै निश्चित पार्टीको आन्तरिक मामिला हुन सक्ने लख शुरूदेखि काट्न थालिसकेका थिए । माओवादीले गर्न सक्ने जनतान्त्रिक कार्यवाही चिने जानेका निरिह नेपाली बबुराले भक्तमानमा एउटा दक्ष र अनुशासित डाक्टर देख्दादेख्दै पनि , उनका पक्षमा अपहरणमुक्तिका लागि आवाज उराल्न सकेनन् । किनभने, माओवादीले गरेको कामका बिरूद्ध आवाज उठाउनु आफ्नो अलक्षिन गुहार्नु वा जीवनबाट हात धुनु हो । चितवनका जनताको बुझाइलाई नागरिक पत्रिकाले मुख खोलेर बाहिर ल्याइदिएको मात्र हो । व्यक्ति निरिह हुन्छ तर मिडियाले बहादुरीसाथ यो कुरा बाहिर ल्याउँदा माओवादी तिल्मिलाउनु स्वाभाविक थियो । उसले पत्रिका सहित गाडि जलायो र माओवादी हुनुको धर्म पुरा गर्यो । तर , यो सबै समाचार बाहिर आउनुभन्दा पहिला नै माओवादी पार्टीको केन्द्रीय समितिले अमिक शेरचनको नेतृत्वमा एउटा आयोग बनाइसकेको थियो , जुन उसले पहिला गरेको उदाहरण थिएन । सायद 'चोरको खुट्टा काट' भन्ने कथाको उदाहरण होला । अहिले चितवनमा भक्तमान प्रकरणमा कुनै द्विविधा छैन ,न उनका घर परिवार र कुनै स्वतन्त्र विचारवाला जनतामा । उनका घर परिवार र सदस्यहरू माओवादी निगरानीमा छन् र तिनमा धेरै भय र र थोरै विश्वास दुवै छ । विश्वास यस अर्थमा कि आँफै माओवादीका नेता स्तरका पेशाकर्मी रहेका हुनाले आफ्नै पार्टीले आँफै र आफ्नालाई अवश्य सुरक्षा नै गर्ला भन्ने आशाले र भय यस अर्थमा कि अपहरण पछि आफ्नै समूह वा पार्टीका मान्छेहरूले पनि सजिलो मुक्ति नपाएका उदाहरणहरू माओवादीको पार्टी भित्र यथेष्ट भएर ।
समाचार अनुसार माओवादी पार्टीले लडेको पछिल्लो नाटकरुपी अन्तिम युद्ध लड्नका लागि १ करोड उठाएर , पार्टीलाई ५० लाख मात्र बुझाएको हुनाले बाँकि रकमका बारेमा केरकार गर्न वा यातना दिन उनलाई अपहरण गरिएको कुरा प्रचारमा आएको छ । अर्को विषय रहेछ, डाक्टर भक्तमान निर्देशक रहेको अस्पतलामा कार्यरत प्रशासन प्रमुख एक महिलालाई अवकाश दिने विषयमा , भक्तमान र कामरेड बादलको बीचमा चलेको चरम वैमनस्यता । विषय जे सुकै होस् र विषयको गम्भिरता कुन विन्दुमा पुगेर पटाक्षेप होला , तर यो कुरा निर्विवाद भैसकेको छ कि यो घटनामा माओवादी नै हर्ताकर्ता बन्न पुगेको छ । कामरेड प्रचण्ड वा बाबुरामको निर्देशनमा नहोला तर , माओवादीको उच्च नेतृत्व तहमा नै युद्धोन्मादको नशा र हरेक कुरालाई हिंसात्मक तरिकाले निमिट्यान्न पार्नु पर्छ भन्ने बुझाइमा बिमति छैन भन्ने प्रष्ट देखिने गरेको छ यो पछिल्लो घटनाले। आफ्नै पार्टीका कार्यकर्ता रामहरि श्रेष्ठलाई पार्टीले नै अपहरण गरी मारेको कुरामा समेत चितवन, शक्तिखोर , र कालि बहादुर खाम नामका प्रभृत्तिलाई चिन्ने नरमाईलो अनुभव ताजै रहेको हाम्रो सम्झनामा, फेरि एक पटक अर्का श्रेष्ठ भक्तमान, नजिकैको शक्तिखोर र चितवन अनि जनगणतान्त्रिक नेपालका योजनाकारका करतूतहरू छरपष्टिएका छन् । आखिर किन गरिरहेछन् माओवादीहरू यो सब ?