Thought this would be a relevent article
frome kantipuronline.com
स्वास्थ्य क्षेत्रमा परिवर्तनको आवाज
मार्क जिम्मरम्यान
बझाङ यात्राको अन्तिम दिन एक व्यक्तिले छोरालाई हेरिदिन अनुरोध गरे । सात वर्षको किरणलाई उनका बुबाले हिजोमात्रै आठ घन्टा टाढादेखि बोकेर सदरमुकाम चैनपुर ल्याएका थिए ।
बालकलाई दुई सातादेखि ज्वरो आएको थियो । उसको घाँटीको देब्रेपट्ट िसुन्निएर गाँठो परेको थियो । बूढाले चैनपुर अस्पतालले अघिल्लो दिन 'उपचारका लागि ठूलो केन्द्रमा सिफारिस गरिएको' कागज देखाए ।
हामी उनीसँगै अस्पताल गयौं । बालकलाई पिलो आएको रहेछ । उसलाई साधारण अपरेसन जरुरी थियो । दुर्भाग्य, त्यस अस्पतालमा अपरेसन नगरिने भएकाले एनेस्थेसिया र दुखाइ कम गर्ने औषधि पनि थिएन । घाँटीको सानो अपरेसन हामीले सफलतासँग गर्यौं । तर बच्चालाई धेरै दुख्यो । उसको रुवाइले वरिपरिका सबै कोठा थर्किए । हामीले आफूलाई सफा गर्दा बूढा अस्पतालको बरन्डामा घाम तापिरहेका थिए ।
यस प्रकारका घटना नेपालका ग्रामीण क्षेत्रमा पटक-पटक दोहोरिएका छन् । किरणमात्र होइन, यहाँ अरू गर्भवती महिला, हातखुट्टा भाँचिएका बालक, आगोले पोलेका, ज्वरो तथा अन्य रोगबाट पीडित जोजो रोइरहेछन् ती सबैजना स्वास्थ्यसेवामा परिवर्तन पर्खिरहेछन् ।
स्वास्थ्य मन्त्रालयका कर्मचारी सीमित बजेट र राजनीतिक अस्थिरता हुँदाहुँदै पनि ग्रामीण क्षेत्रमा उचित स्वास्थ्यसेवा पुर्याउन कटिबद्ध भएर काम गर्दै छन् । भवन संरचनाको हिसाबले हेर्दा सरकारी अस्पताल तथा हेल्थपोस्ट चाहे जति भए पनि मुख्य समस्या भनेको मानव संसाधनको क्षेत्रमा छ । ड्युटी अवधिभर कर्मचारीलाई कार्यालयमा राख्नु मुख्य समस्याको रूपमा देखिन्छ । उनीहरूमा दक्षता र दया पाउन कठिन छ ।
औसतमा १८ प्रतिशत महिलाले मात्र यहाँ दक्ष स्वास्थ्य कार्यकर्ताको सहयोगबाट बच्चा जन्माउँछन् । जसमा ५ प्रतिशतभन्दा कम महिला देशको विपन्न क्षेत्रका पर्छन् । बझाङमा वर्षभरिमा अनुमानित ८ हजार सुत्केरी हुन्छन्, जसमध्ये बझाङ जिल्ला अस्पतालले केवल सय जनालाई मात्र सुत्केरी गराउँछ । बच्चा जन्माउने बेला समस्या भएमा त्यो गम्भीर हुन सक्छ । नेपालमा प्रत्येक दिन १२ महिलाको बच्चा जन्माउने बेला समस्या भएर मृत्यु हुने गर्छ ।
गएका १० वर्षमा मेडिकल कलेजहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ । हाल १३ वटा सञ्चालनमा छन् भने कैयौं नयाँ आउने क्रममा छन् । यस हिसाबले नेपालमा वर्षभरिमा हजारभन्दा बढी डाक्टर उत्पादन हुँदै छन् । त्यसैगरी यहाँ ४० नर्सिङ क्याम्पस छन् । सीटीईभीटीअन्तर्गत रहेका १२५ मेडिकल इन्स्िटच्युटबाट पनि प्रत्येक वर्ष चार हजारभन्दा बढी हेल्थ असिस्टेन्ट, अनमी र सामुदायिक स्वास्थ्य सहायक उत्पादन हुँदै छन् । तर यी नवयुवा-युवतीहरू कहाँ जान्छन् ? किन अझै पनि ग्रामीण नेपाली समुदायले स्वास्थ्यसेवा पाइरहेका छैनन् ?
