२०६६ आश्विन १८ - यो अन्तर्वार्ता नेहरू स्मारक पुस्तकालय तथा सङ्ग्रहालयको मौखिक इतिहास विभागका लागि डा. हरिदेव शर्माले बीपीसाग १९७६ फेब्रुवरी २६ र २७ मा लिएका हुन् । उक्त पुस्तकालयबाट पदमबहादुर थापाले प्राप्त गरेको उक्त अन्तर्वार्ता कांग्रेस नेता प्रदीप गिरीले अनुवाद गरेका हुन् । अन्तर्राष्ट्रिय अहिंसा दिवस एवं १ सय ४० औं गान्धी जयन्तीको अवसरमा उक्त अप्रकाशित अन्तर्वार्ताको एक अंश प्रस्तुत गरिएको छ ।
तपाईंको प्रारम्भिक राजनीतिक संलग्नता के थियो ?
सन् १९२१ मा धेरै सानो थिएँ । म सात वर्षको थिएँ होला । तर, त्यस समयका दुईवटा ठूला घटनाको मलाई सम्झना छ । एउटा, बनारसमा बेलायती राजकुमारको भ्रमणको अवज्ञा भएको घटना थियो । त्यहाँ पूरै हडताल भएको थियो । कांग्रेसले त्यो हडतालको आह्वान गरेको थियो । तसर्थ, त्यस दिन पूरै सहर मरेजस्तै सुनसान थियो । अनि, अत्यन्त कौतूहल लागेर मैले झ्याल खोलेर बाहिर हेर्न खोजें । तर मलाई रोकियो । हडताललाई भावनाबाटै हेर्नुपर्छ भनियो । झ्यालहरू बन्द थिए । त्यस दिन बनारस सहर पूरै सुनसान थियो ।
हरेक साँझ नगरको सभागृहअगाडि विदेशी लुगा जलाइँदा अर्को छाप परेको थियो । उनीहरू अङ्ग्रेज मान्छेजस्तो देखिने छत्रेटोपी लगाएको पुत्ला बनाउँथे र विदेशी कपडा निकालेर त्यसैका साथमा जलाउँथे । हाम्रो परिवारका महिला सदस्यहरू आफ्ना राम्रा लुगाहरू त्यहाँ लगेर जलाउन इच्छुक थिएनन् । त्यसैले यस सम्बन्धमा घरमा बहस
चल्थ्यो । तर अन्त्यमा त्यसका लागि सबैजना सहमत भएका थिए ।
गान्धीजीले एक करोड रुपैयाँको कोष जुटाउन आह्वान गर्नुभएको थियो । मलाई सम्झना छ, हाम्रो घरमा आमा र मेरा नातागोतासँग थोरै मात्र गहना थिए । तर उहाँहरू कोष जम्मा गर्दै सडकमा आएका मानिसतर्फ आफ्ना गहना फ्याँक्दै हुनुहुन्थ्यो । कोष जम्मा गर्न एउटा फराकिलो खास्टो सडकमा फैलाइएको थियो । अनि, मानिसहरू आफूसँग जे-जे छ, पैसा, गहना त्यसमाथि फ्याँक्थे । यो मेरो सम्झनामा रहेको अर्को घटना हो ।
अनि, जतासुकै खुला सभा हुने गर्थे । त्यस समय नगरको सभागृहमा माइक थिएन । स्पिकरबाट धेरै चर्को आवाज आउँथ्यो । म गान्धीजीको प्रवचन पनि अझै सम्झन्छु । उहाँ धेरै बिस्तारो तर प्रभावकारी रूपमा बोल्नुहुन्थ्यो । मानिसहरूले उहाँको भनाइ धेरै टाढाबाट राम्ररी सुन्न सक्थे । शिवप्रसाद गुप्ता ठूलो आवाजका साथ गर्जन्थे । मलाई याद छैन, सायद शौकत अली र महम्मद अली पनि त्यसरी नै गर्जन्थे होला ।
तपाईं नेपालको भएर पनि भारतको स्वतन्त्रताका लागि लड्न किन इच्छुक हुनुभयो ?
त्यसका दुई कारण थिए । पहिलो, हामी नेपालबाट निष्कासित भएका थियौं । हाम्रा लागि नेपालमा बस्न अप्ठ्यारो भएपछि भारत आउनुपर्यो । भारतको बनारस र बिहारमा रहँदा क्रान्तिकारी आन्दोलनका मानिसको सम्पर्कमा आयौं । हाम्रो सुरुवात यसरी भयो । अनि, जबसम्म भारतले स्वतन्त्रता प्राप्त गर्दैन, तबसम्म नेपाली प्रणालीको प्रजातान्त्रिकीकरण सम्भव छैन भन्ने निष्कर्षमा पुग्यौं । मैले सन् १९४४ मा नेपाल राष्ट्रिय कांग्रेसको स्थापना गर्दा पनि एउटा नारा 'भारतको स्वतन्त्रता प्राप्त नगरी नेपालमा प्रजातान्त्रिक आन्दोलन सम्भव छैन' भनेको नै थिएँ ।
त्यस समय नेपालको सत्तामा सुधार गर्न, सत्तालाई नरम र प्रजातान्त्रिकीकरण गर्नबाट रोकिराखेको त्यही शक्तिले भारतलाई पनि आफ्नो अधीनमा राखेको थियो । तसर्थ, हाम्रो दृष्टिमा नेपालको प्रजातन्त्रको लडाइँ र भारतको स्वतन्त्रताको लडाइँ एउटा सिक्काका दुई पाटा थिए । आजसम्म यस सम्बन्धमा हाम्रो पार्टीमा छलफल हुने गर्छ । हामीले सन् १९४७ मा पार्टी खोल्दा मैले त्यसो भनेको थिएँ र अहिलेसम्म पनि मेरो निष्कर्ष त्यही छ । तिनताका भारतीय स्वतन्त्रतालाई हाम्रो आन्दोलनको पूर्वसर्तको रूपमा हामीले लिएका थियौं ।
तपाईं युवा विद्यार्थी हुँदा कम्युनिस्टको प्रभावमा पर्नुभयो । अनि, किन कम्युनिस्ट पार्टीमा चाहिँ प्रवेश गर्नुभएन त ?
उनीहरू तुरुन्तै सदस्यता दिँदैनथे । कम्युनिस्टले परीक्षणकालमा राखेर मात्र सदस्यता दिन्छन् । यो तीसको दशकको सुरुको कुरो हो । त्यससमय कहिले म परिवारका साथमा रहन्थेँ, कहिले बाहिर रहन्थेँ । भारतमा स्वतन्त्रताका लागि ठूलो आन्दोलन चलिरहेको थियो । कम्युनिस्ट आन्दोलन बेसुरको थियो । मेरो परिवार कांग्रेसमा रहेकाले भावनात्मक रूपमा कम्युनिस्टसँग तालमेल मिलाउन पनि म सक्दिनथेँ । हामी गान्धीजीको भूमिकाका बारे छलफल गथ्र्यौं । मेरा पिताले गया सम्मेलनमा भाग लिइसक्नुभएको थियो । त्यहाँ यथास्थितिवादी, परिवर्तनका हिमायतीलगायतका विषयमा छलफल भएको थियो । त्यस सम्बन्धमा त देशबाहिर र भित्र होइन, स्कुल र कलेजमा समेत छलफल भएको
थियो । तसर्थ, म पनि राष्ट्रिय सरोकारको सामान्य चासोबाट मुक्त रहन सकिनँ । त्यो कम्युनिस्ट आन्दोलनमा चाख राख्न थालेपछिको कुरो हो । मेरो राजनीतिक चिन्तनलाई स्टालिन र ट्राटस्कीको लडाइँले प्रभावित बनायो । म स्टालिनभन्दा धेरै बढी ट्राटस्कीतर्फ आकषिर्त भएँ । कम्युनिस्ट आन्दोलनमा मलाई आकृष्ट गर्ने व्यक्तिको नाम लिनुपर्यो भने म ट्राटस्कीकै नाम लिन सक्छु । उनी लेखाइ र व्यक्तित्वमा अभूतपूर्व व्यक्ति थिए । उनीभन्दा पछि लेनिन आउँछन् तर स्टालिन होइन । सन् १९२९ को सत्ताको लडाइँबाट स्टालिन उच्च तहमा पुगेपछि त्यहाँ हत्या भएका समाचार आउँदा मलाई ठूलो चोट पुग्यो । तसर्थ, मैले त्यो कम्युनिस्ट पार्टी नै त्यागें । मैले पार्टी छोड्नुका दुई स्थानीय कारण पनि थिए । पहिलो, उनीहरूले आफूलाई राष्ट्रिय भावना वा आन्दोलनमा अनुकूल बनाउन सकेका थिएनन् । भारत स्वतन्त्र भएपछिको कम्युनिस्ट आन्दोलनमा आलोचनात्मक कुरा पच्न सक्तछ तर त्यसबेला त्यसो गर्नु असम्भव थियो ।
तपाईंले कांग्रेस समाजवादी पार्टीमा लागेपछि वैचारिक सन्तुष्टि पाउनुभयो ?
हो, पाएँ । त्यसपछि नै मैले समाजवादी सिद्धान्तको ज्ञान पाएँ । र, त्यस पार्टीमा लाग्दा हाम्रो राष्ट्रिय स्वतन्त्रताको आन्दोलनमा भूमिका खेल्नबाट मैले वञ्चित हुनुपरेन । मलाई लाग्छ, मेरा लागि र धेरै व्यक्तिका लागि यही नै मुख्य आकर्षण थियो । हामीहरू राष्ट्रिय तरङ्गबाट अलग भएका थिएनौं । तसर्थ, यही कारणले म कांग्रेस समाजवादी पार्टीप्रति आकषिर्त थिएँ । यो एक त राष्ट्रिय आन्दोलनकै एउटा अङ्ग थियो । यो, त्यही समय माक्र्सवादी समाजवादी आन्दोलन नामको एउटा ठूलो अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनको अङ्ग पनि थियो । तसर्थ, यसले हामीलाई दोहोरो सन्तुष्टि प्रदान गर्यो । कम्युनिस्ट आन्दोलनबाट त्यो सम्भव थिएन । त्यसका दुई कारण थिए । पहिलो, त्यसले आफूलाई राष्ट्रिय भावनाबाट अलग्याएको थियो । दोस्रो, ट्राटस्की र स्टालिनको शक्तिको नाङ्गो लडाइँबाट यसको सिद्धान्तविहीनता उदाङ्गो भइसकेको थियो ।
तपाईं समाजवादी कांग्रेस पार्टीको ँसैद्धान्तिक धङधङी’ माक्र्सवाद नै थियो भन्न सक्नुहुन्छ ?
