अर्को भाग!
“ल यो बिचको खा’र देखा सक्छस भने?”
कुम्लेले भुइँभरि छरिएको एक रुपियाँको डबलहरु मध्ये एउटालाई देखाउँदै ढ्याक हान्न लागेको हरिलाई हेरेर भन्यो र, दाहिने हातको चोर औँला मुखमा भित्र सम्म कोच्यो र औँला अंकुशेपारेर ओठमा च्यापेको खैनि निकालेर हात झड्कालेर फाल्यो अनि पिच्च खैनीको थुक थुक्यो।
“ धेर नचम्कि मुरदार तँ, आज टाट भइस तँ, मैले देखिसकेँ!”
हातमा ढ्याक लिएर कुम्ले भन्दा अलि पर जिउ बङ्ग्याएर उभिएको हरिले कुम्लेले देखाएको पैसा ताकेर ढ्याक हान्यो।
ठ्याम्मै भनेको पैसामा ढ्याक लाग्यो।
रमाएर दौडँदै पैसा भएको ठाउँमा आयो र सबै डबलहरु बटुलेर खल्तिमा हुल्यो र दाँत देखाउँदै भन्यो-
“ देखिस त! ल कति थाप्छस थाप, तेरा कौडि नसकि त के छोड्थेँ आज!”
कुम्लेले एक पटक मुख नमिठो बनाउँदै हरिलाई हेर्यो। शायद खोपि जितेकोमा अलिकता रिस, जलन र घृणा उब्जिएको हेराई थियो त्यो। फेरि लगत्तै खल्तिबाट केहि डबलहरु निकाल्यो र भन्यो-
“ तेरा जस्ता आज पैसा भ’ भोलि टाट हुने मुन्छे हैनम हामि! कति जित्दोरेछस हेरम हाम्पनि, ल हान् अर्को खाल!”
कुम्ले खेल्नलाई जोशिएको देखेर हरि खुसि भयो; आज उसको बिहान देखि दाऊ लागिरहेको थियो र अलिकता उचाल्ने बित्तिकै पैसा हार्नलाई कुम्ले तयार थियो।
“ हे परमेस्सोरि सइ रुप्पे जति बनाम्न पाए ठूलीलाई जरी हाल्या चोलो किन्दिन हुन्तो!”
हरी मनमनै भगवानको प्रार्थना गर्न थाल्यो!
“ ल पन्ध्र डबल हुर्याम्छु!”
यिनिहरु एउटाले डबलहरु फाल्ने र अर्कोले तोकिएको ठाउँबाट ढ्याक हानेर भनेको डबललाई हान्ने गर्थे। भनेको डबलाई लाग्यो भने सम्पूर्ण डबल हान्नेको हुन्थ्यो र फेरि एक पटक हान्न पर्दथ्यो। नलागेमा हान्नेले जति डबल छरिएका छन त्यति नै रुपियाँ बुझाउनु पर्दथ्यो र अर्कोको डबल हान्ने पालो आउँदथ्यो। एउटा डबललाई लागेर अर्कोलाई छोएमा हान्नेले हार्दथ्यो।
“ हुर्याम्न त हामि सइ रुप्पे नै हुर्याम्छन नि बोलेर मात्रै हुने भ’ पैसो नि फाल् मुरदार!”
हरीले ढ्याक समाउँदै कुम्लेलाई उकास्यो।
कुम्लेले पन्ध्रवटा डबल अलि पर उभिएर एकठाउँमा फाल्यो।
दुईवटा डबल लगभग लगभग जोडिएर बसे।
कुम्लेको मुहार केहि हँसिलो भयो।
नजिकैका डबल मध्ये एउटालाई औँलाले देखाउँदै कुम्लेले भन्यो-
“ हेरि यो हान्। यो हान्न सकिस भने चैते दसइँ सम्म खोपि नै खेलिन ल मइँले!”
हरिले केहि नबोलेर आँखा चिम्सो पारेर हात सिधा पारेर ढ्याक सोझ्याउँदै डबललाई हेर्यो।
अलिकता झुक्यो र कलात्मक तरिकाले ढ्याक फाल्यो!
“परो परो परो ठ्याक्कै पर्यो!”
डबल फाल्ने बित्तिकै हरि उत्सुकताका साथ पैसा बटुल्न गयो।
“ इइइइइ परो! तो माथ्लो डबललाई छुसुक्क छोएर गो, लु पन्द्र रुप्पे गन् त ह्याँ खनखन्ती?”
