भानु दाहाल
एक कर्मशियल बैंकको अफिसर तहमा काम गर्ने रोशन भट्टराई काठमाण्डौ पुतलीसडकस्थित एक घरमा फ्ल्याट भाडामा लिएर बस्छन् । उनी भन्छन्–“सुरुमा दुईचार दिन त रमाईलै भयो तर सधैं पुरै फ्ल्याटमा एक्लै बस्दा साह्रै बोरिङ्ग फिल हुने ।” त्यही एक्लोपनाले उनी रुम शेयर गर्ने साथीको खोजीमा लागे । पुल्चोकस्थित एक गैह्रसरकारी संस्थामा कार्यरत सुप्रिया कार्की पनि रुमपार्टनरकै खोजीमा थिईन् । आखिर दुवैको भेट भयो, फ्ल्याटको भाडा, रासनपानी लगायत खर्चमा बराबर गर्ने गरी रोशनको फ्ल्याट शेयर गरिन् सुप्रियाले । “काठमाण्डौ मंहगो छ, गाँस, वासमा आधी रकम सेभ हुँदा पनि निक्कै राहत मिल्छ” सुप्रिया बताउँछिन् । केटीहरु सगँ बस्दा खाएको, लाएको देखि हरेक कुरामा इगो,प्रतिस्पर्धा हुन्छ तर केटासँग बस्दा हरेक कुरामा हेल्प हुन्छ त्यही भएर रुमपार्टनर केटा खोजेको स्पष्टोक्ती छ उनको ।
रोशन र सुप्रिया जस्ता धेरै युवायुवतीहरु लिभङ्ग टुगेदरमा छन् । अधिकाशं जोडीहरुले खर्च कटौतीकै लागि लिभिङ्ग टुगेदर हो भन्ने गरेता पनि यसको पछाडी धेरै स्वार्थहरु लुकेका छन् । बिशेष गरी युवायुवतीको तीब्र यौनचाहनालाई मेटाउने गतिलो माध्यम बनेको छ यो प्रथा । विवाहित जोडी जस्तै गरी सबै कुरा शेयर गरेपछि कसैले शंका गर्ने ठाउँ पनि रहदैन । भोली चित्त बुझे विवाह गर्ने नबुझे सजिलै छोड्न पनि सक्ने हुँदा यो प्रथा प्रति युवायुवतीको आकर्षण बढ्दै गएको छ । चितवनका संगम श्रेष्ठ वातावरण बिज्ञानमा डिग्री गर्न अष्ट्रेलियामा छन् । उनी बिगत छ महिनादेखि एक ईन्डियन मुलकी युवतीसगँ लिभिङ्ग टुगेदरमा छन् । “हाम्रो कलेज एउटै हो, कलेजमै भेट भयो, उनी पनि रुमपार्टनरको खोजीमा थिईन् र म पनि, कुरा मिल्यो संगै बस्न थाल्यौं ।” यसरी सँगै बस्न जुरेको बताउँछन् संगम । पढाई सकिएपछि नेपाल फर्किएर विवाह भने आमाबाबुले खोजेको केटीसँग गर्ने बिचार छ उनको ।
सर्बोच्च अदालतमा परेको एक मुद्दामा न्यायाधीसद्वय कल्याण श्रेष्ठ र गिरीशचन्द्र लालको संयुक्त इजलासले ‘उमेर पुगेका बयस्कहरु चाहन्छन् भने सँगै बस्न स्वतन्त्र छन्’ भन्ने फैसला गरेको छ । माईती नेपालले आफ्नो समलिङ्गी पार्टनरलाई हिरासतमा लिएको बिषयमा संगै बस्न पाउनुपर्ने माग गर्दै एक महिलाले सर्बोच्चमा दायर गरेको मुद्दामा यस्तो फैसला सुनाईएको हो । सर्बोच्चको यो निणर्यले नेपालमा निकै लामो समयदेखि बैधानिकताको बहस भैरहेको विवाह नगरेका महिला र पुरुष संगै बस्ने व्यवस्था ‘लिभिङ्ग टुगेदर’ प्रथालाई कानूनी मान्यता मिल्ने छनक देखिएको छ । राष्ट्रिय महिला आयोगले लिभिङ्ग टुगेदरलाई कानूनी मान्यता दिन माग गर्दै घरेलु हिंसा ऐन २०६६ लाई संशोधन गर्न प्रस्ताव गरेको छ । लिभिङ्ग टुगेदरमा हुने हिंसालाई कानूनी दायरामा ल्याउन यस्तो प्रस्ताव गरेको दाबी आयोगको छ ।
