देश शान्ति प्रक्रियामा गएकै छैन – गोइत
Ref: http://www.himalkhabar.com/front/morenews.php?id=1893
मंगलबार, ३० जनवरी २००७ २१:०५
कुनै समय माओवादीभित्रको एक हस्तीका रुपमा चिनिने जयकृष्ण गोइत यतिखेर जनतान्त्रिक मुक्ति मोर्चा (जेटीएमएम) नामक संस्थाका संयोजकको रूपमा क्रियाशील छन्। भूमिगत रहेर तराईबारे बेग्लै किसिमको आन्दोलन गरिरहेका गोइतसँग हामीले उनको आन्दोलन, तराईको अवस्था र राष्ट्रिय राजनीतिका विषयमा कुराकानी गरेका थियौँ।
अहिले सम्पूर्ण देश शान्ति-प्रक्रियामा लागिरहेको छ, १२ वर्षसम्म विद्रोहमा रहेका माओवादी पनि मूलधारमा आइसकेको छ, सरकार बनाउने तयारीमा छ। यस्तोमा तपाईंहरुको भने बेग्लै आन्दोलन जारी छ, यो केका लागि हो?
देश शान्ति प्रक्रियामा गएकै छैन। माओवादी शान्ति प्रक्रियामा सम्मिलित भएकै छैन। यदि माओवादी शान्ति प्रक्रियामा सम्मिलित भएको हुँदो हो त माघ ५ गते सिरहाको लहानमा कसको गोलीबाट हत्या भयो?
भन्नाले तपाइँहरुको विचारमा लहान घटनामा माओवादीको हात छ?
हाम्रो विचार मात्र होइन, सम्पूर्ण सञ्चार माध्यमले पनि भनिरहेका छन्- १० कक्षामा अध्ययनरत रमेशकुमार महतोको हत्या माओवादीले गरेका हुन्। संयुक्त राष्ट्र संङ्घको उपस्थितिमा माओवादीले शान्ति सम्झौतामा हस्ताक्षर गरिसक्यो, जनमुक्ति सेना ब्यारेकमा गइसक्यो भने बन्दुक कहाँबाट आयो? त्यसपछि पनि तपाईँहरु भन्दै हुनुहुन्छ - देश शान्ति प्रक्रियामा गइसक्यो, माओवादीले शान्तिको बाटो अवलम्बन गरिसक्यो? निहत्था तराईवासीहरूमाथि गोली प्रहार भइरहेको छ। यस्तो अवस्थामा पनि तपाइँहरु शान्तिको राग अलाप्दै हुनुहुन्छ?
त्यसोभए देश शान्ति प्रक्रियामा गएको भन्ने कुरा निराधार हो?
बिल्कुलै निराधार हो। खालि शान्ति-शान्ति जपेर मात्र हुँदैन। सरकारको पनि भनाइ र व्यवहारमा धेरै अन्तर छ। नेपालगञ्जमा कसले हत्या गर्यो? नेपाल सरकारको पुलिसले त्यहाँ हिंसा भड्कायो। मधेशीहरुको घरबाट सामान निकालेर आगो लगाइदियो, पसल जलाइदियो। बन्दुकको बलमा मधेशीहरुमाथि दमन भइरहेको छ। यस्तो बेलामा कसरी भन्ने देश शान्ति प्रक्रियामा गइरहेको छ?
अब के गर्नुपर्छ त? तपाइँहरुको माग वा आन्दोलन केका लागि हो?
जसरी महात्मा गान्धीले ब्रिटिश रुरल क्वीट इण्डियाको नारा दिए त्यसैगरी हामी यस तराईबाट नेपाली शासकलाई छोडेर जाओ भन्दैछौँ। तराई स्वतन्त्र हो, तराईलाई स्वतन्त्र गरिदिनुपर्यो। तराईको शासन तराईबासीले गर्नेछन्। हाम्रो आन्दोलन यही हो।
स्वायत्त तराई कि स्वतन्त्र तराई?
स्वतन्त्र तराई। मुक्त तराई। इन्डिपेन्डेन्ट तराई। लिवरेटेड तराई।
तपाईं नेपाली शासक भन्नुहुन्छ, भन्नाले के पहाडियाहरुलाई भन्न खोज्नुभएको?
होइन, हामी नेपाली होइनौँ। हामी भारती मूलका पनि होइनौँ। हामी तराई मूलका हौँ। उनीहरु नेपाली हुन् र नेपाली शासक हुन्। जसरी ब्रिटीशले भारतमा शासन गरेका थिए त्यसैगरी नेपालीहरु तराईमा शासन गरिरहेका छन्।
अहिले जुन स्वायत्त शासनको कुरा उठ्दैछ, विभिन्न प्रदेशहरु बनाउने कुरा छ वा भनौँ देशलाई सङ्घीय स्वरुपमा लाने कुरा उठदैछ। त्यसमा तपाइँहरु सहमत हुनुहुन्न त्यसोभए?
यो गैरऐतिहासिक, गैरराजनीतिक र अवैज्ञानिक कुरा हो। यसबाट तराईबासीको समस्या समाधान हुन सक्दैन। जबसम्म तराई स्वतन्त्र हुँदैन, जबसम्म तराईमा तराईबासीहरूकै शासन हुँदैन, तबसम्म त्यहाँको आर्थिक, सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक कुनै समस्याको दिगो र सही समाधान हुन सक्दैन भने तराई जनतान्त्रिक मुक्ति मोर्चाको दृढ निर्णय छ र यही कुरा वैज्ञानिक पनि हो।
सङ्घीय व्यवस्थाको कुरा चलिरहेकै छ। पहिले यसको कार्यान्वयन हेरौँ, त्यसपछि अगाडिको बाटोको बारेमा सोच्नुपर्ने हो कि? सङ्घीय प्रणाली नहेरिकनै तराई समस्या समाधान हुँदन भनेर ठोकुवा गर्नु कतिको उचित होला?
हेरिरहनै पर्दैन। तराईमा शोषणको रुप औपनिवेशिक भएकोले यहाँ स्वतन्त्रता आवश्यक छ, स्वायत्तताले पुग्दैन। सङ्घीय प्रणाली तत्कालीन समाधान हुनसक्छ, दीर्घकालीन हुँदैन। त्यसैले यसमा हाम्रो सहमति छैन।
किन असहमति? तराईवासी जनतालाई सार्वभौमसम्पन्न बनाउने माध्यम यो पनि त हो नि
गुलाम कहीँ सार्वभौमसत्ता सम्पन्न हुन्छ? तराई अहिले नेपालको उपनिवेशमा छ।
उपनिवेश कुन आधारमा छ?
ई. सन् १८१४ मा नेपालको ब्रिटिश इष्ट-इन्डिया कम्पनीसँग युद्ध भयो। युद्धपश्चात् मेचीदेखि टिस्टासम्मको भूमि र महाकालीदेखि सतलजसम्मको सम्पूर्ण तराई भूभाग ब्रिटिस इष्ट-इण्डिया कम्पनीलाई सुपुर्दगी गरेर नेपाल सरकारले दुई लाख रूपैयाँ प्रतिवर्ष लिने गरी सुगौली सन्धि गर्यो। त्यसपछि ८ डिसेम्बर १८१६ मा सम्पन्न सन्धिअन्तर्गत दुई लाख रूपैयाँको बदलामा इष्ट इण्डिया कम्पनीले मेचीदेखि राप्तीसम्मको वर्तमान नेपाल-भारत सीमा चिह्नभन्दा उत्तरतिरको भूभाग नेपाललाई दियो। त्यसको ४३ वर्ष १० महिना २३ दिनपश्चात् १८५७ मा सुरु भएको प्रथम भारतीय स्वतन्त्रता सङ्ग्राममा नेपाल सरकारका प्रधानमन्त्री र प्रधानसेनापति जंग बहादुर राणाले हत्या, हिंसा, लूट र बलात्कार जस्ता कुकृत्यका साथ दमन गर्नमा सहयोग पुर्याएबापत १ नोभेम्बर १८६० मा राप्तीदेखि महाकालीसम्मको भूभाग दियो- जसको नाउ नेपाल सरकारले नयाँ मुलुक राख्यो।
१९५० को सन्धिको धारा ८ ले यी दुई सन्धिलाई खारेज गरेका छन्। त्यस्तै १९५० मै नेपाल र ब्रिटेनबीचको सन्धिको धारा ८ ले पनि यी दुई सन्धिलाई खारेज गरेका छन्। ती व्यवस्थाहरु खारेज भएपछि तराई स्वतन्त्र हुन गएको हो। त्यसपछि नेपालले बलजफ्ती तराईमाथि शासन गर्न सुरु गरेको छ। त्यस कारण संविधानको पुनर्निर्माण हुन गइरहेको बेला अन्तरिम संसद्ले तराईलाई स्वतन्त्र घोषणा गरिदिनुपर्छ। बन्दुक लिएर, दमन गरेर एक्काइसौँ शताब्दीका जनतालाई गुलाम बनाउन सकिँदैन। यो कुरा नेपाल सरकार र नेपालीहरुले बुझ्नुपर्ने कुरा हो।
विगतमा देशलाई शान्तिप्रक्रियामा लगेको भन्दै अनेकौँ गतिविधिहरु भइरहे तापनि तपाईंहरुको आन्दोलनलाई सम्बोधन गर्ने कतै कुनै कार्य गरिएन। सरकारको यस कार्यप्रक्रियालाई तपाईंहरुले कसरी लिनुभएको छ?
नेपालमा तबसम्म शान्ति हुँदैन, जबसम्म तराई स्वतन्त्र हुँदैन, तराईको समस्याको समाधान हुँदैन। उनीहरु त बरोबर वार्ताको कुरा गरिरहेका छन्। प्रधानमन्त्रीले भने, मन्त्रीहरु भन्दैछन्। उनीहरु कुरा बुझ्दछन्। मेरो मुद्दाबाट उनीहरु प्रभावित पनि छन्। र यथार्थमा यस मुद्दाको समाधन नगरिकन नेपालको समस्या समाधान हुन सक्दैन।
तपाइँको अहिलेको लडाइँ सरकारका साथै माओवादीसँग पनि देखिन्छ जब कि कुनै समयमा तपाईँ स्वयं माओवादीकै एउटा अङ्ग हुनुहुन्थ्यो।
उनीहरुले हाम्रो मुद्दा समाधान गर्ने कुरा गर्दासम्म हामी माओवादीकै अङ्ग थियौँ। तर दुनियाको स्वतन्त्रताको कुरा गर्ने माओवादीमा समेत तराईको स्वतन्त्रताको सबालमा भने पन्छिने प्रवृत्ति देखिएपछि हामी उनीहरसँग छुिट्टयौँ।
तपाइँले माओवादीमा प्रवेश गर्दा पनि तराईलाई बेग्लै देशको मान्यता दिने उनीहरुको मुद्दा त थिएन नि?
तराई एउटा मुद्दा त थियो। यसमा छलफल र बहस गर्दै जाने कुरा थियो। प्रचण्ड स्वयंले लेखेका छन्- तराईमा शोषणको जुन रूप छ, त्यो जातीय वा क्षेत्रीय नभएर औपनिवेशिक छ, औपनिवेशिक शोषणमा मुक्ति हुन्छ। भारत ब्रिटेनको उपनिवेश भएकोले भारतले मुक्ति पायो। प्रचण्ड स्वयंले लेखेका छन्- लाल तराईमा।
तपाइँको लडाइँ नेपाली शासकमात्र नभई माओवादीसँग पनि छ। दुबै साधनस्रोत सम्पन्न छन्। यस्तोमा तपाइँको आन्दोलन कसरी सफल हुन सक्ला? यसको लागि तपाईंसँग ठोस आधार के छ?
मेरो लडाइँ सत्य-तथ्यको आधारमा छ। सत्यतथ्य कुनै पनि सेनाभन्दा विशाल र शक्तिशाली हुन्छ। उदाहरण हेर्नुहुन्छ भने अमेरिकाको विशाल सेनालाई भियतनामी जनताले धपाइदिए, अफगानिस्तानी जनताले रसियन सेनालाई धपाए। ब्रिटिश राज्यमा सूर्यास्त नै हुन्थेन, त्यस्तालाई पनि भारतीय जनताले धपाए। भनेपछि के तराईका जनताले नेपाली सेना र जनमुक्ति सेनालाई धपाउन सक्दैनन्? आफ्नो स्वतन्त्रताका लागि तराईका एक-एक बच्चा आफ्नो शहादत दिनसमेत तयार हुनेछन्। निश्चित रुपमा तराईको विजय हुनेछ। मलाई दृढ विश्वास छ।
तराईभित्र आफै एकताको अभाव छ। जातीय, वर्गीय, लैङ्गिक विभेदहरु चर्को रूपमा रहेको देखिन्छ। यस्तोमा सबैलाई स्वतन्त्र तराईको मुद्दामा कसरी सहमत पार्न सक्नुहुन्छ?
पहाडमा जनजाति, दलितको समस्या विकराल हुँदाहुँदै पनि राजतन्त्र फाल्ने कुरामा जब सबै एकजुट हुन सक्छन् भने तराई किन एकजुट हुन सक्दैनन्। स्वतन्त्रताको लागि सबै जुट्छन्। यी सबै क्षणिक र गौण मतभिन्नता हुन्। समग्र स्वतन्त्रताका लागि मानिस एकजुट भएर लड्नेछन्। आज नेपालमै हेरौँ- खास मुद्दाका लागि सात-सात दल अझ माओवादीसमेत एक भएका छन् भने आफ्नो स्वतन्त्रताको सवालमा तराईबासीहरु एकजुट नहुने कुरै आउँदैन।
तराई शोषित छ भन्नुहुन्छ, कस्तो किसिमको शोषण देख्नुहुन्छ तराईमा?
एउटा औपनिवेशिक शासकले गुलाम जनतामा जस्तो व्यवहार गर्छ, त्यस्तै शोषण तराईमा विद्यमान छ। जति पनि नोकरीको कुरा छ, राजनीतिक पदहरुको सवाल छ, सबैमा तराई मुक्तिको आन्दोलनलाई पाखा लगाउने मनसायले हात्तीको देखाउने दाँतझैँ एक-दुईजनालाई राख्ने गरिन्छ्। तराईमै पनि हरेक कुर्सीमा नेपालीहरु भरिएका छन्, सेना-पुलिस सबैतिर नेपालीहरु मात्र छन्। शिक्षकहरुसमेत नेपाली छन्। भन्सार जस्ता तराईमै मात्र भएका कार्यालयहरुमा प्यूनसम्म पनि नेपालीहरु मात्र छन्। राजश्वको ७९%उठ्ने तराईमा लगानी भने १२%मात्र छ। आर्थिक शोषणको ठूलो नमूना यही हो। आज सम्पन्न तराई विपन्न भएको छ। अन्नको भण्डार भएर पनि तराईबासी भोका छन्। १९६५ मा विश्वको पाँचौँ चामल निर्यातकर्ता देश थियो नेपाल, तर अहिले खान नपाएर तराईबासीहरु हरियाणा, पञ्जाबतिर लाग्न बाध्य छन्। यी सबै एउटा गुलामसँग शासकवर्गद्वाारा गरिने शोषणभन्दा कत्ति पनि फरक छैन।
अहिले माओवादीले नै पनि आफ्नो युद्धलाई विजयमा रुपान्तरित गर्नुमा हतियारको ठूलो हात छ। तपाईंसँग यी स्रोतसाधन कहाँबाट आउँछन्।
सबैभन्दा ठूलो कुरा जनता हो। जनतालाई विचारले सम्पन्न पार्नुपर्छ, हतियारले होइन। बन्दुक त सहायक हो। म तराईका मूल निवासीलाई तिमीहरु गुलाम होउ, स्वतन्त्रताबिना यसबाट मुक्त हुन सक्दैनौँ भन्ने विचारले सुसज्जित पार्न चाहन्छु। प्रमुख कुरा स्वतन्त्रताको विचार हो। यो भावना तराईबासीको 195'दयमा गड्नासाथ ऊ मर्नका लागि, बलिदानका लागि तयार हुन्छ। इतिहास साक्षी छ- जनता प्राण आहुतिका लागि तयार भएपछि उसले औपनिवेशिक सत्ताबाट मुक्ति पाएको छ। त्यसैले मेरा लागि सबैभन्दा ठूलो शक्ति तराईका जनता हुन्।
जनतान्त्रिक तराई मुक्ति मोर्चा त्यति ठूलो समस्या होइन, सय-डेढ सयजनाको एउटा समूह हो भनेर भनिन्छ, तपाईंको के भनाइ छ यसबारेमा?
यस भनाइप्रति मेरो कुनै आपत्ति छैन। सानैबाट कुनै कुरा ठूलो हुन्छ। हाम्रो त कति भो र, जम्मा दुई वर्ष भएको छ। बाह्र वर्षमा माओवादी कहाँबाट कहाँ पुग्यो? हिजोसम्म एकजनाले पनि तराई स्वतन्त्र हुनुपर्छ नभनेकोमा आज हामीले कुरा उठाएपछि डेढसय जना मात्र हुनु पनि ठूलो उपलब्धि हो। भोलि डेढ हजार होलान्, पर्सी डेढ लाख होलान्।
निर्वाचनलाई एउटा अवसरको रुपमा प्रयोग गरेर तपाईंको मोर्चाले चुनाव लडेर आफ्नो शक्तिशाली प्रदर्शनका माध्यमबाट आफ्नो अभियानलाई अगाडि बढाउन सक्दैन र?
तराईलाई नेपालमा कस्तरी सेट गरिएको छ भने जति-जे गरे पनि तराईबासीले चुनाव जित्नै सक्दैनन्। पञ्चायतकालमा तराईबासीहरु एक-दुईजना जितेर जान्थे। संसदीय व्यवस्थामा पनि तराईबाट उनै जमिन्दारहरू जो राणाकाल, पञ्चायतकालका शोषक थिए, जितेर आउँथे। सामान्य तराईबासीको प्रतिनिधित्व अपवादको रुपमा मात्र हुन सकेको थियो। त्यसैले चुनावबाट यस समस्याको समाधान हुँदैन। विभिन्न पाटर्ीेहरूले टिकट पनि त्यस्तालाई मात्र दिन्छन् जो उनीहरुको कृतदास बन्न जान्छन्। स्वाभिमानपूर्वक मुक्तिको कुरा गर्नेहरूलाई पार्टीले टिकट दिँदैन, पार्टीको निर्णायक तहमा जान दिइँदैन। विगतको इतिहासलाई हेर्ने हो भने यो कुरा छर्लङ्ग हुन्छ।
हाल तयारी हुँदै गरेको संविधानसभाको निर्वाचनमा तपाइँहरुको भूमिका कस्तो रहनेछ?
तराई स्वतन्त्र छ। तराईमा नेपाली संविधानसभाको निर्वाचन किन र कसरी गराउने? उनीहरुले आफ्नै विवेकका आधारमा पनि नगराउनुपर्ने हो।
तर यदि चुनाव गराइयो भने?
तराई हाम्रो मातृभूमि हो, हाम्रो देश हो। यहाँ अन्यत्रका शासकले कसरी चुनाव गराउन पाउँछन्? हामी विरोध गछर्ौँ।
विरोध कस्तो हुन्छ?
त्यो त परिस्थितिले निर्णय गर्नेछ। उनीहरु शान्तिपूर्ण रुपमा आए हामी पनि शान्तिपूर्ण ढङ्गबाटै प्रस्तुत हुन्छौँ। होइन, यदि दमनमा उत्रन्छन् भने हामी त्यसको सशक्त प्रतिकार गर्नेछौँ।
नेपालका जनताले यति लामो समयदेखि हतियारको छायामा बस्नुपरेको थियो। अब मुक्त भइयो भनेर शान्तिको सास फेर्नै लागिरहेको बेला पनि तपाईंहरुले यस्तो हिंसात्मक आन्दोलन जारी राख्नु त साह्रै अमानवीय भएन?
हामी गान्धीवादी हौँ। गान्धीजीले अत्याचार सहेर पनि चूप लागेर बसिराख्नु कायरता हो भनेका छन्। अन्यायका सामु सामान्य हिंसा जायज रहेको कुरा त गान्धीले पनि भनेका थिए। हामी तराईवासीहरुमाथि त नेपाली शासकहरुले शताब्दियौँदेखि अन्याय, अत्याचार र क्रूरता देखाउँदै आएका छन्। यस्तोमा कतिञ्जेल कायर भएर बस्ने?
जुनसुकै आन्दोलनलाई पनि एउटा टुङ्गोमा पुर्याउन वार्ताको टेबुलमा आउनैपर्छ, तपाइँहरु वार्ताको बाटोमा किन आउनुहुन्न?
वार्ता गछर्ौँ भनेर हामीले भनेकै थियौँ। हामीले पटकपटक वार्ता गर्न हामी तयार छौँ भनेर विज्ञप्ति पनि दिएका जारी गरेका थियौँ। तर माओवादी संसदमा इसकेपछि माओवादी अध्यक्ष प्रचण्डको जस्तो अभिव्यक्ति सञ्चारमाध्यममा आयो र उहाँले त्यसको कुनै पनि खण्डन गर्नुभएन। हामीले वार्ताका लागि पटक-पटक विनम्र निवेदन गर्यौँ, तर हाम्रो निवेदनलाई कमजोरी ठानेर बेवास्ता गरियो। सरकारले समेत पूर्वाञ्चलका डीआजीको नेतृत्वमा एउटा कमाण्डो फोर्स गठन गर्ने तयारी गर्दै थियो। हामी यी सारा परिस्थितिलाई अध्ययन गरिरहेका थियौँ। वार्ताका कुरापछाडि उनीहरुको दमनकारी षड्यन्त्र पाएको हुनाले हामीले वार्ताको कुनै तुक बाँकी नरहेको देख्यौँ।
सहमतिको कुनै विन्दु त खोज्नुपर्छ। के भएमा तपाईंहरु हतियार बिसाउनुहुन्छ वा वार्तामा आउनुहुन्छ?
यो त विश्वासको वातावरण बनेमा मात्र सम्भव छ। हामीले पटक-पटक विश्वासको वातावरण बनाउनका निमित्त शर्तसहित विज्ञप्ति जारी गर्यौँ। तर सरकारका साथै माओवादीसमेत दमनको नीति अख्तियार गरिरह्यो। त्यस कारण हामी वार्ताको षड्यन्त्रबाट अलग भएका छौँ।
सरकार र माओवादीले कस्तो क्रियाकलाप प्रदर्शन गरेमा तपाईंहरु वार्तामा आउनुहुन्छ?
अब कस्तो क्रियाकलाप भन्नु? सरकार तराईका जनतालाई बन्दुकले भुटिरहेको छ, माओवादी आफ्नो सैन्यवादी दम्भमा चूर छ। सरकार र माओवादीको तराईमाथि दमनको नीतिका फलस्वरुप सिंगो तराईमा आगो लागेको छ। यस्तोमा कस्तो वातावरणको कुरा गर्दै हुनुहुन्छ? वातावरण त यस्तै बनिरहेको छ।त्यसैले वार्तामा हामी जाँदैनौँ।
तराईका लागि भनेर तपाईंहरुले गर्नुभएको यस आन्दोलनमा पीडित हुने वा मर्ने-मारिनेमा तराईकै जनता छन् ! यसरी यो साँढेको जुधाइ बाच्छोको मिचाइ कहिलेसम्म हुने त?
त्यो त सरकारले सोच्नुपर्ने हो, जसले देशको जिम्मेवारी लिएको छ। नेपालगञ्जका जनताले के बिराएका थिए? तिनीहरुको श्रीसम्पत्ति, मानप्रतिष्ठा सरकारको निगरानीमा समाप्त मारियो। लहानमा रमेशकुमार महतोले कुन बन्दुक लिएको थियो? निहत्था जनताको हत्या गरियो। सरकार र माओवादी मिलेर तराईमा हत्या, हिंसा, लूट, बलात्कार, आगजनी गर्ने अनि तराईका जनताचाहिँ शान्तिको नाममा राम-राम जपिरहुन्?
तपाईंले वार्ताका लागि विश्वासको वातावरणको कुरा गर्नुभयो। कस्तो अवस्थालाई विश्वासको वातावरण भन्नुहुन्छ?
जसमाथि तराईका जनता भर पर्न सकुन्। आज जनतान्त्रिक तराई मुक्ति मोर्चाको त कुरै छाडिदिनोस्, तराईका सर्वसाधारण जनता पनि यस सरकारले हामीलाई शान्तिसुरक्षा र अधिकार दिन सक्छ भनेर पत्याइरहेका छैनन्। आज स्वस्फूर्त्त रूपमा तराईका मूल निवासीहरु विद्रोहमा उत्रेका छन्।
यो विद्रोह कहिलेसम्म यसरी जारी रहन्छ त?
जहिलेसम्म तराईवासीका भावनाहरु कुण्ठित भइरहन्छन्, जबसम्म सरकार-माओवादीको दमन जारी रहन्छ, तबसम्म दमनको प्रतिकार भइरहन्छ।
नेपाल सरकारले आफ्नो अभिन्न अंग मान्दै आएको तराई भूभागलाई तपार्इं बेग्लै देश बनाउने भन्नुहुन्छ। आम नेपाली र नेपाल सरकार यसमा सहमत हुने कुनै संकेत देखिँदैन। यस्तोमा आखिर वार्ताको विन्दु कहाँ स्थापित हुन सक्छ?
दुनियामा यस्ता धेरै ठाउँहरु छन्। हंगकंग कसरी चीनलाई प्राप्त भयो? मकाआ कसरी बन्यो? भारतलाई ब्रिटीशहरुले २०० वर्षदेखि भोग्दै आएका थिए, कसरी छोडे?
तपाईंको भनाइमा तराई नेपालले भोग्दै आएको भूभाग मात्र हो?
त्यो इतिहासले भनिरहेको छ, अन्तर्राष्टि्रय सन्धि-सम्झौताले भनिरहेको छ, संयुक्त राष्ट्रसंघले भनिरहेको छ।
मानौँ तपाईँले वैज्ञानिक, ऐतिहासिक र राजनीतिक दृष्टिले सही नै कुरा गर्नुभयो रे। सैद्धान्तिक रुपमा तपाईंसँग तर्कहरु पनि छन्, तर व्यावहारिक रुपमा तराईलाई बेग्लै देश बनाउनु कतिको उपयुक्त हुन सक्छ?
व्यावहारिक रुपमा पनि उपयुक्त छ। दक्षिण प्रशान्तमा कोकेलो भन्ने एउटा टापू छ। जसको क्षेत्रफल १२.२ वर्ग किमी र जनसंख्या १६०० छ। साढे दुई सय वर्षपहिले ब्रिटीश नौसैनिकले कब्जा गरेपछि ब्रिटेनको अधीनमा आएको त्यस ठाउँलाई इष्ट इण्डिया कम्पनीले तराईलाई नेपालको जिम्मा लगाएझैँ १९२६ मा ब्रिटेनले न्यूजील्याण्डको जिम्मा लगाइदियो। उनीहरु विद्रोह गरेर आज स्वतन्त्र छन्। १ अगस्त २००५ को हिन्दुस्तान पत्रिकाको मुखपृष्ठमै तपाईं यो समाचार पाउन सक्नुहुन्छ। यसरी जब १२.२ वर्ग किमीको १६०० जनसंख्यावाल क्षेत्र स्वतन्त्र हुन सक्छ भने तराईको त जनसंख्या र क्षेत्रफल दुवै पर्याप्त रहेको छ। यसलाई तपाईं कसरी अव्यावहारिक भन्न सक्नुहुन्छ?
तपाईं जुन तराईवासीका लागि भनेर आन्दोलन गरिरहनुभएको छ, उनीहरु स्वयं नै तन, मनले आफूलाई नेपालसँग अभिन्न मान्दछन्। यस्तोमा तपाईंको यस अभियानले तराईवासीकै पनि साथ र समर्थन पाउन सक्ला र?
म पूर्ण विश्वस्त छु। मैले अहिलेसम्म समग्र तराईवासीलाई कुरै बुझाउन सकेको छुइन। यो साने समय भयो। हामी शताब्दियौँदेखि गुलामको रुपमा रहिरहेका छौँ। नेपाली श्ाासकहरुले हाम्रो भाषा, संस्कृति सबैलाई मेटाएर हाम्रो मनोबल नै चौपट पारिदिएको छ। यसरी दबिएका मानिस एकै दिनमा बुझ्दैनन् नि ! उनीहरुलाई त बुझाउनुपर्छ। र अब बुझ्न थालेका प िछन्। त्यसकै परिणति हो अहिले तराईमा देखिएको जागरण। आखिर आफ्नो ज्यानको बाजी लगाएर मानिस किन सडकमा ओर्लेका छन् त !
तराईमा भड्केको आन्दोलनलाई तपाईंहरु कुन रुपमा लिइरहनुभएको छ?
तराई आन्दोलनको जड लहानमा भएको रमेश महतोको शहादत हो। यसले के देखाउँछ भने माओवादीले हतियार बुझाएका छैनन्। हत्या-हिंसाको क्रियाकलापबाट ऊ मुक्त हुन सकेकै छैन। जतिसुकै संसद र सरकारमा शामिल भए तापनि बन्दूककै भरमा हिँडिरहन्छ। बन्दूकको बलमा ज195139ल राज चलाउने ध्याउन्नमा माओवादी लागेको र त्यसको प्रतिकारमा तराईवासीहरु उत्रेकाले नै हाल तराई आन्दोलनमय देखिएको हो। तराई घटनाको अझ चुरो पछ्याउँदै जाने हो भने यसलाई नेपालगञ्ज घटनासँग जोड्न सकिन्छ। नेपालगञ्ज घटना जनतान्त्रिक तराई मुक्ति मोर्चाले उठाएको मुद्दाको ज्वलन्त नमूना हो। आज अनेकौँ तराईवासीहरु संसदमा छन्, कति जना सरकारमा पनि छन्। यस्तोमा तराईवासीहरुका घरमा आगो लगाइयो। खोइ त संसदमा आवाज उठाएर उनीहरुलाई न्यायसम्म पनि दिलाउन सकेको? त्यसैले निर्वाचनबाट तराईको समस्या समाधान हुनै सक्दैन। यदि यस्तो सम्भव हुँदो हो त नेपालगञ्ज घटनाको अवस्था नै आउने थिएन। कसरी मात्र चुनावबाट, पुरानै शासन कायम राखेर वा संघीय व्यवस्थाबाट तराईको समस्या समाधान हुन्छ भनेर विश्वास गर्ने? तपाईं एकचोटि पश्चिम नेपालमा कमैयाको समस्या हेर्नुस् त। यतिका दिन भइसक्यो, कानून बनाएको पनि, तर खोइ आजसम्म कमैयाले घर पाएका छन्? कमैयाले खनी-खोस्री गर्न जग्गा पाएका छन्? जब कमैयाको समस्या समाधान हुन सक्दैन, नेपालगञ्ज जस्ता समस्या जन्मिरहन्छन् भने तपाईं चुनावबाट समस्या समाधान हुने कुरा कसरी गर्न सक्नुहुन्छ?
हाल तराईको आन्दोलनमा प्रत्यक्ष रुपले मधेसी जनअधिकार फोरम र मधेसी विद्यार्थी फ्रन्टको नाम अगाडि आइरहेको छ। तर तपाईंको मोर्चाको यसमा कस्तो भूमिका रहेको छ?
निहत्था जनतामाथि जोसुकैले अत्याचार गरोस्, हामी त्यसको विरोधमा छौँ। तराईमा यदि कोही सरकार, माओवादी जोसुकैले हिंसा, हत्या फैलाउँछन् भने त्यसको हामी प्रतिकार गछौँ। हिंसा-हत्याको जवाफ हिंसा-हत्याले नै दिन्छौँ।
तर यसलाई त राजतन्त्रवादीहरु अथवा भारततर्फका आपराधिक तत्वहरुको मिलोकतोमा गरिएको सुनियोजित षड्यन्त्र पनि भनिँदैछ नि?
यो माओवादीको अपराधलाई ढाकछोप गर्ने कुरा हो। माओवादीले गोली चलाएर गरेको हत्याको प्रतिकारमा भएको आन्दोलनलाई राजदरबार र भारतको नाम लिनु षड्यन्त्रकारी कुरा हो। मूल कुरा हो गोली चल्यो, जसले शान्तिवार्ता गरेको छ, जसले हतियार बुझाइसकेको छ। यस्तो अपराधको प्रतिकारमा तराईका जनता जाग्दा नानाभाँति कुरा गर्ने गरिन्छ। यस्ता भ्रमपूर्ण कुराले समस्याको समाधान हुँदैन, समस्या झन् चर्कन्छ।
आफ्नो अभियानलाई मूर्त्त रूप दिने सन्दर्भमा तपाइँको निकट भविष्यको योजना कुन रुपले अगाडि बढ्ने रहेको छ?
सङ्घर्षको बाटो समय र परिस्थितिअनुसार तय हुनेछ। मनोगत कुरा गरेर हुँदैन, वस्तुगत परिस्थिति पनि हेर्नुपर्छ। परिस्थिति शान्त रह्यो भने शान्तिपूर्ण ढङ्गबाट, होइन भने मुठभेडको स्थिति आउन पनि सक्छ। जनता कत्तिको कुन रुपबाट तयार हुन्छन् भन्ने कुरा पनि हेर्नुपर्छ र त्यसैअनुकूल कार्यक्रमहरु तय गर्दै लगिनेछ।
- माओवादीले यत्रो लामो संघर्षका क्रममा कुनै सांसद स्तरका व्यक्तिमाथि भौतिक कार्वाही गरेनन्। तर पूर्वमन्त्री तथा सांसद् कृष्णचरण श्रेष्ठको हत्यामा तपाईंको मोर्चाको हात रहेको भनिन्छ। के यसको जिम्मेवारी तपाईं लिनुहुन्छ?
हामीले जिम्मेवारी लिएका छौँ। लिखित रुपमै यसको जिम्मेवारी हामीले लिएका थियौँ। र राजनीतिक, आर्थिक, भाषिक, सांस्कृतिक शोषण गर्नेहरूले तराई छोडेर नगएमा हामी भविष्यमा पनि यस्ता कार्वाही गरिरहनेछौँ। आफ्नो अस्तित्व नै सकिन लागेपछि के गर्ने? फौजी कार्वाही गर्नु हाम्रो रहर होइन, बाध्यता हो।
तर यस्तो कार्वाही पुस्तौँदेखि बस्दै आएका सामान्य पहाडीहरुमाथि हुनु त उचित भएन नि !
हामी त्यस्तालाई केही गर्दैनौँ, तर तराईमा बस्नका लागि उनीहरुले वर्क परमीट लिने र कर तिर्ने गर्नुपर्छ।
यसबाट राजधानी वा पहाडका कुना-कन्दरामा बस्ने तराईवासीलाई पनि समस्या आउँछ नि त !
यतिसम्म बलिदान त तराईवासीले मातृभूमिका लागि दिनैपर्छ।
जनतान्त्रिक तराई मुक्ति मोर्चाका कार्यकर्ताहरुले श्रीलंकाको पृथकतावादी संगठन लिट्टेसँग तालीम पाइरहेको कुरा गरिन्छ, के यो कुरा सही हो?
यी सबै तथ्यहीन कुरा हुन्। यो हाम्रो मोर्चा जेटीएमएमलाई बदनाम गर्ने एउटा षडयन्त्र मात्र हो।
शासक वर्गको चरित्र सधैँ एकनाशको हुन्छ। भोलि मानौँ तराई देशै बनेछ भने पनि त्यहाँ शासन गर्नेहरुको वर्गीय चरित्र फेरिएला त?
तर स्वशासन त हुन्छ। आफ्नो शासन भएपछि चुनेर ल्याउने जनताले फाल्न पनि सक्छ। भारतमा इन्दीरा गान्धीको सरकार निरंकुश भयो, त्यसको विरोध भयो, विद्रोह भयो र सरकार ढल्यो। यसरी निर्णय गर्ने अधिकार त सम्बन्धित जनतामा जाने भयो नि
तराईलाई पृथक देश बनाउने तपाईंको मिशन कहिलेसम्म सम्पन्न होला भन्ने विश्वास गर्नुभएको छ?
क्रान्तिको कुनै निश्चित तिथि-मिति हुँदैन। यदि ज्ञानेन्द्रलाई बैशाखमा मेरो यस्तो हविगत हुन्छ भन्ने थाहा भइदिएको भए उनले सक्रिय राजा बन्ने महत्वाकांक्षा पाल्ने थिएनन्। माओवादीहरुले एक दिन कांग्रेससँग नै मिल्नुपर्छ भन्ने जानेका भए कांग्रसी कार्यकर्ताहरुको हत्या गर्ने थिएनन्।
तपाईं मधेस भनेर चर्चित शब्दलाई मधेस नभनी तराईमात्र भन्नुहुन्छ। कारण के होला?
वैज्ञानिक र ऐतिहासिक रुपमा मधेसको कुनै आधार छैन। यो तराई क्षेत्र भएकोले यसलाई मैले तराई भन्ने गरेको हुँ।
जनतान्त्रिक तराई मुक्ति मोर्चाकै नामबाट ज्वाला सिंहको अर्को समूह पनि पनि क्रियाशील छ। यो तपाईंहरुको आन्दोलनलाई कमजोर पार्ने षडयन्त्र त होइन।
मूल कुरो मुद्दाको छ। एउटा मुद्दा लिएर अनेकौँ समूह क्रियाशील हुन सक्छन्। सद्भावना पार्टी टुक्रिएर दुई भयो, दुवैले आआफ्नो किसिमले काम गरिरहेकै छन् - कांग्रेस पनि नेपाली कांग्रेस र र नेका प्रजातान्त्रिक गरी दुई भागमा बाँडियो, दुवैले आआफ्नो काम गरेकै छन्। त्यसैले तराई मुक्तिको काम जो सुकैले गरोस् त्यो हाम्रो सहयोगी नै हो।