कुम्लेले हरिले बटुल्न लागेको पैसालाई टुक्रुक्क बसेर दुबै बाहुलीले छोप्दै भन्यो।
हरि झस्कियो। निहुरिएर कुम्लेले छोपेको पैसा सोहोर्न खोज्दै करायो-
“ एउटा डबललाई मात्रइ ट्याक्क पारेर छोएर गा’ छ तेरा आँखा फुट्या थे कि के हो?”
कुम्लेले अझै पैसा छोप्दै झन ठुलो स्वरमा मुख बिगारेर हरीलाई हेर्दै करायो-
“ इइइssss छोयो एउडा डबललाई मात्रै! मास्त्यारको डबलमा ‘ट्वाङ्ग’ गरेर ढ्याक गुड्या बिर्सिस पातकी?”
“ एss तँ हारेँ भनेर रोएको बज्जे छेरुवा? रोइँ भन् न रोइँ छोडदिन्छु जाबो पन्द्र रुप्पे! हारेर रुँदोरेछ लबस्तरो!”
हरि तिलमिलाएर बोल्यो!
कुम्लेलाई आफ्नो स्वाभिमानमा प्रहार भएको महशुस भयो।
“ को रोयो? बढि हुन्छस?? हारेर रोइन्नन्। याँ नभा कुरो भा छैन भन्या हुम! तेरा सत्तेनास हुने ढ्याक ठाममा पार्न परो नि जित्नलाई!”
“ कल्लाई बडि भो भनिस ए छ्याकिको पोइ? खोज्या हो? आफेँ हार्छ आफै छेर्छ!”
हरि कुम्लेलाई खाउँला जस्तो गरेर हेर्दै करायो।
कुम्लेलाई अब असह्य भयो।
“ कसको पोइ रे ए जन्डिसे??? तइँले म सित जोरि खोज्ने??? ल आइज मुरदार तँलाई चिलायो जस्तो छ! म यो पइसो बटुल्छु त्याँसि पन्द्र रुप्पे दाम खनखन्ति गनेर ले मलाई! यो पइसो छोइस् भने नि बाउको बे देखाइदिन्छु मर्न नसक्या हुतिहारा!”
हरि केहि कुम्लेको बोलिले र केहि जितेको पैसा नपाएको झोकले हुत्तिएर पैसा छोप्न गयो। भुइँमा पैसा छरिएको ठाउँमा दुबैजनाको हात पुग्यो र चल्न थाल्यो। केहि डबल धुलोमा पुरिए, केहि छरिए। दुबैजना पैसा टिप्न संघर्ष गर्न थाले। हरिले कुम्लेको कुममा धक्का दियो, टुक्रुक्क बसेको कुम्ले बायाँ ढल्यो धुलोमा। हरि धुलो पन्छाउँदै पैसा संगाल्न थाल्यो। कुम्लेको पारा चढ्यो। कुम्ले उठ्यो र एक मुड्कि पैसा बटुल्दै गरेको हरिको आँखा मुनिको डिलमा कसेर हान्यो; ‘प्वाच्च’! आवाजका साथ टुक्रुक्कै बसेको हरि पनि लड्खडाएर पल्टियो।
“ तेरो बाउलाई हात हालिस् ज्यानमारा? अब तेरा हात ठुनुक्क नपारि छाड्दिन म!”
यति भन्दै हरि उठेर कुम्लेलाई मुड्कि र लात्ति हिर्काउन थाल्यो।
बलियो कुम्लेले केहि छेकेर र केहि छेकेर हरिको प्रहार बाट बच्ने कोशिस गर्न थाल्यो। हरि जति मुड्कि ताक्दै हिर्काउन खोज्थ्यो त्यति नै कुम्लेले दुबै हात क्रस पारेर अनुहार छेकिदिँदा हातमा मात्र लाग्थ्यो।
अचानक कुम्लेले दायाँखुट्टाको पबलियो प्रहार हरिको खुट्टाहरु बिचमा गर्यो। हरि कराउनै नसक्ने गरेर तड्पियो र अलिकता झुकेर आफ्ना दुबै हात कम्मर मुनि राख्दै खुम्चियो पिडाले। कुम्लेले अझ छाडेन, मुड्कि मजाले बाँधेर झुकेको हरिको मुखमा चार-पाँच बलियो प्रहार पनि गर्यो। हरिको नाकबाट रगत आउन थाल्यो र रगत बग्दै तल चुहिन थाल्यो। हरि पिडाले टुक्रुक्क बस्यो। कुम्ले अब केहि शान्त देखिन्थ्यो।
“देखिस् त? म संग जोरि खोज्ने भा’ हैन तँ हुतिहारा!”
