सोम दाई ,थोरै शब्दहरु सापटी लिएको छु ,अनि शिर्षक पनि ....ऋणी छु है दाईकसैले उसको कानमा खुसुक्क भनेको जस्तो लागेको थियो उसलाई , आज आकाशमा कालो सुर्य उदाउनेछ । उसले धेरै बेर आकाश नियाल्न खोज्यो तारा हरु शित झार्दै थिए उसको आँगनको घाँसमा , उसको ओइलिएको आँगन शितले सिँचेर हरियो बनाइदिने आश गर्यो मनमनै उसले । तर खोइ त कालो सुर्य ! मन को अर्को कुना खिसिक्क हाँस्यो उ माथी !
“धत रातमा पनि सुर्य उदाउँछ ? कसले भन्यो तँलाई आज कालो सुर्य उदाउँछ भनेर ?”
उसले मनलाइ सम्झायो
“ हैन कसैले मेरो कानैमा आएर भनेको आज कालो सुर्य उदाउँछ , जसका किरणहरु पनि काला हुनेछन् उसले पहिला मलाई अनि त्यसपछि अरुलाई एक एक गर्दै छोप्दै जानेछ ।“
“आफ्नो मनले भनेको नसुनेर कसैले कानमा खुसुक्क भनेको सुन्ने ?” मनले फेरि रोष पोख्यो । उसको मन उ भन्दा जिद्दि निस्कियो ।
“त्यसो भए वास्तविकता के त ?” उसले जति गर्दा पनि आफ्नो मनलाई जित्न सकेन । उ अलमल्ल मा पर्यो ।
“मेरो विचारमा तँ निन्द्रा मा छस् ! उठ्न खोज त !”
उसले आँखा उघार्यो बिस्तारै , हो रहेछ ।उसको झ्यालको पर्दा हल्लिरहेको थियो । कति जिस्किन्छ हावा पनि उसका पर्दाहरु सँग । कोठा उसको पर्दा उसको तर हावा लाई किन मतलब छैन उसको एकान्तता को !
सँधै जस्तै आज पनि उसले ताल्चा देख्यो अर्को ढोकाको उसको खाटबाटै पल्लो कोठामा लागेको ताल्चा देखिन्छ । करिव एक महिना देखी बन्द ताल्चा। यस्तो ताल्चा जो त्यो ढोका भन्दा अस्तित्ववान छ । ढोकाको चुकुलमा कमसेकम आफ्नो हातको आधिपत्य हुन्छ भित्र नियाल्न मन लाग्यो घरक्क खोल्यो नियाल्न मन लागेन ढ्याम्म बन्द गरिदियो । तर ताल्चाको अघि उसका हातहरु विवश छन् । उसले पनि चाबि खोज्नु पर्ने हुन्छ , ताल्चाको आधिकारीक स्वामी । उसले आँखा अन्यत्रै मोड्यो । उसलाई त्यो ढोका खोल्न मन छैन । एक माहिना अघि देखीको उसको बेडरुम भनाउँदो कोठा उसलाई छिर्नै मन छैन !उसलाई त्यो बन्द ढोका नै प्यारो छ । त्यो ताल्चा उसको मनमा पनि त लागेको छ । आँखा नभिजोस् भनेर आँखामा पनि लागेको छ । उसले दवाएर राखेको रापमा लागेको छ । साँच्चै त्यो ताल्चा त्यो ढोका भन्दा अस्तित्ववान छ ।
उसले घडी हेर्यो पाँच बजेको हुँदो हो ! उ प्रायश: चाँडो उठ्ने मान्छे होइन ।आजकल उ निदाउन छोडेको छ । निदाउँदा पनि त्यस्तै अनेक थरिका सपना देख्छ । कोहि कानमा आएर खुसुक्क चाहिने नचाहिने कुराहरु भनिदिन्छन् । उ सोझो बनेर निन्द्राका पलभरी पत्याइ पनि दिन्छ । तर उसको चतुर मन उसलाई झुट पत्याउन दिँदैन सँधै जस्तै ।झुट देख्नु भन्दा , कसैका अमुर्त बुझिनसक्नुका कुराहरु सुनिदिनु भन्दा ननिदाउनु नै राम्रो होला भनेर सोच्छ । अनि आँखा च्यातेर यता उता हेर्छ रातभरी ।
“कति बसिराखेको भित्रै , उज्यालो हुन लाग्यो बाहिर निस्कि चिया टेबल मैँ छ !” परिचित आवाज सुन्यो उसले , आवाज आमाको होला !उसलाई तँ भन्ने कि उसको मन हुन्छ कि आमा , अरुले तँ भनेको उसले सुनेको छैन ।
उ झस्कियो , उसले सपनामा देखे जस्तै कालो सुर्यका कालो किरणहरुले उसलाई निले भने ! त्यो सपना हो , मनले फेरि उसलाई डराउन दिएन । झन्न उसको मन छ र मात्रै उ हिँडिरहेको छ ।
एफ.एम.का आवाजहरु मान्छेको कोठा कोठामा बिउँझदै थिए ।उसलाई त्यो धुन मन पर्दैन । उसको कानमा सियो ले घोचे जस्तो लाग्थ्यो त्यो धुन सुनेपछि । एक महिना अघि उसले यहि धुन सुनेको थियो । तर अर्काको घरमा गएर एफ.एम. बन्द गर भन्न पनि त सक्दैन नि उ !
