"आमा ए आमा ! हैन कता हो के तपाईं ?"
"हँ , म माथि बुइङ्गेलमा छु हौ । माथि आईजो न"
"हैन एक्कै क्षण तल आउनुस् न के एउटो सल्लाह गर्नुछ "
"हैन किन मर्न आँट्या होला यो यस्सो भण्डार सफा गरम भनेको टिक्न दिने भये पो , गएर आफ्नै बुढीलाई कचकच गर्नु नि" भन्दै आमै फत्फताउदै तल पिंढीमा ओर्लिन
अनुहारमा बर्षौँको कठिन पेरिश्रम र जिन्दगी अनी घर बुहार्तनको बोझले थिचिएर मुजा मुजा परेका, चिम्सा आँखा , आँखा माथि बाक्लो चस्मा जस्को एकपट्टीको कान माथि अड्काउने फक्ल्याटा चोईटीएको र डोरीले बानेर अड्काको । नाकमा सानो सेतो टल्किने हिराको फुली र कानमा साना साना टप घुसारेकी । बुढाको स्वर्गे हुँदा पनि यिनले यि दुई गहना त्यगेकी थिईनन् । सेतोमा हलुका हरियो लहरा बुट्टा भएको धोती र लगभग पुरै सेतै फुलेको कपालले उनको जीवनको संघर्ष प्रेसित गर्थ्यो । जती नै दु:ख सहे पनि सन्तानका अघी ओठमा मुस्कान नै राखेकी थिईन ।
"हैन के आमै कुरो तपाईं सँगै गर्न पर्ने भएर पो त बोलाको" छोरोले भन्छ
"ल भन के कुरो हो त्यस्तो"
"अब म नि ठूलो भएँ हगी ? बुहारी नि छे घरमा काम-साम गर्न, गाई-बस्तु मेलापात हेरिहाल्छे, हो कि हैन ?"
"हो , अनी मैले कैले हेर्दिन भनें त तँलाई"
"हैन के तेसो भनेको हैन , अब फुर्सदले-अनन्दले घरमा आराम गरेर बस्नुस् भनेको पो । अनी आमा तपाईंलाई यस्सो तिर्थ घुमाउन लगुँ कि भनेर सल्लाह पनि पो गरुँ कि भनेर के" छोरोले कुरो अर्कैतिर मोड्न खोज्यो
हिजो राती मात्र उनले कल्पेकी थिईन - 'अब त छोरो ठूलो भो, कमाउन नि थालेको छ, बुहारी पनि भित्रीई ,अब चाहिं तिर्ताटन गर्न पर्छ । आफ्नो परत्र नि सुधार्न पर्यो । बिहान भन्न पर्ला ठुलेलाई ।' आज ठ्याक्क छोरोले तिर्थको कुरो गर्यो साईत जुरेको जस्तो छ । हे ! प्रभु हजुरले बोलाकै जस्तो छ ।
'ल है त भोली सखारै निस्कुम न त है ' छोरोको आँखामा अर्कै चमक देखिन आमाले अनी ठानिन 'खुसी छ बाबुरो आमालाई तिर्थ लान पाउँदा, श्रवणकुमार नै हो मेरो ठुले'
झिस्मिसे बिहानी , अलीअली हुस्सु लागेको, बाटाका घाँसमा सित पर्न लागेका, कुखुरो बास्न तयार हुँदैको समयमा आमा उठेर खैरी गाईलाई एक अङालो पराल दिईन । गाईले पराल नखाएर एक्तमासले बाँ बाँ मात्र गरिरह्यो । आमा फत्फताउन लागिन 'हैन आज के भा यस्लाई, यो ठुले नि उठेको छैन कि के हो , उठाउन पर्यो क्यारे'
"ठुले ए ठुले , निस्कने हैन ? अबेला होला नि बाबु । " भरेङ को पुछारमा पुगेर अलिक ठुलो स्वरले बोलाईन
"आमा , आएँ आएँ " भन्दै ठुले एउटा सानो हरियो रङको ब्याग भिरेर निस्कियो ।
"अनी बुहारी खै त ?" आमा ले सोधिन
"हिजो टाउको दुख्यो भन्थी, रात भर आँखा झिमिक्क गरेकी छैन अगी भर्खर मात्र निदाकी" छोरोले भन्यो
"लौ तेस्लाई सन्चो छैन भने आज किन जाने त , बिचरीलाई एक्लै छोडेर । भोली गए हुन्न र बाबु ?" निस्वार्थ माया भरिएको प्रश्न भुईंमा खस्न नपाउँदै छोरोले रिसाएको जस्तो आवाज पारेर भन्यो, "ह्याँss ठीक भइहाल्छ नि टाउको मात्र दुखेको त हो नि । फेरी तिर्थ हिंड्न आँटेका गएनौं भने दशा लाग्छ, भगवान रिसाउँछ्न , हिंड्नुस् जाउँ "
छोराले भनेपछी होला नि त भनेर सुरु सुरु पछी लागिन । गोठबाट खैरी गाई अझै बाँ बाँ गरिरहेकी थिई ।
लगभग दुई-सबा दुई घण्टा हिँडे पछी आमाले अलिक थकित आवाजमा सोधिन 'बाबु अझै कती बाँकी छ, अलिकती थकाई लाग्यो एक्कै क्षण बसौं न है ?"
