यो मेरो बाल्यकालको कथाको आठौं भाग हो। सातौं भागसम्मका लागि चौतारीका पुराना भाग या बल्खु(blog)मा हेर्नुहोला।यस कथामा पात्रहरूको नाम परिवर्तन गरिएको छ।
भूगोलको भद्रगोल ‘टिर्रर्रर्रर्रङ्ऽऽऽऽ, टिर्रर्रर्रर्रङ्ऽऽऽऽ‘
घण्टी सुनेर म दौडिंदै फोन उठाउन गएँ।
‘हेलोऽऽऽऽऽ‘
‘हेलो, चित्रे छ होला?’ उताबाट आवाज आयो।
‘मैं हुँ चित्रे, को बोल्या? अनिल हो?’ मैले सोधें।
‘ए चित्रे! झट्ट टिभी हेर त, हाम्रो डान्स आउँदैछ टीभीमा!’, अनिलले हतारमा भन्यो।
‘ए! ल म हेर्छु, पछि कुरा गरौं है त?’ मैले फोन राखिदिएँ र उफ्रिंदै टिभी खोल्न पुगें।
घरमा भएका सबैलाई चिच्याउँदै बोलाएँ।सबैजना उत्सुक हुँदै अभिभावक दिवसको मेरो डान्स टिभीमा हेर्नको लागि आउनुभयो। डान्स शुरू भइसकेको थियो, बाह्रजना स-साना बालबालिका डम्फूको तालमा तामाङ्सेलो नाच्दा निकै सुहाएको थियो।मेरी आमा म नजिकबाट स्क्रिनमा देखिंदा निकै ध्यान दिएर हेर्नुहुन्थ्यो। म चैं आफू र प्रियालाई टिभीमा देखेर मनमनै फेरी नाच्थें। नभन्दै डान्स सिद्धियो, तर मम्मीले मेरो यौटा गल्ति याद गर्नुभएछ।
‘ए चित्रे! अरू सबैले डम्फू दाहिने लग्दा तिमीले मात्र किन देब्रे लगेको हँ?’, मम्मीले सोध्नुभयो।
‘कहाँ? मैले ठीकै गरेको थिएँ त,’ मैले आफ्नो गल्ती सम्झिनँ।
‘हैन तिमीले बिगार्यौ,’ मम्मीले भन्नुभयो।
प्राक्टिस गर्दा कहिल्यै नबिगारेको र कहिल्यै गाली या पिटाई नखाएकोमा म गर्व गर्थें, तर झन् अन्तिममा, त्यो पनि टिभीमै आउने डान्समा बिगारेकोमा भने मेरो चित्त दुख्यो। अलि अलि डर पनि लाग्यो, अब दशैंको बिदा पछि स्कूल जाँदा डान्सिङ् सरको पिटाई खाइने हो कि भनेर।
-------------------------------------------------------------------------------------------------
दशैंको बेला थियो, हाम्रो घरमा विशेष पूजा भएकोले नातेदारहरूको जमघट थियो। रातको करीब आठ बजेतिर म केही आफ्नै उमेरका भाईबहिनीहरूसँग खेल्दै थिएँ।
‘टिर्रर्रर्रर्रङ्ऽऽऽऽ, टिर्रर्रर्रर्रङ्ऽऽऽऽ‘
फेरी फोनको घण्टी बज्यो। म दौडिंदै फोन भएको कोठामा पुगें, फोन बच्चाहरूले धेरै नचलाउन् भनेर दराजमाथि राखिएको थियो। बत्ती पनि नबाली म खाटमाथि चढेर फोन उठाएँ।
‘हेलोऽऽऽ! को बोल्नुभा’को?’ मैले एकै सासमा सोधें।
‘हेलोऽऽ! चित्रे छ त्याँ?’, उताबाट आवाज आयो।
‘म बोल्दैछु, को? अनिल?’, मैले भनें।
‘हो, के गरिरा’?’ उसले सोध्यो।
आज मलाई कसैलाई उल्लू बनाउन मन लागिरहेको थियो।
‘हामी त चंगा उडाइरा’, मैले ढाँटें।
‘चंगा उडाइरा’ रे? यति राती?,’ अनिल छक्क पर्यो।
‘राती? कहाँ राती? यहाँ त दिउँसै छ, बल्ल दुई बज्यो।‘, मैले कुरा बनाएँ।
‘यहाँ त रातीको आठ बजिसक्यो, कसरी त्यहाँ दिउँसोको दुई बज्छ?,’ अनिलले पत्याएन।
‘तिम्रो घर काठ्माडौंमा, मेरो पाटनमा, अनि टाइम फरक भैहाल्छ नि,’ मैले सम्झाउने कोशिस गरें।
‘ह्या हैन होला,’ अनिलले अझै पत्याएन।
‘हो क्या, म अहिले कौसी भन्दा भित्रबसेर फोन गर्दैछु, कौसीमा सबै बसेर चंगा उडाउदै छन्, ल म राख्दिन्छु है, मलाई चंगा उडाउन मन लाग्यो।‘ मैले भनें।
अनिल अचम्मित भयो तैपनि पत्याएन।
मैले भाइ बहिनीलाई कोठा बाहिर बसेर हल्ला गर्न भनें। ‘चंगा चेत!’ भनेर कराउन भनें। उनीहरू ठूल्ठूलो स्वरले ‘चेत!’ भन्दै कराउन थाले।
‘सुन्यौ अनिल, हाम्रो चंगाले काट्यो नि अर्को चंगालाई, सबै चेत भनेर कराउँदैछन्’, मैले सुनाएँ।
‘मेरो घडिमा त आठ बजेको छ, कसरी त्यहाँ दुइ बज्छ?’ अनिलले पत्याउनै सकेन।
‘हेर अनिल!’ मैले भनें, ‘ यहाँ बिहान हुँदा अमेरीकामा राती हुन्छ, जापानमा साँझ पर्छ भनेर त थाहा छ तिमीलाई?’
‘अँऽऽ हो हो, बुबाले भन्नुभाथ्यो!’ उसले सहमति जनायो।
‘होऽऽ त्यस्तै काठ्माडौंमा रातीको आठ बज्दा पाटनमा दिउँसोको दुई बज्न सकिहाल्छ नि’ मैले आफ्नो तर्क राखें। मलाई थाहा थियो कि अनिललाई दूरीको बारेमा खासै ज्ञान थिएन।अनिल झनै कन्फ्युजनमा पर्यो तर यसपछि उसले सीधै अस्वीकार गर्न सकेन।
‘चेतऽऽऽऽ!!!’ मेरा भाई बहिनीहरू कोठा बाहिर बसेर फेरी चिच्याए।
‘ए! हाम्रो चंगाले फेरी काट्यो, म जान्छु है अनिल चंगा उडाउन!’, मैले अलि उत्तेजित स्वरमा भनें।
‘त्यसो भने त्यहाँ दिउसै हो त?’ अनिलले फेरी सोध्यो।
‘हो भन्या, कस्तो नपत्याएको होला!,’ मैले कुरा बनाएँ।
‘ल त्यसो भए चंगा उडाउन जाउ त!’, अनिलले पत्याए झैं गरी भन्यो।
मैले फोन राखिदिएँ।
----------------------------------------------------------------------------------------------------
दशैं, तिहारको बिदा पछि स्कूल फेरी खुल्यो। पहिलो दिनमा कक्षाकोठामा म अलि चाँडो पुगिसकेको थिएँ। अनिल हस्याङ्फस्याङ् गर्दै आयो।
‘ए चित्रे! मैले तिमीलाई त्यो दिन फोन गर्ने बित्तिकै निमेषलाई फोन गरेर सोंधें, उसको घरमा त आठै बजेको रहेछ त!’ उसले एकै सासमा भन्यो।निमेषको घर पनि पाटनमै थियो।
मलाई मनमनै हाँसो उठ्यो, तर हाँसो रोकेर, भनें ‘हो र?’