देउवा, अर्ध-नारीस्वर र मार्ग-चित्र
खगेन्द्र संग्रौला
उस्तैउस्तै मति भएका दुई भाइ उदाउँदो उदार लोकतन्त्रलाई ठोक्न र जग हल्लिरहेको अनुदार राजतन्त्रलाई बोक्न काँधमा काँध मिलाएर कटिबद्ध भएका छन् । यी हुन्, महामहिम जेम्स एफ मोरिआर्टी र भूपू शाही प्रधानमन्त्री शेरबहादुर देउवा । श्री जर्ज बुसले दिल्लीबाट नेपालतिर फर्केर खटन गरे, माओवादी हिंसा थाम, राजा दलहरूसँग बात मार । बुसले बेस गरे । उनले कमसेकम उग्र दमनमा परेका दलहरूलाई मुन्टो टेकेर दमनकारीसँग बात मार त भनेनन् नि । बुस नामक बोसका वचनले मोटीआर्टीका मुखमा झ्याप्प बुजो लगाइदियो । अबलाई केही दिन यिनको प्रतिगामी अर्ती सुन्नबाट यो ज्यानले छुटकारा पाउने भो ।
देउवाको अशोभनीय ताहुरमाहुरको असर भने अझै सेलाएको छैन । मलाई लागेको थियो, चिन्तन भुत्त-भुत्तेे भए पनि देउवा बैगुनीचाहिँ नहोलान् । तर यी उत्पात बैगुनी रहेछन् । यिनले आपmनो दलका दामले सहयात्री गोपालमान श्रेष्ठप्रति भयानक कृतघ्नता प्रदर्शन गरे । गम्नुस्त पाठकवृन्द ! शाही खोरमा नभएका भए दलमा देउवाको हबिगत के हुँदो हो ? यी पक्का पनि ठूलो होहल्लाबीच सभापतिको पदबाट सदाका लागि निकाला गरिन्थे । तर भाग्यवश यिनको थमौती भयो । यिनलाई थमौती गर्ने मूल पात्र गोपालमान थिए । शाही सत्तापीडित देउवालाई सभापतिमा थमौती गर्नु दुःखको बेलामा उनलाई नैतिक समर्थन गर्नु र सर्वसत्तावादी राजातिर चुनौतीको चोके फाल्नुथियो । जे गरे, विशालहृदयी गोपालमानहरूले सर्वथा उचित काम गरे ।
बाह्र बुँदे समझदारीमा दलका कावा सभापतिको नाताले गोपालमानको सही गिरेको छ । पदीय नाताले गोपालमान दलका प्रतिनिधि बिम्ब हुन् । यस अर्थमा त्यो सिङ्गो दलको सही हो । उसो त त्यो सहीमा ससुरालीतुल्य थुनामा बसेका देउवाको पनि गोप्य सहमति थियो । रहँदा बस्दा आन्दोलनको दबाबले देउवा थुनामुक्त भए । जब बाहिर निस्के, वैचारिक यार मोरिआर्टीसँग तत्काल उनको भेट-मुलाकात भयो । अनि उनी राजावादी मोरिआर्टीको कार्बन कपीमा ढलान भए । हेर्नु, अहिले उनका हातमा बन्चरो छ । त्यो मारिआर्टीले दिएको बन्चरो हो । उनी बन्चरो उजाएर १२ बुँदे समझदारीमा भकाभक मार हानिरहेका छन् ।
आफू तल झरेर देउवालाई माथि सभापतिको आशनमा बसाउने गोपालमान यतिखेर शाही खोरमा छन् । तर देउवालाई उत्रो पर्वाह छैन । उनलाई त पर्वाह केवल कुर्सीको छ । बाह्र बुँदे शिशुलाई सराप्दै देउवा गोपालमानको निर्णय क्षमता र उनको नैतिकताको घोर अपमान गरिरहेका छन् । अनि कांग्रेसी एकताका नाउँमा घुर्की लगाउँदै कुरो घुमाएर मोलतोल गर्नमा उनी मग्न छन् । उनका निधारमा राजाका हातबाट लगाइएका अक्षम प्रधानमन्त्रीका दुईवटा कलंक ताजै छन् । तर इतिहासबाट कहिल्यै केही नसिक्ने देउवालाई कलंकको सम्झना र त्यसको पीडा रत्तिभर छैन । उनलाई त जसरी हुन्छ १२ बुँदे समझदारीलाई भत्काउनु छ । दरबार र अमेरिकाको साखुल्य बन्नु छ । अनि बकसका रूपमा गिरिजा बाबुका कुम टेकेर सिंहदरबारको गद्दीमा पुनः विराजमान हुनु छ ।
जगत् जान्दछ, देउवा विनाशको कलामा माहिर छन् । बाहन र पेन्सन बाँडेर यिनले संसद्को दुर्नाम चलाए । सांसद किनबेचको धन्दा थालेर यिनले संसद्लाई बंगुरालय बनाउन खोजे । यिनले रातिबीच प्रतिनिधिसभा लगेर राजाका पाउमा चढाए । यिनले असोजतन्त्रको करिया प्रधानमन्त्री बनेर बल्लतल्ल रापिन थालेको आन्दोलको हत्या गरे । अनि अहिले संकटको भुमरीबाट मुलुकलाई पार लगाउला कि भनी झिनो आशा गरिएको १२ बुँदे मार्गचित्रको शिर कलमी गर्न यिनी कन्दनी कसेर लागिपरेका छन् । तब न देउवा !
देउवाको विनाशकारी बक्बक्ले जब कान खायो, मलाई सातमध्येका ६ दलको याद आयो । म ठान्थेँ, सामन्ती दरबारविरोधी सात दलीय एकता-मोर्चा अराजकहरूको झुन्ड अवश्यै होओइन । बोल्नु हुने र बोल्नु नहुने कुराको सीमा तोक्ने लछुमन रेखा त यसको पनि होला नै । उसोभए अब देउवामाथि हुने के हो ? एक चित्तले कान थापेँ । तर केही भएन ।
मेरा कुरा गर्ने हो भने जे छोयो त्यसैलाई ध्वस्त पार्ने देउवालाई मोर्चाबाट तत्काल हटक गर्नुपथ्र्यो । प्रकृतिमा पतझडको याममा रूखबाट पहेँला पातहरू र्झछन् । तर रूख सदाका लागि नांगो हुँदैन । पहेँला पातहरू झर्नु भनेको भावी हरिया पातहरूलाई ठाउँ खाली गर्नु हो । कांग्रेसी रूखमा देउवा नामक पहेँलो पात लिसो लागेर झुन्डिरहेको छ । यो जीर्ण, बन्धुघाती र अतिशय पदलोलुप पात हो । प्रजातान्त्रिक कांग्रेसका विचारवान् र नैतिकवान् नरनारीहरू के हेरी बसेका हुनन् सोचेर ल्याउँदा मलाई उदेक लाग्छ ।
Read the rest in today's Kantipur
http://kantipuronline.com/kolnepalinews.php?&nid=67584
Posted on: 2006-03-07 20:50:59