बुद्ध-जयन्तीको अवसरमा लेखिएको माथिको कवितालाई साफी गर्दै पुनर्लेखन गर्ने प्रयास गरेको छु !
आऊ-आऊ ! बुद्ध ! हाँसी मुसुक्क ॥
ठूला - ठूला युद्धले त्रस्त सारा
खोला नाला रक्तले लाल लाल
मर्थे मान्छे ब्यर्थको काट - मार
बुझ्नै गाह्रो युद्धका कार - वार ॥
बोकी खुँडा हातमा वीर भन्थे
काटी दिन्थे शीरमा छेद बन्थे
मर्थे मान्छे ब्यर्थ बित्थै कसूर
मानव्ता त्यो भाग्दथ्यो दूर-दूर ॥
शोला बन्दै बर्सने यत्र - तत्र
घृणा मात्रै नेत्रका काप भित्र
कंगाली ती दरिद्रीले डसेका
नैराश्यै ती दीन - दु:खी बसेका ॥
धर्ती माता खिन्न भै भार सारा
बोकी हिंड्थिन् पापको त्यो फुहारा
पर्खी- पर्खी बुद्धको जन्मलाई
धर्ती बस्थिन् आस नौलौ जगाई॥
आए- आए बुद्ध ती पाप हर्न
सारा धर्ती शान्ति सन्देश छर्न
डाँडा-पाखा शान्ति नै गुञ्जियो त्यो
ढाकी पारावार नै फैलियो त्यो ॥
आँकूरा ती शान्तिका फुट्न थाले
हाँसो फक्रे पल्लवी झुल्न थाले
घृणा भाग्यो, मूढता सुक्न थाले
थुँगा ठूला प्रेमका फुल्न थाले ॥
सारा-सारा युद्ध ती दूर भागे
निन्द्रा त्यागे मानसी साथ लागे
नौला राम्रा व्योमले सप्तरंगी-
ईन्द्रेनीको सृजना गर्न लागे ॥
नाशी चोला बुद्धले यो धरामा
त्यागे धर्ती मोक्ष बाटो समाते
देवै ठूला शान्ति पर्यायवाची
सारा - सारा लोकले बुद्ध भाके॥
तुवाँलोले कालको यो धरामा
ढाक्यो सारा बुद्ध सन्देश आज,
धर्ती फेरी रुग्ण भो रुग्ण हेर
दोहोरिंदा युद्धका कार – वार॥
घृणा फेरी फैलियो अन्न – धन्न
बिझ्यो काँडा, प्राणमा सन्न - सन्न
धर्ती रुन्छिन्, लाजले सुँक्क-सुँक्क
आऊ, आऊ ! बुद्ध ! हाँसी मुसुक्क ॥
धन्यवाद
अस्तु