चिरन्जीवी पौडेल
२७ असार, काठमाडौं । नेपाली सेनाका मेजर विष्णु कार्कीसित ७ महिनाअघि बिहे गरेकी २२ वर्षीया लतासाको मृत्युबारे माइती पक्षबाट छानविनको माग गरिएको छ । लतासाको हत्या नै भएको हो भन्ने पुष्टि भइसकेको छैन । घरतिरका आफन्तले चाँहि लतासाले छतबाट हाम्फालेर आत्महत्या गरेको बताउँदै आएका छन् ।
यदि यो घटनालाई आत्महत्या नै मान्ने हो भने पनि लतासा आफ्ना श्रीमानसँग खुसी थिइनन् भनेर विश्वास गर्नुपर्ने हुन्छ । यो घटनाको तथ्य विस्तारै उजागर हुने नै छ । तर, परिवारभित्र हुने आपसी असमझदारी, अविश्वास र सामान्य झगडाले कतिसम्म पीडादायी परिणाम ल्याउन सक्छ भन्ने यो घटनाले देखाएको छ ।
अनलाइनाखबरकर्मी महाराजगञ्जस्थित प्रहरी कार्यालयमा पुग्दा त्यहाँ लतासाका साथीहरु र आफन्तसहित करिब एक सयजनाले सत्यतथ्य बाहिर ल्याउन माग गर्दै प्रदर्शन गरिरहेका थिए । उनीहरुले लतासाका श्रीमान विष्णुतर्फ शंकाको सुई तेस्र्याएर नारा लगाएका थिए ।
लतासाका माइती पक्षको दाबीअनुसार मेजर विष्णु आफ्नी श्रीमतीप्रति अत्यधिक शंकालु थिए । केटा मान्छेहरुसित भेटेको वा बोलेको देख्नै नसक्ने उनले यही कुरालाई लिएर लतासालाई मानसिक यातना दिँदै आएको केटी पक्षको आरोप छ ।
यद्यपि मिडियासित भने केटा पक्षका मानिसहरु अहिलेसम्म सम्पर्कमा आएका छैनन् । विष्णुको मोबाइल लगातार स्वीच्ड अफ छ ।
शारदा क्षेत्री (लतासाकी आमा) को बयान-
मेरी छोरी पहिले निकै चुल्बुले थिई । एभरेस्ट इन्जिनियरिङ कलेज सीतापाइलामा ब्याचलर थर्ड इयर पढ्दैथिई । हिँड्दा पनि उडुँलाजस्तो गर्थी । तर, बिहेपछि अर्कै भई ।
बसुन्धरामा घर भएको, सेनाको मेजर केटो छ भनेर छिमेकीले प्रस्ताव ल्याए । सोधखोज गर्दा सबैले भने, केटो गज्जब छ, आँखा चिम्लेर छोरी दिए हुन्छ । केटो हेर्दा हामीलाई पनि चित्त बुझ्यो । छोरीलाई भन्यौं । ऊ त पहिल्यैदेखि ‘मामु म त हजुरले खोजेकै केटासित बिहे गर्छु,’ भन्थी । छोरी पनि बिहे गर्न तयार भई ।
बिहे हुनुभन्दा ४-५ दिन अगाडि हामीले केटाको घर काठमाडौंमा नभएको र सेनामा मेजर पनि भइनसकेको थाहा पायौं । त्यसपछि म अलि हच्किएँ । घर नभएकोलाई त कसरी छोरी दिनु जस्तो लाग्यो ।
तर, कुरा ल्याउने छिमेकीले काठमाडौंमा जग्गा किनिसकेका छन्, बिहेपछि घर बनाइहाल्छन् भनेर आश्वस्त बनाए । सेनाको मेजर पनि चाँडै हुन्छन् भन्ने कुरा गरे । हामी पनि ठिकै छ नि त भनेर छोरी दिन राजी भयौं ।
गएको मंसिर २० गते धुमधामले बिहे गरिदियौं । उनीहरुले धापासीमा रहेको डेरामा बुहारी भित्र्याए । बिहे गरेको केही दिनसम्म व्यवहार ठिकै थियो । १५ दिनपछि उनीहरु पोखरा घुम्न पनि गए । पोखरा गएर आउँदासम्म पनि छोरी उज्यालै थिई ।
तर, एक महिनापछि छोरीको अनुहार मलीन देख्न थालेँ । सधैं हाँसिरहने छोरी हाँस्नै छाडेकी थिई । तर, केही सोधेकी थिइनँ । एक दिन आफैंले भनी, ‘मामु, केटा मान्छेहरु कस्तो शंकालु हुँदा रहेछन् है ।’
मैले सोधेँ, ‘किन र छोरी के भो ?’