यति भन्दै दायाँ बायाँ हेर्यो। पर डिलपट्टि केहि केटाकेटि अनुहारमा डर र आश्चर्य भरेर टुलुटुलु झगडा हेरिराखेका रहेछन्। कुम्लेले केटाकेटिहरुलाई आँखा तर्यो। केटाकेटिहरु डराएर त्यहाँबाट दौडेर भागे। कुम्ले हाँस्यो।
छरिएको पैसा सबै बटुलेर खल्तिमा हाल्यो र जिऊको धुलो टक्टक्यायो। पिडाले छट्पटाउँदै भुईँमै थ्याच्च बसेको हरिलाई हेर्दै खल्तिबाट खैनिको पाउच निकाल्यो र हत्केलामा झार्न थाल्यो। शायद पाउचमा खैनि थोरै बाँकि थियो राम्रो संग झरेन। केहि रिसका साथ पाउच च्यात्यो र औँलाले पाउचको भित्र पट्टि पुछेर खैनि जम्मा पार्दै पहिला बायाँ हत्केलामा सार्यो र दायाँ औँलाले च्याप्दै मुखभित्र हुल्यो। हरि तिरै हेरेर एक पटक प्याच्च थुक्यो र कैले साउको पसल तिर लाग्यो।
कुम्ले पँधेरामा पुग्यो।
नेप्चि र दीपु कुरा गर्दै गाग्रि भर्दै थिए। धुलाम्मे कुम्ले पँधेरातिर हान्निएको देखेर दिपु अलिकता डराएको जस्तो भइन् र पँधेराको डिलमा पुगिन्। नेप्चि अलिकता पर सरिन्। कुम्ले पानीको धारो नजिकै आयो। दिपुको गाग्रि भरिँदै थियो।
कुम्लेले एकछिन नेप्चितिर हेर्यो, केहिबेर दिपु तिर हेर्यो र अलि कड्किएको स्वरमा भन्यो-
“कसको गाग्रि यो?”
कुम्लेको नमिठो हेराइबाट अगि नै अलिकता आत्तिएकी दिपुले केवल ओठ मात्र चलाएर भनिन्-
“म.. मेरो!”
“मुख धुन परो, गाग्रि सार् उता एकछिन्!”
दिपुलाई फेरि एकपटक आँखा गाडेर हेर्दै कुम्लेले भन्यो।
“हस्!”
डर मिसिएको स्वरमा बोल्दै दिपु गाग्रि सार्न अगाडि आइन्।
कुम्ले दिपु भएकै तिरबाट लगभग गाग्रिमा टाँसिएर उभिएको थियो! दिपुलाई अप्ठ्यारो भयो।
अलि नजिक आएर त्यत्तिकै उभिइन्, शायद सोच्दै थिइन् कुम्ले अलि पर हट्ने छ।
कुम्ले जहिँको तहिँ उभिएर दिपुले गाग्रि सार्ने प्रतिक्षा गर्न थाल्यो।
दिपु घुमेर अर्को पट्टि गइन् र केहि हतार गर्दै झुकेर गाग्रि सार्न लागिन्।
कुम्ले दिपुले गाग्रि सारेको हेर्दै थियो। धारातिर हेर्दै गरेकि नेप्चि असहाय भावले माथि बाटोतिर हेर्न थालिन्।
दिपुले जसोतसो गाग्रि अलि पर सारिन्।
कुम्लेले पँधेरामा सिधै निहुरिएर टाउको जोत्यो।
पानीले कपालको धुलो पखाल्दै थियो। धारो बाट टाउको हटाएर कुम्लेले यता उता हेर्यो। पँधेरा सिमेन्टको थियो र धारो भन्दा अलिकता माथि शायद साबुन राख्न एउटा खोपिल्टो बनाइएको थियो। त्यहाँ साबुन त थिएन तर पहिले राखेको साबुनले गर्दा होला खोपिल्टाको भुइँमा साबुन लागेको थियो। कुम्लेले भिजेको हात खोपिल्टामा मजाले दल्यो र त्यहि हातले कपाल मिच्न थाल्यो। दिपुले पुलुक्क नेप्चिलाई हेरिन्। नेप्चिले फेरि बाटोतिर हेरिन्।
कपाल पखालिसकेपछि धारोमै मुख लगाएर घुटुघुटु टन्न पानी खायो कुम्लेले।
पानी खाइसकेपछि हात खुट्टा पखाल्यो। यो सबै गर्दा पानीका कयौँ छिटाहरु दिपुको गाग्रिमा परेको हेर्दै दिपु उदास भैराखेकि थिइन्।
कुम्ले धाराबाट हट्यो।
पाइन्टको पछाडिको खल्तिबाट काइँयो निकाल्यो र चिसो कपाल कोर्दै सिमेन्टले बनेको धाराको डिलमा बस्यो। काइँयोमा जमेको मयल ले कुम्लेले भर्खरै पखालेको कपाल कोर्दा कपालमा बुट्टा भरे जस्तो देखियो।
दिपुले गाग्रिको सबै पानी पोखेर गाग्रि पखाल्न थालिन्।
कुम्ले शायद बिश्राम गर्दै थियो।
दिपुले गाग्रि फेरि भर्न थालिन् र पुलुक्क कुम्ले बसेतिर हेरिन्। कुम्लेले उसैलाई हेरिराखेको रहेछ। आत्तिएर फेरि गाग्रितिर हेर्न थालिन्। पँधेराको पानि पित्तले गाग्रिमा भरिइराखेको थियो। दिपु हेर्दै थिइन्। गाग्रि भरिएर पानी गाग्रि हुँदै बाहिर बग्न थाल्यो तर दिपु शायद केहि सोच्दै हेरिराखेकि थिइन्।
“गाग्रि भरियो दिपु!”
