साँस्कृतिक चाड छठ आज भव्यताका साथ मनाइँदै छ । नेपालका सबै जातजाति, भाषाभाषी र क्षेत्रका चाडबाडका आ–आफ्ना सांस्कृतिक र सामाजिक महत्व छन् । सामाजिक एकतालाई बलियो बनाउन यस्ता चाडबाडले विशेष भूमिका खेलिरहेका हुन्छन् । धर्मप्रतिको विश्वास र आस्था व्यक्तिको निजी मामिला हो ।
चाडबाडसँग जोडिएको किंवदन्तीको वैज्ञानिकता पनि समयको कस्सीमा जाँचिने गर्दछ । तर चाडबाडले समाजमा गाडेको सांस्कृतिक महत्व भने मानिसको परिचय बनेर सामाजिक भावनाको गहिराइमा पुगेको हुन्छ ।
नेपाली जनतालाई एउटै राष्ट्र मान्ने पञ्चायती नीतिका कारण नेपालका अधिकांश चाडबाड र संस्कृति राज्यसत्ताको दमनमा परेको थियो । धर्म र संस्कृतिको मामिलामा राज्य तटस्थ हुनुपर्नेमा राज्य स्वयंले केही निश्चित चाडबाड र संस्कृतिलाई बोकेर अन्यलाई विभेद ग¥यो । यो राज्यले जनतामाथि गरेको सांस्कृतिक दमन हो । राज्य आफैं विभेदकारी बन्दा पञ्चायती व्यवस्थालाई जनताले आफ्नो राज्यको रूपमा कहिल्यै लिन सकेनन् । पञ्चायती व्यवस्था ढल्यो । तर पञ्चायती व्यवस्थाले हालेको यो विभेदकारी व्यवस्थाको जग अझै पनि भत्किएको छैन । बरू आजका शासकले पनि त्यही बन्दोबस्तलाई फरक नाममा निरन्तरता दिइरहेका छन् । त्यसकारण दसैं र तिहारजस्ता चाडबाड हाम्रा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयमा जति उत्सवमय बनेको हुन्छ, छठलगायत चाडबाडमा हुने गर्दैन ।
सबै जाति, भाषा र क्षेत्रका जनताले तिरेको करबाट पद भोगिरहेका राज्यका पदाधिकारीहरूले केही निश्चित क्षेत्र र समुदायका चाडबाडलाई मात्र उत्सवको रूपमा मनाइनु आफैंमा विभेदकारी नीति हो । धर्मनिरपेक्षता लागू भएको देशमा राष्ट्रप्रमुख र सरकारप्रमुखले सबै जनताको भावना सम्बोधन गर्नुपर्दछ ।
सञ्चारको तीव्र विकाससँगै आजभोलि कुनै पनि चाडबाड सीमित भूगोलभित्र मात्र केन्द्रित छैन । छठको परिधि आज तराईमा मात्र सीमित छैन । नेपालका अधिकांश प्रमुख सहरी क्षेत्रमा छठ भव्य रूपमा मनाइने गरेको छ । राजधानी काठमाडांैमा पनि छठ भव्य रूपमा मनाइन थालेको धेरै वर्ष भइसकेको छ । जसरी दसैं, तिहार, ल्होसार, म्हपुजा आज नेपालको सिमानाभित्र मात्र सीमित नभई नेपालीहरू पुगेका अधिकांश देशमा मनाइने गरेको छ, छठ पनि विदेशमा समेत मनाइने गरेको छ । रोजगारका सिलसिलामा आफ्नो जन्मथलो छोडेर बाहिर बस्दै आएका समुदायबीच छठ वा त्यस्तै अन्य साँस्कृतिक एकतालाई बलियो बनाएको हुन्छ ।
वैज्ञानिकताको कस्सीमा घोट्दा चाडबाडका कतिपय कुरा आज असान्दर्भिक बन्दै गएका छन् । चाडबाड शिलामा लेखिएको कुनै आलेख कदापि होइन । समयसँगै चाडबाडमा पनि परिवर्तन स्वाभाविक हो । चाडबाडभित्र रहेका अवैज्ञानिक र असान्दर्भिक पक्षलाई छोड्दै तिनका सामाजिक र सकारात्मक पक्षलाई भने अँगाल्दै जानुपर्दछ । छठले तराईमा रहेका सबैखाले विभेद, अन्याय, विकृति र पछौटेपनालाई कमजोर बनाउँदै प्रगतिशीलता र रचनात्मकतालाई अझ विस्तार गर्नुपर्दछ । छठको सबैलाई हार्दिक शुभकामना !