किन अभिभावकविहिन भए बाबुरामजी?
ओशो भन्छन्- मानिसको मन अत्यन्त फराकिलो छ। होइन, असीम छ। त्यसैले त त्यहाँ सिङ्गो व्रह्माण्ड अटाउन सक्छ। तर, त्यस्तो मनमा असह्य पीडाले दु:खेको बेलामा शरीरको होस हुँदैन। न त्यो पीडा शब्दभित्र अटाउन सक्छ। त्यसरी नै दु:खेको थियो मलाई १२ वर्ष अगाडि जब जिन्दगीसँगै बिताएको त्यो मान्छेको ८८ वर्षको पार्थिव शरीरसँगै रातभर बागमतीको किनारमा रोएर बसेको थिएँ।
त्यो मेरो पिताको पार्थिव शरीर थियो। त्यसैले लाग्छ- म महसूस गर्न सक्छु सुनील थापाको पीडालाई, जसले सँगै बसेको आफ्नो ८८ वर्षको पिता गुमाएका छन्। अनि त्यसैले नै हो म आफ्नो समवेदना प्रकट गर्छु, उनीप्रति। त्यो वेदना अझै हुरी बनेर बेलाबखत हुत्याउँछ, मलाई। तर यसको अर्थ म उनको पिताको मृत्युबाट मर्माहत भएको चाहिँ छैन।
न उनको मृत्युलाई असामयिक नै ठान्छु। अभिभावक बिहीन त किमार्थ होइन। छिमेकी चिनजानी ज्ञानेश्वर मोडको मेरो दिदीको घरसँगैको घरमा उनी डेरा गरेर बस्न थालेदेखिकै हो। तर लाग्छ उनको श्रीमतीको निधन भएको बेला र आज त्यसैगरी सुनील थापालाई समवेदना दिन गएको बाहेक म उनको घरमा गएको सम्झना छैन। उनी हाम्रो घरमा निकै पटक आएका हुन् २०२८ साल तिर। कारण म थिइन। कारण थियो हाम्रो परिवारको एक सदस्य स्नातक क्षेत्रको प्रतिनिधि थिए। त्यो बेलाको राजनीतिक सहयात्राले सूर्यबहादुरजीलाई इटुम्बहालदेखि नख्खु जेलसम्म पुर्याएको थियो।
क्यान्सरसँग जुधिरहेका सूर्यबहादुर थापाको निधन उपचारको क्रममा दिल्लीमा भयो, नयाँ वर्ष सुरू भएको दोस्रो दिन। टुक्रिदै गएको सिङ्गो एमाओवादी पार्टीले वैशाख ३ मा प्रकाशित प्रेस विज्ञप्तिमा गहिरो समवेदना प्रकट गर्दै थापाको ‘अभिभावकीय भूमिका’ र उहाँलाई ‘प्रेरणाको श्रोत’ भनेर उल्लेख गर्यो। बाबुरामजी त एक दिन अघिबाट नै अभिभावकविहीन भइसकेका थिए! यो कुरा उनले सामाजिक सञ्जालमै लेखे।
एमाओवादी भित्र यसले लघुताभाषयुक्त तरङ्ग ल्याउन सुरू गरेको देखिन्छ। नेता कृष्ण केसी खुलेर नै आएका छन्। अन्य सबैजसो पार्टीका नेताहरुले सूर्यबहादुरजीलाई ‘हायर पेडेस्टल’मा राखेर अर्थात उच्च राजनीतिक आसनी दिलाएर श्रद्धाञ्जली अर्पण गरे। एमालेका मोदनाथ प्रश्रित यस्ता अभिव्यक्तिहरुलाई ‘आलोकाँचो मूल्याङ्कन’ ठहर्याउँदै यस्ता कुराले आगामी पुस्ता भ्रममा पर्न सक्ने चिन्ता व्यक्त गर्छन्।