अनि बल्ल उसले भनी, ‘हेरिस्यो न, हजुरको ज्वाइँले सानोतिनो कुरा पनि शंका गरिसिन्छ ।’
उसको कुरालाई त्यतिबेला मैले धेरै सिरियसली लिइँन । ठट्टा गर्दै मैले भनेँ, ‘केटाहरु त्यस्तै त हुन् नि । त्यसमाथि तँ यति राम्री छेस्, तेरो बाले त मलाई अझै बेला-बेला शंका गर्छन् ।’
मैले ठट्टा गर्न खोजे पनि ऊ हाँसिन । त्यसपछि मैले आफू ठीक ठाउँमा बस्नु, शंका गर्दै गर्छन् भनेर सम्झाएँ । तर, मैले सोचेको भन्दा समस्या धेरै ठूलो रहेछ ।
उनीहरु बस्ने घरको साइडमा जोडिएको एउटा घरमा इन्जिनियरिङ पढ्ने तीनजना केटा बस्दा रहेछन् । भान्सामा भात पकाउँदा ती केटासित आँखा सन्काइस भनेर गाली गर्थे रे ज्वाइँले ।
पहिले गाली गर्ने अनि मेरी छोरी रोइदिएपछि तुरुन्तै अंगालो मारेर माया गरेजस्तो गर्दा रहेछन् । ‘तिमी नरोऊ बेबी, तिमी रोएको म देख्न सक्दिनँ’ भनेर फकाउँदा रहेछन् । छोरी मान्छे हो, पग्लिन कतिबेर लाग्छ र ।
हुँदाहुँदा मेरी छोरीको मोबाइलमा ट्रयाकर राख्न पनि भ्याएछ । एक दिन माइती जान भनेर हिँडेकी रहिछ । बाटोमा मिठाई किन्न मन लागेर नक्शालतिर गइछ । हामीकहाँ भेटघाट गरेर बेलुकी घर फर्की । घर फर्केपछि ज्वाइँले उसित मोबाइल हेर्न मागेछन् । बिहेमा ज्वाइँले गिफ्ट गरेको आइफोन बोक्थी उसले ।
मोबाइल हेरेर ‘ओहो तिमी त नक्शाल गएको रहिछौ नि बेबी ।’ भनेछन् । मेरी छोरीले छक्क पर्दै, ‘हजुरले कसरी थाहा पाइस्यो,’ भनेर सोध्दा ‘मैले तिम्रो मोबाइलमा ट्र्याकर राखेको छु नि त’ भनेर जवाफ दिएछ ।
सासू पनि त्यस्तै अपजसे रहिछन् । ‘मैले त सासू रिझाउनै नसक्ने भएँ, उहाँलाई खुशी पार्न त साह्रै गाह्रो रहेछ’ भन्थी । मैले सासू भनेका यस्तै हुन्, भनेर सम्झाउँथे ।
छोरी बिहान कलेज जाँदा ११ जसरी पनि घर आइपुग्नैपर्ने उर्दी थियो रे । ११ बजे आइपुगिन् भने कहिले छोरीकी साथीलाई त कहिले कलेजमै फोन गरेर सोध्ने रे ज्वाइँले ।
त्यत्रो शंका लागेको भए मेरी छोरीलाई मकहाँ ल्याएर फ्यालेको भए पनि त हुन्थ्यो नि । कमसेकम बाँच्ने त थिई ।
लोग्ने र सासूको टर्चरले मेरी छोरी सातो गएझैं भएकी थिई । हाँस्नै छोडी । माइती आयो कि फर्किन हतार गर्थी । साथीहरुसित ‘मलाई त डिप्रेसन हुन्छ कि क्या हो’ भन्थी रे ।
घटना भएको दिन
अस्ति बुधबार म धरानमा थिएँ । दिउँसो ३ बजेतिर मोबाइलमा छोरीको म्यासेज आयो । ‘आइ लभ यू मामु, हजुरसँग धेरै धेरै धेरै…’ लेखेकी थिई । किन यस्तो म्यासेज पठाई भन्ने लागिरहेको थियो, एकैछिनमा फोन आयो । फोनमा पनि ‘मामु आइलभ यू’ भनी । मैले ‘लभ यू बेबी’ भनेँ । त्यसपछि भनी, ‘मामु हजुरसित धेरै कुरा गर्नुछ, हजुर कहिले आइसिन्छ ?’ मैले शनिबार आउँछु बेटा भनेँ ।
अनि त ‘होइन चाँडै आइस्यो न’ भन्दै सुँक्क सुँक्क गर्न थाली ।
मैले ‘के भयो बेबी तिमीलाई ?’ भनेर सोधेँ । उसले भनी, ‘मामू मलाई एकदम गाह्रो भइरहेको छ, यिनीहरुले के गर्न आँटेका हुन् बुझ्नै सकेकी छैन । हजुरको ज्वाइँले के के शंका गर्छ ।’ यति भनेर ऊ डाँको छोडेर रुन थाली ।
मैले एकचोटि सासूमासित कुरा गर्न सल्लाह दिएँ । उसले भनी, ‘सासूमालाई थाहा छ । सबैलाई थाहा छ । हजुरको ज्वाइँ मसित बोल्दैन ।’ ऊ फोनमा रोएको रोयै गर्न थाली ।
त्यसपछि मैले ‘तँ हाम्रो घरमा जा न त, रिफ्रेस हुन्छ’ भनेर सम्झाएँ ।
फोन राखेपछि मलाई साह्रै पेट पोल्यो । घरमा आफ्नी सासूलाई फोन गरेँ । ‘एकचोटि नातिनीलाई फोन गरेर घरमा बोलाउनुस् न’ भनेँ । उहाँले फोन गर्नुभएछ । छोरीकी सासूले फोन उठाइन् रे । ‘बुहारीले भात खाएकी छैन, सुतिरहेकी छ’ भनिछन् । त्यसपछि लतासालाई कुरा गर्न दिइछन् । सासूले लतासालाई खाना खान यतै आउ भनेपछि हुन्छ भनेकी थिइन् रे ।
कुरा गर्दागर्दै फोन डिस्कनेक्ट भएछ । त्यसपछि धेरैचोटि ट्राइ गर्दा कसले हो, काटेको काट्यै गरेछ ।
त्यसपछि साढे पाँच बजेतिर ल्याण्डलाइनमा फोन आएछ । बच्चाजस्तो आवाजमा कसैले ‘लतासा भाउजू त छतबाट हाम्फालेर ग्रान्डी हस्पिटल लगेको छ’ भनेर सुनाएछ । सासूमा अत्तालिँदै ग्राण्डी जानुभो । त्यहाँ उहाँले नातिनी देख्नुभएनछ । ज्वाइँ त्यही थिए रे । तर, जति घच्घच्याए पनि केही बोलेनन् रे ।
लतासाकाे शव शिक्षण अस्पतालबाट लैजाँदै । उनको माइतीले भने शव लैजान नदिने बताएका थिए ।
मलाई पौने ६ मा कान्छी छोरीले फोन गरी । उसले भनी ‘दिदी घरबाट लडेर हस्पिटल लगेको छ रे ।’ मैले
सम्धिनीलाई फोन लगाएँ । ‘सम्धिनीज्यू के भएको हो ?’ भनेर सोधेँ ।
उनले भनिन्, ‘हेरिस्यो न हजुर, लतासाले त के गरिन्, के गरिन् । घरको छतबाट हाम्फालिन् । ‘कहाँ छ त मेरी छोरी’ भन्दा ‘हस्पिटल पो लगेको छ हजुर भनिन् ।’ मैले केही झगडा भएको थियो र ? भनेर सोधेँ । उनले जवाफ दिइन्, ‘मलाई केही थाहा छैन हजुर । उनीहरु दुईजना लोग्नेस्वास्नी बीचको कुरा हो ।’