विकसित एवं खुला सामाजिक परिवेश भएका मुलुकहरुमा झाँगिसकेको लिभिङ्ग टुगेदरको संस्कृतिले हाम्रो जस्तो बिकासोन्मुख देशमा समेत जरा फैलाईसकेको छ । यसैको उपज हो युवापुस्तामा हिजोआज निकै प्रचलनमा आएको लिभिङ्ग टुगेदर । प्राय: अध्ययनको लागि शहर छिर्ने र आप्mना अभिवावकबाट टाढा हुने युवायुवतीमा लिभिङ्ग टुगेदर बिकृतिको रुपमा मौलाई सकेको छ । अमेरिकन एवं युरोपियन देशहरुमा आफ्नो संस्कृतिकै रुपमा प्रचलनमा आईसेकेको लिभिङ्ग टुगेदर प्रथा नेपाली समाजमा समेत कमन भैसकेको छ । अमेरिकामा गरिएको एक अध्ययनले २० देखि ४० बर्षका पचास प्रतिशत भन्दा बढी युवायुवतीहरु लिभिङ्ग टुगेदरमा रहेको आँकडा प्रस्तुत गरेको थियो । सन् १९८० को दशक देखि प्रचलनमा आएको यो प्रथा हालसम्म लगभग एक हजार प्रतिशतले बृद्घि भैसकेको अध्ययनले देखाएको छ । अझैपनि मागी विवाहमा बिश्वास गर्ने हाम्रो समाजमा विवाह अघिनै एउटै कोठा र भान्सा शेयर गर्ने यो प्रथाले फाईदा पु¥याउँछ वा बिकृति फैलाउँछ भन्ने बिषयमा बहसहरु भैरहेका छन् ।
हिजोसम्म फिल्मी दुनियाँको नक्कल र किताबी पानामा सिमित युवायुवतीको जमात अहिले लिभिङ्ग टुगेदरको पाश्चात्य संस्कृतिमा रम्दै गएको छ । सुन्दर दाम्पत्य जीवनको कल्पना गर्ने युवापुस्ता एक अर्कोलाई बुझ्ने भन्दै विवाहपूर्व लिभिङ्ग टुगेदरलाई रोज्ने गरेको पाईन्छ । यो प्रथाले वैवाहिक जीवन मजबुत हुने र सम्बन्धविच्छेदलाई कम गर्ने कुरामा विश्वास राख्ने युवापुस्ताको जमात निकै ठुलो छ । विवाह सम्झौतामा गरिने कुरा होइन, जसले विवाहसगँ सम्झौता गर्छ उसको वैवाहिक जीवन नारकीय बन्छ भन्नेमा जोड दिन्छन् उनीहरु । त्यसैले मन मिले विवाह नभए रुम पार्टनर मात्र भनी लिभिङ्ग टुगेदरलाई ब्याख्या गर्नेहरु धेरै छन् । विवाहभन्दा पहिले नै सँगै बसेर सबै आनीबानी थाहा पाई जोडिएको सम्बन्ध नटुक्रिनेमा उनीहरु विश्वस्त छन् ।
विवाहपूर्व नै बेड शेयर गर्ने यो प्रथा र यसको बैधानिकतामा पछिल्लो अवस्थामा निकै बहसहरु हुँदै आईरहेका छन् । एकथरी मानिसहरुले यसलाई पुरै स्वीकार गरेको अबस्था छ । लिभिङ्ग टुगेदरले युवापुस्तामा हुने निराशालाई कम गर्ने, कुलतमा फस्नबाट जोगाउने र यौनिक हिंसा समेत कम हुने हुदाँ यसलाई ब्यबस्थित गर्न बैधानिकता दिनुपर्ने उनीहरुको सुझाब छ । तर, समाजशास्त्रीहरु युवापुस्ताको यो सोचाइ काँचो मानसिकताको उपज हो भन्ने गर्छन् । लिभिङ्ग टुगेदरको नाममा केटा–केटी एउटै कोठामा बस्दा असुरक्षित यौनजन्य क्रियाकलापमा संलग्न हुने, कलिलै उमेरमा गर्भधारण हुने र समाजबाट तिरष्कृत भईने डरले गर्भपतन गर्नुपर्ने बाध्यताहरु आईपर्छन् । यसले गर्दा बिभिन्न यौनजन्य रोगहरुको सिकार हुने, बाँझोपनको सम्भावना हुनेदेखि सामाजिक, आर्थिक, सांस्किृतिक एवम् मानसिक विचलनको समेत सामना गर्नुपर्ने बुझाई समाजशास्त्रीहरुको छ ।