सुधाको डायरी-पेज ९४
प्रकाश सँग आज पनि झगडा
पर्यो। प्रकाश ,मेरो हाकिम। सवै हाकिम साप भन्छन्। मलाई हाकिम साप भन्न मन
लाग्दैन। म प्रकाश सर भन्छु। मैले फाइनल भएको कभर अलि डार्क छ भनेको थिएँ। उसलाई
चित्त वुझेन। मैले कथा पढेको थिएँ। कथामा हजारौँ हलुका पलहरु थिए, जसले मेरो
अनुहारमा मुस्कान छरेको थियो। कभरमा उज्यालो रंग प्रयोग गरिनुपर्छ भन्ने मेरो अडान
थियो। अन्तिम डिसिजन प्रकाशकै थियो उसले मेरो सुझाव मानेन। म एघार वजे नै अफिसवाट
निस्किएँ।प्रतिकलाई चिया खान जौँ भनेको मानेन।हिँड्नु अघि प्रकाशलाई म्यासेज छोडेँ
" ह्याभ ए हेडेक, म निस्केँ अफिसवाट!"
कहिलेकाहिँ प्रतिक देखेर
अचम्म लाग्छ। किन दव्न रुचाउँछ। उ मात्र काम गरिरहन्छ सँधै।कहिल्यै गुनासो छैन
कसैसँग। कसैसँग केहि आश नराखे मात्र न हो गुनासो हराउने, त्यो अर्थले त उसको जीवन
निराश छ,निरस छ।
साकेतलाई फेरि त्यो कफि
सपमा भेट्टाइन मैले । दुइ दिन लगातार गएपछि पत्ता लगाएँ, उ नेपालमा छैन फेरी पनि।
मैले उसको फेसवुक,ट्विटर सवै हेरेर भ्याएकी थिएँ ।केहि खासै पत्ता लाउन सकिन उसको
व्यक्तिगत जीवनको वारेमा तर विगत केहि दिनमा मैले पत्ता लगाएको एउटै कुरा थियो। उ
विदेश दुइ चोटी गइसकेको थियो। उसको घर पत्ता लगाएर त्यहिँ कुरेर वस्ने पनि सनक
नचढेको हैन ।मैले सोधे पनि त्यहि कफि सपमा। पत्ता लाग्यो, उसको घर
वालुवाटार वाट महाराजगन्ज जाने वाटोमा कतै छ। पहेँलो रंगको दुइ तल्ले । ठूलो
कम्पाउण्ड भएको।त्यसको छेउमा पुगेपछि सम्झना आयो, उ त विदेश गएको थियो घर अगाडी वसेर के गर्नु।
फेरि उसको घरमा उसको परिवारको अघि उसको कथाले डोर्याएर आएकी भनेर भनेँ भने के
सोच्लान। म जस्ता,जस्ती त त्यहाँ धेरै आउलान नि।
के सोच्छन होला र ? यस्तै
यस्तै कुराहरु मैले कफिसपमा सोचेर विताएकी थिएँ साकेत नभएका दुइ दिनमा। अचानक आज
खाली भएपछि उसको घर चियाउने फेरि रहर जागेर आयो।पाइला खुट्टाले हैन मनले चलाउने
रहेछ। खुट्टाले त डोरिइनु पर्ने रहेछ, मनको आग्रहमा । करिव तिन घण्टा जति उसको
घरको छेवैमा वसेँ । सिरसिरे वतासले मेरो स्वेटर छेड्न थालेपछि भने मेरो सनकमा
विराम लाग्यो। घर फर्किएँ।
त्यहाँ मेरो खाट छ। खाट
छेउमा कितावको रेक छ। रेकमा एउटा रो भरी साकेतका कितावहरु छन्। हो उ मेरो नशा हो।
म उसँग चाहेर पनि रिसाउन सक्दिन। उ सँग रिसाउने मलाई अधीकार छैन।
*************
************** ************* **************** ************* *****
प्रकाशसँग सुधाका कुरा
जहाँ सम्म मलाई लाग्छ त्यो
त्यहि दिन हुनुपर्छ। जस्को कुरा सुधाले अहिले गर्दैछे। उ सन्केर वाहिर निक्लेकी
थिइ। तिन दिन अगाडी काटेको उसको थाइकट कपाल हिँड्दा उसको रिस जस्तै उसको अनुहारमा
ठोक्किइरहेको थियो।
"कफि खान जाने हो? आज
मलाई काम गर्न मन छैन!" वा यस्तै केहि भनी सुधाले मेरो टेवल नजिकै आएर। मैले
घडी हेरेँ। एघार वजेको थियो। मेरोमा कामका थाकहरु थिए।
"तिमी जाउ न ल , म
भ्याउन्न होला !" मैले जवाफ फर्काएँ।
उसले मलाई दोश्रो प्रश्न
गरिन। उ वाहिर निस्की। उसको हिँड्ने गतिमा कुनै परिवर्तन थीएन।
********** ***************
*************** ************* ************ ***********
"तिमीले कस्ती केटीलाई
रिकमेन्ड गर्यौ यार?" प्रकाश टाउको कन्याउँदै थियो। म उसले वोलाएपछि उसको
कोठा छिरेको थीएँ।
"किन र सर?" मैले
सुस्तरी जवाफ फर्काएँ।
"कस्तो सनकी हो?"
