कैलालीको टीकापुरमा भदौ ७ गते घटाएको हिंसात्मक घटना नेकपा माओवादीका पूर्व लडाकुको संलग्नतामा भएको खुल्न आएको छ । थरुहट थारुवान संयुक्त संघर्ष समितिले गरेको बन्द, हड्ताल र प्रदर्शनमा पूर्व लडाकुहरुको संलग्नतामा ८ जना प्रहरीको हत्या गराएको राष्ट्रिय मानव अधिकार आयोगले आज एक विज्ञप्ति जारी गर्दै पुष्टि गरेको छ । आयोगले स्थलगत अनुगमन तथा अनुसन्धानबाट जिल्लाको जोशीपुर गाविसबाट आएका आन्दोलनकारीहरुमा तत्कालीन नेकपा माओवादीका पूर्व लडाकुहरु पनि समावेश भएको स्पष्ट पारेको हो । आन्दोलनमा अधिकांश युवा उमेर समुहका व्यक्तिहरु सहभागी रहेको, सामाजिक सदभाव बिग्रन नदिन थरुहटका कार्यकर्तालाई आग्रह गर्दै गर्दा एसएसपी न्यौपानेमाथि आक्रमण भएको पनि आयोगले जनाएको छ । प्रदर्शनकारीहरुले एसएसपी लक्ष्मण न्यौपाने सहित ८ जना प्रहरीको घरेलु हतियार भाला, खुकुरी, बन्चरो आदि प्रयोग गरी हत्या गरिएको आयोगले बताएको छ । यसैगरी आफ्नै घरआगनमा बसिरहेको समयमा खेतबारीबाट प्रदर्शनकारीहरुको गोली प्रहार भई डेढ वर्षीय दुधे बालकको मृत्यु भएको पनि अनुगमनका क्रममा पाइएको बताएको छ । भदौ ७ गते प्रदर्शनमा आक्रामक हुँदै उत्रिएका प्रदर्शनकारीहरुमाथि प्रहरी तर्फबाट अश्रुग्याँस र गोली प्रहार हुन थालेपछि आक्रोशित हुँदै उनीहरुले प्रहरीको हत्या गरेको पाइएको पनि आयोगले उल्लेख गरेको छ । 'भदौ ६ गते भएको सर्वपक्षीय भेलाले आन्दोलन शान्तिपूर्ण र मर्यादित बनाई सामाजिक सद्भाव कायम गर्ने भनी प्रशासन र आन्दोलनकारीबीच सहमति भए पनि सो सहमति कार्यान्वयन नभएको पाइएको छ । घटना घटिसकेपछि भदौ ८ गते सभासद् एवम् सर्वसाधारणको घर, सम्पत्तिमा आगो लगाउने कार्य सुरक्षा सम्वेदनशीलता विपरित देखिन्छ' आयोगले भनेको छ । यता आयोगले घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन, सर्वसाधारण नेपाली जनताको सुरक्षा गर्न, मृतक परिवालाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरुको उपचारको उचित व्यवस्था मिलाउन र यस किसिमको घटना पुनरावृत्ति हुन नदिने तर्फ सजग रहन नेपाल सरकार र आन्दोलनरत पक्षको आयोगले ध्यानाकर्षण गराएको छ । आयोगले लामो समयदेखि कर्फ्युको कारण आम नागरिकको दैनिक जनजीवन कष्टकर हुँदै गइरहेको, पेशा, व्यवसाय एवम् रोजगारीमा समेत प्रतिकूल असर परिरहेकोले त्यसको समाधान खोज्न पनि सम्बन्धित पक्षलाई आग्रह गरेको छ । -