बसन्तको आगमनसँगै
मिठो सुवास छर्ने त्यो फूल
मेरो आँगनमै ढकमक्क फुलेको रहेछ ।
तर म बनमाराहरुको घारीबिचमा
निरर्थक, अनि लगातार जीवनको सुगन्ध खोज्दै रहेछु ।
अपसोच अब त्यो फूल मेरो रहेन,
फूलको त्यो सुगन्धमा लठ्ठ हुने
भँवरा अर्कै आइसकेछ ।
म एउटा पागल झैं चिच्याउँदै र कराउँदै
आकाशमा टांगिएको ईन्द्रधनुषसँग
अलिकति रंगहरु सापटी मागिरहेको थिए ।
तर जवानीको अनेक सुन्दर रंगहरु
मेरो छेवैमा असरल्ल पोखिएका रहेछन् ।
फर्की हेर्दा मात्र थाहा पाएँ,
ती रंगहरुमा अरु कसैले आफूलाई रंगिसकेछ ।
म बेमौसमी सपनाहरुको खेती गर्दै
हावामा बिशाल महललाई
आशाका झिना त्यान्द्राहरुले अड्याउन खोज्दै थिए ।
तर सपनाहरुको त्यो भीडदेखि पर
एक जोडी आँखाहरु यथार्थमा मलाई नै खोज्दै रहेछन् ।
तर जब म भ्रम र यथार्थ छुट्ट्याउन सक्ने भए,
थाहा पाए कि ती आँखाहरुलाई अब मेरो कुनै खोज रहेन ।
म बाँच्नुको अर्थ खोज्न
अनि जीवन र जगतलाई बुझ्न
जताततै भौतारिदै हिंडे,
दर्शनका पंडितहरुलाई सुन्दै हिंडे ।
तर बाँच्ने चाहनामा एउटा जीवन
मेरै आशा साचेर बसेको मैले देख्न सकिन ।
ढिलो भइसकेछ जब देखें मैले
थाहा पाए कि त्यो जीवनमा मप्रति अब कुनै आशा रहेन ।