“बसौं न हो मुर्दा हो, शिवजीले पार्वती भित्र्याएको दिन, के हतार गर्छौ? जाग्राम बस्ने दिन, आजको दिन त बस ।“ बिहे नगरेको म मात्र, मलाई हतार थिएन । फेरि यिनीहरु पहिले जस्तो जमघट गर्दैनन् । मलाई यो बसाइ लम्ब्याउन मन थियो ।
“होइन, साँझपनि टरि सक्यो । अब जान पर्छ ।“ उमेशेले जाने तरखर गर्यो ।
मान्छे जोख्न हुँदैन । पटक्ककै हुँदैन । तर नजोखि मन किन बस्थ्यो र । त्यही माथि जाँड र शिवबुटीको प्रभाव ।
“मुताँ बगेको, कहिले काँही त बस!” मैले प्याच्च भनि दिए ।
किचकिच गर्नेको पनि हद हुन्छ नि ! वैंशदेखिका साथीभाइ यसो कार्यक्रम बनायो, रमाइलो गरौं भन्यो । उसले भने जहिले कुरो बिगारी राख्ने । यस्तो-उस्तो भनि राख्ने । सँधैको गनगन । उसका नियम नै धेरै, चेतना नै धेरै । अरुबेला भनिदैन थियो । हल्का लागेको, त्यही माथि भन्नै पर्ने बेला भएको । उमेशेको मुखैमा भनि दिए ।
“मुख सम्हालेर बोल, नत्र खालास् । बोल्न पाए भन्दैमा घर परिवारको कुरो नउठा! “ सोचे भन्दा बढि पो रिसायो केटो ।
“यस्ता गँजडीको सङ्गत गर्दिन म ।“ हिँड्न भनेर जुरुक्ककै उठ्यो ।
अलि कम खाएकाहरुले सम्हाले, सम्झाए । मैले माफी नै त मागिन, यसो रिस टार्नलाई पुग्ने जति मात्र मागेँ ।
निशा र नशाको मिल्दो चरित्र हुन्छ । कलिलै हुँदा रोक्छ, छोड्न मिल्छ । जब छिप्पिन्छ, जकडि दिन्छ । लट्टयाउँछ । घरजान मिल्ने समयमा जो जो गए, गइहाले । आधि हामी बाँकी रहयौं । बालापनका साथी, पुराना कुरा खोस्रौं, खोतल्यौं। अनि अनुभवका साथ बनाएका वर्तमानका तराजुमा जोख्न थाल्यौं । साथीका जोख्दा राम्रा लाग्ने, आफ्ना जोख्दा लाज । पुतलीलाई जिस्काएको । लुकेर उनैको साईकलको चेन फुस्काएर, उनका अगाडि प्रभाव पार्न, चेन जोडि दिएको, औँसीको दिन हेड मास्टरको करेसाबारीमा आची गरेको देखि, गणेश चौथीमा चौधरीका आँपबगान आधा सकेको, मेलाका तात्ताता जिलेबीले खुइल्याएका मुख र इन्द्रजालको जादुमा ठाउँ छोडेको मुटुले । के के हो के के ।
सबैका जस्ता थिए हाम्रा कथाहरू पनि । कसैका अलि अनुसाशित कसैका उलि उत्ताउला । वैंश सबैको सकिन्छ, सम्झना मात्र रहन्छ । रह्यो कुरो कस्ले विगतलाई कस्तो रुपमा सम्झन्छ र कसरी जोख्छ । फर्केर हेर्दा ग्लानि हुन्छ वा ती क्षणहरूमा फेरि अर्को पटक बाँचिन्छ । विगत जोख्दा समयको कित्ताको पनि हिसाब हुन पर्छ । नत्र हिसाब मिल्दैन, अव्यवहारिक भइदिन्छ । यदि विगतले सतायो भने, मान्छे वर्तमानमा बाँच्न सक्दैन । बिगतमा जान्छ । बिगतमा बाँचेको मान्छे निको कहिल्यै हुँदैन ।
हामी एउटा एउटा बिगत उठाउँदै त्यसको सम्झनाको चुस्कि लिदैगयौ । कुनै तराजु मा जोख्दा पास भए, कुनै भन्न पनि नमिल्दो गरी तल परे । जे भए पनि ति हाम्रा बिगतका पलहरु थिए । हाम्रा सम्झनामा बाँचेका । हामी भन्दा बाहिरका मान्छे लाई न तिनको अनुभव हुन्छ न अस्तित्व । मिठास हालेर भने कथा हुन्छ।