“आमा माया फर्किन्न अरे ? माइतबाट ??” सोध्न खोज्यो उसले । ताल्चा हेर्यो कोठाको , उसको प्रश्न रोकियो ।उ झसंग भयो , राता भए उसका आँखा अचानक उसको आँखामा यथार्थको राप देखियो ।
रातिको आवाज मायाको त थिएन त्यसो भए ? उसले दाँज्न भ्याएको छैन , होइन होला मायाको आवाज त , माया कसरी आओस् । उसले नै त देखेको मायालाई साडी बेरेर झुण्डेकी ! तै पनि बिहेको , रातो सितारा जडेको साडी !!! त्यहि ताल्चा लागेको कोठामा !!! मरिसकेको मान्छे फर्किन्नन् कहिल्यै ।
उ अझै पनि सम्झिन्छ पुलिसले उसलाई पनि त धेरै केरकार गरेको ।बिहे गरेकै चार दिनमा किन झुण्डिइ त आखिर तँलाई थाहा हुनै पर्छ भनेर पुलिस ले तर्सायो पनि ! बिहा गरेको चार दिन मा त झन उसलाई थोरै कुरा मात्र थाहा हुनु पर्ने , मान्छे बुझ्नलाई जीवन पर्याप्त हुन्नन् पुलिस किन माया सँग बिताएका चार दिन लाई विशेष मानीरहेका छन् उसलाई अचम्म लाग्यो । उ रोएको पनि थियो मलाई केहि थाहा छैन भनेर । चिठ्ठी पनि त लेखिन मायाले जानेबेलामा मात्र “ मलाई थाहा छ भविष्य सुन्दर हुन्छ ,म गल्ति गर्दै छु , तर मलाई विश्वास छ मेरो सुख यसैमा छ !”
कस्ता अस्पष्ट शब्दहरु । उसलाइ रिस पनि उठेको थियो रोइसकेपछि । कस्को लागि रुँदैछ उ ? बुझ्ने लाई उसको आँशुको मतलब छैन , आँशुको मतलब हुनेहरु बुझ्नको लागि त्यहाँ छैनन् । कसको लागि रोएको त उ ?
आजकल उ रुन छोडेको छ । मायाको केस आत्महत्या नै सावित पनि भयो रे !मान्छे ले शरिर को हत्या लाई आत्महत्या किन भन्छन् ? आत्मा मर्दैन भने !!!
तर पनि सावित भो अरे आत्महत्या ! आत्मा नमरेपनि मायाको आत्महत्या सावित भयो ।
उसको मनले भन्यो सावित भएपछि ,
“यो अन्याय भयो !”
उ मनका कुराहरु बुझ्दैन । पुलिसको केरकार बाट उ बचेको छ ।अब सावित भएको कुरामा उसलाई आरोप लाउने छैनन् । अन्याय कसरी भयो त ?उसलाई त न्याय नै भयो नि !
“कसरी ?”
“ तेरो रहरहरु पनि त मरेका छन् , तेरो इच्छा माया सँगै पोष्टमार्टम भए , तेरो खुशि सँगै डढ्यो माया सँग ! कसैले देख्यो ?”
यो प्रश्नको उत्तर उ सँग छैन । उसले मनको कुरा सुनेको नसुन्यै पार्यो !
क्रमश: