एउटै जुन मुनि
एक्लो र सुनसान रात
शान्त आकाश हेर्दै निदाउन खोज्दा
माथिको जुनलाई नियाल्दै
अनगिन्ती सम्झनाहरुले बयली खेल्छन
बिस्तारै मलाई याद आउछ
बितेका ती दिनहरु
तिमी मलाई भन्ने गर्थ्यौ
"जब जब तिमिलाई मेरो याद आउछ
तिमी माथिको जुनलाई हेर्नु,
किनभने म पनि तेही जुन हेरिरहेको हुनेछु"
तिमीलाई हेर्ने र तिम्रो अङालोमा हराउने
बल्दै अनी जल्दै एउटै चाहना थियो
मेरो उद्देश्य हराइरहेको जीवनमा
केही साम्यपन ल्याउने
एउटा मलिन आस थियो
यिनिहरु सबैले बेला बेलामा
मेरा अन्तस्करणमा आउछन
धावा बोल्दै
म भित्रको बिद्रोही, प्रेमी र जनावरलाई
भावनाहरुको ज्वारभाटाहरुले पेल्दै
अनी पोखिन्छन अनेकौ पिडाका लश्करहरु
ती भावनाहरु जसलाई छेक्न सक्तैन
कुनै सिमाका रेखाहरुले
न कुनै मान्छेले बनाएका नियम र नितिहरुले
सत्य सधैं एउटै रहन्छ जुनी जुनी सम्म
सुर्य तेही छ, जुन तेही छ
ताराहरु तेही छन, आकाश तेही छ
यती धेरै समानताहरुको बावजुद
हामी धेरै टाढा छौ
भिन्न ठाउँ, भिन्न समय
र भिन्न परिस्थितीमा
यी भिन्नताहरु आउछन
छुटिएका आत्माहरुलाई भ्रमित गर्न
हर प्रयासबाट, हर तरिकाबाट
एक-अर्का बिना, अपूर्ण बनाउदै
अनि म घ्रिणा गर्छु
हामी बीचको भिन्नताहरुको निर्दयीपनलाई
उही एउटै आकाशमुनी, एउटै जुन मुनी
("जब जब तिमिलाई मेरो याद आउछ, तिमी माथिको जुनलाई हेर्नु किनभने म पनि तेही जुन हेरिरहेको हुनेछु" एउटा पुरानो स्प्यानिश फिल्मको लाइन थियो, तेसै लाइनको सेरोफेरोमा रहेर मैले यो कबिता लेखेको हुँ। अब "दुइ-पैसे", "रुन्चे" कबिता लेखेको जस्तो लागेमा माफ पाउँ होला।)