रातसँगै स्वरहरू मधुरा हुँदै गए । विगतका पोका जति फुकाए पनि, मेरो एउटा पोको फुकाएको थिइन । निकै गाँठो पारेर राखेको थिए । केटाहरुले पनि केही प्रयास गरेनन् । पोख्न पनि सकिन, त्यसै सम्झँदै जाँदा आँखा रसाए । रुन मन लाग्यो । निकै उकुसमुकुस भयो, म बाहिर निस्के । हामी बसकेको होटेल वरपर त्यस्तो चहल पहल थिएन । म त्यसै हिँड्न थाले । अलि पर पाटीनिर गएर चुरोट सल्काएर थाने । पर बाट एउटा झ्याप्ले मान्छ नजिकै आयो । अलिक कस्तो-कस्तो लाग्यो ।
“भाई, लाइटर छ?” स्वर पातलो रहेछ । छोरी मान्छेको जस्तो । उमेर खाएको भए पनि गठिलो शरीर । पातलो स्वर पटक्कै सुहाएन ।
“लिनु न” मैले गोजीबाट झिकेर दिए ।
“दाइ टाढै बाट आउनु भएको?”
“होइन, कहिले काँहि आइ रहेको हुन्छु यता ।“ खासै ठोस उत्तर दिएनन्
हामीले साधारण गफगाफै गर्दै थियौँ । उनले यता उता मान्छे छन् कि भनेर नियाले । मलाई अलि अप्ठेरो भयो । के हो के हो। रात को समय ।
“भाई, एउटा कुरो सोधौं!
“हजुर?” भर्खर भेटेको मान्छे । के सोध्ने हो? पैसो माग्ने हो कि?, बास ? यस्तो प्रश्न धेरैलाई अप्ठ्यारो हुन्छ। म अपवाद होइन।
‘अलिकति गाँजा दिनुहुन्छ? यहाँ गाँजा राख्ने मान्छे थियो, शिवरात्रीले होला आज छैन । मलाई अलि गाँजा तान्न पर्छ, भाई ले दिनुहुन्छ कि भनेर आएको?”
म न गाँजा खाने मान्छे जस्तो देखिन्छु, न बेच्ने जस्तो । खाने दिन अनि बेला भएर पो त। कस्तो नचिनेको मान्छे सँग माग्न सकेको । अझ छ कि छैन भनेर सोध्दा पनि नसोधि कसरी पक्का हिसाबले माग्न सकेको । यो मान्छे प्रहरी पनि हुनसक्छ । उमेर र शरीर हेर्दा । रात भरीलाई केटाहरु सँग खाने भनेर लिएको गाँजा त टन्नै थियो म सँग । दिइ हाल्न भने मन भएन ।
“खोइ दाई, भएको तानि हालियो, सकिए जस्तो छ म सँग ।“ मैले उनबाट उम्किने दाउ हेर्न थाले ।
उनले एकछिन आँखा चिम्लेर गहिरो सास लिए ।
“भाइ, मलाई दिनहुँ गाँजा तान्न पर्छ, यहाँका गाँजा बेच्ने शिवरात्री लागेर पशुपति गइहाले । अन्त कतै गाँजा भेटिएन । भाइले दिनु भयो भने राम्रो मान्ने थिए “ पातलो स्वर भएपनि राम्रो लवजमा बोले । एउटा सच्चा अनुरोध मनमा छुन्छ । मनलाई यिनको अनुरोधले, भलै त्यो गाँजाको थियो, छोयो । फेरि मेरा साथीहरू सबै सुति सकेका थिए । शिवरात्रीको समय बाहेक अरू बेला गाँजा खाइँदैन थियो ।
लौ दाई उ त्यहाँ बेन्चमा बसौं न त” मैले नजिकैको बेन्च तिर अम्लो देखाएँ ।
“भाइलाई धेरै धन्यवाद “ उनि मुसुक्क हाँसे ।
“दाइको नाम के हो नि? अनि कता बाट आउनु भएको “
“मेरो नाम शिव हो । बसाइ त उता उत्तर पश्चिम पहाड तिर हो, तर काठमाण्डौं धेरै आइरहेको हुन्छु । भाईको नि ?“
“मेरो चाँहि somewhereondearth”
हामीले बिस्तारै गाँजा तान्न थाल्यौं ।
“अनि अहिले कता बाट त”
“होइन, यहाँका जोगीहरू शिवरात्रीमा भनेर पशुपति लागे । उनीहरूको परिधिहरू सम्हालिदिनु पर्यो भनेर । “
दिनहुँ जस्तो देखिने एउटा अर्को अधबैशे जस्तो थिएनन् उनि । जोगी जस्तो देखिए पनि उत्तर छुट्टै दिए ।
“अनि दाई चाही जानु हुन्न?”
