बिराला चुपचाप, मुसा चिँचीँ
Source: Naya Patrika
कसैलाई थाहापत्तो थिएन । प्रधानमन्त्री माधवकुमार नेपालले गोधुली साँझमा छापामार शैलीमा कार्य गरे । गिरिजापुत्री सुजातालाई काँधमा बोकेर असिन-पसिन हुँदै ती राष्ट्रपति भवन पुगे । र, सकल लोकलाई चकित र विस्मित तुल्याउँदै अधिराजकुमारी सुजाताका माथमा तिनले उपप्रधानमन्त्रीको ताज पहिराइदिए । नेपथ्यको कथा सहजै बुझन्िछ ।
माधव नेपाल प्रधानमन्त्रीको कुर्सी अँठ्याएर रुँदै दिए । गिरिजाबाबुबाट उनलाई आकस्मिक बोलाहट भयो । र, श्रीहजुरबाट रौद्र-मुद्रामा आज्ञा भयो, 'म भन्दछु कि एक घन्टाभित्र मेरी छोरी सुजातालाई उपप्रधानमन्त्री बनाऊ, होइन भने तिमी सकियौ ।' बस्, धन, सान र सोखले परिपूर्ण गद्दीमा रहिरहन माधव नेपालले झ्याप् दिए । गर्नु गर्यौ बलराम मैयाँ बोकेर, चाकरीको धुलिकणमा नाकै ठोकेर !
सुजाता कोइरालाको उर्वर तालुमा जब आलु फल्यो, कांग्रेसी-वृत्तमा औडाहाकारी कोलाहल मच्चियो । कांग्रेसमा जे कहिल्यै थिएन, तिनले त्यो भएन भनेर रडाको मच्चाए । कांग्रेस लोकतान्त्रिक विधिले बनेको संगठन होइन, केवल भीड हो । नेतृत्व चयन गर्ने लोकतान्त्रिक पारा, बहुमतीय निर्णय प्रणाली, पारदर्शी र पत्यारिलो कार्यशैली र कल्याणकारी अर्थ-राजनीति कांग्रेसका लागि एकदमै बिराना कुरा हुन् । कथनीमा लोकतान्त्रिक मूल्य-प्रणाली, करनीमा कोइराला बाजेको स्वेच्छाचारी मनपरी- बस्, यही हो कांग्रेस पार्टीको गुह्य यथार्थ ।
सुजाता कोइराला उपप्रधानमन्त्री बनिन्, म त्यो बन्न पाइनँ- कांग्रेसी रुवाबासीको चुरो कुरो यही हो । नरहरि आचार्य र एकाध युवा अपवादमा पर्दा हुन् । नग्न यथार्थ भन्छ, बाँकी सबका सब उही ड्याङका मूला हुन् । कांग्रेसी जम्बोरी कोइराला परिवारको क्लब हो । वृद्ध गिरिजाबाबु यस क्लबका मूली हुन् । क्लबमा ती जे भन्छन्, त्यै हुँदै आएको छ । निर्वाध, अकण्टक । कार्यवाहक सभापति सुशील कोइराला, उपसभापतिद्वय रामचन्द्र पौडेल र प्रकाशमान सिंह, महामन्त्री विमलेन्द्र निधि, सहमहामन्त्री अर्जुननरसिंह केसी ः यी सबै गिरिजाबाबुका खल्तीबाट जन्मेका पदाधिकारी हुन् । शाहीकालमा यस्ताहरूलाई हामी टिके भन्थ्यौँ । जायजन्मका हिसाबले यी पनि टिक्यै हुन् । छक्क पर्नु छ बा- क्लबपति पिताले पुत्री सुजातालाई टिके उपप्रधानमन्त्री बनाउँदा उनैले बनाइदिएका यी टिकेहरू यसरी किन रोएका ? कोइरालाले यीमध्ये कुनै पनि मनुवालाई उपप्रधानमन्त्रीको टीका लगाइदिएका भए ऊ के गर्दो हो ? सके ऊ भन्दो हो- म पुरस्कृत हुँदा राष्ट्र सम्मानित भयो । अनि चटपटे सुजाता टिके उपप्रधानमन्त्री हुँदा नि ?