नेप्चिले बिस्तारै दिपुको तंद्रा भंग गरिदिइन्।
दिपु एक पटक झस्केको जस्तो गरेर गाग्रि धाराबाट बाहिर सारिन् र चुलि भरिएको पानी अलिकता पोखेर गाग्रि कम्मरमा बोकेर नेप्चिलाई जाने इशारा गर्दै हिँडिन्।
नेप्चि आफ्नो गाग्रि पखाल्न थालिन्।
पँधेराबाट मोडिनेबेलामा दिपुले पुलुक्क एकपटक कुम्ले भएतिर हेरिन्। कुम्ले उसैलाई घुर्दै थियो र शायद नया खैनिको पाउच खोल्नमा व्यस्त थियो। दिपुका पाइला सकेसम्म छिटोछिटो चल्न थाले।
दिपु आँखाबाट ओझेल भैसकेपछि कुम्लेले कपाल छाम्यो। चिसै थियो। बसेको ठाउँबाट उठ्यो र गाग्रि भरिने प्रतिक्षा गर्दै गरेकि नेप्चितिर एक उपेक्षित नजर दिँदै फेरि बाटो लाग्यो।
अलिकता उकालो हिँडेपछि चौतारी पुग्यो र थ्याच्च छपनिमा बस्यो। चराहरु कराउँदैथिए। घाम बिस्तारै माथि जाँदै थियो। पर कतै भाले बासेको र कसैले कसैलाई लामो स्वरले बोलाएको सुनिन्थ्यो। कतै कुनै चराको एकोहोरो आवाज आइरहेको थियो। पर कतैबाट रेडियो बजेको पनि सुनिन्थ्यो; शायद पुन्टेबुढाको घरमा रेडियो बज्दै थियो।
चौतारीबाट तेर्सो अगाडि बढेमा अलि पर पुन्टे बुढाको घर थियो गाउँबाट अलि पर एक्लो घर भन्न पनि सकिन्थ्यो। त्यसको विपरित तेर्सो बढेमा कैले साउको पसल आउँथ्यो र त्यहि दिशामा अझ पर ठुल्दाईको घर र गाउँका अरु घरहरु। यस मानेमा गाउँका धेरै जसो घरहरु यहि कुनामा पर्दथे।
कुम्लेले निकै बेर पुन्टे बुढाको घरतिर हेर्यो र केहि सोचे जस्तो गरेर त्यतैतिर पाइला बढायो। रेडियोको आवाज नजिक आउँदै थियो।
घर पछाडि करेसामा पुग्यो। रेडियोमा कुनै बिज्ञापन आउँदै थियो। यो बाहेक अरु चकमन्न थियो, नजिकै कतै कोहि बोलेको आवाज आएको थिएन। ऊ बिस्तारै अगाडि आँगनमा आयो। कुखुराहरु चर्दै थिए, गोठमा भैँसि उग्राउँदै थियो। रेडियोको आवाज आँगनमा ठुलो सुनियो। उसके घरतिर हेर्यो। माथि बार्दलीमा भित्तामा रेडियो झुन्ड्याइएको थियो र कुनै स्वदेश गान बज्दै थियो। कुम्लेलाई गित मन परेन। अचानक भित्रबाट खस्याक खुसुकको आवाज आयो। कुम्ले तुरन्तै करेसापट्टि छेकिएर उभियो।
उसलाई पुन्टे बुढा बाहिर निस्कँदैछन जस्तो लाग्यो। छेकिएरै हेर्यो; भाउजु रहिछिन्। आँखामा गाजल लगाएर, रातो सफा धागो बाटेकि बुढि, सुकिलो धोति लगाएर एउटा कुम्लो जस्तो बोकेर बाहिर निस्किइन्।
“ बुढि कता अन्मरिन लाइछिन ब्यान ब्यानै?”