मेरो हकमा थिएन । समाजवादी आन्दोलनमा लागेका हामी अधिकांशमध्ये जयप्रकाश नारायण भने बढी माक्र्सवादी हुनुहुन्थ्यो भन्ने मलाई लाग्छ ।
त्यसबेला त्यो पार्टी माक्र्सवादी-लेनिनवादी थियो ?
माक्र्सवादी-लेनिनवादी भनेको के हो ? पछिल्लो कालमा त्यतातर्फ केही झुकाव बढ्दै गएका कारण उनीहरूले यसलाई माक्र्सवादी-लेनिनवादी भन्न थालेका थिए । तर त्यससमय यो पार्टी माक्र्सवादी मात्र थियो । उनीहरू यसलाई लेनिनवादी भन्दैनथे । मलाई लाग्छ, माक्र्सवादी-लेनिनवादी भन्ने विशेषण भर्खरै उत्पन्न भएको हो, तिनताक यो विशेषण प्रचलनमा आइसकेको थिएन ।
तपाईंलाई अहिले वर्षौंपछि जीवनको समग्र दृष्टिकोणमा माक्र्सवादको छाप परेको छजस्तो लाग्छ ?
हो, केही हदसम्म छ । कसैले पनि समग्र सत्य बुझेको भने हुँदैन भन्ने मेरो धारणा छ । ठूला-ठूला विचारकले समेत सत्यको एउटा अंश मात्र देखेका छन् । ममाथि माक्र्सबाट ठूलो प्रभाव परेको छ । उनको तरिकाबाट आज पनि म प्रभावित छु । उनले आफ्नो निष्कर्षमा भनेजस्तो भने सधैं हुँदैन, तर उनी त्यस निष्कर्षमा कसरी पुग्छन् भन्ने प्रक्रिया महत्त्वपूर्ण कुरो हो । समाजको बन्दोबस्त र मनोविज्ञानमा आर्थिक अवस्थाले कसरी ठूलो असर पार्छ, क्रान्ति कसरी हुन्छ र समाजमा रहेका शक्तिहरू कसरी क्रान्तिमा एक हुन्छन् भन्ने उहाँको धारणा महत्त्वपूर्ण छ । इतिहासको आर्थिक प्रस्तुतीकरण मौलिक विचार थियो । इतिहास समग्र रूपमा आर्थिक विकासमा मात्र निर्भर रहन्छ भन्ने मलाई लाग्दैन । त्यस्तो भएको छैन । तर हामीले आर्थिक पक्षको मूल्याङ्कन गर्नैपर्छ ।
तर, मलाई लाग्छ, त्यो नै उहाँको एउटा मुख्य विश्वासमध्ये थियो ?
हो, त्यो सत्य हो । उहाँ हरेक वस्तुलाई मूलतः आर्थिक दृष्टिबाट हेर्नुहुन्थ्यो । निश्चय पनि अर्थतन्त्र इतिहासको उत्प्रेरक शक्ति हो । तर, कुनै एउटा कारणलाई औंल्याएर त्यसले मात्र इतिहासलाई अघि बढाउँछ भन्न तपाईं सक्नुहुन्न । यसअघि यस कारणलाई महत्त्व दिइएको थिएन । यसैले यो उहाँको मौलिक योगदान थियो । अनि, समाज एक रूपबाट अर्को रूपमा कसरी रूपान्तरण हुन्छ भन्ने सम्बन्धमा उहाँको क्रान्तिको विवेचना महत्त्वपूर्ण थियो । मलाई लाग्छ, सबै महान् विचारकमध्ये उहाँले मात्र समाजको गतिशीलताको महत्त्वलाई गहिरोसँग बुझ्नुभएको थियो । समाज गतिहीन हुँदैन, समाजभित्र निरन्तर रूपमा परिवर्तन आइरहेको हुन्छ । र, अन्ततः उसको परिमाणात्मक परिवर्तन गुणात्मक परिवर्तनमा रूपान्तरित हुन्छ । मलाई लाग्छ, उहाँले यो कुरो धेरै प्रस्टसँग बताउनुका अरू दुई कारण थिए । त्यस सम्बन्धमा मैले पनि लेखेको छु । उहाँले क्रान्तिमा भाग लिएर आफ्नो अवधारणालाई वास्तविक राजनीतिमा समेत प्रयोग गर्न खोज्नुभयो । । तसर्थ, उहाँको लेखनमा धेरै स्पष्टता र प्रभावकारिता छ ।
गान्धीले कुन प्रकारबाट तपाईंलाई प्रभावित बनाउनुभएको थियो ?
म कार्लमाक्र्ससँग गान्धीको तुलना गर्दिनँ । माक्र्स आफैंमा एउटा विशिष्ट कोटिमा हुनुहुन्थ्यो । त्यस्तै, गान्धी पनि एउटा अर्को विशिष्ट कोटिमा हुनुहुन्थ्यो । तर, बीसौं शताब्दीका राजनीतिक विचारकमध्ये गान्धीजी नै सबैभन्दा बढी मौलिक विचारक हुनुहुन्थ्यो । मलाई लाग्छ, यसबेला माक्र्सभन्दा पनि बढी सान्दर्भिक गान्धी हुनुहुन्छ । गान्धीवाद कसरी असफल भयो भन्ने सन्दर्भमा केही वर्षपहिले मैले एउटा प्रवचन दिएको थिएँ । मैले त्यसमा गान्धीवादको आलोचना गरेको थिएँ । तर मैले क्रमशः गान्धीसँग एउटा नितान्त नौलो सोच रहेछ भन्ने बोध गर्दै गएँ । उहाँको सोच लेनिनको भन्दा पनि महान् थियो । अरू कुनै क्रान्तिकारीको भन्दा महान् सोच थियो, त्यो । मैले माओका सन्दर्भमा धेरै पढेको छैन । म उनलाई पनि उच्च्ाकोटिमा राख्छु । तर, मलाई थाहा नभएकाले उनको मूल्याङ्कनचाहिँ गर्न सक्तिनँ । गान्धीजीको धेरै आलोचना भए । प्रारम्भका ती आलोचकमध्येका जयप्रकाश आफैं पनि प्रकाण्ड विद्वान् हुनुहुन्थ्यो । अब, गान्धीको मृत्युपश्चात्चाहिँ उहाँले दिनुभएको विचार र त्यसलाई व्यवहारमा प्रयोग गर्नुभएको प्रक्रियालाई जयप्रकाशजस्ता आलोचकहरूले पछ्याइरहेका छन् ।
अब, तपाईंको आफ्नै सन्दर्भमा माक्र्सवादबाट गान्धीवादमा परिवर्तन हुन कसरी सम्भव भयो ?
त्यसो होइन । मैले आज पनि माक्र्सवादलाई पूरा त त्यागेकै छैन । माक्र्सवादमा मेरो विचारका धेरै महत्त्वपूर्ण तत्त्व छन् । म माक्र्सवादलाई पूरै त्याग्न सक्तिनँ ।
तपाईले गान्धीजीलाई भेट्नुभएको थियो । कोसित जानुभयो भेट्न ?
हाम्रो आन्दोलनप्रति गान्धीजीको पनि चाख रहेको कुरा त्यतिखेर लोहियाजीले थाहा पाउानुभएको रहेछ । अनि सन् १९४८ जनवरी २८ का दिन अर्थात् गान्धीजीको हत्या हुनुभन्दा दुई दिनअघि म उहाँको साथ लागेर गान्धीजीलाई भेट्न गएको थिएँ । उहाँले गान्धीजीसित मेरो परिचय गराउनुभयो । मैले त्यो दिन उहाँसँगै बिताएँ ।
उहाँले के भन्नुभएको थियो ?
गान्धीजीले भन्नुभएको थियो, 'म तपाईंलाई सहयोग गर्न सक्दिनँ ।, जब आफ्नै मानिसले भारतमा मेरो कुरा सुन्दैनन् भने राणाले सुन्लान् भन्ने आशा कसरी गरौं, म कुनै सहयोग गर्न सक्तिनँ'- उहाँका शब्दहरू यस्ता थिए । उहाँ धेरै निराश अवस्थामा हुनुहुन्थ्यो । अनि, मैले उहाँलाई भनको थिएँ, 'म तपाईंकहाँ कुनै ठूलो सहयोगको आशा लिएर आएको होइन, म त तपाईंको नैतिक समर्थन र आशीर्वाद चाहन्छु ।' अनि, उहाँले भन्नुभएको थियो, 'तपाईंलाई मेरो आशीर्वाद छ । जब मानिसहरूले आफ्नो अधिकारका लागि वा शोषण र दमनका विरुद्ध लड्छन्, म उनीहरूको साथमा हुन्छु ।' म दिनभरि नै त्यहाँ बसें । उहाँले कस्तो भोजन, कसरी गर्नुहुन्थ्यो भन्ने देखें । उहाँ दिउँसोको खाना खानासाथ त्यही ठाउँमा केहीबेर झकाउनुभएको थियो । उहाँ एउटा सानो तन्ना ओछ्याएर त्यही ठाउँमा सुत्नुभएको थियो । उहाँ उठ्नुहुँदा केही विदेशी पत्रकारहरू आइपुगेका थिए ।
गान्धीजीको सन्दर्भमा पुनः मूल्याङ्कन गर्न समयको कुन बिन्दुमा पुगेर, कसरी थाल्नुभयो ?
भर्खरै हो । मैले दुई-तीन कारणले गान्धीजीको पुनर्मूल्याङ्कन गर्न थालेको हुँ । पहिलो, भारत स्वतन्त्र भएपछि यसले पारेको नैतिक र आध्यात्मिक प्रभाव हो । तपाईं हामीलाई प्राप्त भएको आजको वातावरण गान्धीजीकै उपहार हो । राजेन्द्रप्रसाद, जवहारलाल नेहरू र अरू सबै, अर्थात् त्यो हराउँदै गएको पुस्ता गान्धीवादको प्रत्यक्ष अनुपालक र समर्थक थियो । तर, विश्वका अरू मुलुकका भन्दा भारतको राजनीति राम्रो छैन । यो अझ खराब छ । तसर्थ, यो गान्धीवादको असफलता हो त ? के, गान्धीवादले भारतीय राजनीतिमा कुनै नैतिक गुण दिएन ? तर, जब हामी विकल्प के थियो त भनेर सोच्न थाल्छौं, समाधान के हुनसक्छ भनेर सोच्न थाल्छौं, तब हामी माक्र्सवादतर्फ हेर्छौं । अनि, त्यसले पनि धेरै कारगर समाधान दिन सकेको पाउँदैनौं ।
दोस्रो, औद्योगिकीकरणले उत्पन्न गरेका समस्याले पनि गान्धीको विचारलाई अति सान्दर्भिक बनाएको छ । हाम्रा लागि र अतिविकसित राष्ट्रका लागि मात्र होइन, उहाँ सबै राष्ट्रका लागि सान्दर्भिक हुनुभएको हो ।
'समाज कसरी सङ्गठित हुन्छ, यो कसरी विकेन्दि्रत हुन्छ, कसरी आवश्यकता पूरा गर्नुपर्छ, कसरी उद्योगको विकेन्द्रीकरण गर्न सकिन्छ, र सम्पत्ति नै सुख र खुसीको एक मात्र र अन्तिम वस्तु होइन' भन्ने देखाउन सक्ने अर्को कुनै विचार हामीसँग छैन । अहिले पश्चिमी जगत्ले औद्योगिकीकरणका कारण प्राकृतिक स्रोतको विनाश भएको, पारिस्थितिकी बिग्रेको, प्रदूषणलगायतका समस्या बढेको अनुभव गर्न थालेका छन् । यी समस्याहरू अहिलेसम्म भारतका लागि गम्भीर समस्या नभए पनि समस्या बढ्दै गएका छन् । सम्भवतः ऊर्जा र पेट्रोलियम पदार्थको अभावका कारण हामीले आफ्नो आर्थिक नीतिको पुनर्मूल्याङ्कन गर्न बाध्य हुनुपर्नेछ । हामी कस्तो किसिमको समाज निर्माण गर्न चाहन्छौं ? हामीसँग अमेरिकी नमुना मात्र छ । रूसले पनि अमेरिकी नमुना नै प्रयोग गरिरहेको छ । यसै वर्षभित्र अमेरिकाको स्तरमा पुग्छौं, उनीहरू भन्दै छन् । उनीहरू आफ्नो उत्पादनको स्तरलाई अमेरिकाको उत्पादन स्तरसाग तुलना गर्छन् । तसर्थ, विश्वमा अमेरिकी नमुना मात्र छ र जवहारलालजीले पनि त्यही नमुना अपनाए । के त्यो नै प्रशंसनीय नमुना हो त ? अमेरिकाको विश्वको छ प्रतिशत जनसङ्ख्याले विश्वको साठी प्रतिशत प्राकृतिक स्रोतको उपयोग गरिरहेको छ । हामी त्यसको स्तरमा कहिल्यै उक्लन सक्दैनौं । त्यो सम्भव नै छैन ।
तपाईंले नेपाली कांग्रेसको स्थापना गर्न सहयोग लिनका लागि जयप्रकाश नारायण र राममनोहर लोहियालाई नै किन छान्नुभएको हो ?
म अरू कोसँग जान सक्थें त ? यसको पहिलो कारण, म भारतको राष्ट्रिय आन्दोलनमा आबद्ध भइरहेको थिएँ । तसर्थ, म उहाँहरूसँग एउटै आन्दोलनमा थिएँ । हुन त, त्यतिखेर अरू राष्ट्रवादी नेताहरूसँग मेरो सम्पर्क थियो । तर उहाँहरूका आफ्नै सीमा थिए । उहाँहरू सरकारमा भएको हुँदा हामीलाई प्रत्यक्ष रूपमा सहयोग गर्न सम्भव
थिएन । मैले जवाहरलाल नेहरूसँग आफ्ना समस्या लिएर मेरठ कांग्रेसमा पहिलोपल्ट भेट गर्दा उहाँको मप्रति पूर्ण सहानुभूति थियो । तर उहाँ त्यसबेला भाइसरायको 'कार्यपरिषद्' को उप-सभापति हुनुहुन्थ्यो । तसर्थ, उहाँबाट धेरै सहयोग प्राप्त हुने सम्भावना भएन ।
उहाँले त्यसबेला के भन्नुभएको थियो ?
उहाँले भन्नुभएको थियो, 'मेरो तपाइर्ंलाई पूर्ण सहानुभूति छ, तर सरकारमा भएका नाताले हामीले नेपाल सरकारसँग सरकारकै रूपमा व्यवहार गर्नुपर्छ । तसर्थ, हामी यस अवस्थामा बढी सहयोगी हुन सक्तैनाैं । तपाईंले आफ्नो आन्दोलन उठाएपछि, हामी तपाईंलाई सहयोग गर्न सकौंला ।' त्यतिखेर जयप्रकाश स्वतन्त्र हुनुहुन्थ्यो । मैले जयप्रकाशलाई लोहियाले पनि मलाई सहयोग गर्दै हुनुहुन्छ भन्ने जानकारी गराउँदा उहाँले भन्नुभयो- 'ठीक छ, लोहिया अनुभवी हुनुहुन्छ, तपाईंले उहाँको सहयोग लिनु उपयुक्त हुन्छ । मेरो सहयोगको खाँचो पर्दा तपाईं जतिखेर पनि मकहाँ आउन सक्नुहुन्छ ।'
सङ्गठन निर्माणका क्रममा लोहियाले कस्तो भूमिका निर्वाह गर्नुभएको थियो ?
सुरुमा उहाँले हामीलाई ठूलो सहयोग गर्नुभयो । हामी नेपालका अनुभवहीन मानिस थियौं । मैले भारतको आन्दोलनमा भाग लिइसकेका कारण म मात्र केही अनुभवी थिएँ । मलाई वक्तव्य निकाल्ने, जनतामा पुग्नेलगायतका सङ्गठनका तरिका थाहा थियो । तर अरूहरू भने धेरै कच्चा थिए । तसर्थ, लोहियाले हामीलाई के-कस्तो वक्तव्य कुन समय निकाल्नु उपयुक्त हुन्छ र कुन दृष्टिकोणबाट वक्तव्य निकाल्नुपर्छ भन्ने कुरा सिकाउनुभयो । उहाँले हाम्रो आन्दोलनप्रति गान्धीजीको पनि चाख रहेको कुरा त्यतिखेर थाहा पाउनुभएको रहेछ । अनि, सन् १९४८ जनवरी २८ का दिन, अर्थात् गान्धीजीको हत्या हुनुभन्दा दुई दिनअघि म लोहियाको साथमा लागेर गान्धीजीलाई भेट्न गएँ । उहाँले गान्धीजीसँग
मेरो परिचय गराउनुभयो । मैले त्यो दिन उहाँसँगै बिताएँ ।
लोहिया पनि साथसाथै हुनुहुन्थ्यो ?
हो । हामी बिहान नौ बजेतिर बिड्ला भवन पुगेका थियौं र साँझ चार-पाँच बजेतिर मात्र फर्कियौं ।
लोहिया पनि दिनभरि नै त्यहाँ बस्नुभयो ?
लोहिया केहीबेरमा हिँड्नुभयो । मैले गान्धीजीलाई भेट्नुभन्दा अघिल्लो दिन उहाँले मलाई जवाहरलालजीसँग भेट गराउन पनि लैजानुभएको थियो । लोहिया भेट गर्न कहिल्यै पनि समय लिएर जानुहुन्नथ्यो । त्यस दिन पनि गान्धीजीकहाँ जस्तै एकाएक पुगेर उहाँ नेहरूको कोठामा पस्नुभयो । तर, नेहरूलाई हामीले भेट्न सकेनौं । उहाँ कार्यालयमा हुनुहुन्थ्यो, इन्दिराजीचाहिँ घरमै हुनुहुन्थ्यो । त्यतिखेर उहाँ तीनमूर्ति भवनमा सरिसक्नुभएको थिएन ।
उहाँ मोतीलाल नेहरूमार्गमा बस्नुहुन्थ्यो ?
होइन । त्यो मोतीलाल नेहरूमार्ग थिएन । त्यसको अर्को कुनै नाम थियो । हामी त्यहाँ पुग्दा दिउँसोको खाना खाने समय भएको थियो । खाना पनि तयार थियो । तर, जवाहरलालजीले आफ्नी छोरीसँग हाम्रो विषयमा फोनमा कुरा गर्नुभयो र आफू खाना खान नआउने बताउनुभयो । तसर्थ, मैले उहाँलाई
भेट्न पाइनँ । लोहिया हाम्रो साथमा निरन्तर रूपमा रहनुहुन्थ्यो र हामीलाई प्रेरणा दिनुहुन्थ्यो । म र हाम्रो आन्दोलनका अरू नेतालाई मात्र होइन, सर्वसाधारणलाई पनि उहाँ पे्ररणा दिनुहुन्थ्यो । उहाँमा मानिसलाई आकषिर्त गर्ने अभूतपूर्व क्षमता थियो । तसर्थ, सुरुका दिनमा उहाँ हाम्रा लागि ठूलो सहयोगी हुनुभयो । त्यसपछि आन्दोलन सुरु भयो र म पक्राउ परें । यस सम्बन्धमा जवाहरजीलाई पनि सूचित गर्नुपर्छ भन्ने मेरा मानिसलाई लाग्यो ।
पक्कै पनि त्यसबेला लोहियाले नेहरूसँग मतभेद राख्न थालिसक्नुभएको थियो । विशेषगरी, जवाहरलालसँग लोहिया र अरू केही समाजवादीहरू टाढिनुभएको थियो ।
त्यो कुन सालतिरको कुरो हो ?
त्यो सन् १९४९-५० तिरको कुरो हो । म सन् १९४८ मा पक्राउ परें । जवाहरलालसँग सुषुप्त रूपमा भए पनि उहाँको ठूलै मतभेद थियो । मेरा अर्कै समस्या थिए । जवाहरलालजी पनि राष्ट्रिय आन्दोलनका हाम्रै नेता हुनुहुन्थ्यो । अझ, उहाँ त त्यसबेला प्रधानमन्त्रीसमेत बन्नुभएको थियो । तसर्थ, नेपालमा हुने कुनै पनि ठूलो आन्दोलनले भारतीय प्रधानमन्त्रीको सहयोग पाउन सक्नुपथ्र्यो । हामी जवाहरलालजीको पनि सहयोग चाहन्थ्यौं । त्यसका लागि जयप्रकाश नारायणलाई हामीले उपयोग गर्यौं । म नेपालमा भोकहडतालमा थिएँ । म मृत्युशय्यामा थिएँ । तसर्थ, मेरा आफन्तहरू जयप्रकाशजीकहाँ गए । मलाई मुक्त गर्न र मेरा माग पूरा गराउन नेपालका राणा प्रधानमन्त्रीलाई दबाब नदिने हो भने म मर्नेछु भन्ने उनीहरूलाई लागेको थियो । त्यसबेला जयप्रकाशजी गम्भीर दुर्घटनामा परेर अस्पतालमा उपचार गराउँदै हुनुहुन्थ्यो । उहाँको हड्डी भाँच्चिएको थियो र ब्यान्डेज लगाएर अस्पतालमै बस्नुभएको थियो । तसर्थ, मेरी श्रीमती र केही साथीहरू जयप्रकाशजीलाई भेट्न पटनाको त्यही अस्पतालमा पुगे । उहाँले अस्पतालबाटै नेहरूलाई फोन गर्नुभयो । अनि, नेहरूले राणा प्रधानमन्त्रीलाई मेरा सम्बन्धमा टेलिग्राम पठाउनुभयोे । हाम्रा लागि त्यो घटना ठूलो नैतिक प्रोत्साहन थियो भने राणाहरूका लागि अपमान थियो । हामीमध्ये कसैलाई मार्न सक्दा आन्दोलनलाई दमन गर्न सकिनेछ भन्ने उनीहरूले सोचेका थिए । हाम्रो आन्दोलनप्रति चासो राख्नुहुँदा जवाहरलाल नेहरू अन्तर्राष्ट्रिय प्रतिष्ठाको शिखरमा हुनुहुन्थ्यो । उहाँ ती दिनमा विशेषगरी दोस्रो विश्वमा अत्यन्त प्रतिष्ठित हुनुहुन्थ्यो । लोहियालाई भने नेहरूसँगको राम्रो सम्पर्क मन परेको थिएन । मेरो रिहाइपछि त्यही विषयलाई उहाँले कलकत्तामा एउटा मुद्दा बनाउनुभयो । त्यसबेला मैले लोहियाजीलाई भनेको थिएँ- 'तपाईं गल्ती गर्दै हुनुहुन्छ । उहाँ प्रधानमन्त्री हुनुहुन्छ । हामीले उहाँलाई जतिसुकै घृणा गरे पनि वा जतिसुकै मन नपराए पनि उहाँ प्रधानमन्त्री हुनुहुन्छ र हामीले उहाँबाट आफ्नो काम लिनुपर्ने हुन्छ ।' अनि उहाँले भन्नुभयो- 'हेर्नुहोस्, तपाईं उनको सहयोग लिन चाहनुहुन्छ भने तपाईंले मलाई दुरुपयोग गर्न थाल्नुपर्छ, लोहियाको दुरुपयोग गर्न थाल्नुपर्छ ।' मैले सोधें- 'किन ?' उहाँको जवाफ थियो- 'त्यसो गर्नुभयो भने मात्र उनी खुसी हुनेछन् । र, तपाईंलाई सहयोग गर्न उनी खुसीसाथ तयार हुनेछन् । जबसम्म तपाईं मसँग रहनुहुन्छ वा म तपाईंको आन्दोलनको पक्षमा हुन्छु, उनले सहयोग गर्नेछैनन् ।' मैले भनें- 'यो त अति भयो । जे भए पनि हाम्रो आन्दोलन स्वतन्त्र आन्दोलन हो । तपाईंहरूबीच भारतीय राजनीतिमा जस्तोसुकै मतभेद भए पनि म तपाईं र जवाहरजी दुवैको सहयोग चाहन्छु । म तपाईंलाई छोड्नुपर्ने सर्तमा जवाहरजीको सहयोग कदापि पनि लिन्नँ ।'
यसबेला पनि अर्थात् आजको हिन्दुस्तानमा (१९७६ इसं) जयप्रकाश नारायणलाई लिएर त्यस्तै समस्या छ । जयप्रकाश नारायण र यहाँको संस्थापन पक्षबीच मतभेद छ भन्दैमा म त्यो मित्रतालाई कसरी त्याग्न सक्छु ? यसरी मसँग २००७ सालमा भने लोहियाको सन्दर्भमा केही समस्या उठे । अनि मैले भनें- 'लोहियाजी, तपाईं कति तल्लो स्तरबाट बोल्दै हुनुहुन्छ भन्ने तपाईंले बुझ्नु नै भएको छैन ।'
म मन्त्री बनेपछि ममाथि लोहियाजी जमेरै खनिन थाल्नुभयो । सार्वजनिक सभामा समेत उहाँले ममाथि झूटो आक्षेप लगाउनुभयो । यसरी अन्ततः हामी एक-अर्काबाट टाढियौं । अनि, एउटा त्यस्तो बेला पनि आयो, हामीबीच बोलचालसमेत बन्द भयो ।
मैले गृहमन्त्री हुँदा एकपल्ट दिल्लीको औपचारिक भ्रमण गरेको थिएँ । त्यतिबेला मैले ठानेको थिएँ- जे भयो भइगयो, अब उहाँसँग सम्बन्ध सुधार्नुपर्छ । उहाँ त्यसबेला बाह्रखम्बारोडमा आफ्ना साथीहरूका साथ बस्नुहुन्थ्यो । तसर्थ, म कुनै सूचना नदिई उहाँकहाँ पुगें । म गृहमन्त्री थिएँ । तर, उहाँले मलाई सद्भाव देखाउनुभएन । उहाँ आउनुभयो र मेरो साथमा रहेका व्यक्तिलाई भेट्नुभयो । तर मलाई बस्समेत भन्नुभएन । उहाँले मलाई कुनै ऐरे-गैरेजस्तो व्यवहार गर्नुभयो । त्यसपछि म उहाँकहाँ कहिल्यै गइनँ, उहाँलाई कहिल्यै भेटिनँ । तर जब उहाँ पटना वा बनारस आउनुहुन्थ्यो, त्यतिखेर मेरी श्रीमतीलाई बोलाउनुहुन्थ्यो, उनलाई कफी बनाउन र बाहिरफेर जान आग्रह गर्नुहुन्थ्यो । कलकत्तामा पनि मेरी श्रीमती वा परिवारका कुनै सदस्य त्यहीँ छन् भन्ने उहाँलाई जानकारी भयो भने उनीहरूलाई भेट्नुहुन्थ्यो ।
तर, तपाईंलाई चाहिँ होइन ?
वास्तवमा उहाँले मलाई चिन्नै छाड्नुभएको थियो । तर त्यस घटनाको केही समयपछि उहाँले मसँग भेट्ने एउटा प्रयत्न गर्नुभयो । तपाईं भोला चटर्जीलाई त चिन्नु नै हुन्छ । उनी उहाँकै चेला थिए । तसर्थ, जयप्रकाश र लोहियाको विवादमा उनी लोहियाको पक्षमा थिए । उनले मकहाँ आएर भने- 'लोहिया तपाईंसँग सम्बन्ध सुधार्न चाहनुहुन्छ, यस्तै-यस्तै ।' मैले भनें- 'बहुत राम्रो, म सम्बन्ध सुधार्न तयार छु । तर यसपटक उहाँ नै मेरोमा आउनुपर्छ, म उहाँकोमा जान्नँ । किनभने, मसँग तीतो अनुभव छ । यदि उहाँ मकहाँ आउनुहुन्न भने म पनि उहाँकहाँ जान्नँ ।' यो स्कुले केटाकेटीको झगडाजस्तो सानो कुरा थियो । उहाँ मकहाँ आउनुभएन र म पनि उहाँकहाँ गइनँ । उहाँ मार्बलहाउसमा बस्नुहुन्थ्यो । म भने जनरल सुवर्णशमशेरको साथमा बसेको थिएँ । पछि सन् १९६० मा म पक्राउ परे । उहाँले त्यतिबेला पनि मप्रति सहानुभूति राख्नुभएन । मैले सात वर्ष जेलमा बिताएपछि भने उहाँले एकाएक गल्ती स्वीकार गर्नुभयो रे । उहाँले आफ्ना कार्यकर्ता कर्पुरी ठाकुरलाई र अरूलाई भन्नुभएको थियो- 'हामीले गलत बुझेछौं । हामी उहाँलाई गलत बुझ्दै रहेछौं । ऊ लर्तरो मान्छे होइन रहेछ । उहाँ सात वर्षसम्म जेलमा बस्नुभयो र पनि विचलित हुनुभएको छैन । ऊ सानो मान्छे होइन । हामीले उहाँलाई सहयोग गर्नुपर्छ आदि ।' उहाँले समाजवादी पार्टीमा सर्कुलर जारी गरेर हामीलाई सहयोग गर्न र हाम्रा कामको प्रचार गर्न निर्देशन दिनुभयो । तर, म जेलमुक्त हुनुअगाडि नै उहाँ दिवंगत भइसक्नुभएको थियो ।