भाग-३
"हे अल्लाह! मलाइ माफ गर्नुहोस्।" इसमाइलले दुबै हात आकाशतिर फैलाउदै भन्यो। नसीम र जाबेदले एकचोटि इसमाइललाइ हेरे र मुखामुख गरे। शमाको आँखाबाट केहि थोपा आँशु बरर झरे, कसैले देखेनन्।
"यदि यो भन्दा ठुलो बाध्यता अरु के हुन सक्ला त हँ?" इसमाइलले आफैसङ सोध्यो। एकछिन चुप लाग्यो र बोल्यो। "मेरो लागि अरु केहि उपाय रहेन। म शमालाइ तपाइको हातमा सुम्पिनु बाहेक अरु केहि गर्न सक्दिन।" टिलपिलाएका आँखाले उसले शमालाइ हेर्यो, शमा अहिले भकानिदै रुँदैथी। जारा शमाको कोमल गालामा बगिरहेको उर्लिदोँ आशुको भेल आफ्नै हातले पुछिदिदैथी।
"शमा, गरीबहरुको जीबनमा आफ्नै अधिकार हुँदैन, अर्को जन्ममा गरीबको कोखमा नजन्मिनु।" त्यतिखेर इसमाइल आफ्नै आँखा पुच्छ्दैथ्यो। "मालिक! मैले हारे, शमा तपाइकी भइ।"
"इसमाइल ! तिमीले त्यही गर्यौ, जुन शमाको भाग्यमा थ्यो। अब कुरा गरिसकेपछि तिमी शमालाइ राम्ररी बिदा गर्नु। पैसाको चिन्ता नगर।" जाबेदले नसीमको अनुहार हेर्दै भन्यो। नसीम चुप लागेर टाउको हलाउदै बसेको थियो।
"मालिक ! मैले कत्रो बाध्यतामा छोरी दिन लागे भन्ने कुरा कसैले बुझ्न सक्दैनन्। म शमालाइ केहि दिन राखेर तपाइसङै पठाइदिन्छु।" इसमाइलको मुटु चिराचिरा परिसकेको थियो। लोग्नेमान्छे थियो, हिक्का छुटाएर रुन सक्दैनथ्यो। भित्रको औडाहा त उसैलाइ मात्र थाहा थियो।
"मेरो तुरुन्तै शहर फर्किने काम छ म भोलि नै फर्किनु पर्छ। तिमीलाइ खोज्दा खोज्दै मेरो धेरै दिन बित्यो। त्यस्तै हो भने आज एक्दिन शमा यहि बस्छे, भोलिबिहानै हामी लिन आँउछौ र लान्छौ।" नसीमले बोली नरम पार्दै भन्यो। अघिको स्वर र अहिलेकोमा आकाश जमिनको फरक थियो।
"ठिकै छ इसमाइल ! आफ्नो छोरीको त तिमीलाइ नि माया लागिहाल्छ। अब आज एक्दिनलाइ शमालाइ उसले भनेको सबै पुर्याइदिनु। उसलाइ के मन पर्छ त्यही खुवाउनु, एक जोर नयाँ सलवार कमिज किन्नु। तिमीसङ पैसा छैन होला। ल, यो केहि सय राख।" जाबेदले सय सयको तिनवटा नोट इसमाइलको हातमा राखिदियो।
"त्यतिले अलि पुग्दैन होला" भन्दै नसीमले अर्को दुइ सय थपिदियो। केहि बेर अरु कुरा गरेर नसीम र जाबेद गए।
त्यो अध्याँरो कोठामा रुवाइ सिबाय केहि सुनिएन।
"हे अल्लाह! म अहिले नैं मर्न सकुँ।" इसमाइललाइ बच्चाहरुको मायाले पनि बाँधिरहेको थियो। तर मनमनै उ शमालाइ बिदा गर्नु भन्दा अघि आफै मरेको भए हुन्थ्यो भन्ने सोच्दैथ्यो।
शमा रुँदा रुदैँ थाकी, उ जाराको काखमा पल्टी र एकैछिनमा गहिरो निद्रा निदाइ।
"हाम्रो हातमा त केहि छैन, सबै उही मालिकको मर्जीले भएको छ। तपाइ आफुलाइ पापी नसम्झिनुस्।" जाराले लोग्नेको दुखलाइ अलिकति कम पार्ने बोली खोजी।
"शमाले कहिल्यै हामीलाइ दोष दिन्न। उसलाइ थाहा छ, गरीबीको पराकास्ठाले हामी सबैलाइ कस्तो धर्मसंकटमा धकेलेको छ। उसमा धेरै कुरा बुझ्ने क्षमता छ। जस्तो कठिन समयमा पनि उ धैर्य हुन्छे। अल्लाहसङ हामी प्राथना गरौ। हाम्रो शमालाइ यो भन्दा बढी सहनशीलता प्रदान गरुन्। उ जरुर माफ गर्छे आफ्नो बिबश आमाबाबुलाइ।" जारा शमाको टाउकोमा बिस्तारै बिस्तारै हलुका थपथपाइरहेकी थिइ।
बाहिर उज्यालो हुँदैथ्यो, इसमाइल एकचोटि ढोका खोलेर बाहिर गयो र फेरि भित्र आयो। शमा र अरु बच्चाहरु अझै उठेका थिएनन्। नसीम र जाबेदले दिएको पाँचवटा सय हेर्यो, त्यसपछि जारालाइ सोध्यो।
"शमालाइ एकजोर नयाँ सलवारकमिज किन्नु पर्यो। कस्तो रङको किनु?"