निधन भएको मानिसप्रति बोलिएको कुरालाई लिएर धेरै टिका टिप्पणी गर्नु म उपयुक्त ठान्दिनँ। न यो उपयुक्त समय नै हो। परिवार दु:खी हुन्छन् यस्तो अवस्थामा। चिनजानका मानिसले सान्त्वना दिने काम गर्नु मानव धर्म हो। नचिनेकै मानिस देख्दा पनि ‘हरे विचरा को हुन् बितेछन्, पुण्य होस्’ भनेर आमाको स्वफूर्त निस्केको बोली मैले उहाँको हात समातेर टुकुटुकु हिँडेको बेलाबाट सुन्ने गरेको हुँ।
हो, जब राजनीतिको कुरा आउँछ, अलि फरक चाहिँ हुन्छ। मनमा एउटा, बोल्ने अर्को र गर्ने झन अर्को ब्यबहारको उत्कृष्टरुपमा प्रदर्शन गर्दै आइरहेका छन् हाम्रा नेताहरू।
जसले जे सुकै भनोस् या नभनोस्, सूर्यबहादुरजी चानचुने मान्छे किमार्थ होइनन्। क्षमता नभइकन जो कोही मुलुकको प्रधानमन्त्री बन्नै सक्तैन। बने पनि टिक्नै सक्तैन। पाँच पटक बन्ने त कुरै छोडौ-कुल दस वर्षभन्दा बढी समय। हो, भाग्यको आशा पनि हुन्छ यसमा। तसर्थ करिब ६० वर्ष राजनीतिमा रहेर पाँच पटक प्रधानमन्त्री बन्नसक्नु त्यो आफैंमा उनको ठूलो उपलव्धि हो।
सूर्यबहादुरजीले आफ्नो उपयोगिता जस्तोसुकै परिस्थितिमा पनि नेपालको राजनीतिका भित्री र बाहिरी निर्णायक खेलाडीहरूलाई देखाउन सके। अनि, प्रयोग हुन पनि सिके। कुन बेलामा के बोल्नुपर्छ, स्थितिलाई आफ्नो अनुकुलता अनुसार कसरी समाल्नु पर्दछ र कसलाई कसरी चिढाउँदै रिझाउनु सक्नु पर्दछ भन्ने उनको सुक्ष्म कारिगरी ज्ञानलाई पछ्याउन चाहनेहरुको लागि उनी उदाहरण बन्न सक्छन्।
राजनीति दयाको खेल होइन। यो उपयोगिता र प्रयोगको समिश्रणयुक्त खेल हो। यहाँनिर आइपुगेपछि सूर्यबहादुरजी बाबुरामजीको अभिभावक कसरी बन्नसके भनेर बुझ्न सकिन्छ। यसको लागि अलिकति एतिहासिक परिप्रेक्ष बुझ्नु जरुरी हुन्छ।
‘तिमीले त छोरा पायौ रे होइन भन्दा सरकारको निगाह’ भन्ने समयमा सूर्यबहादुरजीको अनुकुलता दुइटा रह्यो। पहिलो, उनले बि.ए. गर्ने अवसर पाए। त्यस्तो अवसर पाउनु एउटा प्रमुख कारण थियो धनकुटाले अरू पहाडी जिल्लाभन्दा फरक हुन पायो जसरी पाल्पाले हुन पाएको थियो। खड्ग शमशेरलाई वीर शमशेरले पाल्पा लखेटे। तर चन्द्रशमशेरले त सम्पूर्ण शक्ति लिएका श्री ३ देवशमशरलाई नै षडयन्त्र गरेर सत्ताच्यूत गराई डाँडा कटाएर धनकुटा लखेट्न सफल भए।
काठमाडौंको जस्तै दरबार बनाएर, ठाट रवाखमा, ढोके, बैठके, केटीहरूसँगको आमोदप्रमोदको उनको धनकुटा बसाइले त्यहाँ साधन श्रोत पुग्यो। यसको ‘स्पिल ओभर इफेक्ट’ अर्थात पोखिएको असर त्यहाँको टाठाबाठा र मालिकको नक्कल गर्ने समाजिक बनावटमा पनि पर्यो।
