समयको रफ्तार संग हामी हुन सकेनौं
हामीलाई स्पर्श गर्दै गयो, छुन सकेनौ |
ढिलो भैसकेको थियो गन्तब्य ,
गिलो भैसकेको थियो एकलब्य,
धेरै बर्ष देखिनको बह,
गह भरि जोख्दै, रोक्दै
एउटा अन्तिम आलिंगन
एउटा आत्मीय चुम्बन
साटासाट गर्ने रहर
अधुरो नै रह्यो जिन्दगानी जस्तै
अपुरो नै रह्यो प्रेमकहानी उस्तै |
आज तिमी समय भन्दा छिटै आयौ
मलाई थाहा थियो, तिमी अबश्य आउछ्यौ ,
हाम्रो अधुरो कहानीको अन्तिम पाना लेख्नु थियो,
हाम्रो अपुरो बिहानीको स्वर्णिम गाना लेख्नु थियो |
म रोएँ र तिमी रोयौ ,
हामीदुबैले पीडाहरु धोयौ
एउटा कसिलो आलिंगनमा
एउटा रसिलो चुम्बनमा
कहिले नछुट्टिने बन्धनमा
हामी एकाकार भयौ...............
हो समय संग हिड्न न सके पछी,
सपना संगै हिड्नु पर्दो रहेछ,
त्यसैले पनि अचेल
समय भन्दा सपनालाई प्यार गर्न थालेको छु
समय न बेसमय सपना देख्न थालेको छु |
अस्तु !!