मधेस स्थलगत : वीरगन्ज
सहरकै सबैभन्दा पुरानो बस्तीमध्ये पर्छ छपकैया। राणाकालमा जतिबेला तिब्बतको
साटो भारततर्फ व्यापारको विकल्प खोजियो त्यतिबेलै अर्थात् रणोद्दिप सिंहको
प्रधानमन्त्रीत्व कालमै यो स्थानमा बसोबास थालिएको थियो। यहाँ व्यापार
गर्न उपत्यकाबाट आएका पहिलो व्यापारी उमाचरण राजभण्डारीले कुर्मीहरूसँग
छपकैया जमिन्दारी किनेका थिए। त्यसपछि नै यस स्थानमा बसोबास सुरु भएको हो।
पछि वीरशमशेरका पालामा यो ठाउँ वरपर बस्ती बसाल्ने काम सुरु भयो र
वीरगन्जको जन्म भएको थियो। वीर शमशेरकै पालामा राजाका भाइहरु दरबारसहित यस
स्थानमा भित्रिए। त्यसपछि राणाहरु पनि आए। यसरी पहिलो दरबार यसै छपकैयाँको
आसपास तयार भए। यहाँ अहिले पनि दरबारहरू छन्।
सहरकै यो पुरानो बस्ती भएकाले बाटाहरू साँघुरा छन्। यो बाटो भएर गुज्रँदा
जताततै सहरकै पुराना व्यावसायमध्ये एक टाँगाको लहर देखिन्छन्। घोडालाई
अन्तै बाँधेर विश्राम लिएका ती टाँगाका चालक यसै टोलका पुराना रैथाने हुन्।
अर्थात्, यो मुस्लिम बाहुल क्षेत्र हो।
भन्सारसँग नजिकै खडा भएको यो बस्तीमा अहिले पनि सर्वाधिक बासिन्दा
सिमावर्ती ढाट छलेर स–सानो परिमाणमा एकातिरबाट अर्कोतिर सामान ओसार्ने
रोजगारीमा आबद्ध छन्। यसरी फराकिला दरबारदेखि साँघुरा सडकले जोडेका
अँध्यारा घरसम्म समेटिएको यो पुरानो टोलका बासिन्दा यस सहरमा हुने जुनसुकै
गतिविधिका सर्वाधिक भुक्तभोगी हुन्।
पछिल्लो मधेस आन्दोलन क्रममा छपकैयाँ–२ का बासिन्दाले के भोगे? उनीहरू सरिक
भए कि भएनन्? उनीहरूका लागि यो आन्दोलन के हो? फेरि अर्को आन्दोलनको हल्ला
छ, उनीहरूले त्यसलाई कसरी हेरेका छन्? यही सेरोफेरोमा सेतोपाटीका अमित
ढकाल, नारायण वाग्ले, गिरीश गिरी र सुदीप श्रेष्ठले छपकैया–२ स्थानीयसँग
कुराकानी गरे। सेतोपाटी टिमले यो साताभरि मधेसका विभिन्न ठाउँबाट रिपोर्टिङ
गर्नेछ।
अलि अब्बारत, ६० वर्ष
म खेती–किसानी गर्छु। दुईअढाइ बिगाहा खेतबाट धान आउँछ। परिवारको गुजाराका
लागि रक्सौल नगई हुँदैन। वीरगन्ज बजारमा जे पनि महँगो छ, त्यही सामान
त्यहीँ पर रक्सौलमा केही सस्तोमा पाइन्छ। तर नेपालमा प्रहरी, प्रशासनको
धाँधली जारी छ। हामी रक्सौलबाट दुई चार किलो केही सामान ल्याउँछौँ प्रहरीले
अलिकति लिइदिन्छ। उपभोग्य सामग्रीमा समेत त्यसरी आँखा गाडिदिन्छन्।
हामीलाई सबभन्दा समस्या छ बिजुलीको। बत्ती बढी जान्छ। बिहानै गएको लाइन
राति कतिखेर आउँछ थाहा हुँदैन। वीरगन्ज बजारभन्दा हामीलाई कम बिजुली
दिन्छ।
बिजुली नआउनाले हाम्रो आसपासका चप्पल र पाइपका कारखाना, धानुकटी मिल बन्द
भए। बिजुलीको मनपरी भयो। भन्दाभन्दा थाकिसक्यौँ। लोकल हाकिमलाई भन्न गयौँ,
हामी के गर्नसक्छौँ, माथिबाटै भएको हो भन्छन्।
स्थानीय चुनाव भएको छैन। आफ्नो कुरा कहाँ भन्न जाने ? ठूला नेताहरूले के
भन्छन्, उनै जानून्। यहाँ सबै पार्टीको प्रभाव छ, पकड भने कसैको छैन।
कुनलाई नेता भन्ने ? कसैले कसैको मान्दैन। मधेसी नेता पनि आफ्नै पेट
भरिरहेका छन्। नेता बन्छन् जनतालाई अप्ठ्यारोमा पारिदिन्छन्।
जनतालाई कमाउन, खान दिनुपर्यो। नेताको पछि लाग्नुपर्ने बनाएका छन् हामीलाई।
हड्तालमा जनता बढी लागे। नेताहरुले भड्काइदिएका हुन्। हुन त हकअधिकार
चाहियो भनेका छन्, हक अधिकार त दिए हुने हो।
सिमांकन भन्छन् त्यसको मतलब नेताहरूले बुझून्। नेपाल त एउटै रहिरहेको
राम्रो हुन्छन्। टुक्राटाक्री किन गर्नुपर्ने हो मैले बुझेको छैन। एक
टुक्रा यता, अर्को टुक्रा उता किन ?
जोखनीदेवी नुनिया, ५५ वर्ष
सुरुमा म आन्दोलन भनेपछि के रहेछ भनेर हेर्न गएकी थिएँ। मान्छे मारिदिएको
कुरा सुनेर मलाई पनि रिस उठेको थियो। हाम्रो टोलबाट अरु पनि गएका थिए। अब
माग के के हो मलाइ के थाहा ? मान्छे मारेको छ भनेर नारा लगाउन थाले, मैले
पनि नारा लगाएर साथ दिएँ। कहिले यस्तो भीडभाडमा नगएको म नारा लगाउँदा
लगाउँदै मुच्र्छा परेर लडेकी थिएँ। भीडमा मान्छेहरूले पानी ख्वाएपछि फेरि
होस आएको थियो।
मैले एकजना मधेसी उम्मेदवारलाई भोट दिएको थिएँ। जितेनन्। सबै मिलेर
मधेसीलाई हराइ दिए। जित्ने मानिसले पनि यहाँ वास्तै गरेनन्। कुनै पहाडेले
राम्रो काम गरिदिए हामी पहाडेलाई पनि भोट दिन्छौं। तर, यहाँ कसैले पनि कामै
गर्दैनन्।
आन्दोलनमा जे जति मानिस मारिए उनीहरूको क्षतिपूर्ति दिनुपर्छ। गरिबलाई रासन
चाहियो। हाम्रा केटाकेटीले लेखपढ गरेपछि नोकरी पाउनुपर्छ। खाली पहाडका
मान्छेले मात्र नोकरी पाउँछन्। उता इन्डियामा रासन कार्ड हुन्छ। यता
पाइँदैन। त्यस्तै सुविधा यता पनि दिनु पर्छ। यी कुरा पाइएन भने फेरि पनि
आन्दोलन हुन्छ। फेरि मान्छे मर्छन्। मानिस मरेपछि हामी पनि फेरि आन्दोलनमा
गइहाल्छौं।
जमिल आलम, १४ वर्ष
म विद्यासागर माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्छु। मेरो इच्छा एसी
प्राविधिक तालिम लिएर खाडी देश जाने हो। मेरा ठूल्दाइ दुई वर्षदेखि कतारमा
एसी प्राविधिक नै हुनुहुन्छ। कमाई राम्रो छ।
यसपालि आन्दोलनले छ महिना स्कुल बन्द भयो। पढाई धेरै छुट्यो, धेरै
बिग्रियो। छ महिना छुटेको पढाइ तीन महिनामै सिध्याउन लागेका छौं। अर्को
वर्ष एसएलसी दिनुछ। त्यसपछि दुई वर्ष प्लस टु पढ्छु अनि मेकानिकको तालिम
लिन्छु।
तालिम लिइसकेपछि खाडी देश गएर काम गर्न थालेँ भने पैसा कमाउनेछु। मलाई
सानैदेखि प्राविधिक बन्ने रहर लागेको हो। हाम्रो यो टोलमा धेरै जना केटा
प्राविधिक नै बन्न चाहन्छन्। नपढी तालिम हुँदैन, तालिम नलिई प्राविधिक
भइँदैन, प्राविधिक नभई विदेश गएर पनि कमाइन्न।
हामीले पढ्न नपाए पनि आन्दोलन त गर्नैपर्ने अवस्था बन्यो। हकका लागि भएको
हो। सिमांकन गर्नका लागि हो। मधेसलाई अर्कै राज्य बनाउनुपर्छ। तराई एक
प्रदेश बन्छ।
रफिक मियाँ, ५० वर्ष
म मिस्त्री हुँ, ट्रकको काम गर्छु। मेरा दुई भाइ छोरा दुवै कतार गएका छन्।
एक जनाले एसएलसी गरेको थियो, अर्काले म्याट्रिक्स। दुवै जना प्राविधिकको
काम गर्छन्। एकजनाले एसी, फ्रिजको काम गर्छ, अर्काले कुर्ता, कमिज
सुरुवालमा बुट्टा बनाउँछ। उनीहरूले यहाँ कामै पाएका थिएनन्। एक जना जान
थालेको सात वर्ष भयो, अर्को जान थालेको चार वर्ष भयो।
यहाँबाट केटाहरू धेरै विदेश गएका छन्। यहाँ कामै छैन। दिनको चार सय रुपैया
मजदूरीबापत पाइन्छ। घरमा खाना खुवाउनुपर्ने दस जना हुन्छन्। नेपालमा बसेर
गुजारा चल्छ त ? विदेश नगई सुख छ त ? मेरा छोराहरूले केही कमाए भने यहाँ एक
दुई धूर जग्गा कमाउलान्। बिहे गरेर बच्चा पाउलान्, तिनलाई पढाउन सक्लान्।
त्यही आशा गरेको छु।
हामीलाई त बिजुली चाहिएको छ। लाइन धेरै गएर हेर्नोस् फ्यान चलाउन पाएको
छैन। बजारमा त टाइम टाइममा लाइन दिन्छ। साँझ परिसक्यो घरका केटाकेटीहरु
बत्ती बालेर पढ्नुपर्ने बेला, सबै बाहिरै अँध्यारोमा खेलिरहेका छन्। पढाई
पनि झन् विग्रने भयो। यता मच्छडले टोक्या टोक्यै गर्ने भयो। धेरै दुःख छ।
पछिल्लोपल्ट आन्दोलन धेरै लामो हुन गयो, मान्छे पनि मरे। रोजगारी खत्तम
भयो। कमाएर खानुपर्नेले भोकै बस्नुपर्ने भयो, मागेर खानुपर्ने भइसकेको
थियो।
हामी त आन्दोलनमा लागेका थिएनौँ किनभने काम गरेर खानुपर्ने मान्छेले
परिवारको गुजारा हेर्नुपथ्र्यो। आन्दोलन त देहातबाट आएकाले चलाएका हुन्।
उनीहरुले मधेसको हक चाहियो भने।
हामी त यहाँ धेरै पुराना बासिन्दा हौँ, आन्दोलनको के मतलब ? सिमांकन भन्छ,
प्रदेश एउटा बनाउने भन्छ्। हामी सहरबासीलाई यस्तो आन्दोलनको माने हुँदैन।
आन्दोलन रोकिएपछि मानिसले बल्ल काम पाउन थालेका छन्। सरसापटी लिएर परिवार
पालेका मानिसले भर्खर काम पाएर ऋण तिर्ने आशा जगाएका छन्। काम गरेर खाने
वातावरण चाहिएको छ।
जाहिर मिया, ७० वर्ष
मधेसलाई त यसपालि दसा नै लाग्यो। बडा जुलुम भयो। ब्ल्याकबाट आएर मात्र
गुजरबसर हुन सक्यो हाम्रो। स्कुल, कलेज बन्द भएर केटाकेटीले पनि पढ्न
पाएनन्। पैसा हुनेले त ट्युसन हाले, नहुनेले के गरुन् !
मधेसको हकहितका लागि भनेर यत्रो आन्दोलन भयो, आखिरमा मधेसले के पायो त ? जे
पाए नेताहरूले मात्र पाए। उनीहरूकै छोराछोरीले पाए। हाम्रा छोराछोरीलाई त
कतार, साउदी नगई सुख छैन। मेरै छोरा कतार गएका थिए। त्यसले मात्रै हाम्रो
गुजरबसर हुन्छ। अरू त के छ यहाँ। एउटा छोरा यहाँ व्यापार गर्छ, बन्दले
धन्दा चौपट छ। ऊ पनि कुन दिन कतार जाने हो मालुम छैन।
पहाडिया र मधेसीबीच भेदभाव छ, त्यही भेदभाव हटाउन यो आन्दोलन भयो भन्छन्।
खोई कहाँ छ भेदभाव मलाई थाहा छैन। हाम्रो यहाँ त भेदभाव छैन। यहाँ हाम्रो
छपकैयामा पनि केही पहाडे परिवार हुनुहुन्छ। हामी मुसलमानहरूको बीचमा केही
हिन्दु परिवार पनि हुनुहुन्छ। उहाँ र हाम्रो जिन्दगी उस्तै छ। जे हामीले
पाइरहेका छौं, उहाँहरूले पाउने त्यही हो। जे उहाँहरूले पाइरहनुभएको छ,
हामीले पाउने पनि त्यही हो।
एउटा आन्दोलनले यत्रो दुःख दियो, अब फेरि आन्दोलन भए कोही मान्छे आउनेवाला
छैनन्। यो सब नेताहरूको भलाइको लागि भइरहेको छ भनेर सबैले बुझिसके नि अब !
मोहम्मद इन्तजार, वर्ष २५
म त यो आन्दोलनको समय कतारमा थिएँ। पहिले नै फर्किने विचार गरेको थिएँ,
यहाँ सारा ठप्प छ भन्ने थाहा पाएर अलिदिन उतै बसेँ। उता बसुञ्जेल परिवारको
साह्रै फिकर भयो। ग्यास, पेट्रोल, नुनतेल जम्मै ब्ल्याकमा किन्नुपर्यो।
बच्चाहरूले पढ्न पाएनन्। अब फेरि आन्दोलन भए झन् मान्छे अलपत्र पर्छन्।
कोही आउनेवाला छैनन्। मेला हेर्न त आउलान्, ज्यान दिन को आउलान्!
मधेस प्रदेशको निम्ति यत्रो आन्दोलन भयो भनिन्छ। के त्यो माग पूरा भएर
आन्दोलन रोकिएको हो त ? होइन भने किन रोकियो त ? सबै आफ्नै स्वार्थ मात्र
हेरिरहेका छन्। आन्दोलनमा जानेहरूलाई ‘तपाईंलाई के चाहियो’ भनेर सोध्नुस्,
उनीहरू ‘मधेसको हक’ चाहियो भन्छन्। ‘मधेसको हक भनेको के हो’ भनेर सोध्नुस्,
उनीहरूलाई थाहा हुन्न। यहाँ कसैलाई पनि आफू किन आन्दोलनमा लागेको छु,
मधेसी दलहरूले उठाएको माग के हो थाहा छैन। खाली जोसै जोसमा, रिसै रिसमा
आन्दोलनमा हिँडेका छन्।
विक्रम सिंह, वर्ष २९
आन्दोलनमा यतिका मान्छे मरे। खै त सरकारले के ग¥यो ? के पायो मधेसले ? किन
भयो यो आन्दोलन ? किन गरियो यत्रो बन्द ? यो आन्दोलनले कसलाई दुःख भयो,
मधेसीलाई दुःख भयो। अब पनि हड्ताल नभए राम्रो हो। विद्यार्थीले पढ्न पाएका
छैनन्। पढ्दै नपढी, हड्ताल मात्र गरेर के फाइदा! के पाउँछन् उनीहरूले?
अशरफ आलम, वर्ष २९
मेरो त बेहालै भयो। बैंकको किस्तामा गाडी किनेको थिएँ। महिनाको ५० हजार
तिर्नुपर्छ। पाँच–पाँच बन्द भएर एक पैसा कमाइ भएन। कसरी तिर्ने ? जति
तिर्यो, तिर्यो, अहिले टाउकोमा व्याज चढेको चढ्यै छ। टेन्सनले बिरामी नै
परिसकेँ। हिजो पनि अस्पताल गएको थिएँ जचाउन।
पहिला अलिअलि नकमाएको होइन, कमाएको हो। त्यही कमाइबाट यो साल अर्को गाडी
थप्छु भनेर बसेको थिएँ, तर बैंकको व्याज तिर्दैमा खत्तम भयो।
म पनि मधेसी हुँ, मेरो के हित गर्यो त यो आन्दोलनले ?
बरु नेपाल पाँच वर्ष पछाडि धकेलियो भन्ने मलाई लाग्छ। वीरगन्जको आफ्नै
आर्थिक स्थिति पनि यसले डाँवाडोल बनायो। यसलाई फेरि पहिलेकै अवस्थामा
ल्याउन दुई–चार वर्ष त लाग्ला। त्यो पनि भन्न सकिन्न। किनकि, धेरैको मन
मरेको छैन। मजस्तो सानो व्यवसाय गर्नेको त हालत खराब भयो भने ठूल्ठूलो
लगानी गर्नेहरूको के हाल भयो होला ? आपत परे पनि, दुःख परे पनि हाम्रो जाने
ठाउँ छैन। नाफा–घाटा जे भए पनि हामी यहीँका हौं, हामीले व्यापार गर्ने
यहीँ हो। जो पैसा लिएर जहाँ पनि जान सक्छन्, उनीहरू यहाँ किन बसिरहनुपर्यो।
उनीहरू त जान्छन् नि राम्रो ठाउँमा, सुरक्षित ठाउँमा।
वीरगन्जको यो हाल भइसक्यो, अब को आउलान् र आन्दोलनमा। पार्टीका कार्यकर्ता आउलान्, अरू त को आउलान् ! जनता आउँदैनन्।
मोहम्मद हदेश, वर्ष ६०
म सानो किराना पसल चलाउँछु। आन्दोलनले पाँच–छ महिना पसल चलाउन पाइएन।
हाम्रो यो ठाउँमा आन्दोलनको खासै प्रभाव परेको होइन। यहाँका एकाध
मान्छेबाहेक धेरै जना आन्दोलनमा जाँदा पनि गएनन्। त्यसको प्रभाव भने हामीले
पनि भोग्नुपर्यो।