सबै आर्थिक गतिविधिको केन्द्र बनेको जमीन मूलतः राणाजीकै हुन्थ्य्यो। यस बाहेक जमिन जागीरमा पाएका या वकस पाएका चाकडिया या तिनको आसेपासेको हुन्थ्यो। टाठाबाठाले यस्तो मालिकको जमिनको उठ्तीपुठ्ती उठाएर बुझाए बापत खान पाउँथे र यस क्रममा आफ्नो जमिन पनि बनाउँथे।
यसै मेसोबाट अगाडि बढेको परिवार भएको हुँदा उनले भारतको आलाहाबादमा पुग्न सके, बि.ए पढ्नको लागि। उनको टाइमसम्ममा पनि बि.ए पासगरेको मान्छे हुनसक्नु ठूलो विद्वानमा कहलिने र समाजमा ठूलो प्रतिष्ठा हुने बेला थियो। नामपछि बि.ए. भनेर लेख्थे पनि कतिपयले। पछि पिएचडीको त्यस्तै भयो, अझ अमेरिकाबाट गर्नेको। यसबाट सामाजिक र राजनीतिक माइलेज लिन धेरै नै सजिलो हुन्थ्यो। त्यो माइलेज पाए उनले जसरी बाबुरामजीले पनि पाएका थिए ‘मिथकीय कद’ को उचाई प्राप्त गर्ने बेलामा। मान्छे 'मिथ एण्ड रियालिटी' अर्थात् मिथक र यथार्थताबाट बनेको हुन्छ। दोश्रो अनुकुलता थियो, हरुवाचरुवा जनको प्रयोग गरेर जग्गा आवाद गर्नेदेखि दरबारिया भाषा, तौरतरिका र दाउपेच स्वफूर्त जानेका थिए, सूर्यबहादुरजीले।
सामन्ती शासन पद्धति चलाउन मिमिक अर्थात मालिकको नक्कल गर्न सक्ने वर्गको नै स्थापना गर्न सक्नु पर्दछ। यसबाट सभ्य र पाखे भनेर छुट्याइन्छ र मालिकको नक्कल गरेर सभ्य बन्दै गएकाले पाखे भनिनेलाई कजाउन पाउँछन्। नक्कल गर्ने कला मानिसले बाँदरबाट सिकेको हो जसले यसलाई आफ्नो सुरक्षाको लागि प्रयोग गर्छ।
लर्ड मेकालेको शिक्षा योजना अन्तर्गत भारतमा यस्तो नक्कल गर्ने वर्ग तयार पार्न सकेको कारणबाट नै ब्रिट्रिसले लामो समय त्यहाँ शासन चलाएर उपनिवेशवादी शोषण गर्न सकेको थियो।
नेपालमा यस्तो नक्कल गर्ने वर्गको स्वरुप व्याख्या गर्नेतर्फ नलागौ। यो अलि गहिरो विषय हो र मेरा एकजना मित्रले त यसैमा अमेरिकाबाट पिएचडी गरेका छन्।
जागीर खाने बेलाको कुरा हो वा त्यस्तै भौतारिएको बेलाको, सूर्यबहादुरजीको भेट जब धनकुटा पुगेका राजा महेन्द्रसँग भयो उनले सूर्यबहादुरजीलाई काठमाडौं केन्द्रित राजनीति बाहिरको एक विद्वान नवयुवकको रूपमा पाए।
राजा मिदासले जे छोयो त्यो सुन बने जस्तैगरी महेन्द्रको स्पर्शबाट सूर्यबहादुरजी राजनीतिक नेतृत्व तहमा रुपान्तरित भए। यसपछिको उनको यात्रामा उनले धेरै सिके-सिकाए, प्रयोग भए र प्रयोग गरे।
२०२५ सालको अन्त्यमा प्रधानमन्त्रीबाट हटाइएका सूर्यबहादुरजीले राजनीतिमा आफ्नो उपस्थिति राख्न राजकृपाको राजनीतिबाट केहीबेर विश्राम लिएर जनताको लहरतिर लाग्ने बाटो रोजे। राजा महेन्द्रको कडा शासनको बेला असंगठित जन आवाज अभिव्यक्त हुने वैधानिक माध्यम स्नातक क्षेत्र र त्यसबाट विजयी भई राष्ट्रिय पञ्चायतको सदस्य बनेका चार प्रतिनिधिहरू थिए।
यस चुनावमा सिङ्गो मुलुक नै चुनाव क्षेत्र भई मुलुकभरिका कम्तिमा बि.ए. पास गरेका नेपालीहरुले मतदान गर्ने हुँदा सचेत मध्ययम वर्गको राजनीतिक संलग्नताले मुलुक भर नै हलचल हुन्थ्यो।
सूर्यबहादुरजीले बचेका यी प्रतिनिधिहरु मार्फत् जनलहर समात्ने प्रयासले गरे। त्यसको लागि उनी मिसिए, यिनीहरुसँग। पञ्चायत विरुद्ध पहिलोपटक काठमाडौंमा जनता आए आमसभामा उनीहरुका प्रतिनिधिलाई सुन्न।
त्यो थियो ऐतिहासिक ‘इटुम्बहाल आमसभा’। सूर्यबहादुरजी पनि वक्ता बन्नसके त्यो सभामा। तर जनताले हुटिङ्ग गरे। प्रतिनिधिहरुले सम्झाएपछि बोल्न पाएका थिए। म त्यही थिएँ। यसैताका हो सूर्यबहादुरजीको नियमित आगमन भएको हाम्रो घरमा। यसै मेसोमा उनी नख्खु पुगे, मिसिएर।
राणाकालमा ‘हा राम चन्द्रशमशेर बडा प्रतापी, देखिन्न कोही प्रभुतुल्य कहीँ कदापि’ लेख्ने कविले भन्दा पनि बढी चाटुकारिता बुझेका सूर्यबहादुरजीले राजाको निगाह अपरिहार्य भएको र शरणमा पर्ने बेला आएको ठहर्याए।
‘मिदास-स्पर्श’को लागि राजा वीरेन्द्र धनकुटा पुगेको बेला राजाको स्वागत-द्वार बनाउन आफै किला ठोकिरहेका थिए। यसैताका उनले भने, ‘विपी कोइरालालाई फाँसी दिनुपर्छ। यसको प्रतिफल उनले पाए प्रधानमन्त्री पद, जनमत संग्रहको घोषणा पश्चात्। त्यतिबेला हो उनले भ्रस्टाचार संस्थागत गरेको र प्रशासनयन्त्रलाई त्यही अनुरुप चलाएको। यस क्रममा उनी सक्षम प्रशासक चाहिँ पक्कै बने। मेहनती त उनी पहिले देखि नै थिए।
निर्दललाई जिताउँन वनजंगल ध्वस्त पार्नेदेखि सर्पको छाला निकासी गर्ने र रेपसिड आयल ल्याएर जनताको स्वास्थ्यसँग पनि खेलबाड गरे। सुधारिएको भनिएको पञचायतलाई जिताए। तर यसको प्रतिफलमा झन उनले प्रधानमन्त्री पद पो गुमाए। प्रयोग गर्ने अनि फाल्ने नीतिसँग मिसिन गएको थियो दरवारिया षडयन्त्र।
षडयन्त्रको कुरा गर्दा यो भन्ने पर्ने हुन्छ कि षडयन्त्रको उद्गम स्थलको रुपमा दरबार रहँदै आएको हो नेपालको राजनीतिमा। पृथ्वीनारायण शाहको जेठो छोरो सिंह प्रताप शाह अथवा प्रताप सिंह शाह राजा भएको केही समयपछि सन् १९७७ मा निधन भयो। त्यसपछि बन्यो राजनीति षडयन्त्रको। राजा नाबालक भएको हुँदा भाउजू र देवरमा जसले सक्छ त्यो रिजेन्ट बन्ने अनि एउटाले अर्कोलाई थुन्ने कामबीच नेपाल फैलिदै गएका थियो। बनारसमा निर्वासनमा रहेका र ब्रिट्रिस बनारस छोड्न नपाउने गरी निगरानीमा राखेका रणबहादुरले नेपाल फर्कन पाउने बित्तिकै आफ्नै नाबालक छोराको रिजेन्ट बने र आफ्नो विरोधी भएको कारण नेपालको पहिलो प्रधानमन्त्री दामोदर पाँडेलाई मृत्युदण्ड दिए।