“जान्छु, म नगई हुँदैन, रिसाउँछन् । जान पर्छ । अहिले अलि बेला भएको छैन । तेस्रो प्रहर तिर जान्छु ।“ उने भने ।
आज यिनीसँग साधारण कुराकानी हुँदैन भनेर म प्रष्ट भए ।
“होइन, जोगि को धुनीले साँच्चै काम गर्छ र भनेको?” यिनलाई जाँच्न मन भयो ।
“जोगि र धुनि त बाहक मात्र हुन् । माध्यम हुन । यिनीहरुले परिधि निर्धारण गर्दछन् । काम गर्ने नगर्ने त कर्मले भन्छ । पुण्यले भन्छ अनि पापले भन्छ । “
हैट, बुढाले कडा उत्तर पो दिए ।
“कस्तो हो यो परिधि भनेको” मैले ठाडो प्रतिप्रश्न गरे ।
“रातका अनेक व्यवहार हुन्छन्, जब प्रेत पिसाच का प्रतिबिम्ब आउँछन्। उनीहरूलाई आफ्नो दायित्वको ज्ञान त हुन्छ तर यसको परिधि छुट्ट्याउन सक्दैनन् । । जोगि र धुनीले यी दुई बीचको रेखा कोरिदिन्छन् । परिधि निर्माण गर्दछन । अनि त्यही परिधिको सिमानालाई आधार मानेर नाघ्न नमिल्ने ठाउँमा नाघ्दैनन् ।
“त्यो यिङ्ग-याङ्गको जस्तो?” उनको उत्तर मलाई ठूलो भयो । विवेचनात्मक भयो । मैले एक हरफमा बुझ्न खोजे ।
“ करिब त्यस्तै । यिङ्ग र याङ्ग छुट्टाउने जुन रेखाहरू छन् त्यो निर्माणको काम हो । भाइले जानेको यिङ्ग याङ्ग चाही पाटाहरू भए, सिक्काका । परिधि चाही, सिक्काका किनारा हुन् ।“ निक्कै गाढा कुरा गरे । मलाई आधा कुरो बुझे जस्तो भयो । चुरो भने मैले बुझिन । जोगीले यिङ्ग याङ्गको रेखा बनाउने रे । के के हो के के । लिपुलेक को रेखा बुझिएला यो रेखा खास्सै बुझिएन ।
“अनि जोगि नहुने ठाउँमा कसले रेखा कोर्छ त?”