मधेसको हक अधिकारका लागि यो आन्दोलन भएको हो। ठिक हो, हक अधिकार सबैलाई
चाहिन्छ। अधिकार नपाई हाम्रो उन्नति हुँदैन। हाम्रा केटाकेटीले लेखपढ गर्न
पाउँदैनन्। उनीहरूलाई नागरिकताको अधिकार चाहिन्छ, काम गरेर खाने अधिकार
चाहिन्छ। तर, आफ्नो अधिकारको निम्ति अर्काको अधिकार मिच्न मिल्छ र ! हामीले
एउटा अधिकार पाउनलाई अर्को अधिकार मिचेर झन् अन्यायमाथि अन्याय त गरेनौं।
हाम्रा केटाकेटी त्यसै पनि पढाइमा कमजोर थिए। स्कुलमा नियमित पढाइ हुँदा
पनि उनीहरूको कोर्स भ्याउन मुस्किल हुन्थ्यो। अधिकारका लागि उनीहरूलाई
पढ्नै नदिएपछि भोलि उनीहरू के बन्लान् ! पढाइ बिगारेर पाएको अधिकारको के
काम! अधिकारको निम्ति आन्दोलन हुँदा हामीले नुनतेल पनि ब्ल्याकमा
किन्नुपर्यो। यसले कसलाई फाइदा भयो त? मधेसलाई फाइदा भयो? भएन,
ब्ल्याकियाहरूलाई मात्र फाइदा भयो।
जनताले यो सब बुझिसकेका छन्। अब फेरि आन्दोलन भयो भने अब कोही जानेवाला छैनन्।
मधेसमा नेता भन्ने कोही छैन। जो चार–पाँच जना छन्, उनीहरूलाई जनताको
दुःखसँग कुनै सरोकार छैन। उनीहरू यो ठाउँका हुँदा पनि होइनन्। उनीहरूले
हाम्रो यो ठाउँ र यो मधेसकै निम्ति केही गरेका छैनन्। नेताहरूले आफ्नो
राजनीतिक भलाइको बारेमा सोच्नुलाई म गलत मान्दिनँ। जसले जे पेसामा हात
हालेको छ, उसले आफ्नो पेसामा उन्नतिको बाटो खोज्नु स्वाभाविक हो। तर,
राजनीति गरिसकेपछि जनताको भलाइ पनि हेर्नुपर्यो नि।
सविना खातुन, वर्ष १८
म कक्षा ११ मा पढ्छु। यही जेठमा जाँच आउँदैछ। पढाइ भएको छैन। छ महिना त
क्लास नै भएन। कोर्स आधाभन्दा बढी बाँकी छ। कलेजका सर–मिसहरूले आ–आफ्नो
किसिमले पढ्नू भन्नुभएको छ। कसरी पढ्ने ? हामी कोसिस त गरिरहेका छौं, तर
कतिले सक्छन्, कतिले सक्दैनन्। कोही त ट्युसन पढिरहेका छन्। सबै ट्युसन
पढ्न कहाँ सक्छन् र !
मधेसीले चाहेको भनेको हकअधिकार हो। हामी बोर्डरमा बस्छौं। काठमाडौं वा
पहाडतिर सबै सामान यहीँबाट जाने हो। काठमाडौंमा दालचामल पुर्याउने मुख्य
नाका भएर पनि वीरगन्जले कहिल्यै केही पाएन। न यहाँ विकास निर्माण भयो न त
सडक बन्यो। काठमाडौंले कहिल्यै हेरेन। यो आन्दोलन त्यही भएर भएको हो, तर
यसले केही भएन। नागरिकतामा अलि राम्रो कुरा भयो भन्ने सुनेकी छु, त्यो ठिक
भयो। अरू त जनताले झन् बढी दुःख पाए।
फेरि पनि यस्तै आन्दोलन गर्ने हो भने पार्टीका कट्टर कार्यकर्ताबाहेक कोही
आउँछन् जस्तो मलाई लाग्दैन। नेताहरूले बरु अर्कै किसिमको आन्दोलन
गर्नुपर्छ। जनताले दुःख नपाउने गरी, केटाकेटीको पढाइ नछुट्ने गरी आन्दोलन