राजा राजेन्द्र विक्रम शाहले त आफैले नियुक्त गरेको प्रधानमन्त्री माथवरसिंहको हत्यासम्म पनि गराएका हुन्। सूर्यबहादुरजीलाई दरवारिया षडयन्त्रको इतिहास र दरबार रिजाउने कुरा दुबैको ज्ञान राम्रोसँग थियो। त्यसैले उनले महाअभियोग लागेर प्रधानमन्त्रीबाट हट्न चाहे।
त्यसपछि उनले सबैतिर फ्रन्ट नखोली मूमिगत गिरोहको नाम लिएर राजाका भाइहरु ज्ञानेन्द्र र धिरेन्द्रविरुद्ध धावाबोल्न सुरू गरे। यस क्रममा पहिलो जन आन्दोलनमा पछिको दोश्रो आम चुनावको जनताको म्यान्डेटलाई सर्वोच्च अदालतले कायम राखे पश्चातको खेलमा आन्दोलनमा मसायाहरू आफ्नै लुटपाटको कारण दुर्वल पात्र बन्न पुगेको अवसर छोपेर पञ्चहरुको पार्टीले ‘सत्ताको साँचो’ आफ्नो हातमा लिन सक्यो।
यसरी सत्ता समिकरणको खेलबाट लोकेन्द्रबहादुरजीलाई तेस्रो र लगत्तै सूर्यबहादुरजी चौथो पटक प्रधानमन्त्री बन्ने साहित जुर्यो। यसमा सूर्यबहादुरजीको क्षमता भन्दा मसायाहरुको दुर्वलताको कारण प्रधान रह्यो। तर राजा वीरेन्दको वंशनाशपछि ज्ञानेन्द्रले सत्तालिएपछि त्यही भूमिगत गिरोहले उनलाई विश्वास गर्न सक्नु जाहिँ उनको राजनीतिक क्षमता नै मान्नुपर्छ।
नत्र कसरी वर्णन गर्ने तिनै ज्ञानेन्द्रले पत्याएर उनलाई प्रधानमन्त्री बनाएको कुरालाई। यहाँनिर यो पाटोबाट पनि हेरिनु पर्छ कि यतिबेलासम्म नेपालको आन्तरिक राजनीतिक तागत धेरै नै खस्किसकेको थियो।
आन्तरिक तागत कसरी खस्किएको? यसको उत्तरको लागि ऐतिहासिक परिप्रेक्षबाट हेर्नुपर्ने हुन्छ। यसलाई अत्यन्त छोटकरीसँग हेरौ। सुगौली सन्धि र अझ भीमसेन थापालाई मृत्युवरण गराएपछिको नेपालमा विदेशी शक्ति निर्णायक भयो। बृटिसबिरुद्ध भारतमा भएको सिपाही बगावत दबाउन उनीहरुले दोस्रो पटक प्रधानमन्त्री भएर सत्तालिएका जंगबहादुर उनीहरुले नचाहँदा नचाहँदै पनि आफै जानुपरेको कुरा यहीपाटोबाट वर्णन हुन्छ।
यतिसम्म कि नेपालमा ‘जो हो जंगबहादुर नै हो, शाह राजाको केही मतलब छैन’ भनेर बृटिस प्रतिनिधिले गरेको सिफारीस यदि बृटिस सरकारले मानेको भए शाह डाइनेस्टी त्यतिबेलै समाप्त भइसकेको हुन्थ्यो।