"कहिल्यै नयाँ लगाउन लाउन पाएकी भए पो। उसको लागि रङको के कुरा। गुलाबी किनिदिनु, हुन त उसलाइ जुन रङ पनि सुहाँउछ।" जाराले इसमाइललाइ सजिलो बनाइदी।
"बजारबाट मासु पनि किनेर ल्याउनु पर्यो। तेल मसला नि चाहिएला हैन?" इसमाइल बजार जाने तयारी गर्न थाल्यो।
"मासु पकाउने भाँडा, डाडु, पन्यु सबै चाहिन्छ। मिलाएर सस्तो किनेर ल्याउनु होला। अनि सुन्नु त! अलिकति मिठाइ पनि ल्याउनु होला। भोलि शमालाइ बिदा गर्दा मुख मिठो गर्नु पर्यो नि।"
इसमाइल पाँच सयमा के के गर्न सकिन्छ भनेरै मनमनै हिसाब गर्दै बजार गयो।
दिउँसो टन्टलापुर घाममा बल्ल इसमाइल सामानहरु लिएर आइपुग्यो। जारा र सबै बच्चाहरु उसैको बाटो हेरिरहेका थिए। शमा चाहि आजको दिन बिते पनि रात नआओस् भन्ने कामना गर्दैथी। उसको मनमा धेरै प्रश्नहरु थिए। तर उसलाइ थाहा थियो ती प्रश्नहरुको उत्तर कसैसङ छैन। उ यसरी नैं धेरै कुराहरु चुपचाप सहि दिन्थी।
इसमाइलले सबैभन्दा पहिले शमाको नयाँ लुगा सबैलाइ देखायो। अलि अलि फुल बुट्टा र जरी भएको त्यो गुलाबी सलवार कुर्ता देखेर सबैभन्दा कान्छो भाइ इकबाल खुशीले करायो।
"शमा ! भोलि बेहुली हुन्छे नि।"
"आहा ! कस्तो राम्रो लुगा!" शमाका दुबै बहिनीहरु शायरा र शमिनाले एकैचोटि भने।
"बेहुलीले राम्रो लगाउन पाँउछे है?" सानो इकबाल रमायो। "कति रमाइलो !"
शमालाइ न लुगा मन पर्यो न त भाइबहिनीहरुको कुरा। उसको मनमा त अघिदेखि नैं अनेक कुराहरु खेल्दै थिए। अफसोच ! उ आफ्नो आमाबुबालाइ त्यो सबै बताउन सक्दिनथी। उ उनिहरुलाइ दुखी बनाउन सक्दिनथी।
"बेहुली!" शायराले आफ्नी दिदीलाइ जिस्काइ।
"ए, बेहुली! नयाँ लुगा लगाएर देखाउ न।" शमिनाले पनि शमालाइ त्यसैगरी जिस्काइ।
"शमालाइ धेरै दुख नदेउ। उ भोलिदेखि अर्कै घर जान्छे।" जाराले खानेकुरा पकाउने चाँजो मिलाउन थाली।
इसमाइल एउटा कुनामा बसेर सबै चुपचाप हेरिरहेको थियो। शमा बाहेक अरु तिनै बच्चाहरु खानेकुरा देखेर खुशी भैरहेका थिए। शमाले नयाँ लुगा लाउन मानिन। त्यसपछि कसैले उसलाइ कर गरेनन्।
"बाबा" शमा इसमाइलको नजिकै आइ।
"के छोरी?" इसमाइललाइ शमाको अनुहार देखेर एकचोटि रुन मन लाग्यो।
"एउटा कुरा सोधुँ?" शमाको आँखामा आशाका किरणहरु थिए।
"सोध!" इसमाइललाइ अलि अलि डर पनि लाग्यो।
"के अल्लाह साँच्चै छन्?" शमा एकनासले इसमाइललाइ हेरिरहेकी थी। इसमाइललाइ शमाको प्रश्नको जवाफ दिन गार्हो परिरहेको थियो। इसमाइल नसुने जस्तो गरी उठ्यो र बाहिर गयो। शमा त्यही कुनामा बसीरही।
समाप्त।
(आजकाल सुन्छु, नेपालमा नि अफिम खेति शुरु भैसकेको छ। यस समाचारले मलाइ त्यहाँ पनि अफिमको लागि साटिने बेहुलीहरु जन्मिसके कि? वा अन्मि पो सके कि? भन्ने प्रश्नहरुले पिरोलिरहन्छ।)