बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको लागि तयार गरिएको वातावरणीय प्रभाव अध्ययन (ईआईए) वैज्ञानिक तरिकाबाट नभएको विज्ञहरू बताइरहेका छन् । वातावरणीय प्रभाव अध्ययनसम्बन्धी विज्ञहरूले त्यहाँको प्रतिवेदन कुनै अरु परियोजनाको प्रतिवेदनबाट ‘कपी पेस्ट’ गरिएको बताइरहेका छन् । मूलतः त्यो कुनै विद्युत्गृह निर्माण परियोजनाको वातारणीय प्रभाव अध्ययनको ‘कपी पेस्ट’ गरिएको विज्ञहरूको भनाइ छ ।
कुनै पनि ठूलो आकारको परियोजना निर्माणपूर्व तयार गरिने ईआईए वास्तवमा उक्त योजनाको गुरुयोजना सरह हुने गर्दछ । त्यो योजना कार्यान्वयन गर्दा स्थानीयरुपमा पर्ने वातावरणीय, सामाजिक र सांस्कृतिक सकारात्मक वा नकारात्मक प्रभावबारे त्यसमा अध्ययन गरिएको हुन्छ । बहुमूल्य प्राकृतिक वा सांस्कृतिक सम्पदा नष्ट गरी भौतिक निर्माण गर्नुलाई मात्र विकास भन्नु समयले गलत प्रमाणित गरिसकेको छ । कुनै पनि भौतिक निर्माण गर्नुपूर्व ईआईए गर्नुपर्ने अवधारणा नै विकासको नयाँ परिभाषाको आधार पनि हो । ईआईए प्रतिवेदनअनुसार त्यहाँको सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण र व्यवस्थापनपछि कुनै पनि परियोजना निर्माण गर्नुपर्दछ ।
बारा जिल्लामा निर्माण गर्ने भनिएको निजगढ विमानस्थलको लागि तयार गरिएको ईआईए प्रतिवेदन आफैंमा गलत भएपछि सो विमानस्थल निर्माणको थप प्रक्रिया अघि बढाउनु नै गलत हुन्छ । खोटपूर्ण प्रतिवेदनले विमानस्थल निर्माणको वातावरणीय प्रभावबारे सही जानकारी दिन सक्दैन । फलतः भोलि विमानस्थल निर्माणपछि त्यसले पूर्वानुमान गरिएभन्दा धेरै दुष्प्रभाव पार्नेछ ।
विमानस्थल निर्माणको लागि आवश्यकताभन्दा बढी रुख कटानी गर्ने सरकारी निर्णयको पनि व्यापक आलोचना भइरहेको छ । आजभोलि संसारमा जुनसुकै निर्माण कार्य गर्दा पहिलो सावधानी नै वातावरणमा पार्ने प्रभावका बारेमा हुने गर्दछ । प्रदूषण, भूक्षय, बाढी पहिरो, विश्वको तापमान वृद्धि, डढेलोजस्ता समस्याका कारण आज कुनै एउटामात्र देश नभई संसारका सबै देश प्रभावित बनेका छन् । त्यस्तो प्राकृतिक प्रकोपको दुष्प्रभावबाट नेपालमात्र अछुटो रहनेछैन । नेपालका मुख्य मुख्य सहर आफैं प्रदूषणको समस्याबाट आक्रान्त छन् । त्यस्तो अवस्थामा विमानस्थल निर्माणको नाममा लाखौंको सङ्ख्यामा रुख कटानी गर्नु मूर्खता हो । नेपाल आफैं जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताको हस्ताक्षरकर्ता हो । सर्वोच्च शिखर सगरमाथाको देश हुनुको नाताले नेपाल जलवायु परिवर्तनको सन्दर्भमा संसारको नजरमा छ नै । त्यस अतिरिक्त नेपालका जङ्गल कैयौं जङ्गली जनावरको वासस्थान हो । ती जनावर हाम्रै देशका सम्पत्ति हुन् । जङ्गल पात्लिदै जाँदा कतिपय जङ्गली जनावर हामीले गुमाइसकेका छौं । अझ पनि जङ्गल सिध्याउने यस्तो योजनाले अन्ततः नेपाललाई मरुभूमीकरणतिर धकेल्ने प्रयास हो ।
आवश्यकताभन्दा बढी रुख कटानी गरी सरकारले काठ तस्करकै सेवा गर्न खोजेको भन्नेमा जनताको शङ्का छ । चुरे क्षेत्रका गिट्टी र ढुङ्गा भारततिर तस्करी गर्दा नेपालको पर्यावरणमा परेको प्रभावबारे विज्ञहरूको चिन्ता नयाँ होइन । अहिले फेरि तराईका जङ्गलको फँडानीले नेपालमा थप वातारणीय सङ्कट निम्त्याउने चालबाजी भइरहेको छ ।
सरकारले निजगढ विमानस्थलको खोटपूर्ण वातावरणीय प्रभाव अध्ययन अझ व्यवस्थित रुपमा विज्ञ टोलीको परिचालन गरी अहिलेको प्रतिवेदन सच्याउन आवश्यक छ । अनावश्यक रुपमा जङ्गल विनाश गर्ने निर्णय खारेज गर्नुपर्दछ । नेपालका लागि कतिवटा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता छ भन्ने कुराको सही मूल्याङ्कन नगरी हचुवाको भरमा जताततै अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु कालान्तरमा पछुताउनुपर्ने हुनसक्छ ।