हो उ सनकी छे। तर त्यो सनक
उसको काममा पनि त देखिन्छ। खुशी भएको दिन त उ दिन रात केहि भन्दिन। राती अवेर नै
वसेर पनि काम टुंग्याउँछे।
"उसले भनेको ठीक त ठिक
नै हो! तर राइटरले मानेन ,के गर्ने ! फेरि त्यस्तो रिनाउन्ड राइटर उसका पनि त केहि
कुरा राखिदिनुपर्यो। मैले मात्र त्यति वुझाउन खोजेको ! ल हेर यो टेक्स्ट "
ह्याभ ए हेडेक, म निस्केँ अफिसवाट!" हैन उ वोस कि म वोस?"
म चुप नै रहेँ। मलाई थाहा छ
उ सनकी छे। म धेरै पहिले देखि उसको सनक चिन्छु। हुन त उ भित्र का भिन्न
आयामहरुमध्ये म मात्र उसको सनक चिन्छु।
*********************
********************* ******************* *****************
सुधाको डायरी- पेज ९८
आज विहान पनि निक क्याफे
पुगेर टोलाएर वसेकी थिएँ। पर वाट मेरो मरुभुमीको मिराज देखा पर्यो। साकेत पत्रिका
लिएर क्याफेमा छिर्दै गरेको देखेँ।छेवैमा गएँ निर्लज्ज भएर। चुपचाप उसलाई हेरीरहेँ।
साकेतले पुलुक्क हेर्यो "के म तँपाइलाई चिन्छु भावमा ?"
फेरि पनि उसले मलाई चिनेन।मन
भरी अचानक रिस भरिएर आएको थियो। तर कसो कसो आफुलाई सम्हाले।
"साकेत सर,वस्न
सक्छु?" छेवैको कुर्सी खाली थियो।
"वस्नुस्
न..........."
"सुधा, मलाई थाहा छ
तँपाइलाई नाम याद हुन्न !"
उसले मलाई फेरि पुलुक्क
हेर्यो।
"सरी सुधाजी... हामी
यहिँ भेटेका थियौँ है?" उसले यसपाली मलाई चिन्यो।
"करिव सात दिन अघि
!"
"म विचमा थिइन !"
"वाहिर जानु भएको
थियो, मलाई थाहा छ। म विचमा पनि आएको थिएँ यहाँ तँपाइलाई भेट्न !"
"मलाई वाहिर
गइरहनुपर्छ !" उसले चिया सुरुप्प पार्यो "चिया खानुहुन्छ?"
"स्युर !"
"तँपाइले त्यतिखेर
मेरा सवै कथा पढेको छु भन्नु भएको थियो क्यारे? के मन पर्यो त तँपाइलाई ?"
"एउटा नशा छ तँपाइका
कथाहरुमा , म डुव्छु तँपाइको संसारमा !"
"लेखक पात्रहरु
वनाउँछ। लेखकलाई कथामा भेटिन्न !"
"तँपाइका टुक्राहरु त
होलान् नि तँपाइका कथामा ! तँपाइका भोगाइका अवशेषहरु शायद !"
"तँपाइलाई त्यस्तो
लाग्यो ?"
"धेरैजसो त म आफुलाई
पनि भेट्टाउँछु !"
"भनेपछि त एउटै कथामा
तँपाइ अनि म , हामी एक अर्कासँग परिचित छौँ ! हैन त?"
"कम्तिमा मलाई भने
त्यस्तो लाग्छ !"
चिया आयो। मैले चिया समाते।
मेरो चिसो हात चियाको कपले तातो वनायो।
"अनि के गर्नुहुन्छ त
तँपाई?"
"मनोरमा प्रिन्ट्स,
कभर डिजाइन गर्छु !"
"त्यहि भएर तँपाइलाई
कितावमा इन्ट्रेस्ट छ !"
"हैन कितावमा
इन्ट्रेस्ट भएर चाहिँ म मनोरमा प्रिन्ट्समा छु !" म हाँसे। साकेतले पनि
यसपाली मलाई साथ दियो।
"पव्लिकेसन हाउस सँग
वसेर चिया खानु हामी राइटरको लागि पनि रमाइलै हो !" उसले यसपाली कटाक्ष
गर्यो।
"तँपाइलाई एउटा कुरा
नढाँटी भन्छु ,रिसाउनुहुन्न भने!" मैले उसको आँखामा आँखा जुधाएँ।
"भन्नुस् न ?"
"तँपाइ नभएको समयमा म
तँपाइको घरसम्म पुगेँ। दुइ चोटी। करिव दुइ तिन घण्टा वाहिर वसेँ।टोलाएँ अनि फर्केर
आएँ।"
उ टक्क अडियो। आफ्नो कपवाट
चियाको अन्तिम सुरुप्प तानिसके जस्तो।अनि वोल्यो
"कथा कथा हो, जीवन
होइन सत्यता होइन !"
"म मान्दिन, कथा जीवन
वाट भाग्न सक्दैन,सत्यताको परिधी तोड्न सक्दैन!"
"के पायौ त मेरो घरमा
?"
"भित्र
छिरिन,वाहिरवाटै हेरेँ ,एक्लै !"
"मेरो घर भित्र पनि
केहि छैन, तिमी जस्तै छ त्यो घर पनि एक्लै ! मेरो जाने वेला भयो , अरु कुनै दिन
भेटुम्ला!"
"भोलि पर्खिउँ कि
नपर्खिउँ , त्यति सोध्न मिल्छ ?"
"आइतवार !" उ
थोरै हाँस्यो। मेरो ढुकढुकी वढ्यो। कुनै ढोका खुलेर मेरो मनमा प्रकाश छिर्दैछ। म
त्यहि प्रकाशमा नुहाउन चाहन्छु आफ्नो अँध्यारो धुनेगरी!