आमाको गालीत करुण अनुहारै नहेरी छोरो बम्कियो , "बेसीको बसबिसौनी आईपुग्नै आँटिसक्यो कहाँ बस्ने अब, हिंड्नोस हिंड्नोस । फेरी अहिले बस पाईन्न के"
"ये काठ्माण्डु काठ्माण्डु काठ्माण्डु, ल गयो गयो गयो ।" भन्दै गाडीको ढोका ठोक्दै थियो एउटा खलासी , तेही बेला आमा-छोरा हतारिएर त्यतै आउँदै गरेको देखेर खलासी झन ठुलो स्वरले "ल बजु जने हो काठ्माण्डु काठ्माण्डु, ल हिंडिहाल्यो , झट्ट आउनुस् " भनेर बोलाउन थाल्यो
स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै जब्बर जस्ती आमै बस सम्म पुगेर बस चढिन, चढुन्जेल त बस दौडाउँला झैं गर्दै थिए र खलासीले टिकाट कटे पछी भने गाडी हिँडेन ।
ठुले ले " ल न त हिँड्ने भन्या हैन त भन्या गाडी ?" भनेर सोध्यो तर खलासीले "पर्खनुस् न सिट नै भरिएको छैन , कि त सप्पै खाली सिटको पैसा दिनुस् क्यारे नत्र पर्खनुस् एक क्षण " भनेर झर्कियो ।
ठुले ले बसको चाला थाहा पाएर आमालाई झ्यालको सिटमा राखेर ,"आमा केही खान मन छ ? " भनेर सोध्छ ।
"के खानु नानी अहिले फेरी गाडी गुडेसी सप्पै हुँडलेर निस्कीहाल्छ । बरु जा तँ केही खाएर आईजो फेरी तँलाई खाली पेट बस्न नि हुन्न " भनेर आमा आफ्नो ममत्व पोख्छिन ।
"हस , म पिलास्टिक पनि किनेर आउँछु अनी केही खाएर नि आउँछु है त , एक्कै क्षण है " भनेर चिया दोकान छिर्छ ।
गाडी गुडे देखिन नरोकिए सम्म आमाले उल्टी गरिरहिन । लाग्थ्यो पेटमा रहेको र नरहेको सप्पै तेही झोला भित्र निकालेर फलिदिएकिछिन । निकै सिथिल र बिरामी जस्ती देखिएकी थिईन उनी । आँखा एक भित्त भित्र छिरे जस्ता ।
गाडीले काठमाण्डौं लगभग साँझ पुराएको थियो । ठुलेले आमालाई एक बोतल पानी किनेर खुवायो अनी एउटा अर्को बसमा चाढाएर गौशाला सम्म पुरायो । बिहान निस्किये देखिन नै आमाको पेट निराहार थियो ।
"आमा अहिले कस्तो छ ? " ठुले सोध्छ " केही खाने हो ? "
"केही खानै मन छैन बाबु , खै गाह्रो भइरहेको छ । एक निन्द्रा सुत्छु अनी सप्पै ठीक हुन्छ । बरु तँलाई भोक लाग्यो होला केही खाको भए हुने "
"हैन केही खानुस् , ल हिंड्नुस् उsss त्यो होटेलमा केही खाउँ", बिस्तारै आमालाई समातेर एउटा मार्वाडीको होटेलमा समोसा र चिया खुवाएर भन्छ , "आज ढिलो भो भोली जाने है आमा पस्पती "
टाउको हल्लाएर सहमती जनाउँछिन आमा ।
छोरो भन्छ "आज यहीं धर्मशालामा बास बसुम है ?"