कार्यक्रम घोषणा गर्नुपर्छ। तब पो जनताको समर्थन हुन्छ।
निलासा खातुन, गृहिणी
आन्दोलन किन भयो मलाई थाहा छैन। ठिकै होला र त सबै गए। हाम्रो ठाउँबाट धेरै
जना गए जस्तो लाग्दैन। यहाँ हामीलाई रोजीरोटीकै फिकर छ। खानेबस्ने नै
ठेगान छैन। आन्दोलन–सान्दोलन गरेर के फाइदा? जो आए पनि, जसको जे माग पूरा
भए पनि गरिबको दुःख गरिबसँगै रहन्छ।
पार्वती सिंह
हामीकहाँ यहाँ केही छैन। ढल यत्तिकै बगिरहेको देख्नुहुन्छ। बिजुलीबत्ती
छैन। मच्छड यस्तो लागेको छ, नगरपालिकाले सरसफाइमा ध्यान दिएको छैन। कोही
पनि नेता भएर कसैले केही गरेनन्। स्थानीय निर्वाचन भएको भए भन्न सकिन्थ्यो,
तर भन्न जाउँ त कसलाई।
महबुब अन्सारी, ७५ वर्ष
हाम्रो यहाँ पुर्खौंदेखि बसोबास छ। नागरिकता त हामीले पाएकै छौं। तर, त्यही
नागरिकता र नोकरीको विषयमा समस्या छ भनेर पूर्वतिरका नेताहरुले आन्दोलन
गरे। उनीहरुको साथैसाथ वीरगन्जका नेताहरु पनि लागे। हिजोआज त म कुनै कुरा
पनि बुझ्दिनँ। सबै हल्लै हल्ला गरिरहन्छन्। मेरा छोराहरु त पढेलेखेका
जागिरे छन्। एउटा बैंकमा छ अर्को अदालतमा। यस्ता कुरामा उनीहरुलाई न रुची
छ, न लागेकै थिए। बैंक बन्द हुँदा पनि ढोका लगाएर काम गथ्र्यो। त्यही
बैंकको ढोका पनि तोडिदिन्छु भनेपछि घरैमा बस्न थालेका थिए। यही टोलका
राजनीतिमा रुची राख्ने मान्छेहरु आन्दोलनमा गएका थिए। आखिर के पायो ? बन्द
भएर दुनियाँलाई कत्रो तकलिफ भयो। लास्टमा केहि न केहि भयो। हिजोआज त केहि
कुरो बोल्नु पनि डरै छ। म विरामी मान्छे धेरै बोल्न पनि सक्दिनँ। यस्ता
कुरा नेताहरुलाई नै सोध्नुस्।
किशोरी महतो नुनिया
म कमाउने खाने मान्छे हो। भन्सारमा क्लियरिङ एजेन्टका निम्ति काम गर्छु।
बन्दका बेला यहाँ भोकै मर्ने स्थिती भइसकेको थियो। म त कमाउनका निम्ति
भैरहवा गएर उताको भन्सारमा काम गरेँ।
मेरो छोरा पढिरहेको छ। उसले जागिर पाउनु पर्छ। यो चाहिने माँग हो। तर,
सिमांकनको कुरा उठाएको मैले बुझिरहेको छैन। राजनीति गर्नेले उसको हिसाबले
माग राख्छ। हामीले आफ्नो हिसाबले राख्ने हो।
अब राजनीति गर्नेहरुको के कुरा गर्ने? आजसम्म कसैले केहि गरेकै छैनन्। अरु त
अरु, यहाँ चुनाव जिताएको मान्छेले पनि त्यत्रो बन्दीको बेला वीरगन्जबाट
भागेरै काठमाडौं गइदिनु भयो। आखिर जित्नुभयो केको लागि? जिल्लाको निम्ति वा
जनताको निम्ति त यहाँ कसैले केहि गर्दै गर्दैन।
अब फेरि हडताल गर्ने भनेर सुन्दैछु। जनता कहिलेसम्म भुखै मर्ने? अब माँगेको
कुरा पनि काठमाडौंबाट कहिले दिँदै दिदैन त कहिलेसम्म झगडा गरिरहने? आखिर