“उपाय लगाउन पर्छ । कहिले भक्ति भाव ले काम गर्छ, कहिले अन्तरमनले । कहिले गुरुहरूले, कहिले घटनाहरूले । प्राणीले जानी नजानी आफ्ना रेखा कोर्दछन् । अझ मानिसले त विवेक बोकेको हुन्छ । प्रयास गरे अँध्यारो र उज्यालो छुट्ट्याउन सक्दछ । साँझ र मिरमिरे जान्दछन । बाहिर र भित्र थाहा पाउँछन् । प्रेतले यो केही जान्दैनन् ।“
ज्यामितिका साध्यहरू जस्तो लाग्ने थाल्यो यिनका उत्तरहरू । जति बढ्दै गयो, उति अप्ठ्यारा ।
“अनि दिनहुँ गाँजाले राम्रो गर्छ त?” मैले कुरो फेरि गाँजा मै ल्याउन खोजे ।
“बिगार नै पनि गर्दैन । धेरै भयो बानी नै हो, अब यो नभइ पनि नहुने जस्तो भइसक्यो । फेरि विगतका र व्यवहारका तनाव छन्,। न कहिले छुट्छन् न कहिले पर जान्छन् । एक्लिएको पुरुष सँग सधैं नै हुन्छन । मलाई यस लोकमा रहँदा सजिलो बनाउँछ ।“
“तर गाँजाले मनका समस्या सुल्झाउन सक्छन् र?” मैले चौकीदारी गर्न खोजे ।
“कसरी सक्नु । तर मलाई ती तनावलाई ग्रहण गर्न सजिलो बनाउँछ । म मेरा समस्या लाई आत्मसाथ गर्न सक्छु । सत्य स्विकार्न सक्छु । त्यति हो । त्यसैमा मलाई टेवा पुर्याउँछ । “ कस्तो ठ्याक्कै मेरो र रक्सीको कुरो जस्तो गरे ।
“त्यस्तो के तनाव हो दाइ विगतको?” मैले अझै कुरो कोट्याउन खोजे ।
“निकै छन् भाई, त्यही भएर धेरै गाँजा चाहिन्छ ।” उनले भन्न थाले ।
“मान्छेका समस्या सुल्झाइदिन्छु भनेर हिड्यो, आपत परेको मान्छे बाटो बिराउँछ । अब पुरानो ऋण नतिरि मैले नया कर्जा दिनै मिल्दैन । फेरि मेरो काम भनेको संहारको हो । म न श्रृष्टी गर्छु न संवर्धन । म त खालि संहार गर्ने हो । मेरा पनि नियम छन् । ब्रमाण्डका पनि नियम बनाएका छन् । मैले पनि तोड्न मिल्दैन । यही कुरो बुझ्दैनन् । अनि त्यही बाट अविश्वास सुरु हुन्छ । विश्वास भनेको दुई किनार जोड्ने साँघु हो। एउटा पाइला बिराए नदिमा खसिन्छ । वारि बाट पारि पुगिदैन । । विश्वास उठ्दा म पनि गले जस्तो हुन्छु , अनि समयमा व्यवहार निभाउन नसक्दा विश्वास पातलिदै जान्छ, झिनो हुन्छ । म यसलोकमा हुँदा यसलोकका नियममा हिड्न पर्छ । रुप, भोग, चक्र र चोलाको परिधिमा म पनि जकडिन्छु ।“
राम राम राम । कस्तो कडा गाँजा परेछ । गफ दिएर समुन्द्रै मन्थन गर्छु जस्तो गरे । पुरै झ्याप रहेछन् । जोगी जाबाको कुरो कत्रो हो । मैले अर्को सर्कोलाई बटार्न थाले । उनले आफै हालतमा लिएर बटारे । बरिष्ठै गँजडी रहेछन् ।
“दाइ, जोगि चाही कहिले देखि हुनु भएको” मैले कुरो अलि तल झार्न खोजे ।
“यो लोकमा आए देखि म जोगी हुँ । मैले यसका नियम मान्न पर्छ । मैले यो लोकका परिभाषित आयाम लिन पर्छ । “
“ए दाइको परिवार पनि छ?”
“अहिले दुलही पार्वती र दुई छोरा छन् ।“
“नाउँ के के हो नि”
“जेठो कुमार, कान्छो गणेश ।”
“हैट, दाईको त पुरै महादेव परिवार रहेछ, दाई शिव भगवानै पो हो कि क्या हो” मलाई उत्पात हाँसो लाग्यो नाउँ सुनेर, जिस्किन मन भयो ।
“हो भाई, मै हो महादेव । यस लोकमा शिव भएर आएको छु । ”
हुन्छ नि, आफू रक्सि खाएर अथाह मात्तिएको बेला अर्को जँड्याहा उत्पात भएको देखेर आफू त होसमै छु लाग्ने, खाएकै छैन जस्तो लाग्ने । हो ठीक त्यस्तै भयो । मान्छेहरू हनुमानको रूप धारण गरेर हिँडेको जस्तो यिनले पनि आफूलाई शिव सम्झेर हिँडेका रहेछन् । शिवरात्रीको बेलै हो । गाँजाको प्रताप, फुस्केकै रहेछन् ।
अनि मलाई जिस्काउने मन भयो ।
“ अनि भष्मासुर को कुरो के हो त दाइ?” यिनलाई अहिल्यै प्रभु भन्न मन भएन ।
“दिनु दुःख दियो नि । झण्डै सिध्याएको । धन्न विष्णुजीले गरेर बचियो, नत्र ब्रमाण्डको नियम बदल्न पर्थ्यो ।“ उनि शत प्रतिशत शिवको पात्रमा रहेछन् । मैले पनि गाँजा तान्दै सोधेँ ।
“अनि रावणले पार्वती लगेको साँचो हो?” मैले सँधै खुलदुल भएका प्रश्न सोध्ने ठाउँ पाए ।
“अब होइन पनि कसरी भनौं । गाँजा र भाँङ्गले लट्ठ थिए । रावणले औधी तपस्या गरेछ । बह्रमाण्डको नियम, मान्नै पर्यो । चोखो मनले सङ्कल्प गरेको रहेछ । मैले नशा लागेको सुर मा लैजा भनि हाले । उसले लिएर हिँडी गयो । म अर्को सर्को तानेर लडे । विष्णु जी ले संचार गरेको गर्यै। उत्तर दिएको, कराएर, लामो प्रवचन दिएर हैरान, नशा सबै गयो ।
‘अब गल्ती भइ गयो, लौ के गरौं भन्नुस’ भनेको, म मिलाएर रावणलाई पठाउँछु, पार्वतीको नक्कली रूप दिएर पठाउनुहोला’ भन्नु भयो ।
अब हतारोमा यसो जोरजाम गरेर पार्वतीको नक्कली रूप तयार गरे, कैलाश उत्तरको एउटा भक्तले देखि गएछ । नक्कली रूप बनाउने विद्या जानी गयो । उसले मेरो भक्ति नगर्ने, जानेको विद्या कलियुग नलागे सम्म प्रयोजनमा नल्याउने र विद्या हिमालय पर्वत भन्दा दक्षिण भेगमा नबाँड्ने बाचा कबोल गराउँदै थिए । निमेष मै रावण आइ गयो ।“
‘ह्या प्रभो , त्यस्तो शुद्धमनले भक्ति गर्दा पनि नक्कली पार्वती दिने, असली दिनु’ भन्यो , विष्णुजीले यसलाई पनि झोलामा हाल्नु भएछ भन्ने भयो । भर्खरै बनाएको रूप दिएर पठाए । पार्वती रिसाएर उधुम । अति भयो भनेर निकै वर्ष गाँजा खान छोडे नि त्यो बेला । “ सकिन्छ त यस्ता सँग गफ गरेर । म हाँसेर मूर्छा पर्छु जस्तो भयो । तर सके सम्म हाँसो रोकेरै बसे । उनि गाँजा तानेरै बासि रहे । मलाई अझ जिस्काउन मन भयो ।
“अनि प्रभु, हजुरको लिङ्ग पूजा गरि रहन्छन् । अप्ठ्यारो लाग्दैन?”
“किन र भाइ?”
“होइन, अचेल हाम्रो एउटा फोटो ‘भाइरल’ हुँदा कस्तो हुन्छ । झन् भगवान का पनि भगवान । फोटो होइन, लिङ्ग नै यसरी ‘थ्री डी प्रिन्ट’ गरेर प्रदर्षण गर्दछन, सत्ययुग देखि आफ्नो मुन्तुरो ‘भाइरल’ हुँदा कस्तो लाग्छ तपाइलाई? फेरि कसैले सानो बनाइ दिन्छन्, कसैले ठूलो । सानो बनाउनेको मनोकांक्षा पूरा गरिदिनु हुन्छ? अनि त्यसरी दूध, घ्यू, महले पखालि राख्दा च्याप-च्याप हुँदैन?” मेरो बुद्धिले जानेको र व्यवहार ले अप्ठेरो ठानेका प्रश्न सोधे । मलाई यीनका उत्तरमा आनन्द आइरहेको थियो ।
“पहिलो कुरो, लिङ्ग भनेको प्रतीक हो, जनाउ हो, विश्वास हो । यो त खालि मैले गरेको बम्हाण्ड उत्पतिको प्रतीक हो । यो यस्तो समागम हो, जहाँ शिव र शक्तिको मेल हुन्छ । यसले सनातन हिन्दू धर्मावलम्बिहरुलाई एउटा प्रतीक दिन्छ, विश्वास दिन्छ । म सर्वव्यापी छु । तर मेरो रूप छैन । मेरो धर्म छैन। संसारको हरेक प्राणीलाई प्रतीक बनाउने अधिकार हुन्छ । शिव र शक्तिको मेल को प्रतिक हो शिव लिङ्ग । यसको न रङ्ग हुन्छ, न गंन्ध न स्वाद ! सत्य, ज्ञान र अनन्तको एक रूप हो ” ज्यानमारा उत्तर पो दिए । धर्मका दुइचार कुरो त आफूले पनि जानेको जस्तो लागेको थियो । गँजडी भएपनि कनिकुथरि प्रभु भक्तै हुँ जस्तो लाग्दथ्यो । यो शिव भन्ने पनि गँजडी नै हो, साधुको घुम मात्र ओढेको जस्तो लाग्थ्यो । कुरो गह्रौँ पो गर्यो । म लिन तयार नै थिइन, ज्ञान नै पो दियो ।
“अनि यस्ता देवता का पनि देवता शिव दाई, आज विवाहको बार्षिकोत्सभ पार्वती भाउजू सँग कैलाश मा सुमधुर साँझ गर्न छोडेर किन यता डुल्दै हिँड्नु भएको ? भाउजू रिसाउनु होला नि” उस्तै खाले प्रश्न सोधे पनि मेरो लबजमा परिवर्तन भने आइसेकेको थियो ।
पार्वती भनेको प्रेमको तपस्वी हुन् । उनि त साधनाको परिभाषा हुन । म हजार गल्ती गरौं, संसारका लागि विष नै खाऊँ । उनि कहिल्यै गुनासो गर्दिनन् । उनि त प्रेम साधना मा यस्तरी होमिएको देवी हुन्, जसलाई माया का हिसाब, लेखा लाग्दैन । म उनका अघि उपस्थित भए, उनि धन्य हुन्छिन्, खुसीले दंगदास पर्छिन् । उपस्थित हुन नसके, उनि चोखो भावले पर्खन्छिन्। मलाई सम्झन्छिन् , सम्झिरहन्छिन ।“
कस्तो गाह्रो उत्तर दिए शिवजीले । मेरो सम्झनाको पोकोको गाँठो फुस्किन थाल्यो । म त मायाको हिसाब नमिलेर उक्लिएको जोगी । शिवजीले मायामा हिसाब नराखेर मायाका मौजावाल जस्तो कुरा गरे ।
“अनि त्यस्तो रोबोट जस्ति पार्वती भएपछि, बुढाबुढीको झगडा कहिल्यै पर्दैन होला है” मसँग अझै यस्ता प्रश्न सोध्ने पाइन बाँकी थियो ।
“ यो विवाहको संस्थामा रहेपछि, यसको मूल भावहरूमा मायाका लबस्तरापन त अपरिहार्यौ हुन् । तर यसका रूप, ढाँचा फरक हुन्छन् । साधन र स्रोत, समय र गतिमा आधारित हुन्छन् । हो, मायाका यी आयाम अनुभव गर्न हामी सदैव तत्पर हुन्छौ । पार्वती नारि भइदिन्छन्, म पुरुष । सृष्टिका अंङ्ग भएर आउँदा यसका नियम हामीले पनि पालना गर्छौ ।“
