कथामाण्डौ (भाग ३)
कथामाण्डौ (भाग २)
http://sajha.com/sajha/html/index.cfm?threadid=120754&noofposts=2
........म:म:को आस मारिन, मखन तारिणी बहाल बाहिरको बोसो रहित ५ स्टार म:म: सेकेन्ड च्वाइस थियो | एक प्लेट बिना अचार खाइयो, ढ्याउ गरियो| अचार किन नखाएको भनेर चाहि नसोध्नु होला | सोधी हाल्नु भए अर्को भागमा भन्नेछु |........
कथामाण्डौ (भाग ३)
अँ म:म: संग अचार नखानुको २ कारणहरु छन्।
१) म:म:को असली स्वाद भनेको सिङ्गो म:म: क्वाप्प मुखमा हुलेर खानुमा हुन्छ| अचार सँग लत्पतिएको म:म: खाँदा जिब्रोले अचारको स्वाद पहिले चाख्छ र म:म:को स्वाद पछी | झूर फट्यास म:म: पनि मीठो अचारको कारण झूर भएको थाहा नै हुँदैन| अब देखि म:म:, बिना अचार खाने बारे बिचार गर्नु होला |
२) अचारमा मिसाइएको पानी सबैभन्दा शंकास्पद हुन्छ | पानी खराब पर्ने सम्भावना ज्यादा हुन्छ र “रेस्ट रुम इज बेस्ट रुम “ हुने सम्भावना प्रबल हुन्छ |
यो त भयो म:म:को कुरा | अब कथामाण्डौको बजार भाउ र खाना कै बारे केही कहन्छु |
अम्रिकामा सबथोक भए पनि धेरै थोक छैनन् | उही जाम पाउरोटी छोडेर कता जाम भने जस्तै ब्रेकफास्टमा | बिहानको परम्परागत ब्रेकफास्ट ग्वारामारी, सेल मार्पा (मालपुवा), जेरी स्वारी, पुरी तरकारी सबैभन्दा “मिस” गरेको कुराहरु हुन् परदेशमा | दोस्रो दिन ग्वारमरी खोजी खोजी खाइयो | मरुको विख्यात ग्वारामरी पसल भूकम्प पछी पुनर्निमार्ण गरेको घरमा अटेन | बेमिशाल स्वादको त्यो गवारामरिको युग सकिएकै हो कि, शंका भयो |
खास भन्ने हो भने यसपालीको यात्राको कुनै घोषित एजेण्डा नै थिएन | बिशुद्ध आफन्त माझ जीवन अनुभूत गर्न र ‘मिस” भएको परिकारहरुले जिब्रोलाई याद पुनर्ताजगी गर्नलाई नै थियो |
त्:खा, सन्या खुना, घरमै बनाउने योजना भो | सो अनुसार बनाइयो | स:पु म्हिचा, खागो किनेर ल्याइयो | स:पु म्हिचा मुखमा हाल्ने बितिक्कैको निस्कने स्यो (bone marrow)को झोलले मुखले स्वर्गीय आनन्दको अनुभूति गर्दो हो |
अर्को दिन मरुमा इन्द्र दाइको भट्टी गुल्जार भो, मित्रहरुको आत्मीय निम्तोमा| के के मात्र खाइएन| छोयला, भुटन, खाग्वो, जिब्रो फ्राई, न्ह्यपू फ्राई, पाँग्रा फ्राई, सुकुटी, कयगु क्वा ( ठुलो केराउको परिकार ), मी: क्वा ( मेठी टुसाईएको परिकार ), सानो माछा (झोल सहित), जं: ला ( काँचो नरम छाला सहितको परिकार ), लास्टमा धौ अनि सिसाफुसा|
