नेपाल आएको वखत स्वामी रामदेवले काठमाडौंमा अत्यन्त गोप्य ढंगले एक ठाउँमा विषेश योग प्रशिक्षण शिविर चलाए । यो शिविरमा सात दलका नेतागण मात्र थिए । रामदेवले नेताहरुलाई योगका अनेक आसन सिकाए । त्यसपछि स्वास्थ्य उपचार सुरु गरे । रामदेवले प्रत्येक नेताको सबैभन्दा ठूलो एउटा रोगको मात्र उपचार गर्छु भने । सबैभन्दा पहिले उनले गिरिजाप्रसाद कोइरालाको उपचार थाले ।
गिरिजाले स्वास्थ्य समस्या बताए-’स्वामीजी, मलाई राजतन्त्र रोजौं कि गणतन्त्र रोजौं भन्ने द्धिविधाले रातभर निद्रा लाग्दैन ।’
गिरिजाको नाडि छाम्दै रामदेवले भने-’ओ हो ! तपाईको रक्तमा राजतन्त्र र गणतन्त्रका बीचमा ठूलो युद्ध चलिरहेको छ । नसामा एकातिर राजतन्त्रको रक्तप्रवाह भइरहेको छ भने अर्कातिर गणतन्त्रको ढलप्रवाह भइरहेको छ । यस्तो अवस्थामा तपाईले मौन आसनको योग गर्नुपर्छ । यो आसनको योग गर्दा राजतन्त्र कि गणतन्त्र भन्ने विषयमा धेरै बोल्नु हुँदैन । बोल्नै परे राजतन्त्रवादीहरुको कानमा राजतन्त्रको पक्षमा र खुला रुपमा अलिअलि गणतन्त्रको पक्षमा बोलेजस्तो गर्नुपर्छ ।’
कुरा सुनेर गिरिजा मुसुक्क हाँसे । रामदेवले गिरिजाको छाती छाम्दै भने- ‘प्रधानमन्त्रीज्यू, तपाईंले विरामी आसनको योग गरिरहनुभएको छ होइन ?’
गिरिजाले ‘के भन्नुभएको हो, बुझिन’ भने ।
रामदेवले भने- ‘समस्या आइलाग्दा, बैठकमा अप्ठेरो पर्दा विरामी भएं भन्दै सुत्न जाने गर्नुभएको छ ?’
‘त्यही गरेर त म टिकेको छु नि स्वामीजी’-गिरिजाले भने ।
रामदेवले भने- ‘स्याबास्, यसो गर्नुलाई विरामी योग भनिन्छ । यो योगलाई जारी राख्नुस् र यो औषधी खानुस् ।’ रामदेवले औषधीको एउटा बट्टा दिदै भने- ‘यो तिवारी गोतामे भष्म हो । राजतन्त्र र गणतन्त्रको कुरा आउनासाथ यो भष्म प्रयोग गर्नुस् । ताक परे तिवारी नत्र गोतामे भन्ने कहावतका आधारमा यो भष्म तयार पारिएको हो ।’
कोइरालाले तिवारी गोतामे भष्म खल्तीमा हाले ।
त्यसपछि प्रचण्डले दश औंला जोड्दै भने-’स्वामीज्यू, मलाई चुनाव गर्ने कुरा सुन्नासाथ डर लाग्छ।’
प्रचण्डको देब्रे छातीमा हात राख्दै रामदेवले भने- ‘मैले यस्तो रोग धेरैजनाको निको पारेको छु । तपाईले अब लाठी मुड्की आसन को योग गर्नुपर्छ ।’
प्रचण्डले आँखीभौं खुम्चयाउँदै भने- ‘स्वामीजी, हाम्रो पार्टीले त यो भन्दा कडा बन्दुक योग गर्यो । अहिले लाठी मुड्की आसन गरिरहेको छ । तैपनि रोग झन चर्किदै गयो……।’
प्रचण्डको कुरा बीचमै काट्दै रामदेव बोले- ‘ना, ना, ना ! तपाईहरुले वाइसिएल विधिबाट लाठी मुड्की आसन गर्नुभयो । यो विधिबाट रोग झन चर्किन्छ । लाठी मु्ड्कि योगको उपयुक्त विधि कांग्रेस एमालेलाई आउँछ । उनीहरुकै हेरेर सिक्नुहोला ।’
कुरा सुनेर प्रचण्डले टाउको कन्याए । प्रचण्डले घाटीमा लगाएको बुटि समातेर ओल्टाइपल्टाइ हेर्दै रामदेवले भने-’यो लेनिन ड्युमा बुटी लगाउनुभएको रहेछ, यो धेरै पुरानो बुटी हो । यसले काम गर्दैन । यो जन्तर लगाउनुस् ।’ त्यसपछि रामदेवले प्रचण्डको घाँटीमा ‘लालु यादव निर्वाचन जन्तर’ लगाइदिदै मन्तर पढे ।
प्रचण्डले सोधे-’यो जन्तर मन्तरले चुनाव सार्न र भाँड्न पनि सकिन्छ ?’
