१८ चैत, पोखरा । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टी पराजित भएपनि स्थानीय निकायको निर्वाचन हुनैपर्ने बताएका छन् । १९ बर्षपछि प्राप्त अवसर गुमाउन नहुने उनको तर्क छ ।
ओलीले १९ वर्षपछि हुन लागेको निर्वाचन असफल पार्न षड्यन्त्र भइरहेको आरोपसमेत लगाए । उनले निर्वाचन हुन नदिन देशी बिदेशी शक्तिहरु लागेको बताएपनि कुन शक्ति भनेर खुलाएनन् ।एमाले कास्कीले शुक्रबार पोखरामा गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले चुनावको सम्भावित हारबाट सशंकित नभएको प्रष्ट पारे । उनले भने, ‘एउटा निर्वाचन हारे जनताको मन जितेर अर्को निर्वाचनमा बिजयी हुने पार्टी एमाले हो ।’
कांग्रेसप्रति आक्रोशित हुँदै ओलीले कांग्रेस आफू हार्ने ठाउँमा चुनाव हुन नदिने प्रयास गरिरहेको पनि आरोप लगाए ।
संविधान संशोधनको बिरोध गर्दै ओलीले कसैलाई खुशी पार्न संविधान संशोधन हुन नसक्ने अडान दोहोर्याए । उनले भने, ‘कसैको निगाहमा उसलाई खुशी पार्न हुने संशोधन स्वीकार्य छैन ।’
ओलीले नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईप्रति पनि आक्रोश व्यक्त गरेका छन् । ‘३२ वटा पार्टीका ३२ जना मान्छे लिएका एक जना बाहुन छन्, उनले चुनाव हुन्न दिन्न रे, कसैले भनेर चुनाव रोकिदैन ।’ उनले भने । केहि समययता ओली र भट्टराईबीच आरोप प्रत्यारोपको शृङखला चलिरहेको छ ।
यसअघि पोखराका विभिन्न क्षेत्रबाट निस्केको र्याली चिप्लेढुङ्गास्थित मानवअधिकार चोकमा आएर सभामा परिणत भएको थियो । सभाका कारण करीब ३ घण्टा पोखराको ट्राफिक ब्यबस्थापन अस्तब्यस्त भएको थियो ।
तस्वीरः उमेश पुन