नेवारी परम्परागत भोजमा, विभिन्न चरणमा निश्चित परिकारहरु पस्किने गरिन्छ | चिल्लो मासुको परिकारहरु पछी दोस्रो चरणमा छ्याल्ला र पाउँ क्वा ( अमिलो ) र अन्तिम चरणमा धौ र सिसाफुसा | सिसाफुसा अन्तर्गत भिजाइएको सानो केराउ, नून र फलफूलमा खासगरी मुला | पाचनक्रियामा चिल्लो पीरो अमिलोले पेट भित्र उत्पादन गर्ने अम्लिय ग्यासलाई न्युट्रीलीकरण गर्नका खातिर क्षारको पूर्ति सिसाफुसाले गर्ने गर्दछ|
अँ , व: ( बारा ) र चतांमरिको उल्लेख गर्न बिर्सेको | पश्चिमे समाजले हाम्रो चतांमरीलाई नै परिस्कृत बनाएर पिज्जा बनाएको हुनु पर्छ | अण्डा र चुँ:लाको टपिंग सहित |
सहर पुरै एकाइसौं शताब्दीको महानगर भैसकेको रहेछ | टोलै पिच्छे बर्गर कर्नर, कफि शप, पिज्जा कर्नर | बसन्तपुर दरबार वरिपरिको सबै घरको छाना रुफ टप रेस्टुराँ | ठेलामा म:म: भन्दा बढि सेकुवा र बर्गर | पानी पुरी र चटपटेमा पनि कम्ता भीड थिएन |
बिशाल बजारमा जीन्स पाइण्टलाई छोट्याउन गएको मौकामा एक कप कफि सुर्कयाउन मन लाग्यो | बजारको बिचमा कफि पिउनेहरुको भीड नै थियो, सीट खाली थिएन | मेनु हेरें- एस्प्रेसोको २७५, रेगुलर कफिको २५० | “का म्हाल:” भन्दै घर तिर लागियो | अम्रिकाको स्टार बक्स कफि भन्दा महंगो भाउमा पिउनेहरुको लामले देशले आर्थिक क्रान्ति नि गरिनै सकेको भान हुन्छ | अण्डा एकगोटाको पन्ध्र रुपैया ( अम्रिकामा ७-१० सेन्ट मै पाइन्छ )| सगरमाथाको देश भएर होला बजार भाउले आकाश छोइसकेछ | माग्नेले समेत पाँच रुपैया घटी लिदैन| हजार लिएर बजार जानु भनेको इजार न बाँधिकन निस्कनु जस्तै हो | तै पनि देश चलेकै छ, जताततै ट्राफिक जामका बाबजूद |
रु. अट्ठाइस सयमा केन्टुकी फ्राई चिकेनमा बिग मिल खानेको लाइन त्यतिकै लामो छ | एउटा बियरको ६५० तिरेर झुम्मिएकै छन् | एकप्लेट म:म: को ४०० तिरेर डकारेकै छन् | मुस्ताङ्ग मनाङ्ग पानी पँधेरो भएको छ | सौराह केटाकेटीलाई हाति गैडा देखाउन लैजाने चिडियाखाना भएकोछ |
उहिले बौद्ध तीर्थ यात्रा भनेर लुम्बिनी, गया, सारनाथ र कुशी नगर जान्थे हुनेखानेहरु, साइत जुराएर | अहिले हुलका हुल थाईल्याण्ड, कम्बोडिया , श्रीलंका र बर्माको चार धामे प्याकेजमा जान्छन् | तलब उही हो, आम्दानी उही हो| कसैको आम्दानी छैन रे , काम छैन रे, सब गरीब छन् रे| ठमेल र झमेलका बार र रेस्टुराँमा नेपाली बाहेक भेट्न मुश्किल छ | देश गरीब छ |
सबैको मुखमा एउटै कुरा छ “यार बाच्न साह्रै गाह्रो भयो अम्रिका आउनु पर्यो” | म हाँसु कि रोउं हुन्छु | र भन्छु – उसो भए डिभी भर, परेको लाल बाबुले व्यहोर्छ |
क्रमश: