मञ्जु, मलाई माफ गर है!
आत्मकथा-ओके
भाग २
खण्ड ३७
-----------
“मलाई त भोक लाग्यो यार। कतै बसेर मकै-भटमास खाँउ” मलाई पेट खाली भएर हिड्दा पनि रिँगटा लाग्न थालिसक्यो। हामी हिडेको गन्तब्य विनाको बाटो ओरालो लाग्यो। अलिक पर एउटा पुल देखियो।
“उ पर पुल रहेछ। त्यहाँ पक्का पनि खोलो छ। त्यहि खोलाको छेउमा बसेर हातमुख पनि धुने, त्यहि खाजा खाने खोलाको किनारमा। पिकनिक गए जस्तो पनि हुने” हेमेले गरेको कुरा हामी दुबैलाई चित्त बुझ्यो।
हामी पुलको छेउमा पुगेर खोलो हे-यौँ। खोला त के भन्ने फोहोर जमेको पानी रहेछ। अलिअलि बगेको जस्तो मात्र।
छ्या, यो त खोलो हैन यार। हेर त पानी पनि कस्तो फोहोर! हाम्रा गाउँका भैँसी पनि आहाल बस्न मान्दैनन् यस्तो फोहोर पानीमा त। काठमाण्डौमा त फोहोर पानीलाई पो खोला भन्दा रहेछन्” मैले हाम्रो गाउँ र काठमाण्डौका खोलामा फरक छुट्याएँ।
“यहाँ त हुन्न। अब पँधेरो खोजेर मकै-भटमास खाने” मेरो यस कुरामा दुबैले सहमति जनाए। हामी उकालो लाग्यौँ। एक ठाउँमा एउटा पधेँरो रहेछ, पानी चाहिँ सानु तुरुरु मात्र। हुलका हुल मान्छे गाग्री र गेलिन लिएर लाईनमा रहेछन्, पानी थाप्न।
“ए दिदी, एकछिन हातमुख धुन पाईन्छ। हामी खाजा खाने क्या” डम्मरे माथ्यो डिलबाटै करायो।
सबैजना छक्क परेर हामीलाई हेरे। खै त्यहाँका मान्छेहरु के भनेर फत्फताए हामीले बुझेनौँ। अलिक टाढै थियौँ हामी। डम्मरे सरासर तल धारामै गयो। आधा भरेको गाग्रीलाई झिकेर एउटी दिदी अलिक पर गईन् र धारो खाली बनाईदिईन्।
“कस्तो है यो मान्छे त? लाज पनि नभको नकच्चरो” छेवैमा लुगा धुँदै गरेकि दिदी फतफताईन्।
“पानी खाँदा के-को लाज?” डम्मरे झन् के कम।
“छोड्नुस् दिदी, यी पाखेहरुसँग के कुरा गर्नु?” अर्की बहिनी सानो स्वरले बोली। हामीलाई पाखेको अर्थ थाहा थिएन। राम्रै भनेको होला भन्ने सोच्यौँ।
घरबाटै प्लास्टिकको एउटा सानो थैलो बोकेको रहेछ डम्मरेले, बाटामा पानी थापेर खानु हुन्छ भनेर। त्यसैमा एक थैलो पानी थापेर ल्यायो। हामीले त्यहि पानीले हात धोयौँ र धाराछेउमा बसेर मकै-भटमास खायौँ, काठमाण्डौ शहरका रमाईला रमाईला गफ गर्दै। धारामा पानी लिन आउनेहरु हामीलाई हेर्दै हाँस्तै गर्थे। छेवैको सडकमा हिड्ने मानिसहरु पनि हामीलाई हेर्थे, हाँस्थे र बाटो लाग्थे। केटाकेटीहरु पनि हामीलाई छेउमा आएर जिस्काउँदै, भाग्दै गर्थे।
