खै यो कस्तो नियति?
कहिल्यै नसोचेको
र कहिल्यै नचाहेको
यो कस्तो अचम्मको परिस्थिति!
प्रतिक्षामै बित्थे मेरा सारा रातहरु एक बोली सुन्न जसको
भाग्दै हिंड्नुपर्ने किन मलाई?
आज जहाँ जहाँ हुन्छ उनको उपस्थिति ।
फूलको सुगन्ध सुँघ्न बन्चित पारिएको
एउटा भँवरा झै भयो आज मेरो गति,
आकाशले धर्तीबाट सदा छुट्टिएरै बाँच्नुपर्ने,
यो के नियम लगाइदियौ तिमीले ए प्रकृति?
लालयित हुन्थे यी नजरहरु सदा एक झल्को हेर्न जसको
आज उनको तस्विरैले पनि खिस्सी मेरो गरे झै लाग्छ,
हेर्छु जति बल्झिन्छ घाऊ अनि पोल्छ यो मुटु भत्भती ।
रङहरु बिनाको ईन्द्रधनुष टाँगिएपछि
कति हाँस्दो होला त्यो कालो बादल?
अनि सूर्यले मान्दो हो लाज कति?
समय बितिसक्यो,
म किन सधैं त्यो अस्वीकृत काहानी बोकुँ ?
अनि किन ठाँनु त्यसलाई आफ्नो अमूल्य सम्पत्ति ?
बिर्सन खोज्छु म, अनि मिल्काउन खोज्छु त्यो कालखण्डलाई,
जसमा देखिएका सारा सपनाहरुको रंग उडिसक्यो ।
तर पनि खै सम्झना मात्रै बढ्छ यो मनमा, उनलाई बिर्सन खोज्छु जति ।
जति नै सजाउँ अब म यो प्रेमको मन्दिर
आस्थाको मूर्ति नै ढलेपछी यसको मूल्य कति?
एउटा दुखीको कामना लाग्ने भए लागोस् तिमीलाई
शुभकामना छ, मिलोस सफलता तिमीले चाहे जति
न रंगाउनसके त्यो सिउँदोलाई सिन्दुरे रंगले
न सजाउनसके तिमीलाई हरियो पोते अनि छड्के तिलहरीले ।
मुटु दुखाइ दुखाइ बाँच्न गार्हो भयो मलाई,
ए यादहरु हो, जाओ तिमीहरु पनि मेरो प्रेमसँगै सती ।