सार्हो हुनु त ढुङ्गाको नियति हो
उ त जहिले पनि सार्हो नै हुनेगर्छ
तर यहाँ कोमल मुटु ठानेर माया लाएको मान्छे
थाहै नदिई ढुङ्गा भन्दा पनि सार्हो हुनेगर्छ
त्यसैले त मलाई मान्छे होइन ढुङ्गा नै मनपर्छ
कसरी बन्यो? कहाँबाट आयो?
अनि संसारमा कस्तो कस्तो चोट खायो?
खोज्नेहरुलाई आफ्नो काहानी
ढुङ्गा नलुकाइ सबै सबै नै भन्ने गर्छ
मान्छेले पो सधैं मुखमा मधुर मुस्कान छर्दै
भित्र भित्र छातीभित्र ज्वालामुखी पकाउने गर्छ
त्यसैले त मलाई मान्छे होइन ढुङ्गा नै मनपर्छ
कुनै बाहिरी शक्तिले नगुल्टाए र नबगाएसम्म
घाम पानी आँधी हुरी अनेक बिषम सहेर
ढुङ्गा सधैं यथास्थानमा नै रहने गर्छ
मान्छे पो मौकापरस्त हो र उ सधैं आफ्नो अनुकूलता हेरी
हुर्केको गाउँ र लाएको माया बिर्सेंर अन्तै बसाँइ सर्छ
त्यसैले त मलाई मान्छे होइन ढुङ्गा नै मनपर्छ
पूज्नेले पूजिदिए ईश्वर पनि बनिदिन्छ ढुङ्गा
गर्दैन चमत्कार केही
तर आस्थाहरु थुपार्ने एउटा आधार बन्नेगर्छ
धेरै चोटि झुक्किइसके म मान्छेसित
देव रुपमा देखिएर क्षणभर मै
दानव भई तिखा दाह्रा पिठ्यूँमाथि धस्ने गर्छ
त्यसैले त मलाई मान्छे होइन ढुङ्गा नै मनपर्छ -