‘राम्ररी सकिन्छ’-रामदेवले भने ।
प्रचण्ड प्रसन्न भए ।
अब पालो माधव नेपालको । माधवले आफ्नो रोग सुनाए-’स्वामीज्यू मलाई कांग्रेस र माओवादीसँग असाध्यै डर लाग्छ । यो रोगको केही उपचार छ कि ?’
माधवको नाडी समात्दै रामदेवले भने- ‘चिन्ता नगर्नुस्, मसँग सबै रोगको उपचार छ । तपाईको नाडीबाट के थाहा हुन्छ भने तपाईको स्वास्थ्य एकदम राम्रो छ । दिल्ली, वाशिङटन र लण्डनको तिर्थ-ब्रत अझै धेरै गर्नुस्, जुनसुकै योग पनि दिल्लीतिर मुख फर्काएर गर्दा फलदायक हुन्छ ।’ रामदेवले माधवलाई मुख ‘आँ’ गर्न लगाए । मुखभित्र हेर्दै उनले सोधे- ‘तपाई सीताराम येंचुरी चुर्ण सेवन गर्ने गर्नुहुन्छ ?’
माधवले टाउको हल्लाउँदै ‘हो’ भने । रामदेवले सीताराम चुर्णको एउटा बट्टा दिदै भने- ‘यो चुर्ण आजदेखि पहिले भन्दा दोब्बर मात्रामा सेवन गर्नुस्, कांग्रेस माओवादी को त के कुरा, कसैसँग पनि डर लाग्दैन ।’
त्यसपछि शेरबहादुर देउवा रामदेवका अगाडि पुगे । उनले भूमीका नबाँधी भने- ‘मलाई जसो गरेर भए पनि फेरी प्रधानमन्त्री बन्न मात्र मन लागिरहन्छ, पार्टी एकीकरण भए पनि फोरौं फोरौं जस्तो लाग्छ ।’
रामदेवले देउवाको शरीर जाँच गर्दै भने- ‘यसको उपचार सजिलो छ । तपाईको शरीरमा भिटामिन अमेरिका, भिटामिन वेलायत पर्याप्त मात्रामा छ तर भिटामिन भारत अलि कम छ । त्यसैले समस्या परेको हो । भारत भिटामिन पनि पर्याप्त मात्रामा सेवन गर्नुभयो भने सम्पूर्ण रोग निको भइ मनोरथ पुरा हुन्छ ।’
एवं रितले सबै नेताहरुले स्वास्थ्य जँचाएर दबाई लिए । योग शिविर सकियो होला भन्ने ठानेर सबै नेताहरु हिड्न लागेका थिए । रामदेवले भने ‘एकछिन पर्खनुस्, अन्तिममा एउटा दबाई दिन बाँकी छ ।’
सबै नेताहरु फर्किए । रामदेवले भने-’तपाईहरु सबैजनालाई एक आपसमा मिल्न नसक्ने सामुहिक रोग पनि लागेको छ ?’
सबैले एक स्वरमा भने-’हो स्वामीज्यू !’
रामदेव बोले-’सबैजनाले यो टनिक खानुहोस्, आपसमा मिल्न सकिन्छ ।’
रामदेवले अगाडिको बाकसबाट सात वटा बोतल निकाले । बोतलमा ‘साउथ ब्लक टनिक’ लेखिएको थियो । बोतल देख्नासाथ नेताहरुले चिनिहाले । उनीहरुले एकस्वरमा भने- ‘यो टनिक धेरै खाइयो तर आपसमा मिल्न सकिएन ।’
नेताहरुको कुरा सुनेर रामदेव छक्क परे । उनले भने-’त्यसो भए यो टनिकसँग जर्जबुश रसादी पनि खानुस्, ठिक हुन्छ ।’
नेताहरुले कराउँदै भने- ‘त्यो पनि खाइसक्यौं पार लागेन ।’
रामदेवको आर्श्चर्यको सीमा रहेन । उनले भने- ‘यति कडा कडा औषधी खाँदा पनि निको भएन त ?’
गिरिजा बोले-’स्वामीज्यू, साउथ ब्लक औषधालयका सम्पूर्ण उत्पादनहरु हामीले सेवन गरिसकेका छौं, जर्ज बुश फार्मेसीका औषधीहरु पनि सबै खाइसक्यौं । तैपनि आपसमा मिल्न नसक्ने हाम्रो रोग निको भएन ।’
रामदेव एकछिन आँखा चिम्म गरेर बसे । केही कुरा सोंचे अनि बोले- ‘मैले बल्ल तपाईहरुको रोगको कारण बुझें । तपाईहरुलाई रोग थोरै औषधी धेरै भएको रहेछ । तपाईहरु विदेशी औषधालयको औषधी भेट्नासाथ कुरै नबुझी जथाभावी खानुहुँदो रहेछ । आइन्दा कुनै पनि विदेशी औषधालयको औषधी नखानुस्, कुनै रोग लाग्दैन ।’
यति सल्लाह दिएर रामदेव उठे ।
नेताहरु पनि ‘विदेशी औषधालयको औषधी नखाइ नेपालमा के बाँच्न सकिन्थ्यो र’ भन्दै हिडे ।
s: rakure