देश, आमा र निन्द्रा |
आमा,
अवशेषमात्र बाँकि'भा अस्तित्व,
उत्खननको अर्थ त थिएन,
तर त्यहि अस्तित्वको एक अश आफु हुनु
र त्यसको मुल्य चुकाउनुपर्ने
यो अवस्थामा...
तिमीलाई प्रणाम !
'४६ को गुन्द्रीमा प्रजातन्त्रको बिस्कुन
सुकाएर... तिमी त सुत्यौ,
हाम्रो धुरीमाथि सारुङ्, काग, चिल हुँदै गिद्ध आए.... आमा
करेसावारिको रछ्यानमा...
विकासका लहर,
शहिदको सपना...
गल्दै गए,
मल भए
स्वतन्त्रताको ड्याङ्मा प्रतिगमनको काउली फलाउन !
तिमीले छुटायौ,
त्यो हाम्रो तुलसी मोठ मुनी
कती थिचिए...
कती पिल्सिए...
कती मारिए...
कतिको अस्मिता लुटियो,
कस्तो ढोङ रचियो,
परिवर्तनको खोक्रो भुमरीमा
'५२ देखी '६२ र..... '६३.... '६४ हुदै,
संगैको परिजातको बोटले
श्रद्धाञ्जलीका फूल सिवाय झार्न भ्याएन |
बकैनाको रुखमा सकेट बम फले,
तिमी सुत्दा यहाँ,
तराई, पहाड, हिमाल जले |
छिमेकीले डिल मिचे,
एकले अर्कालाई थिचे,
सबको "म" बन्ने धुनमा
"हामी" हुने चाहना
तिम्रो सुत्ने राम्रो बहाना बन्यो
सुत...आमा...सुत ....
अब सबै सिधियो,
यो मुर्दा शान्तिमा
उठेर पनि के काम ?
लडेर पनि के काम ?
जनताका छोरा.....
मरेर पनि के काम ??