कुम्लेले मनमनै आफैँलाई प्रश्न गर्यो।
बुढि आँगनबाट यतै पट्टि आउन थालिन्। कुम्ले करेसामा अझै पछाडिपट्टि गयो।
बुढि अघि कुम्ले आएको बाटो लागिन्।
बुढि पर पुगेको कुम्लेले हेरिराख्यो। आँखाबाट ओझेल भएपछि कुम्ले फेरि आँगन तिर गयो।
दायाँ बायाँ हेर्यो र कतै केहि आवाज सुन्ने प्रयास गर्यो। रेडियोमा मोतिबिन्दु क्याम्पको सुचना आइरहेको थियो। ढोकामा पालिस उप्किएको थोत्रो ताल्चा लगाइएको रहेछ।
भैँसि अझै उग्राउँदै थियो। कुखुराहरु चर्दै थिए।
एउटा गजबको रातो भाले कहिले भैँसिको गोबर खाल्डोतिर गएर केहि खोतल्थ्यो र कहिले अगाडि आँगनको डिलमा आएर बस्दथ्यो।
“अइले देखुन हो र एल्लाइ आँखा ला’ मइँले!”
मनमनै बोल्यो र यता उता हेर्यो।
पर तुलसीको मठनिर एउटा थुन्चे घोप्ट्याएर राखिएको रहेछ।
उसले थुन्चे उचाल्यो।
“प्व प्व प्व…” भाले तिर हेर्दै मुखबाट मसिनो आवाज निकाल्यो र दायाँबायाँ हेर्यो।
रेडियोमा बिहान नौ बजेको समाचार आउँदै थियो।
चर्दै गरेको भाले कुम्लेको बिशेष आवाजले टक्क अडियो र फुट् फुट् टाउको घुमाउँदै यताउता हेर्न थाल्यो।
“प्व प्व प्व…”
कुम्लेले फेरि आवाज लगायो। भाले डराउँदै कुम्ले तिर आएको जस्तो गर्यो। कुम्ले प्रतिक्षा गर्न थाल्यो। भाले अझै अगाडि आयो।
भाले सशंकित देखिन्थ्यो। कुम्ले तयार देखिन्थ्यो। भैँसि अझ उग्राउँदै थियो।
कुम्लेले भाले केहि अगाडि आएर फेरि फर्कने तयारीमा देख्यो। कुम्ले झम्टिएर अगाडि दौडियो र थुन्चे ‘घ्वाप्प’ पारेर भाले माथि पार्यो। पहिलो प्रयासमै भाले थुन्चे भित्र थुनियो। भाले क्वाक क्वाक गर्दै कराउन थाल्यो। अरु चरिराखेका कुखुराहरु आत्तिएर यताउता भागे। कुम्ले दौडेको, थुन्चेले भुइँमा हानेको आवाज र भाले कराएको आवाजले गर्दा होला, भैँसि उग्राउन छाडेर एक पटक करायो।
कुम्लेले दायाँ बायाँ हेर्यो। रेडियोको आवाज मात्र एकोहोरो थियो।
कुम्ले टुक्रुक्क बस्यो र बिस्तारै बायाँ हातले थुन्चेको मुख समातेर अलिकता उचाल्यो र दायाँ हात छिराएर भाले समात्यो। भाले फेरि करायो र फड्फडायो। कुम्लेले बायाँ हात पनि छिराएर भाले अझ जोड संग समाउँदै थुन्चे हुत्तयाइदियो।
भाले फड्फडाउँदै कराउँदै थियो। कुम्लेले भालेको पखेटा खप्ट्याइदियो।
अब भाले कराएको थिएन, शायद विवश थियो। भालेको दुबै खुट्टा जोडेर अलिकता बटारेको जस्तो गर्दै कुम्लेले दायाँ हातले खुट्टा समात्यो र भालेलाई बगलिमा छोपेर बाटो लाग्यो। खैनि खाने मन भैराखेको थियो उसलाई तर दुबै हात भाले लुकाउन प्रयोग भएकोले उसले खैनि खाने इच्छा त्याग्यो र पल्याकपुलुक दायाँ बायाँ हेर्दै हिँड्न थाल्यो!