त्यसको बदलामा जंगबहादुर नेपालको श्री ५ महाराजाधिराज भएका हुन्थे। मैले धेरै पहिलेदेखि लेख्दै आएको हुँ यसरी विदेशी मालिक नरिझाइकन सत्तामा पुग्न पनि सकिँदैन र सत्तामा टिक्न पनि सकिँदैन भन्ने मानसिकताबाट नेपालको राजनीति उत्गम भयो या गराइयो। बृटिस गए भारतबाट तर भारतीय विदेश नीति नेपालको सन्धर्भमा इम्पेरियल बृटिस नीतिकै निरन्तरतामा परिस्कृत स्वरुपमा कायम रह्यो। यसरी भारतीय नीति दोहोरो हुनपुग्यो।
एकातिर बृटिस निरन्तरता र अर्कोतिर नेहरु समेत मिलेर तयार गरेको पंञचशीलमा आधारित असंलग्न परराष्ट्र नीति जस अन्तर्गत कुनै राष्ट्रको आन्तरिक कुरोमा दखलगर्न पाइँदैन। नेपालको सन्धर्वमा यी दुई नदीका दुई किनारा जस्तो कहिले मिलन नहुने गरिएको छ। यसरी १९५० को सन्धी हातपारेपछि त्रिपक्षीय दिल्ली सम्झैता भयो मोहन शमशेरलाई गुन तिर्न। त्यसको एक पक्ष भएका बीपीले उक्त सम्झैता हेर्न समेत पाएनन्। न राजा त्रिभूवनसँग यसबारेमा भेट्न पाए। नेहरुले बोले सुरक्षाको दृष्टिबाट हिमालय हाम्रो उत्तरी फ्रन्टियर हो भनेर।
हाल मोदी भन्छन् स्वच्छ भारतको अभियान हिमालयसम्म लगिने छ। उनले हाम्रो संसदमा भने, भगवान वुद्ध नेपालमा जन्मेको। जर्मनी पुगरे भने वुद्ध भारतमा जन्मेको। मुख्य कुरा २०० वर्ष बृटिस कोलोनी बनेको भारतले आफैंबाट नै बनेको पाकिस्तान या त्यसबाट पनि बनेको बंगलादेशलाई स्वतन्त्र मुलुक देखेको छ तर कहिले कलोनी नबनेको नेपाललाई देख्न सकेको छैन। त्यसैले यहाँको राजनीतिमा खेल्नु र यहाँका नेताहरुलाई खेलाउनु, नचाउनु उसले आफ्नो अधिकार सरह ठानेको छ।
‘भारतको लागि राजनीति गर्नेको हार भारतको हार हो’ भन्नसक्ने नेताहरू पैदा गरेर गरिएको छ। यस्तो कामकारबाहीले नेपालमा अन्ध राष्ट्रवाद बढाउन मद्दत मात्र पुग्ने छ। यसले भारत र नेपाल दुबैलाई हानी पुर्याउने छ।
भुटान जस्तो सानो मुलुक होइन नेपाल। विश्वका सय मुलुकभन्दा ठूलो छ। यसलाई कुनै तागतले पनि कतै विलय या विलुपत पार्न सक्तैन। त्यसैले नेपालको हितलाई सर्वोपरी राखेर भारतको हित हेर्न सक्ने नेतृत्व पङ्तिले मात्र यस क्षेत्र सन्तुलित रहन सक्छ। यसको लागि भारतले नेपालमा रहेको आफ्नो स्वार्थलाई बढाउनु हुँदैन। भारतको न्यूनतम स्वार्थलाई नेपालले हिफाजाद गर्नु पर्छ। तर सो बढाउने तर्फको यात्रा नै हो सूर्यबहादुरजी र बाबुरामजीको मिलन बिन्दु। उहा अभिभावकबिहीन भएको यहाँनिरबाट देखिन सक्छ।