“अनि प्रभु, यो पशुपतिनाथ भनेर हजुरलाई पुज्ने देश, यसको उन्नति प्रगति गराई दिनु भएन । खालि पश्चिमी मुलुक मात्र विकास भए, हामी सँधै पछि पर्यौ । झन् नेपालमा त जता-ततै हजुरकै मूर्ति छन् , पशुपतिनाथ, डोलेश्वर, कुशेश्वर, भालेश्वर, हलेशी, अझ नयाँ अग्ला साँगावाला । यसो नेपालको राम्रो गर्दिन पर्यो “ म गहिरा र हावा कुरा दुवै एकै साथ गरिरहेको थिए । म यिनलाई शिवजी भगवान भनेर किन पो विश्वास गर्थे र, तर पनि प्रश्न भने शिवजीलाई झैँ सोध्दै थिए ।
“म मर्त्यलोक भन्दा बाहिर म महादेव हुँ । शिव-शक्ती हुँ । मेरा लागि न राम्रो हुन्छ, न नराम्रो । म राम्रो र नराम्रोको परिधि भन्दा बाहिर भइदिन्छु। मेरो पूजा देवताले पनि गर्छन्, दानव ले पनि । म तिम्रो लागि सबै भन्दा राम्रो पनि भइ दिन्छु, सबै भन्दा नराम्रो पनि । तिमी प्रतीक बनाउँछौ, त्यसको पूजा गर्छौ आफ्नो लागि, म माथिको विश्वासको लागि । म त्यो सहि, गलत केही भन्दिन । किन भने त्यो मेरो आयाममा पर्दैन । म मर्त्यलोकमा आउँदा यसका नियम पालना गर्छु । यसका रूप, विज्ञान, गणित अनि समयको परिधिमा बसि दिन्छु । मर्त्यलोक भन्दा बाहिर म निराकार छु । मेरो रूप छैन ।“ उनको उत्तर सुनेर म फिनिनिनि घुमे। अब चाही मलाई अलि-अलि शंका लाग्न थाल्यो । साँच्चै त होइनन् नि । हुनै सक्दैन । फेरि रूप छैन भन्छन्, किन जोगि रूप लिएर आएका त ? म आफैमा तर्क-वितर्क गर्न थाले ।
“अनि सतिदेविको मृत्यु पछिको पीडा र पार्वती म्याडम सँगको प्रेम कथा के हुन् त?” म सँग शिलाबद्ध प्रश्न सोध्ने होस गुमिसकेको थियो । जस्ता विचार, प्रश्न उब्जन्छन् म उसै गरि पोख्न थाले ।
“त्यो मेरो मर्त्यलोकको पुराण हो । मेरो लिला हो । मर्त्यलोकमा सबका लिला हुन्छन् । मेरो पनि हो । यो लोकमा भावना छ, प्रेम छ, लोभ छ, त्याग छ । यो लोकमा दिन् छ, रात छ, सुख छ, दुःख छ । यो लोकमा समय लागू हुन्छ, अंक लागू हुन्छ । यो लोक बाहिर त्यसको अस्तित्व छैन । म शिव हुँ । गौरी (पार्वती) शक्ति हुन् । हामी यहाँ नारी र पुरुषमा गनिन्छौं । तर शिव र शक्ति भनेको एक हो।“ म सपना देख्दै छु कि, गाँजा को ठाउँमा मगज बिगार्ने अर्कै केही खाए कि, यो जादु हो कि? केही छुट्ट्याउन नसक्ने भइसकेको थिए । मलाई अब यी शिवजी को रूप, सत्य भन्दा पनि उत्तरहरू खोज्न नै चाख भयो । मेरो मन त्यतै गयो ।
"उसो भए मन कस्तो त होस, प्रभु?" मैले निक्कै तौलिएर सोधे ।
"सक्छौ? पानी बनाउ यार । तिम्रो जीवन सजिलो हुन्छ । आकार पनि परिवेश अनुसार हुन्छ । तिमी नभइकन कसैको चल्दैन । प्यारो हुन्छौ अनि सुखी ।" शिवजीले म तिर नहेरी भन्नुभयो ।
"तर पानी त चिसिंदा फुल्छ, हैन?" मैले शिवजीको समाधानमा तर्क दिन खोजे।