मैले फोन राखेँ । टेकेको जमीन नै भासिएजस्तो भइहेको थियो ।
त्यसपछि हामी घर फर्किन भनेर बिराटनगर एयरपोर्टमा गयौं । साढे ५ बजेको प्लेन उडिसकेको रहेछ । अनि गाडी रिजर्भ गरेर काठमाडौं हिड्यौं । तर, छोरीको अनुहार हेर्न पाएनौं ।
हस्पिटल पुर्याउनासाथ छोरीलाई मृत घोषित गरिएछ । तुरुन्तै लासलाई ग्राण्डीबाट टिचिङ लगेछन् । यत्रो हुँदासम्म ज्वाइँले हामीलाई एक कल फोन गरेनन् ।
हस्पिटलमा प्रहरीले मुचुल्का उठाउने बेला आफन्त को हुनुहुन्छ भनेर खोजेछ । हाम्रो बुवाले म हजुरबा हुँ भनेर जानुभएछ । नपढेको र आँखा राम्रो नदेख्ने बुबालाई मुचुल्कामा ल्याप्चे लगाउन लगाएछन् । लासलाई टिचिङ लगेपछि ज्वाइँ घरतिर लागेछन् ।
मेरा दाइहरु प्रहरीसित गएर लास हेर्नुभएछ । एउटा आँखा बाहिर निस्किएको छ रे । घाँटी र पाखुरामा निलडाम छ रे । खुट्टामा पनि चोट लागेको छ रे । टाउकोमा पछाडिपट्टी चोट छ रे ।
हामी राति २ बजे काठमाडौं आइपुग्यौं । टिचिङ पुग्दा हामीलाई बिहान प्रहरी कार्यालयमा आउनू भने । भोलिपल्ट बिहान महाराजगञ्ज प्रहरीचौकीमा पुग्दा सम्धिनी, ज्वाइँं त्यही थिएँ । मैले रुँदै भनेँ, ‘सम्धिनीज्यू मेरी छोरी हजुरको पोल्टामा राखेकी थिएँ । कहाँ छे मेरी छोरी ?’ उनले ‘मलाई केही थाहा छैन हजुर’ मात्र भनिरहिन् ।
डीएसपी सा’बको कोठामा ज्वाइँसित भेट हुँदा उनले अनुहारमा सम्म हेरेनन् । त्यतिबेला ज्वाइँले मसित ‘घटना यस्तो-यस्तो भएको हो भनेर बेलीबिस्तार लगाएको भए पत्याउँथ्यौं होला । दुईवटा परिवार एउटै भएर अन्तिम संस्कार गथ्र्यौं होला । घरमै रोएर बस्थ्यौं होला, यसरी निसाफ माग्दै सडकमा उभिँदैनथियौं होला ।
हाम्फालेको ठाउँमा रगतको थोपा पनि छैन । उसलाई बेरेको कपडामा पनि रगत छैन । हाम्फालेको हो भने त रगतको खोलो बग्नुपर्ने थियो नि ? यसबाट पनि हामीलाई धेरै शंका उब्जेको छ । अहिले उनीहरुको व्यवहार देखेपछि त हामी १०० प्रतिशत नै विश्वस्त भइसकेका छौं कि यो हत्या नै हो ।
प्रहरीले किटानी जाहेरी लिन मानेन । तर, जाहेरीमा हामीले सबै कुरा लेखेका छौं, ज्वाइँको व्यवहारको विषयमा । हामी चाहन्छौं, घटनाको सत्यतथ्य के हो, त्यो बाहिर आओस् । हामीले सोधेका प्रश्नहरुको जवाफ दिइयोस् ।
- See more at: http://www.onlinekhabar.com/2015/07/298752/#sthash.Pxas4BGo.dpuf