अभिभावकबिहीनता हेर्न अब हिजो जंगबहादुरको पाला र अहिले अनि सूर्यबहादुरजी र बाबूरामजी पट्टि लागौं। जंगबहादुरलाई मैले करिब तीस वर्ष अगाडि लेखेको लेखमा उल्लेख गरेको थिएँ नेपालको इतिहास रच्ने चार नेपाली मध्येका एक हुन भनेर। पृथ्वीनारायण शाह पछि नेपालको हितलाई सुरक्षित राख्ने नेपाली उनी नै हुन्। त्यतिबेलाको खतरनाक असन्तुलनलाई सम्हालेर मुलुक बचाएका हुन उनले। नयाँ नेपाल बनाउने नाममा मुलुक लुटेनन्, न राष्ट्रको धन बाहिर लगे। बेलायतबाट फर्केपछि कानुन सम्मत राज्य गर्नुपर्छ भन्ने मान्यता अनुरुप कानुन बनाए।
बृटिसबाट गुमेको भूभाग फिर्ता ल्याए जसलाई नयाँ मुलुक भन्ने गरिन्छ। असीम महत्वाकांक्षा राखे, अनि कुनै कसर राखेनन् विश्व शक्ति बनेको बृटिसलाई रिझाउन। तर मुलुकको हितभन्दा बाहिर गएनन्। अहिलेकाले जंगबहादुरले नयाँ मुलुकको सीमाना छुट्याउन बनाएको जंगे पिलरसम्म पनि जोगाउन सकेका छैनन्।
जड्गे पिलर जोगाउन नपर्ने भयो। त्यो जोगाउन खोज्नेले सत्तामा पुग्न नसक्ने हुँदै गए। सत्तामा पुग्न र सत्तामा टिक्न विदेशी आशिर्वादको स्वरुप यसरी फेरियो। यहाँनिर हो सूर्यबहादुरजीले राजनीतिक सन्तुलनको उत्कृष्ट प्रदर्शन गरेको। अनेकै उदाहरणहरु छन्। लेख लामो हुँदै गएको कारण एउटा सानो उदाहरणबाट मात्र हेरौ यसलाई। भारतले वर्षको पाँच करोड सम्मको रकम चाहे अनुसार आफैले नेपालको गाउँगाउँमा गएर खर्च गर्न पाउने अधिकार पाएको छ। आखिर यो किन? कसले दियो? के हाम्रो योजना आयोग छैन? के हाम्रो अर्थ मन्त्रालयको बैदेशिक सहायता डिभिजन छैन? यो किन भन्ने प्रश्नको उत्तर पाउन अर्को लामो विश्लेषण गर्नुपर्ने हुन्छ। कसले दियो भन्नेको उत्तर हो – नेपालका प्रधानमन्त्री सूर्यबहादुर थापा र पछि बनेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई । सूर्यबहादुरजीले बाटो लागाईदिनुभयो तीन करोडको। बाबुरामजीले त्यस बाटोमा अगाडि बढेर पाँच करोड पुर्याइदिनु भयो। नेपालको बजेट र योजना आयोगसँग यसको कुने मतलव छैन।
बिभिन्न देशले आ-आफ्नो मान्छे राखेर चलाइरहेको एनजिओको बारेमा अहिले जान चाहन्नँ। नेपालमा त अहिले अनेक अघोषित समानान्तर सरकार चलिरहेका छन्। सूर्यबहादुरजी र बाबुरामजीको अर्को मिलन विन्दु हो जनतालाई दमन गर्न रुचाउने बानी।
सूर्य बहादुरजीले गरेको दमनमा मारिएका घटनाहरु बिर्सिन नसक्ने खालका छन्। बाबुरामजीले अपराधीलाई उन्मुक्ति दिलाउन जे पनि गर्नसक्ने कुरा प्रधानमन्त्री भएको बेलामा निर्लज्जरुपमा देखाएका छन्।
अरु कुरामा बाबुरामजीको पृष्ठभूमि सूर्यबहादुरजीको भन्दा बेग्लै छ। तर, यहाँनिर उहाँहरूको मिलन प्रगाढ रहेको यी दुई कारणहरु देखिन्छन्। त्यसैले बाबुरामजीले भरपर्दो अभिभावक गुमाएको महसुस गरेको हुनुपर्छ।