आमा गाडीको थकान र दिन्भरको बमनले गलेको शरीर कहाँ ढलाउँ भनेर ठाउँ खोज्दै हुन्छिन , बास फेरी टाउको मात्र हल्लाउँछिन सहमतीमा ।
रात मस्त निदाएर बिहान आमालाई धर्मशालाबाट लिएर गौशाला तिरबाट नगएर ठुले जय-बागेशोरी तर्फबाट पशुपती तिर ओर्लन्छ ।
" ओहो ! पशुपतीलाई पनि कैद गरेछन असत्तीहरुले । सप्पै तिरबाट घेरेछन कि कसो ? जुत्ता यतै खोल्ने बना'रछन । अस्तिन तँ सानै छँदा तेरा बा सँग आको थिएँ एक फेर । कत्ती मान्छे बा ल हेर । पाप बढेको हो कि धर्म गर्ने धेरै भा'का हुन । सँगै बस है ठुले फेरी हराईएला " आमाको कुरो सुनीरहन्छ ठुले अनी आमासँगै पशुपती भित्र छिर्छ, दर्शन गर्छ बाहिर निस्कान्छ ।
बाहिर निस्किँदा आमाले मेरो छोरो बुहारीको कल्याण होस्, चाँडै नातीको मुख देख्न पाउँ भनेर मागेको ठुले टड्कारै सुन्छ ।
सप्पै दर्शन गरेर ठुलेले आमालाई गुरुको थानमा लग्छ र भन्छ "आमा एक्कै क्षण है, म आई हाल्छु बस्तै गर्नुस् है । मैले मेरो पेटी तेही जुत्ता रखेकै ठाउँमा छोडेछु , आई हाल्छु" भनेर आमालाई गुरुको थान अगाडिको शिव लिङ्गको जिम्मा छोडेर जान्छ अनी आमा शिव महिमा पाठ गर्दै बस्छिन , आँखा बाटो तिर राखेर ।
१ घण्टा भो, २ घण्टा पनि बित्यो अनी आमा "लौ छोरोलाई पो केही भएछ कि " भनेर जुत्ता राखेको ठाउँ तिर हेर्छिन तर छोरा देख्दिनन् , फेरी छोरो गुरुको थान पो फर्कियो कि भनेर त्यहाँ आउँछिन - देख्दिनन , फेरी भुवनेश्वरी मन्दिर सम्म आउँछिन , भेट्दिनन, अब अलिकती चिसो पस्छ उन्को मनमा अनी सोध्छिन आफैलाई "कहिँ छोराले मलाई छोडेर त गएन, कहिँ ठुलेलाई कसैले केही पो गर्यो कि ?"
पिलपिल आँखामा आसुँ भरेर गुरुको थान मै आएर कुरी रहन्छिन तर छोरा फर्केर आउँदैन । एकोहोरो भुईंमा हेरेर टोलाई रहन्छिन । अनी रात पर्छ तेही मन्दिरको पेटीमा भुक्लुक्क ढल्छिन । बिहान देखिनको भोको पेट , चिसो जमिनको ओछ्यान र चिसै आकाशको ओढ्ने अनी न्यानो भुस्याहा कुकुरहरुको साथ उनी तेहीं निदाउँछिन ।
राती कयौं पटक बिउँझिन्छिन अनी रुन्छिन, मौन । फेरी निदाउँछिन । बिहान झिस्मिसेमा फेरी घोरिएर बसेकी हुन्छिन , खै के भुईंचालो गईरहेको होला त्यो आमाको मुटुमा ।
टोहोलो भएर जो नजिक आएपनी दोहोराई रहन्छिन "मेरो छोरो आउँछ , एक्कै क्षणमा आउँछ ... "
एक हफ्ता भयो मैले यो बुढी आमालाई यहाँ देखेको । हरेक भेटमा भन्छिन "मेरो छोरो आउँछ , एक्कै क्षणमा आउँछ... " ।
कस्ले भनिदिने ति आमैलाई तिम्रा छोरा निष्ठुरीले तिमीलाई पुरानो बिग्रेको डोको सरी मन्दिरको पिंडीमा फ्याँकेर गैसक्यो भनेर । अनी मन भारी हुन्छ , "आमा आज आमाको मुख हेर्ने औंसी , ल चिया खानुस् ल ", भनेर सयको नोट हातमा रखिदिएर दिक्क मान्दै म घर फर्कन्छु ।
कती सजिलो जन्मदात्री ,ममताकी देवी, कर्तब्यनिष्ठ आमालाई ल्याएर मन्दिरको जिम्मा लगाएर जान । कस्तो निष्ठुर त्यो मन , कती कठोर त्यो आत्मा , कती पापी त्यो सन्तान । धिक्कार छ यस्तो सन्ततीलाई जस्ले जुन कोखबाट जन्मियो तेसैलाई लात हान्यो ।
(सत्य कथामा आधारित । )
यो हरेक दिन हरेक हफ्ता हरेक महिना पशुपतिको वरीपरि देखिने दृश्य हो . कसरी आमा लाइ त्याग्न सक्दा रहेछन अचम्ममा पर्छु म . यी बुढी आमालाइ एकजना दाइले आफ्नो घरमा खाना पकाईदिनुस ल भनेर लगेर जानु भयो . वहाँ अहिले के गर्दै र कस्तो स्थितिमा हुनुहुन्छ मलाई थाहा छैन . वहाँको अनुसार वहाँको घर पश्चिम पर्छ रे , अनि अब त्यो घर फर्केर जाने इच्छा वहाँ लाइ छैन रे . पशुपतिकै शरणमा अन्तिम स्वास छोड्ने वहाँको इच्छा छ भन्नु हुन्थ्यो .
खल्लो एवं भारि मन का साथ् यो कथा पस्कियें ...
सम्पूर्ण आमाहरुमा मेरो नमन र हजुरहरुको पवित्र निस्वार्थ माया र आशिष हाम्रो जीवनमा रहिरहोस
Happy Mothers Day
- थाहा छैन