मुखले एउटा र कामले उल्टो गर्ने काम पाखण्ड हो भने त्यसका प्रयोगकर्ताहरू पाखण्डी हुन् । राजतन्त्र दैवी सिद्धान्तको आधारमा बाँच्छ, दैवी सिद्धान्तलाई पुँजीवादी दार्शनिकहरूले हाँक दिएपछि राजतन्त्र कमजोर हुँदै गयो, शक्ति सिद्धान्त र सामाजिक सम्झौताको सिद्धान्त अगाडि बढ्यो, पछि विकासवादी सिद्धान्तले सबैको आँखा खोलिदियो ।
दैवी सिद्धान्तको खण्डनकै कारण बेलायतमा सन् १६४० मा राजतन्त्रको विरोधमा पुँजीवादी क्रान्ति भयो, राजा चाल्र्स काटिए र क्रामवेल सत्तामा पुगे । अमेरिकी स्वतन्त्रता सङ्ग्राम बेलायती राजतन्त्रकै विरोधमा उठ्यो र संरा अमेरिकामा गणतन्त्रको जग हालियो । फ्रान्सेली राज्य क्रान्तिले पनि राजा लुई काट्यो र गणतन्त्रको स्थापना भयो । युरोप र संसारमा यसरी राजतन्त्रको विरोधमा वा अन्धविश्वासको विरोधमा वैज्ञानिक दृष्टिकोणको पक्षमा क्रान्ति अगाडि बढ्यो ।
तर सामन्ती संस्कारहरूले बेलायतमा मात्रै होइन संरा अमेरिकालाई पनि गाँजे र राष्ट्रपतिहरूको शपथमा समेत चर्च भित्रियो । बेलायतमा चर्चले आजसम्म क्रामवेललाई भित्र्याएन भने फ्रान्सेली राज्य क्रान्ति र पेरिस कम्युनले शिक्षा र विद्यालयलाई सार्वजनिक शिक्षामा परिणत गरे र विवाह र अन्य कार्य चर्चमा होइन स्थानीय जनप्रतिनिधिहरूको समितिको हातमा सुम्प्यो । तर भारतमा स्वतन्त्रता आन्दोलन सम्झौतामा टुङ्गेको कारण समाजमा क्रान्तिकारी परिवर्तन नआउँदा धार्मिक साम्प्रदायिकता यथावत रह्यो । नेपालमा त्यसकै प्रभाव बाँकी छ ।
नेपालका शासक दलहरूले गणतन्त्र स्थापना गरे, राजतन्त्र हट्यो, राजा र राजपरिवारको हत्या भयो तर ‘शक्ति केन्द्रहरू’ मा टीको लाउन जाने र चाकडी गर्ने प्रथा बाँकी रह्यो, ‘शक्ति पीठहरू’ मा पूजा जाने कारणले ।
मल्ल राजतन्त्रहरू समाप्त भएजस्तै गोरखाका राजा र राजतन्त्र समाप्त भई गणतन्त्रको घोषणा गरियो, तर दशैंमा गोरखा दरवारबाट काठमाडौंको हनुमानघाटमा फूलपाती भित्र्याइन्छ र टुँडिखेलमा फूलपातीमा बढाइँ गरिन्छ । उपत्यकाका तलेजुहरूमा त्यही प्रक्रिया चालू छ । भक्तपुरको तलेजुमा पहिले निजगढको संस्कार चल्थ्यो ।
अहिले नेपालमा ‘नेकपा’ को शासन छ । तराईमा सामन्त र जमिनदार वर्गको प्रतिनिधित्व गर्ने राजनैतिक दलहरूको पनि समर्थन छ । हिजो राजतन्त्रमा राजाद्वारा गरिने कुमारी पूजा र अन्य धार्मिक संस्कारहरूमा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू उपस्थित हुन्छन् । के यो पाखण्ड होइन ? के ‘नेकपा’ ले माक्र्सवाद–लेनिनवाद मान्ने राजनैतिक दलको दाबी गरेको होइन ? माक्र्सवाद–लेनिनवाद के नास्तिक सिद्धान्त होइन ? तिनीहरूको शासनमा अन्धविश्वास, राजतन्त्र र दैवी सिद्धान्त किन कायम हुन्छ ? यसको उत्तर कसले दिने – प्रचण्ड वा ओलीले ?
एक नेपाली उखान छ –‘भेँडो एकोहोरो भएर बिग्रिन्छ, मानिस दोहोरो भएर ।’ नेकपा, ओली, प्रचण्ड र तिनीहरूका शिष्य वा समर्थकहरू एकोहोरो बाटो लाग्छन् वा दोहोरो, निक्र्योल गर्नु आवश्यक छ । नत्र नेपाल र नेपाली जनता अन्योलमा पर्नेछन् । भक्तपुरको एक सानो दुरीको कालोपत्र गर्ने बजेट रू. १७ लाख बताइयो, झण्डै ५ वर्ष कालोपत्र भएन, किन ? सडकको हाकिमलाई एक ‘शक्ति पीठ’ ले पाँच लाख मागेको बताइन्छ दशैंमा । ठेकेदार मानिरहेको थिएन, तर अर्को सानो गल्लीको सडक र पर्खाल बनाउन रू. ११ करोडको ठेका दिने अर्को ‘शक्ति पीठ’ को योजना बाहिर आएको छ । अन्धविश्वास र पुरानो संस्कारबाट निर्लिप्त नभएसम्म भ्रष्टाचार रोकिने छैन र भ्रष्टाचार नरोकेसम्म समृद्धि आकाशको फल हो !