राजनीति व्यापार होइन तर नेपालमा ठीक यही भएको छ । राजनीति गर्ने भनेको जोगी हुने होइन, हो, सत्तामा पुग्नको लागि हो। किन पुग्ने त? मुलुकको हित गर्न, जनताको आत्मसम्मान हिफाजद गर्न। यसभित्र नै पर्छ विकास र सामजिक न्याय। अर्थात् मुलुकको आम्दानी बढ्नसक्नु पर्यो, र बढेको आम्दानीको बितरण, कमसेकम धेरथोर सबै नेपालीमा पुग्नसक्नु पर्यो। समानुपातिक हुने कुरा पनि छोडौ। यसको लागि नै चाहिने हो भिजन भएको राजनीतिक नेतृत्व।
यस्तो नेतृत्वले मात्र सही योजना बनाउन सक्छ, कार्यान्वयन गर्न सक्छ। समग्रमा बलियो सिस्टम बनाउन सक्छ। यो प्रतिबिम्बित हुन्छ जब आम जनताको जीवनस्तर बढ्छ र मुलुकले आफ्नो निर्णय आफै गर्न सक्छ। नत्र अनुत्तरित हुन्छ यो। सत्तामा पुग्दा व्यक्तिलाई लाभ भएको होला तर मुलुकलाई के भयो त?
हेर्ने यहीबाट हो। त्यो व्यक्तिको नाम छापामा आउला, टेलिभिजनमा देखिएला, धेरै मुसदण्ड पाल्न सक्ला उसले। तर, राष्ट्रिय हितसँग सौदावाजी गर्दा उ कति कमजोर भएको छ त्यसको हेक्का रहेको हुँदैन। सत्तामा पुगेर मुलुकको हित हिफाजत गर्न नसक्ने र मुलुकको हितसँग राजनीतिक वहाना वा तर्कवीर बनेर सौदाबाजी गर्नेले मुलुकप्रति ठूलो बेइमानी गरेको ठहरिने छ।
यो दोस्रो पाटो भने सूर्यबहादुरजीको दुर्वल पक्ष हो। बिपीको आत्मबृत्तान्तले यसबारे केही प्रकाश पारेको देखिन्छ। बाबुरामजीको यहाँनिर पनि मिलन हुन्छ सूर्यबहादुरजीसँग। निश्चित रूपमा तर्क गर्न सकिन्छ राजाको शासनमा त उनले गर्न नै कति सक्थे र? पुरक प्रश्न उठ्छ के राजा विकास नै चाहँदैन थिए त? यसको उत्तर हुनसक्छ, चाहन्थे। तर, सुरक्षित भएर। सुरक्षित भएर गरिने विकासलाई परिभाषित गर्ने तर्फ अहिले नलागौं। बाबुरामजी कसरी प्रधानमन्त्री बने त्यो जगजाहेर नै भएको छ अहिले त। बाबुरामजीको हकमा जसरी बने त्यही भक्तिभावले काम गरे भन्न सकिन्छ। ख्याल रहोस् इतिहास आज होइन लेखिने भोलि हो।
बाबुरामजीको अभिभावक सूर्यबहादुरजी थिए या थिएनन्?
भारतीय वायुसेनाको विशेष वायुयानबाट सूर्यबहादुरजीको पार्थिव शरीर नेपाल ल्याइएकोबारे सोसियल मिडियामा चर्चा हुँदा त्यस्तै यानमा शव नेपाल ल्याइएको पहिलो व्यक्ति सूर्यप्रसाद उपाध्याय रहेको पनि चर्चा चल्यो।
‘सैनिक वायुयान सेवा’ का तेस्रो हकदार जो हुन् भनेर सामाजिक सञ्जालमा चर्चा चुलियो त्यसले पनि सूर्यबहादुरजीको मृत्युमा बाबुरामजी कसरी अभिभावकविहिन भए भन्ने कुरा इंगित गर्छ।