बा झिसमिसेमै उठेर टोललाई सेलरोटीझैँ एक फन्को मारेर घर आइपुग्नुहुन्छ । म दुईदुईवटा सिरक खापेर मस्त सुतिरहेको हुन्छु । बा दोस्रो चिया पिउँदै गर्दा म आँखा मिच्दै ब्रसमा टुथपेष्ट हालेर ‘आच्छु’ भन्दै बाथरुम पस्छु । मलाई धाराको पानी चिसो लाग्छ । बालाई हाँसो लाग्छ । मसँग जाडोको बहाना छ । बासँग जीवनमा अझै धेरै थोक गर्नुछ भन्ने चाहना छ । म भरखरको, तन्नेरी, आफ्नै आँखामा कमजोर लाग्छु । बा साठी नाघिसकेका बृद्ध हरेक काममा जोर लगाउनुहुन्छ ।
त्यसो त बा अर्कै जमानाको, म अर्कै जमानाको । बा जीवनभर काम गरेर रिटार्यड हुनुभएको नागरिक । म जवानीमै केही नगरी टार्यड भएको नालायक । बा रिटार्यड जीवनमा झन् बेफुर्सदी हुनुहुन्छ । म भरी जवानीमा फुर्सदको जीवन बाँचिरहेछु ।
बा भत्किएका चीजहरु बनाउनुहुन्छ । भान्साको ढोकाको चुकुलको उक्किएको पेज कस्नुहन्छ । बिग्रिएको धाराको टुटी फेर्नुहुन्छ । भित्ते घडीको सुइ चल्नै छाड्यो, तुरुन्त ब्याट्री किनेर ल्याउन जानुहुन्छ । टोल सुधार समितिको मिटिङ्गमा आफ्ना राय प्रकट गर्न जाने पनि बा नै हो । फूलहरुमा पानी हाल्नेपनि बा नै हो । कतै केही चुहिए टाल्नेपनि बा नै हो । बा बिजुलीको बिल तिर्न प्राधिकरण पनि जानुहुन्छ । घरको तिरो तिर्न हिन्नेपनि वहाँ नै हो । एक महिनादेखि नधोइएको मेरो धुले मोटरबाइक मलाई थाहै नदिइ सुटुक्क धोएर टिलिक्क पार्दिनुहुन्छ बा । बा भत्किएका चीज देख्नै सक्नुहुन्न । त्यसैले छोराछोरीका रहरहरुपनि भत्किन दिनुहुन्न । छोराछोरीका सपनाको पेजकिल्ला उक्किन दिनुहुन्न । म सधैँ बाका अघिल्तिर ङिच्च परिरहन्छु । म बाजस्तो यताउता कहीँ जान्न । म आफैँमा बढी सीमित भइरहन्छु ।
बा हरेक दिन बिहानै उठेर चिसो पानीले नुहाउनुहुन्छ । म उही जाडोकै बहाना गर्दै हप्तौँ बितिसक्दा पनि फोहोरीको फोहोरी नै बसिरहेको हुन्छु । बा हरेक दिन दाह्री काट्नुहुन्छ । मलाई मानौँ ब्लेडसित एलर्जी छ । त्यसैले म मैलो कट्कटाउँदो देखिन्छु । बा भरखरको भरभराउँदो देखिनुहुन्छ ।
अँहँ, बालाई पटक्कै जाडो हुन्न । बा खाना खाएपछि एकघण्टा घाम तापेर बस्नुहुन्छ । म दिउँसो पनि कोठाभित्र सिरक खापेर बस्छु ।
बा भन्नुहुन्छ, ‘जाडो त त्यस्ता व्यक्तिलाई हुन्छ, जो हरदम सिरकमै गुट्मुटिएर बसिरहन्छ । त्यस्तो व्यक्तिलाई हुन्छ जाडो, जो जाडो भो भन्दै धेरै भुट्भुटिएर बसिरहन्छ । जाडो तिनैलाई बढी हुन्छ जो जाडोसँग बढी भाग्छ । जो जाडोसँग डराउँछ । जो न जाडोको छेउमा जाने आँट गर्न सक्छ, न जाडोलाई आफ्नो छेउमा आउन दिने हिम्मत गर्न सक्छ ।’
बा अक्सर भनिरहनुहुन्छ, ‘छोरा, जाडो त मान्छेको शरीरमा भन्दापनि बढी मनमा हुन्छ ।’
भन्नलाई मात्र म बाभन्दा एक पुस्ता अगाडी, साँचो अर्थमा म बाभन्दा धेरै युग पछाडी ! बाको कपालमात्र सेतो हौसला साउनजस्तै हरियो छ । बाको आँखामात्र कमजोर हो, इच्छाशक्ति कुनै पर्वतभन्दा होचो छैन । बाको हड्डीमात्र बूढो, जाँगर तन्नेरीको भन्दा कैयौँ गुना बढी छ ।
यहि छ बा र मबीचको फरक । म अक्सर सिरकमा, बा अक्सर काममा । म सधैँको निकम्मा । बा केही भन्नुहुन्न धन्न !
मान्छेहरु भन्छन् मेरा आँखा बाको जस्तै छ रे । मेरो हिँडाइ बाको जस्तै हिँडाइ छ रे । मेरो हात खुट्टा बाको हात खुट्टा जस्तै छ रे । तर मेरो जाँगर, बाको एक चौथाइजति पनि छैन । कठै, बाको जतिको हौसला र हिम्मत ममा कहाँ होला ? बाजस्तो म कैले हुने होला ?
Last edited: 16-Apr-24 01:25 AM