“ए दाइ कति बज्यो अहिले?” बाटोमा हिड्ने मानिसको हातमा घडि देखेर समय सोध्यो हेमेले। हामी गाउँमा घडि बाँधेको मानिसलाई सोधेर समय थाहा पाउँथ्यौँ। त्यो मान्छेले त हामीतिर छक्क परेझैँ गरेर पुलुक्क हेर्दै भन्यो “बाह्र बज्यो”। अनि ऊ सरासार आफ्नै बाटो लाग्यो।
हामी मकै-भटमास खाईसकेर झोला बोक्यौँ र फेरि बाटो लाग्यौँ। एकछिन हिडेपछि डम्मरेको चप्पलको फित्ता चुँडियो। सलाईको काटीँ कोरेर जोड्न खोज्यौँ, तर जोडिदैँ जोडिएन। डम्मरेले नयाँ फित्ता किनेर हाल्ने बिचार ग-यो र हामी नजिकैको पसलमा गयौँ।
“ए साउजी, एकजोर फित्ता दिनुस् त?” डम्मरेले पसलमा फित्ता माग्यो।
“के को फित्ता?” साहुजीले कुरा बुझेनन्।
“फित्ता क्या फित्ता” डम्मरेले चप्पल हातमा लिएर देखायो।
“छैन। फित्तासित्ता। के तालका मान्छे पनि हुन्छन्?” साहुजी रिसायो।
“काठमाण्डौको पसलमा पनि जाबो फित्ता पनि छैन” डम्मरे छक्क प-यो।
“यो कपडा पसल हो भाइ। यहाँ फित्ता पाईन्न” साहुजी कपडा मिलाउन थाल्यो।
“हाम्रो गाउँको पसलमा त सबैचिज पाईन्छ त! के काठमाण्डौको पसल भन्नु नि, एउटा जाबो फित्ता त नपाईने पसल” डम्मरे फतफताउँदै अर्को पसलमा सोध्न गयो। साहुजी पनि छक्क परेर हामीलाई हेरिराथ्यो।
अर्को पसल रेस्टुरेन्ट परेछ। अनि अर्को घडिपसल। केही पार नलागेपछि डम्मरेले अर्को खुट्टाको चप्पल पनि फुकालो र हातमा बोक्यो, अनि खाली खुट्टा हिँड्न थाल्यो। हामी एउटा ठूलो बाटोको चोकमा आईपुग्यौँ। गाडी नै गाडी भको ठाउँमा।
हामी धेरै थाकिसकेका थियौँ।
“अब हामी मेरो दिदीको कोठा जाने है। कता हो कता?” डम्मरेलाई पनि थकाई लागेछ।
“कसैलाई सोधौँ न” हेमले भन्यो।
“ए दाइ, मेरो दिदीको कोठा चिनेको छ?” सडकमा हिडिरहेको एउटा अधबैँसेलाई सोध्यो डम्मरेले।
“छैन” त्यो मान्छे सरासर आफ्नै बाटो लाग्यो।
अरु एकदुई जनालाई पनि सोध्यो डम्मरेले। तर केही पत्तो लागेन। सबैले “छैन” भने।
त्यसपछि भने हामीलाई डर लाग्यो, हराउने हौँ कि भनेर।
“भरे बेलुका काँहा सुत्ने होला हरायौँ भने” हेमलाई सुत्ने कुराको पीर लागेछ।
“तैँले ठेगाना लेखेर ल्याको छ भनेको हैन, निकाल्त” मैले बुद्धि लगाएँ।
“ए साँची हो त है” डम्मरेले ठेगाना निकाल्यो।
“शेर्पा गलैंचा उद्योग, बौद्ध-जोरपाटी भनेर लेखेको रहेछ। हामीले नजिकैको साईनबोर्डमा पढ्यौँ। हामी त त्यसबेला "चाबहिल" मा रहेछौँ।
"अब कतातिर प-यो होला त वौद्ध-जोरपाटी?" मैले ठाउँ पत्ता लगाउन उपाय निकाल्न थालेँ "ए केटाहरु हो, कसैलाई यो ठेगाना देखाएर सोधौँ न, हुन्न?"
दुवैले मेरो कुरामा सहमति जनाए। हामी नजिकैको पसलमा गयौँ, जुत्तापसल रहेछ। डम्मरेले त्यहाँ पनि चुँडिएको चप्पल देखाउँदै फित्ता माग्यो। त्यस पसलमा फित्ता रहेछ र उस्ले किनेर चप्पलमा लगायो। पैसा पनि दियो पाँच रुपैँया।
पसलेलाई हाम्रो ठेगाना देखायौँ र भन्यौँ “साहुजी, हामी यहाँ जाने भनेको। बाटै चिनेनौँ”। पसलेले ठेगाना हेर्दै छेउको फोन हामीतिर फर्कायो र “फोन गरेर सोध” भन्यो।
हामी कसैले पनि फोन गर्न जानेका थिएनौँ। हामी मुखामुख गर्न लाग्यौँ।
“साहुजी, हामीलाई फोन गर्न आउँदैन, तपाईँ नै गरिदिनुस् न है” मैले साहुजीलाई अनुरोध गरेँ।
पसले पनि राम्रै मान्छे परेछ। उसले फोन हातमा उठाएर नम्बर हेर्दै फोन घुमायो। पसलेले फोनमा केहीबेर कुरा ग-यो। एकोहोरो मात्र बोल्यो, अनि फोन हामीलाई दियो। मलाई त डर लागिसकेको थियो, फोनमा बोल्दा के-हुने हो के-हुने हो भनेर। डम्मरेले फोन समायो। उस्ले उल्टो पारेर समाएछ, कानमा राख्नु पर्नेलाई मुखतिर र मुखतिर राख्नु पर्नेलाई कानतिर। साहुजीले मिलाईदिँदै भन्यो “ ल हेलो भन अब”। डम्मरेले “हेलो” भन्यो।
खै डम्मरेले फोनमा के सुन्यो त्यो त थाहा भएन, उसले फोन तल टेवलमा हत्तनपत्त राख्दै दुबै हात जोडेर भन्यो “नमस्कार”।
साहुजीले डम्मरेले राखेको फोन छिट्टै उठाएर बोल्यो। उसले धेरैवेर कुरा ग-यो, हाम्रो ठेगाना हेर्दै। अनि फोन राखिदियो।
त्यसपछि हामीलाई नजिकै रोकिराखेको बस देखाउँदै भन्यो “ ऊ त्यो बस चढ्नु, अनि जोरपाटी भन्ने ठाउँमा झर्नु। त्यहाँको पसलेलाई यो ठेगाना देखाउनु, उस्ले देखाईदिन्छ। हामी बसभएतिर कुद्यौँ।
साहुजी करायो “ए भाइ, पैसा-पैसा”
हामी फर्केर साहुजीलाई हे-यौँ। साहुजीले फोनको पैसा माग्यो, दुई रुपैंया। डम्मरेले पैसा दियो। हामी गएर बसमा चढ्यौँ र खलाँसीलाई “हामीलाई जोरपाटी भन्ने ठाउँमा झारीदिनुस् न है” भन्यौ। खलासीले “ल हुन्छ हुन्छ, अलिक भित्रभित्र जाओ”। खलासीले हामीलाई भित्र घँचेट्यो। केही समयमा नै जोरपाटी भन्ने ठाउँमा झारीदियो। बसभाडा भनेर दुई/दुई रुपैंया लियो, हामी सबैसँग।
“एकैछिन् हिडेका भए र पैसा नै नलाग्ने” डम्मरेलाई बस चढेको अलिक परतिर मात्र हो जस्तो लागेछ। हामीलाई पनि त्यस्तै लाग्यो।
हामी बसबाट झरेर यताउता हिड्न लाग्यौँ। नजिकैको पसलमा गएर ठेगाना देखायौँ। दुई तीनवटा पसलेले “थाहा छैन” भने। एउटा पसलेलाई गलैँचा कारखाना थाहा रहेछ। उसले देखाईदियो कारखाना जाने बाटो। कारखानामा पुगेपछि डम्मरेकी दिदीसँग भेट भयो। साँझ पर्नु केही अगाडी हामी डम्मरेकी दिदीको कोठामा पुग्यौँ।
----------------------
साझाल्याण्ड
१८ साउन २०६३