अहिले सोचाइमा आमूल परिवर्तनको खाँचो छ । परम्परागत धारणा र मान्यता नेपालको सन्दर्भमा प्रभावकारी नभएको प्रमाणित भएको छ । ठूला अस्पताल र मेडिकल कलेज बनाइदिनाले जनताको भोट जित्न सकिएला तर चाहेजति जीवन बचाउन सकिँदैन । त्यसकारण यहाँका चिन्तनकारी र बाहिरी अनुभवलाई प्रयोग गरी नयाँ प्रणाली विकास गर्ने बेला भएको छ । यो वास्तविक परिवर्तनलाई पैरवी गर्ने समय हो ।
ग्रामीण स्वास्थ्यसेवामा सुधार गर्न तीनवटा परिवर्तनको खाँचो छ-
-१) अधिक संख्यामा गुणात्मक सेवा प्रदान गर्ने ।
दुर्भाग्यबस अरू मुलुकको जस्तै नेपालको पनि प्रमुख ध्येय भनेको 'अति गुणात्मक स्वास्थ्यसेवा' दिनु हो । हामीले धेरै खर्च गरेर अत्याधुनिक प्रविधि थप्दैछौं र उपविशेषज्ञ उत्पादन गर्दै छौं । यसको असर केही फाइदामा परेको छ- धनी मानिसको लागि गुणात्मक स्वास्थ्यसेवा प्राप्त छ, काठमाडौंका मेडिकल संस्थाको हैसियत बढेको छ । तर यसबाट मूल्यवृद्धि भएको छ, जसलाई देशको उपेक्षित क्षेत्रमा बसोवास गर्नेले तिर्नुपर्ने बाध्यता छ ।
स्वास्थ्य मन्त्रालय पनि केही निश्चित तथा कठिन निर्णयको प्रक्रियामा छ । मुलुकको फराकिलो क्षेत्र ओगट्न सक्ने गरी स्वास्थ्य कार्यकर्ताहरूको पद सिर्जना गर्दैछ । उदाहरणका लागि एनेस्थेसियाविद् पाँचथर, बाग्लुङ वा डडेलधुराका अस्पतालमा उपलब्ध छैनन् । तर यी सबै अस्पतालमा एनेस्थेसिया असिस्टेन्ट छन् र अपरेसन गर्छन् । यसैगरी नेपाल सरकारले सबै तहका स्वास्थ्य कार्यकर्ताहरू- डाक्टर, नर्स, अनमीका लागि "सुरक्षित तवरले सुत्केरी गराउने तालिम' प्रदान गर्ने कार्यक्रम सुरु गर्दै छ । स्वास्थ्यसेवाका लागि खर्च गर्नेलाई हामीले स्पष्ट रूपले दरखास्त गर्नुपर्छ ः हामी के चयन गर्छाैं- 'थोरैका लागि अति गुणात्मक सेवा' वा 'धेरैका लागि गुणात्मक सेवा' ?
-२) स्वास्थ्यकर्मीहरूलाई कार्यक्षेत्रमा सहयोग गर्ने ।
हजारौंको संख्यामा डाक्टर, नर्स तथा मध्यम तहका स्वास्थ्यकर्मी बर्सेनि उत्पादन भए पनि किन एकदम कम ग्रामीण अस्पतालमा काम गर्न पुग्छन् ? पहिलो, यी स्वास्थ्यकर्मी विकसित देशमा स्थानान्तरण हुन्छन् । गएको वर्षमात्र नेपालको एउटा अग्रणी मेडिकल कलेजबाट उत्तीर्ण आधाभन्दा बढी डाक्टर अमेरिका गए । यद्यपि उनीहरू नेपाल र्फकन्छु भनी जान्छन् तर ९५ प्रतिशत डाक्टर उतै बस्छन् र कहिलेकाहीँ परिवार भेट्नका लागि नेपाल आउने गर्छन् । यो समूहमा नर्सहरूको संख्या पनि उल्लेख्य बढेको छ । उनीहरूलाई कसले दोष दिन सक्छ ? स्टाफ नर्सले काठमाडौंमा भन्दा लन्डनमा १० गुणा बढी पैसा कमाउँछन् ।
यीमध्ये केही बस्छन् होला । जो बस्छन्, उनीहरूलाई अनुकूल परिस्थितिमा काम गर्दा उनीहरूको आवश्यकता पूरा गर्न हामीहरू जिम्मेवार हुनुपर्छ । हामीले विभिन्न तत्त्व फेला पारेका छौं, जसले महत्त्वपूर्ण परिवर्तन गर्न सक्छ । यसबाट स्वास्थ्य कार्यकर्तालाई कामप्रति खुसी र उत्पादनशील बनाइराख्न सकिन्छ ।
सञ्चार ः अस्पताललाई टेलिमेडिसिनको सुविधासहित इन्टरनेट जोड्ने,
निरन्तर मेडिकल शिक्षा ः व्यावसायिकता वृद्धि गर्ने अवसर प्रदान गर्ने,
आफूभन्दा ठूला अस्पतालहरूसँग सम्बन्ध गाँस्ने ः अरू ठूला वा क्षेत्रीयस्तरका केन्द्रका स्टाफसँग सम्बन्ध गाँस्ने,
सामुदायिक सुशासन ः अस्पतालका कर्मचारीलाई स्थानीय कमिटीले व्यवस्थापन गर्ने,
बालशिक्षा ः कर्मचारीका बालबालिकालाई शिक्षा प्रदान गर्ने,
हाल नेपालमा स्वास्थ्यकर्मीको अभाव छैन । मुख्य समस्या भनेको उनीहरूलाई प्रदान गर्ने सहयोग हो, जसले आवश्यक परेको ठाउँमा बस्न र उत्पादनशील हुन प्रेरित होस् । यसका लागि सीमित स्रोतहरू परिचालन गर्नुपर्छ ।
-३) एमबीबीएस डाक्टर र त्योभन्दा बढी बनाउने
म एकजना डाक्टर हुँ र मैले २० वर्षदेखि युवा डाक्टरलाई नेपालमा तालिम प्रदान गरिसकें । नेपाली स्वास्थ्यसेवाका लागि डाक्टरहरूको आवश्यकता छ तर सबै समस्याको समाधान डाक्टर होइनन् । ग्रामीण समुदायमा डाक्टरको अभावले उनीहरूलाई एक प्रकारको 'दैविक गाई" जस्तै बनाइदिएको छ । भर्खरै एमबीबीएस पास गरेका डाक्टर ग्रामीण क्षेत्रमा बस्नुको सीमिततालाई हामीले हालसालै आत्मसात गर्यौं । यद्यपि चिकित्साशास्त्रमा कुशल तालिमलाई भन्दा बढी कार्य अनुभवलाई मान्यता दिइन्छ । म यस्ता हेल्थ असिस्टेन्ट र नर्सलाई चिन्दछु, जसले नयाँ डाक्टरले भन्दा राम्रोसँग बिरामीको रोग पत्ता लगाउन सक्छन् र दक्षतासाथ सुत्केरी गराउन जान्दछन् । दुर्भाग्यबस धेरैजसो नयाँ डाक्टर अनुभव बटुलेपछि अगाडिको तालिम लागि काठमाडौं र्फकन्छन् ।
तसर्थ एमबीबीएस डाक्टर होइन भने अरू को त भन्ने प्रश्न आउँछ । ग्रामीण स्वास्थ्यसेवा समूहको क्याप्टेन एकजना एमडीजीपी डाक्टर हुनुपर्छ भन्ने म ठान्छु । नेपालभरि स्थानीय स्वास्थ्यसेवाको क्षेत्रमा यिनीहरूले परिवर्तन गर्न सक्छन् । एकजना एमडीजीपीले अपरेसन गर्न, सुत्केरी गराउन, बच्चा तथा वयष्कहरूको उपचार गर्न सक्नुको साथै उनीहरू प्रशासनिक कार्यमा समेत तालिम प्राप्त हुन्छन् । अन्य विशेषज्ञ जस्तै बालरोग अथवा जनरल सर्जनहरू आफ्नो क्षेत्रमा बढी दक्ष हुन्छन् । तर एकजना डाक्टरले सबै व्यवस्था गर्नुपर्ने ठाउँमा उनीहरू त्यति प्रभावकारी हुँदैनन् । अहिलेको अवस्थामा नेपालमा बढीभन्दा बढी एमडीजीपी डाक्टरलाई तालिम दिनुपर्छ । नेपालमा नमुनाको रूपमा कार्यरत जिल्ला अस्पतालमा पनि २-३ जना एमडीजीपी डाक्टर समूहगत रूपमा कार्यरत छन् । त्यस प्रकारको सामुदायिक अस्पताल उच्च स्वास्थ्यसेवा प्रदान गर्न समर्थ हुन्छ ।
अहिले नेपालमा म आशाको किरण देख्छु । अहिलेको राजनीतिक स्थितिले ग्रामीण समुदायलाई बढी महत्त्व दिइएको छ । स्वास्थ्य मन्त्रालयले पनि एमबीबीएस छात्रवृत्ति प्रणालीजस्ता जटिल समस्यालाई समाधान गर्न तत्परता देखाएको छ र हाल उच्चस्तरीय कार्यदलले नयाँ र प्रभावकारी समाधानको बाटो खोज्दै छ । हाम्रो आफ्नो मार्गनिर्देशनको सिद्धान्तलाई ध्यान दिन जरुरी छ । अहिले भएका प्रमाणसँग ती सिद्धान्तलाई परीक्षण गरेर एउटा नयाँ र बलियो जग तयार गर्नुपर्छ । त्यसपछि मात्र हामी नेपालका ग्रामीण क्षेत्रको रुवाइलाई शान्त पार्ने कार्य सुरु गर्न सक्छौं ।
-लेखक, नेपालको ग्रामीण स्वास्थ्यको क्षेत्रमा सुधार गर्ने कार्यमा कार्यरत संस्था निक साइमन्स इन्स्िटच्युटका कार्यकारी निर्देशक हुन्)