I copied and pasted from other thread to let all people know who these so called civil society leaders are!
आडम्बरी सङ्ग्रौलाको पागल–प्रलाप – जगत् उपाध्याय –
यही
चैत ६ गतेको 'कान्तिपुर' दैनिकमा प्रकाशित खगेन्द्र सङ्ग्रौलाजीको
'कृतघ्नताको कथा र कुँडाकर्कटहरू' शीर्षकको लेख पढेँ। कुनै जमानामा नेपाली
प्रगतिवादी साहित्यमा राम्रै स्थान बनाएका खगेन्द्रजीको लेखन पछिल्लो
चरणमा गालीकेन्द्रित बन्दै गएको छ र उनी वितण्डावादका अभियन्ता सावित भएका
छन्। आन्दोलनकालमा निरङ्कुश सत्ताका विरुद्धमा उनको कलमबाट निस्कने गरेका
शब्दवाणहरू केही हदसम्म उपयोगी नै लागे पनि सधैँ तिनको उपयोगिता सिद्ध हुन
सकेको छैन। फेरि अहिलेको सन्दर्भ फरक छ। २०६२/६३ को महान् र ऐतिहासिक
जनआन्दोलन एमाले, काङ्गे्रसलगायतका सात दलको आयोजना र माओवादीको समर्थनबाट
सफल भएको हो र त्यसैका बलमा राजतन्त्रको समूल अन्त्य गरी लोकतान्त्रिक
गणतन्त्रको स्थापना गर्ने उद्देश्यसहित संविधानसभाको निर्वाचनमा सबै दल र
जनता होमिएका छन्। यस्तो अवस्थामा कुनै पनि बुद्धिजीवी लेखकले बेतुकका,
उडन्ते, हावादारी र नशालु आवेगमा विकृत मनस्थितिबाट उत्पन्न दूषित
विचारहरूलाई बाहिर ल्याउनु हुँदैन। कुनै व्यक्ति वा पार्टीमा समस्या छन्
भने तिनलाई वस्तुपरक ढङ्गले समीक्षा गर्दै सुधारका लागि सल्लाह
दिइनुपर्दछ। यस पक्षको खगेन्द्रजीमा सर्वथा अभाव रहँदै आएको छ। यथार्थमा
भन्ने हो भने उनका लेखहरूमा आफ्नो कुनै विचार वा पक्ष नै पाइँदैन। पाइन्छ
भने केवल गाली। झर्रा शब्दको प्रयोग गरी तुकबन्दीयुक्त भाषाशैलीमा मनपरी
ढङ्गले गाली गर्नु नै खगेन्द्रजीको सामर्थ्य हो भन्ने बोध उनकै लेखहरूबाट
हुन्छ। त्यसैले उनी नेपाली भाषामा गालीसाहित्यका प्रवर्तक पनि बनेका छन्।
६
गतेको लेखमा खगेन्द्रजीले आफ्नो गालीसाहित्यको निसाना काठमाडौँ–४ की एमाले
उम्मेदवार विद्यादेवी भण्डारीलाई बनाएका छन्। उनले उक्त लामो लेखमा
सुरुदेखि अन्तिमसम्म नै विद्यादेवी भण्डारीको राजनीतिक जीवनलाई आघात
पार्ने गरी चुनावका मुखमा दनक दिएको भन्ने ठानेका होलान् र उनलाई आनन्द
पनि निश्चय नै भएको होला तर यो उनको आत्मरतिसिवाय केही होइन। यस लेखले बरु
खगेन्द्रजी नारीहरूलाई अझै पनि अल्पज्ञानी, अनाडी, चुलोचौकाका दासी र
पुरुषहरूका गोटी मात्रै ठान्दा रहेछन् र जनतालाई धराने कालो बङ्गुर मात्र
मान्दा रहेछन् भन्ने पुष्टि गरेको छ। यसबाट खगेन्द्रजीको बौद्धिक दरिद्रता
टिठलाग्दो गरी उदाङ्गिएको छ। ०५१ सालकै मध्यावधि निर्वाचनमा विद्यादेवी
भण्डारीका विरुद्धमा काङ्गे्रस उम्मेदवारलाई मत दिएको बताउने (कान्तिपुरमै
प्रकाशित उनकै कुनै लेख अनुसार) खगेन्द्रजीमा विद्यादेवी भण्डारीले
राजनीतिक क्षेत्रमा हासिल गरेको सफलताबाट कुण्ठा उब्जिएको हुनसक्छ र त्यही
दमित कुण्ठा अनियन्त्रित रूपमा यसरी बाहिर अभिव्यक्त भएको मान्न सकिन्छ।
अर्थात् देश, जनता र सिङ्गो आधा आकाश ढाक्ने महिलाको मुक्तिका लागि
सङ्घर्षरत एक जना उम्मेदवारका विरुद्धमा विषवमन गरेर उनले कसको सेवा गर्न
खोजका हुन् भन्ने बुझ्न गाह्रो छैन। अन्यथा सामाजिक–सांस्कृतिक–भाषिक
मर्यादा, शिष्टाचार र मानवीय मूल्यमान्यतालाई खिसीट्युरी गर्ने गरी यति तल
झर्नुको अन्य के नै अर्थ हुनसक्छ र?
नेपालीमा एउटा उखान छ–
'आफ्ना आङको भैँसी नदेख्ने, अर्काका आङको जुम्रा पनि देख्ने।'
खगेन्द्रजीमा पनि यही उखान चरितार्थ हुन्छ। लेखकले अन्य व्यक्तिका चिन्तन,
चरित्र र क्रियाकलापका बारेमा लेख्दा कृपया आफूतिर पनि फर्कने गरे राम्रो
होला। विदेशी दूतावासबाट र ठूला–ठूला अन्तर्राष्ट्रिय संस्थाबाट पैसा खाएर
परियोजना अन्तर्गत साहित्यलेखनको व्यापार ('जूनकीरीको सङ्गीत'लगायतका
कृतिहरू) गर्ने अनि
आफ्ना छोरालाई महँगो शुल्कमा अमेरिकाजस्ता मुलुकमा
पठाउने तर अरूको विदेशगमनको विरोध गर्ने ढोँगी, आडम्बरी, विरोधाभासी र
शङ्कास्पद चरित्रका खगेन्द्रजीजस्ता बुद्धिजीवीहरूबाट पनि नेपाली समाज
प्रताडित छ। हरेक दिन बेलुका सूर्य नअस्ताउँदै ह्वीस्कीको चुस्कीसँगै
नशालु रङ्गीन साँझ मनाउने क्रममा निस्केका आफ्ना बर्बराहटलाई सार्वजनिक
लेखको रूप दिँदा अन्य व्यक्तिका सामाजिक प्रतिष्ठा, इज्जत र व्यक्तिगत
जीवनमाथि कति असर पर्छ भन्ने कुरा सङ्ग्रौलाजीले बुझ्नुपर्छ। कृपया
नशामुक्त भएका अवस्थामा आफूले लेखेको उक्त लेख पढ्नसमेत सङ्ग्रौलाजीसित
आग्रह छ। मदहोस भएर न्याय र विवेक गुमाउँदै गएका खगेन्द्रजीको उक्त लेखले
कुनै बौद्धिक महत्त्व राख्दैन। यो नितान्त सनकमा आधारित पागल–प्रलापबाहेक
केही होइन। खगेन्द्रजीको कलम निकृष्ट गालीसाहित्यमा होइन, स्पष्ट
दिशासहितको आलोचनात्मक लेखनतर्फ प्रवृत्त होस्, यही कामना गर्दछु।