त्यही माटो, त्यही ढुङ्गा र त्यही खापाले बनेको घर अगाडी संबाद थालुं'की भनेको,
देउता भाकी खनेको जग जुरुक्क उभिन्छ,
भात्तेर खाई हालेको छानो पनि टाउको उठाउँछ,
बुईगलको आँखिझ्याल आँखा झिम्क्याँउछ,
म अवाक्..
केही भन्लाकी भनी ढोकातिर हेर्छु
उँ मुख बिगारेर नागथानतिर बट्टारिन्छ
म उभिरहन्छु ....
त्यो धुरीमा अड्केको चंगा झिकिदेलकी भन्ने आश थियो,
मेरो घर ,
रछ्यानको खल्डो खनिरहेको छ
म इशारा गर्छु, उँ मकै बारी देखाउँछ ,
भटासको पातमा बसेको साँपले तर्स्ँउछ
म मादा लगा'को धागो बेरिरहेको हुन्छु
उँ गुइँठा परी भित्ताभरी सुकाउंछ !!!
परालको कुन्युमा ढुसीको रापले निदांउछु म ,
नभुक्ने कुकुर फूलहरु मलाई आफ्नो बफादारी देखाउंछन्
घरको सन्चो -बिसन्चो भन्छन ,
मेरो घर ,
कालो बोको आँगनमा पर्सेर खुकुरी खोज्न हिड्छ
म चुलोमा बसालेको पानीमा खारानी बनी उम्मलन्छु !
मेरो घरको एउटा कथा छ...
मैले नसुनेको ,
सुनेर पनी बिर्सेको ,
बिर्सेर पनी नसम्झेको
कथा, कथाहरु । । ।
दलिन भरिका झारले बताउंछ
सुकेर गयको तुलसी को मोठले ,
काटिन लागेको अ्ंबाको बोठले त्यो बताउंछ ,
म फर्किन्छु मेरो घरसँग कुरा गर्न
उँ मध्य घाम बिस्कुन सुकाउंछ ,
तोरी पेल्छ,
सुकुलमा बसी तास खेल्छ ,
बिस्तारै आफुसँग मलाई लिएर
भांसिदै जान्छ....
म बोल्न सक्दिन,
मेरो घरसँग,
मेरो विम्वसँग,
जो हामी गएपछी ...
धागो फाली, कोदालो भिरी जग खन्न बस्छ ,
एउटा घर बनाउन, एउटा म बनाउन!