"तिमीले खोजेको त्यही होइन? कि होइन भने, पहिले आफूलाई प्रस्ट पार अनि प्रश्न तेर्स्याउ ।" बुढाले अझै म तिर हेरेनन्
“तर मैले सबै कर्म नछुटाउँदा पनि किन मलाई दु:ख भयो त? किन मेरो माया सम्बन्ध सु-मधुर हुन सकेन? मैले पुतलीलाई सबै पुर्याउन खोजे । मेरो मुटुको चाक्लै लगेर उनलाई राखेको हो । मैले उनकै लागि सधैं कर्मको बाटोमा हिँडेको हो । सके सम्मको राम्रो भलादमी भएको हो, मिलेसम्मको परोपकार गरेकै हो । तर किन मेरो मायाको नाऊ डुब्यो त भोले?” मैले रोक्ने खोजे पनि आँशु थामिएनन् ।
“तिमीले माया गरेको कि व्यापार? भावना पोखेको कि हिसाब जोखेको? माया आशारहित हुन पर्छ । तिम्रो मायाको घनत्व जति-जति बढि हुन्छ, त्यति-त्यति त्यो सम्बन्धको गहिराइमा डुब्दै जान्छ । तर जब तिमी मेरो यति आयतन भएको मायाले यति सम्बन्ध भरिन्छ भनेर हिसाब गर्न सुरु गर्छौ, हो त्यही पल तिम्रो माया हलुङ्गे भइदिन्छ । अहँ, डुब्न सक्दैन ।“
यिनले आर्केमेडिजको गफ दिन पनि भ्याए तर यो कुरो भने मेरो मन मा गढ्यो ।
मैले सदैव मेरा मायाको सिला गनि रहे, जोखि रहे। । पुतलीले व्यक्त गर्न नसकेको र मैले बुझ्न नसकेको कडी पक्कै पनि यही नै जस्तो लाग्यो । नत्र साथ त हाम्रो लामो भएको हो, सम्बन्ध गाढा हुन कहिले सकेन । मैले मेरो जीवन त उनलाई सुम्पेको थिए तर उनको जीवन मलाई साटोमा चाहिएको थियो । मैले पुतलीलाई निस्फिक्रि कहिले छोडिन् अंह छोड्नै सकिन् ।
कति अप्ठ्यारा कुरा कति सजिलोसँग बुझाई दिनु भयो । शिवजीले मेरो मनको बर्षौ देखीको गाँठो कति सजिलो फुकाइ दिनुभयो ।
भोलि पल्ट निकै अबेर पछि उठेछु । म कति बेला त्यो पाटी बाट हिँडे, शिवजी कता गए केही पत्तो भएन । कपालको जरा दुखेको थियो । सम्हालिएर बाहिर गए । साथी भाइ बाहिरको चिया पसलमा मेरो खिल्ली उडाइ रहेका रहेछन् । सभ्य भएर मुस्कान भिर्दै चिया खाने ठाउँको बेन्चमा बसे ।
हिजो कता पुगिस् बाहिर? नया पुतली भेटिस् कि क्या हो?
मैले सानो हाँसोका साथ त्यो प्रश्न टार्न खोजे ।
तर सन्तोषले गम्भीर भएरै सोध्यो, राति कता गएको थिइस् भनेर ।
निफन्न पर्ने कुराहरू निफने अनि गाह्रो-गाह्रो गरि रात को कथा सुनाए ।
“ ए! भाइलाई त्यो शिव भेषी जोगीले रात भरि गफ दिए?” चिया पसले दिदीले हाँस्दै भन्नु भयो ।
“को हो दिदी त्यो, के हो कुरो ?” मैले नजाने जस्तो गरि सोधे ।
“खोइ मैले त भेटेको होइन, गाउँका लोग्ने मान्छेको कुरो हो । म जोगीभेषी शिव हो भन्छ रे आफूलाई । मान्छेलाई बातले बाँधेर रात भरि राख्छ रे । त्यो सँग बात मारेका मान्छेलाई प्रेत फुक्न पर्छ भन्छन् । जोगी भेषी शिव होइन, शिव भेषी जोगी हो भन्छन् त्यसलाई”
मेरा सबै साथीहरू मुसुमुसु हाँस्न थाले । मेरा साथीहरूले भविष्यमा मलाई जोख्न अर्को कथा पाए ।
म भने शिवजी र जोगी बीचको साँघुमा उभिइरहें ।यति नै ।
meaninglessthinkings@somewheroendearth
(धरावासी सरको राधाबाट प्रेरित)