thanx password...........
दोश्रो भाग-करिव साढे छ बजे हामीले दोकान बन्द गर्यौँ , काठका दुइ खापामा भोटेताल्चा लगाएर हामी उकालो लाग्यौँ , लोडसेडिंगले होला बजारमा टुकि बाहेक ठूलो उज्यालो थिएन तर पनि चन्द्रमा रुपवान थियो आज , मुस्कुराइरहेको थियो । बाटो भरी उसको प्रकाश पोखिएर बाटो नै नुहाए जस्तो थियो ।खड्काको दोकान मेरो बाट करिव पाँच मिनट जति टाढा पर्छ ।
खड्काले बाहिरै हामीलाई देख्यो , अनि कटेरो तिर इशारा गर्यो । वाँसको कटेरो दुइटा लालटिन झुण्ड्याएको ! मैले पहिले पनि यहाँ बसेर खाएको छु , दुइ तिन चोटी जव मलाई खाएर हल्ला गर्न मन हुँदैन । त्यसमाथि यहाँ खड्काकी छोरीले सर्भ गर्छे । बिहान हेर्दा स्कुल जाँदै गरेको बेला पनि देख्छु म संगितालाइ त्यतिखेर फुच्चि जस्तो लाग्छ तर सर्भ गर्ने बेलामा बिछट्टै राम्री देखिन्छे मोरी ! त्यति काले बाउकी छोरी गोरी न गोरी छे , म उसँग इत्तरिन्छु , उ प्रायश: “छ्या दाजु पनि” भन्छे ! मलाइ दाजु शब्द च्वास्स बिझ्छ । हुन त मैले दुइ तिन जना स्कुले केटासँगको गाइँगुइँ हल्ला पनि सुनेको छु उ सँगको ,छेवैको जंगलमा घाँस काट्न जाने आइमाइले देखेका रे जंगल छेवैको खोला नजिक !
जब जब उ मलाई दाजु भन्छे म “ तेरो मोबायलमा जंगल तिर पनि टावर टिप्छ !” भनेर सोध्छु । उ चुप लाग्छे । उसलाइ थाहा छ मलाइ उसको धेरै कुरा थाहा छ । उ उसको कुरा बाउ सँग भन्देला भनेर डराउँछे । तर म पत्ता लाउन खोज्छु आखिर उसको बाउ मलाइ सर्भ गर्न आफ्नि छोरी किन पठाउँछ । मेरो दिमाग मा नशा चढेपछि मलाइ आ यी वाहियात कुरा जस्तो लाग्छ अनि म सोच्न छोडिदिन्छु उसको बारेमा , जंगलको बारेमा ,खड्काको बारेमा , मोबायलको टावरको बारेमा !
आज म प्रतिक सँग छु , मलाइ संगिता सँग खुल्न अफ्ठ्यारो छ ।तर केहि छैन भोलि अथवा अरु नै कुनै दिन फेरि पनि त एक्ला दिन हरु आउनेछन्
प्रतिक बाँसको कटेरो मा छिर्ने बित्तिकै चुरोट जलायो । उसको नियमित प्रकृया हो यो । उसको पर्यायवाची हो त्यो चुरोट मलाइ लाग्छ उ कतै कतै चुरोट नै जस्तो छ जलिरहने जलिरहने अनि सिध्दिने खरानी भएर , उसको अर्को दिन एउटा नयाँ चुरोट भएर जन्मिन्छ होला शायद !!!
“ के खाने ?”
“ जे खुबाउनु हुन्छ दाइ !” प्रतिकले धुवाँ छोड्दै उत्तर फर्कायो । उसका संक्षिप्त र लिबरल उत्तरहरुको म वानि परेको छु !
“ संगिता !” मैले आवाज लगाएँ !
उ ढोका मा टुप्लुक्क देखा परी , लालटिन को पहेँलो प्रकाशमा मलाई उ अझ पहेँली लाग्छे । छोटो टिशर्ट अनि जिन्स ! जब उ गिलास उठाउने बेला मा टिशर्ट तान्छे उ केहि देखाउनलाई तान्छे कि केहि लुकाउनलाई तान्छे म छुट्याउन सक्दिन । बिहान को सेतो शर्ट र निलो फ्रक म फेरि सम्झिन्छु , “ के उ बिहान स्कुल हिँड्दै गरेकी फुच्ची नै हो त !” मन निर्लज्ज हुँदै हास्छ अनि जानी जानी झुट बोल्छ “ के को हुन्थ्यो ! “ ओठ छेउको खत पहिले थिएन उसको !करिव दुइ तिन महिना अघि देखेको मैले त्यो तर हराएको छैन !बनाइदियो होला कुन चाहिँ स्कुले सुकुलगुण्डोले , मैले शुरुमा सोधेको पनि थिएँ उसलाई “ उसले मौरिले टोक्यो भन्दी !” मैले “ फुल जस्तै लाग्यो होला नि त !” भनेर जिस्क्याएँ !
“ रोयलस्ट्याग एक हाफ , अनि दुइ प्लेट भुटन !” संगिता वाहिर निस्किई ! प्रतिक को चुरोट सिध्दिएको थिएन , उसलाई संगिता सँग पनि मतलव थिएन शायद उ लालटिन हेर्दै धुवाँ बाहिर फ्याल्दै थियो । शायद उ लालटिन सँग प्रतिस्पर्धा गर्न चाहन्छ ।
“खुशियाली बिजनेश बढेकै हो त दाइ ?” प्रतिक ले मौनता चिर्यो !
“ मलाइ तिमीसँग बस्न मन लागेको हो खास !” मैले उसलाई ढाँटिन !
“मेरो अहोभाग्य दाइ !” मलाइ थाहा छ उसले विहान को रुखोपन लुकाउन भनेको हो । भित्रि मन थिएन उसको आउने !
यो प्रतिकलाई कहिलेकाहिँ उत्तर दिन नसक्ने प्रश्नहरुको सुचीमा राख्न मन लाग्छ मलाई । खोस्रिन खोज्यो झन कडा , घोल्न खोज्यो झन ठोस , अनि तैरिन खोज्यो झन गहिरो भएर निस्किदिन्छ उ ! मलाई उ राम्रो काम गर्छ वाहेक के नै थाहा छ र उसको बारेमा !
“ आज साथि लिएर पनि यो कटेरोमा !” संगितालाइ प्रतिकको बारेमा बुझ्न मन लागे जस्तो थियो । उसले दाह्री काटेको थिएन ।तर कपाल लामो राम्रो जिउडाल अनि चौडा छाती सानै उमेरमा धेरै ग्यान भएकी संगिताले प्रतिकलाई जिस्क्याउनुपर्ने वर्गमा राखी क्यारे !
“ किन म एक्लै आइन भनेर तँलाई पिर लागेको ?”
“ छ्या हैन है त्यस्तो पनि , केहि चाहियो भने भन्नु है म वाहिर छु !” संगिता बाहिर निस्किइ !
“ ल दाइको आगामी जीवनको पनि सफलताको कामना गर्दै !” उसले गिलास उठायो !
मैले पनि गिलास ठोक्काइदिएँ । मलाई थाहा छैन यो गिलास गिलास किन ठोक्काउँछन् तर मैले पिउन सिके देखि ठोक्काउन पनि सिकेको छु ।
“राम्रि छे है !” मैले प्रतिक लाई मौका पारेर जिस्क्याएँ !
“को !” प्रतिकले बुझेन , वा भनौँ उ बुझ्न चाहँदैन !
“ संगिता ! “
“ए अँ राम्री छे !” उ आफ्नो गिलासमैँ ब्यस्त भयो मैले पुरुष आवाजमा नारी आकृतीको यति रुखो तारिफ कहिल्यै सुनेको थिइन !
रातको गहिराहि बढ्दै गयो हामी दुवै मात्र पिइ रह्यौँ खासै गफ भएन । लालटिन धमिलो हुँदै गए पछि मैले फेरि संगितालाइ बोलाएँ !
“ किन दाजु ?”
“ लालटिन निभ्न आँट्यो त !”
“ दश मिनट अघि बत्ति आइसक्यो !” उसले छेवैको स्विच थिची । उ अझ राम्री देखिइ । कानको ठूलो हरियो प्लाष्टिकको इयररिंग उसको गाला सँग जिस्किइ नै रह्यो । मलाइ थाहा छ अब मलाइ चढ्दै छ । सामान्यतय यस्तै हुन्छ । म जति रात गहिँरिँदै जान्छ त्यति संगिता लाई राम्रि देख्छु !
उ फेरी बाहिरिई !
“दाइको गहिरो छ जस्तो छ नी !” यसपालि भने प्रतिकले चुस्की लिँदै सोध्यो !
मैले उसलाइ नियाँले । उसको अनुहारमा भाव परिवर्तन थिएन । उ जिस्केको हैन , फगत प्राथमिकता होला , वा हुन सक्छ मेरो संगिता प्रति रुचि छैन धन्यवाद भनेर मलाई जनाउने शब्दहरु !
“ छैन त्यस्तो साह्रो पनि ! यसका धेरै छन् दोस्तीहरु !”
“एउटै मान्छेको धेरै ठाउँ माया बस्न सक्दैन र दाइ ?”
“सक्छ र , मलाइ त त्यस्तो लाग्दैन !”
“किन तँपाइ भाउजुलाई माया गर्नुहुन्न र ?” मैले प्रतिक पहिलो चोटी हाँसेको देखेँ । शायद उसलाइ पनि नशा चढ्दै छ ।
“ अरु कसलाई गर्छु त म माया ?”
“ संगिता के त ?” उसले मेरो अनुहार पढ्न खोज्यो !
“यस्तो पनि हुन्छ त माया ? ”
“खोइ दाइ कस्तो हुन्छ कस्तो हुन्छ , म त नबुझ्ने मध्येको पर्छु !” उसले फेरि चुरोट सल्कायो !
“ हैन भन न तै पनि तिम्रो विचारमा ! “
“ यत्रो दिन देखि म तँपाइ सँग छु तँपाइलाई यो मान्छेको पास्ट कस्तो होला जस्तो लाग्छ कि लाग्दैन दाई ?” उसले मलाई नियाल्दै सोध्यो । किन नहुनु मलाइ तर नसोध्नु भनेपछि म घरी घरी किन त्यहि कुरा दोहोर्याउँ ?
“ माया र तिम्रो पास्ट को के सम्बन्ध र ?”
“ छ दाइ एउटा कथा सुनाउँछु , निर्णय गर्ने जिम्मा तँपाइको है !”
उस्ले सल्केको चुरोट एशट्रेमा ठोस्यो । आज अर्को एउटा चुरोट जलेर सिध्दिएको छ ।
क्रमश: