नेपाल समाचारपत्र,काठमाडौं
यौन दुराचारको आरोप लगाइएकी आमाघरकी सञ्चालिका दिलशोभा श्रेष्ठमाथिको आरोप मिथ्या भएको स्पष्ट भएको दाबी गर्दै नागरिक पत्रिकाले माफी माग्नुपर्ने अन्यथा उक्त पत्रिकाविरुद्ध आन्दोलन गर्ने चेतावनी दिइएको छ।शुक्रबार बिहान नेवाः जागरण मञ्चले आयोजना गरेको आमाघरकी संस्थापक दिलशोभा श्रेष्ठविरुद्ध फैलाएको भ्रमलाई लिएर आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमका वक्ताले उक्त चेतावनी दिएका हुन्।
कार्यक्रममा सभासद् रामवीर मानन्धरले दिलशोभाको विषयमा संविधानसभा भवनमा समेत आवाज उठिसकेको बताउँदै सत्य तथ्य के हो त्यसको चाँडै नै निक्र्यौल गर्नुपर्ने बताउँदै समाजसेवी दिलशोभाविरुद्ध भएको उक्त कार्य निन्दनीय भएको विचार व्यक्त गर्नुभएको थियो। यसै गरी कार्यक्रममा पूर्वराज्यमन्त्री नेपाली कांग्रेसका नेता तीर्थराम डंगोलले दिलशोभाप्रति सहानुभूति सबैको रहेको भन्दै उहाँका लागि बद्नाम हुने गरी लेखेको समाचारप्रति खेद व्यक्त गर्नुभयो।
यस्तै एकीकृत माओवादीकी नेतृ हिसिला यमीले झूठको खेती गर्नेहरूले यसरी प्रतिष्ठित व्यक्तिहरूलाई बदनाम गर्ने गरेको भन्दै यसको विरुद्ध सशक्त रूपमा आवाज उठाउनुपर्ने विचार व्यक्त गर्नुभयो।कार्यक्रममा नागरिक अगुवा मल्ल के. सुन्दरले आफू पनि विगतमा पत्रकारितामा लागेको नाताले नागरिक पत्रिकाले अत्यन्तै गैरजिम्मेवारीपूर्ण ढंगले दिलशोभा श्रेष्ठको समाचार सम्प्रेषण गरेको भन्दै यो पीतपत्रकारिता भएको आरोप लगाउनुभयो।
कार्यक्रममा नेपालभाषा दैनिक सन्ध्याटाइम्सका सम्पादक सुरेश मानन्धरले नागरिक अखबारभन्दा वास्तविक रूपमा नागरिक जनता हो। जनताको अगाडि नागरिक अखबार केही पनि नभएको बताउँदै यथाशीघ्र उक्त पत्रिकाले आफ्नो गल्ती सच्याउन आग्रह गर्नुभयो। कन्सर्न नेपालका अध्यक्ष डा. विजय सैंजुले दिलशोभामाथिको अन्यायको कारण न्यायप्रेमीहरू एक ठाउँमा बस्न लागेको बताउँदै बाल ऐनलाई हेर्ने हो भने गल्ती दिलशोभाको मात्रै होइन, सरकारकै भएको बताउनुभयो।
यसै गरी कार्यक्रममा पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानले परिवर्तन र सही राजनीतिको आवश्यकता अहिले भएको बताउँदै दिलशोभामाथि भएको अन्याय र अत्याचारलाई लिएर खेद व्यक्त गरेर सरकारले यथाशीघ्र यस सम्बन्धमा छानविन थाल्न माग गर्नुभयो।कार्यक्रममा न्हूदँ समारोह समितिका अध्यक्ष डा. चुन्दा वज्राचार्यले दिलशोभा प्रतिष्ठित महिलाले यौन दुराचार जस्तो कार्य गर्नै नसक्ने भएकाले तत्काल न्याय दिन माग गर्नुभयो।
१३ वडाका स्थानीयबासी मुकेश महर्जनले सभासमारोह मात्र होइन, नागरिक पत्रिकाविरुद्ध आन्दोलन नै गरेर अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्दै १३ वडामा नागरिक पत्रिका बहिष्कार गर्ने तयारी गरेको बताउनुभयो। जागरण मञ्चका महासचिव विजयकृष्ण श्रेष्ठले स्वागत गरेको उक्त कार्यक्रममा मञ्चका अध्यक्ष सुजीव वज्राचार्यले सभापतित्व गर्नुभएको थियो।कार्यक्रममा अध्यक्ष वज्राचार्यले आजको सभा खबरदारी सभा र ऐक्यबद्धता सभा भएको बताउँदै गल्ती गर्नेहरूले गल्ती भयो भनी नसच्याए भोलिको दिनमा न्यायका लागि आन्दोलन गर्नेबाहेक अर्को बाटो नहुने विचार व्यक्त गर्नुभयो। कार्यक्रम मञ्चका उपाध्यक्ष अमृत ताम्राकारले सञ्चालन गर्नुभएको थियो।