जनताले कहिलेसम्म दुःख पाइरहने? अस्तिको आन्दोलनमा मधेसियालाई मारिदिएकोले
पनि जनतामा आगो बलिहाल्यो। पुलिसले त्यसरी मान्छे मार्नु हुँदैनथ्यो।
अफरुक आलम, खुद्रा व्यापारी
म दुकानदार मानिस, जुलुस, आन्दोलनमा जान मन लागेन। तर, आन्दोलन हेरेँ।
आन्दोलनको मुख्य माग सिमांकन फेरबदल हो जस्तो लाग्छ। सातबाट आठ प्रदेश
बनाउने माग हो। राम्ररी बुझेको छैन, तर नेताहरूले सोचेरै भनेका होलान्।
सुरुमा त धेरै मानिस गएका होइनन् आन्दोलनमा। पछि पुलिसले मान्छे मारेपछि
धेरै जना रिसाएर गए। पुलिसको आतंकले मान्छे झन् रिसाए। अब आन्दोलन भयो भने
मान्छे फेरि जान्छन् भन्ने मलाई लाग्दैन। उनीहरू नेतासँग पनि रिसाएका छन्।
सबै नेताको कमजोरी छ। कसैको कुरा कसैसँग मिल्दैन। मलाई मधेसी नेतामा कोही
मन पर्दैन। सबै आफ्नो स्वार्थमा काम गर्छन्।
मधेसीको मात्र के कुरा गर्नु, कांग्रेस पनि त्यस्तै छ. एमाले पनि त्यस्तै
छ। हामीले दुवैपटकको संविधानसभा चुनावमा एमालेलाई भोट हालेको हो, तर अहिले
एमालेको सरकार हेरेर दिक्क लाग्छ. त्यसको ढंग हेर्नुस न कस्तो छ?
रामचन्द्र महतो (इन्चार्ज, नेपाल वीरगन्ज टाँगा संघ)
गाडीवाडी केही चलेन। टाँगाले बहुत सेवा पुर्यायो जनताको। हाम्रो कमाइ पनि राम्रो भयो। अरू बेलाको भन्दा दुगुना भयो।
यो आन्दोलन सिमांकनको लागि भयो, मधेसको अधिकारको लागि भयो, मैले बुझेको
त्यत्ति हो। मधेसीका छोराछोरीले जागिर पाएका छैनन्। सब विदेश गएर काम
गर्दैछन्। मेरो पनि एउटा छोरा मलेसियामा गएर काम गर्दैछ। त्यसैले, मधेसको
हित हेर्ने हो भने कम्तिमा ५० जनाको जागिर खुल्दा १५ जना त मधेसको मान्छे
लिनुपर्यो।
फेरि आन्दोलनको एउटा लहर हुन्छ। अरु गयो त म किन नजाने? युवाहरू धुमधडाका गर्न पाउँछन् भनेर पनि जान्छन्।
अब फेरि आन्दोलन गर्ने रे भन्ने हल्ला सुनेको छु। पहिले त नेताहरूले
जनतालाई बुझाउनुपर्यो, अस्ति आन्दोलन गरेर के पायो? के पाएन? तपाईंहरू
जस्तै हाम्रो घरमा आएर सोध्नुपर्यो– के भयो, भएन भनेर। कोही नेता यसरी
हाम्रो घरमा हाम्रो कुरा सुन्न आएका छैनन्। हामीलाई के भयो के भएन थाहा नै
छैन।
मान्छेले छ–छ महिना आन्दोलन गरेको हेरिसके। यत्रो दुःख झेलिसके। रोजीरोटी
गुमाए। धेरैलाई परिवार चलाउन गाह्रो भयो। अब फेरि आन्दोलनमा आउँछन् जस्तो
मलाई लाग्दैन। आन्दोलन गर्दा बन्चरो आफ्नै खुट्टामा लाग्यो। अब नेताहरूले
अर्कै खालको आन्दोलन गर्नुपर्छ। उहाँहरूको दम छ भने सिंहदरबार घेर्नुस्।
किन मानिसलाई यहाँ मारपिट गराउने?