मेरी आमाको कथा !
हरेक बिहान, बुढो सुर्य घिर्सिदै उदाउँदा,
गाईलाई कुँडो बसाल्न उठेकी मेरी आमा,
छ्वालीको रापमा...
कोदालोको माटो झार्दै...
खास्टो बेरेर कथा भन्थिन् ,
--अद्भुत बाटोहरुको कथा
--अजीब मानिसहरुको कथा !!
बाबु,
अद्भुत हुन्छन बाटोहरु ..
सर्बाङ्ग नाङ्गो...
यिनले लोभ्याउँछन्,
बोलाउँछन्
अनि पछि घोक्राउँछन् |
यहाँ, बाटो खन्ने पनि मानिस हुन्छन् .
बाटो बन्ने नि मानिस हुन्छन्
माथि पुग्ने, तल झुक्ने
अरु मर्दा आफु लुक्ने
सबै मानिस हुन्छन् …...
सभ्यताको मुखुण्डो भिरेर बसेका
धर्म, जात र रंगको विभेदमा
आफ्नालाई मारेर वीर हुन्छन्
आफ्नाबाट मारिएर शहिद हुन्छन्
तँ त्यो बाटो नहिंड्नु ...
तँ न वीर हुनु...... न शहिद !!
छोरा ,
अजीब हुन्छन् मानिसहरु,
"अकल्पनीय”........... सोचको परिधिभन्दा पर
आफ्नै अस्तित्व सिध्याउन तल्लिन ..
विलयको बाटोमा हिंडेर मख्ख हुन्छन्
थरि-थरि कारण खोज्छन्
घरि-घरि युध्ह रोज्छन्
र ….......कथा लेख्छन्,
तँ जस्तै ...छोरो ढलेको कथा
म जस्तै... आमा गलेको कथा...
रोग र शोकको कथा
भातको सितो,
घरको भित्तो नदेखेको कथा ...
अनि रुन्छन् ...
..ताली पिट्छन्
र पुरस्कृत हुन्छन्
आफै ...!
त्यसैले बाबु, बरु कोदाली बोक्नु..
पसिनाको भेलले रगतको टाटो मेट्नु
आँसुको डोब पखाल्नु
ताकी ...
भोलि ...तँ उठ्दा
न कसैले कथा लेखोस
न तैंले भन्न परोस !!
.