राजनीतिक पार्टीमा वा राज्यसत्तामा कोही पनि एक्लै तानाशाह बन्दैन, ऊ बनाइन्छ । धेरै आत्महीन र स्वत्वहीन जीवहरूबाट आप\mना निहित स्वार्थपूर्ति गर्न अहोरात्र उसको चाकरी गरिन्छ, भक्ति गरिन्छ र पाउलागी गरिन्छ । उसलाई प्रश्न र आलोचनाभन्दा माथि उठाइन्छ । पार्टीमा विवेक, युक्ति र तर्कलाई ठाउँ राखिँदैन । पार्टी धार्मिक गुठी बन्छ र पार्टी नाइके बन्छ गुठीको मूल भट्ट । यसरी निज मूल भट्टलाई देवत्वको आसनमा विराजमान गराइन्छ । गिरिजाप्रसाद कोइरालाको हकमा पनि कुरा यही हो । उनलाई पार्टीका तानाशाह बनाउनेहरू यिनै हुन्, जो अहिले सुजाता कोइरालाको सुखदायी कुर्सी हेरेर फुस्रा ओठ चाट्दै करुण क्रन्दन गरिरहेका छन् । आफू टिके बनाइनु ठीक, अर्को बनाइनु बेठीक ः यो जिरहमा कुनै दम छैन । पुराना टिकेहरूले नयाँ टिकेको विरोध गर्ने नैतिक हक प्राप्त गर्न पहिले कमसेकम आप\mना टिके पद त्याग्नुपर्छ । आफू तानाशाह-निर्मित टिके भइरहनु र नवोदित टिकेको विरोध गर्नु लज्जास्पद बकबास हो ।
महान् पदलोलुप माधवकुमार नेपाल भगवान्का कृपाले पाएको पद जोगाउन जब सुजाता कोइरालालाई बोकेर शीतलनिवासतिर हिँडे, तिनले कांग्रेसका वृद्ध युवाहरूलाई यसबारे जनाउ दिए । चकित र दुखित भएका कांग्रेसी यो हाम्रो संस्थागत निर्णय होइन, हामी यो मान्दैनौँ भनेर रोए । तर, तिनले आप\mना देवादिदेव गिरिजाबाबुलाई चुइँक्क केही भन्न सकेनन् । जुन पार्टीमा संस्थाको भौतिक र वैचारिक संरचना आकारित भएकै छैन, त्यसमा केको संस्थागत निर्णय हुनु ? दम भए तिनले स्वेच्छाचारी कोइरालालाई अँठ्याउनुपथ्र्यो । तर, कोइरालानिवासबाट फोन आउँदा ती डरले थुर्थुर कामे । बरा तिनले फोन उठाउने आँटसम्म पनि गरेनन् । अनि तिनको दुःख घटाउन माधवकुमार नेपालले के नै पो गर्न सक्थे र ?
माधवकुमार नेपालसँग न निर्णय गर्ने अख्तियार छ न त क्षमता नै छ । तिनमा न लज्जाबोध छ न इख छ । तिनको पहिलो र अन्तिम विशेषता सत्तालिप्सा हो । बस्, लिप्साको तृष्णाले जल्दै सुयोग्य सुजाता कोइरालालाई शिरमा बोकेर ती हिँडे राष्ट्रपति भवनतिर । योगदानी र त्यागी, विवेकी र अनुभवी, सालीन र मर्यादित सुजाता कोइरालालाई बोकेर ठस्-ठस् कन्दै हिँडिरहँदा माधवकुमार नेपालले मखलेल हुँदै तर्कना गरे हुनन्- छैटीमा ललाटमा भाग्य लेखिदिने करुणामयी भावीश्री ! म यो फड्कोबाट बचेँ । अब भने 'राष्ट्रवादी' लोकमानसिंह कार्कीका हबेलीमा मलाई बिगार्न गिरिजाबाबु र प्रचण्डको गोप्य चोचोमोचो नहुने भो ।
टिके महलका कांग्रेसी वृद्ध युवाहरूको दिग्भ्रमित चिन्तनमा म अन्तर्विरोधको आगो बलेको देख्छु । एकातिर ती भन्दै आएका छन्- माधव सरकार श्रेष्ठतम् एवं निर्विकल्प विकल्प हो । बरु ज्यान जाओस्, हामी यसलाई काँध थाप्न छाड्दैनौँ । अर्कातिर ती टिके अधिराजकुमारी सुजाता कोइरालाको उपप्रधानमन्त्री पदको खोइरो खनिरहेछन् । वास्तवमा माधव सरकारमा कांग्रेसी उपप्रधानमन्त्री बन्न सर्वथा योग्य एवं विकल्पहीन विकल्प सुजाता कोइरालै हुन् ।
माधव सरकार जे-जे पराक्रम गर्दै आएको छ, त्यसमा यिनबाट भयंकर सहयोग पुग्नेछ । फेसन सोको माध्यमले आत्मविज्ञापन गर्न सहयोग पुग्नेछ । राज्यको रहलपहल ढुकुटी रित्याउन सहयोग पुग्नेछ । शान्तिप्रक्रियालाई नर्कको बाटोतिर डोर्याउन सहयोग पुग्नेछ । मुलुकका सबै समस्याको हल युद्धमा खोज्न सहयोग पुग्नेछ । विशेष एवं संयुक्त सुरक्षा व्यवस्थाका नाउँमा अर्थ-राजनीतिक र सांस्कृतिक मुद्दाहरूको उपचार बन्दुकको बलले गर्न सहयोग पुग्नेछ । अनि ? जस्ता प्रधानमन्त्री माधवकुमार नेपाल, उस्तै उपप्रधानमन्त्री सुजाता कोइराला ! दुवै हारेका । जनताका नजरमा दुवै गिरेका । दुवै उत्पात पदप्रेमी । भन्छन् नि, भेंडा-भेंडासित, बाख्रा-बाख्रासित । बस्, सुजाता नानी माधवबाबुसित !
यसलाई जेसुकै तन्त्र भने पनि माधव सरकार दुई महापुरुषका औँलाका इसारामा नाच्ने मैनको पुतली हो । एक महापुरुष हुन्, जिपी कोइराला, अर्कार् केपी शर्मा ओली । लाग्छ, कांग्रेस र एमाले पार्टी यी दुई महापुरुषका एकलौटी मौजा हुन् । यी बिराला हुन्, जो चुपचाप राजनीतिको मुसे सिकार गर्छन् । यी दुई पार्टीका बाँकी जनहरू मुसा हुन्, जो हर्दम् चिँचीँ गर्छन्, तर एउटा माखो मार्न पनि सक्दैनन् ।